कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चण्डोलमा दुलाहा, डोलीमा दुलही

रानाथारु समुदायमा घट्दै चण्डौल र डोली प्रयोग
भवानी भट्ट

कञ्चनपुर — थारु समुदायमा विहेको दिन बेहुला (दुलाहा) बोक्न प्रयोग हुने चण्डोल गाउँभरि थिएन । भीमदत्त नगरपालिका–१४ का लालाराम राना छोरा ज्ञानेन्द्रको विहेका लागि चण्डोल बनाउन एक वर्षदेखि जुटेका थिए ।

चण्डोलमा दुलाहा, डोलीमा दुलही

‘सामान जुटाउनेदेखि बनाउने काम सबै आफैंले गरे । चण्डोल तयार गर्न एक वर्ष लाग्यो,’ रानाले भने, ‘अरु भन्दा पनि छत्री (छत) बनाउन धेरै समय लाग्यो ।’

उनका अनुसार विगतमा काँसको डोरी, रंगीचंगी कपडाका बुट्टा, मयुरको प्वाँखलगायतका सामग्री प्रयोग गरेर चण्डोल बनाइन्थ्यो । अहिले धागो प्रयोग गरिन्छ । मयुरको प्वाँख पनि पहिले जति पाइदैंन । कपडा सिउनेदेखि बुट्टा बनाउने काम हातैले गर्नुपर्छ । त्यहीँ भएर बढी समय लाग्छ । खर्च पनि करिब ५० हजार जति लागेको उनले बताए । समुदायको मौलिक परम्पराबारे नयाँ पुस्तालाई पनि जानकारी दिन आफैंले चण्डोल बनाएको उनले बताए ।

दुई वटा बाँसका डण्डामाथि डोरीको प्रयोग गरेर बनाइएको खाटमाथि रंगीचंगी छत्री बनाएर बुनिएको चण्डोलभित्र बिहेको दिन दुलाहालाई बसाएर चारैतिरबाट गाउँलेहरु मिलेर बोक्छन् । ‘हाम्रो समुदायमा पहिले पहिले त दुलहीको घरसम्मै दुलाहाको भिनाजुले बोक्ने चलन थियो,’ रानाले भने, ‘अहिले दुलाहाको घरबाट थोरै परसम्म मात्रै चण्डोलमा बोकिन्छ, त्यसपछि गाडीमा बसाइन्छ ।’

उनका अनुसार अहिले चण्डोल बोक्ने काममा गाउँले सबै जुट्छन् । दुलहीतर्फको पनि त्यहीँका गाउँलेले डोली बोक्छन् । त्यसवापत् दुलहा पक्षले केही ज्याला दिनुपर्छ । दुलही बोक्नेलाई डोली भनिन्छ । त्यसमा छत्री हुँदैन । चण्डोलमा छत्री बनाइएको हुन्छ । ‘अचेल पहिले जस्तो दुलहा–दुलहीको घरसम्मै बोक्नुपर्दैन, खाली परम्परा देखाउनलाई घरनजिक मात्रै चण्डोल र डोलीमा बसाइन्छ,’ भीमदत्त–१६ नयाँ कटानका नाथुराम रानाले भने, ‘अहिले त चण्डोल पाउनै मुस्किल हुन्छ ।’ उनका अनुसार कसले राखेको छ भन्ने पत्ता लगाएर आधा/एक घण्टाको हजार/पन्ध्र सय रूपैयाँ भाडा तिर्नुपर्थ्यो ।

उसो त रानाथारु समुदायमा अहिले चण्डोल बनाउन सक्ने पनि निकै कम छन् । समय र मिहिनेत सँगै खर्च पनि बढी लाग्ने भएकाले अहिलेको पुस्ताले यसमा चासो दिएको छैन । नाथुरामका अनुसार नियमित रुपमा काम गर्न सके एक वर्ष जति समय लाग्छ । पहिले पहिले विवाह पनि नजिकनजिक नै हुन्थ्यो । बोकेर लैजान सकिन्थ्यो । अचेल विहेबारी टाढाटाढासम्म हुन थालेपछि डोलीमै लैजान नसकेर चलन हट्दै गएको उनले बताए ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारु समुदायमा सँगै चण्डोल र डोलीको परम्परा थारु समुदायमा पनि देखिन्छ । तर विगत भन्दा निकै कम भइसकेको छ । ‘त्यतिबेला अहिले जस्तो सवारीसाधन उपलब्ध थिएनन्, घरआँगनमै गाडी पुग्दैनथ्यो,’ थारु समुदायका अगुवा बलबहादुर डगौंराले भने, ‘अब अहिले त्यो डोलीमा को बस्ने, कस्ले बोक्ने ? परम्परा जोगाउन कसैले गर्दै आएका छन् ।’

उनका अनुसार अहिले परम्परा यस्तो थियो भनेर देखाउनलाई दुलहादुलहीलाई घरनजिक मात्रै चण्डोल र डोलीमा बसाउने गरिन्छ । राना थारु समुदायको विवाह विशेषगरी मंसिर, माघ र फागुनमा गरिन्छ । अहिले वैशाख जेठमा पनि विवाहको चलन सुरु भइसकेको लालाराम बताउँछन् ।

‘गर्मीमा त बिहान बनाएको खाना साँझ बिग्रिहल्छ, जाडाेमा त्यस्तो बिग्रिदैन, त्यही भएर हिउँदमै विवाह गर्ने चलन थियो,’ उनले भने, ‘आजभोली चालचलन सबै बदलिँदै गयो ।’ कञ्चनपुरमा जिल्लाका अन्य भेग भन्दा लालझाडी गाउँपालिकामा रानाथारु समुदायको बाहुल्यता छ ।

प्रकाशित : माघ २२, २०८० १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×