कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

यू-१९ विश्वकपमा नेपाल : पालो शतकको

पछिल्लो समयको प्रदर्शनलाई हेर्दा नेपाली युवा ब्याटरका लागि यू–१९ विश्वकप क्रिकेटमा शतक त्यति टाढा देखिँदैन
विनोद पाण्डे

काठमाडौँ — आईसीसी यू–१९ विश्वकप क्रिकेट यात्रामा नेपालका प्रमुख ब्याटर हुन्, कप्तान देव खनाल र अर्जुन कुमाल । दक्षिण अफ्रिकामा शुक्रबारबाट हुने युवा विश्वकपको ‘ग्रुप अफ डेथ’ सरह मानिएको समूहबाट उम्कने नेपालको आशामा यी दुई प्रतिभावान ब्याटरमाथि ठूलो जिम्मेवारी छ । 

यू-१९ विश्वकपमा नेपाल : पालो शतकको

नेपालले यूएईको एसिया छनोटबाट दक्षिण अफ्रिकाको यू–१९ विश्वकपसम्म यात्रा गर्नेक्रममा देव र अर्जुनले ५ शतक प्रहार गरिसकेका छन् । ११ महिनाको अन्तरमा देवले ३ र अर्जुनले २ शतक प्रहार गरेका थिए । उमेर समूहमा यसअघि नेपालबाट रित गौतमले मात्र दुई अन्तर्राष्ट्रिय शतक बनाएका थिए यू–१६ र यू–१९ मा ।

देव एक कदम अघि बढिसकेका छन् । देव हुन् या अर्जुन । अथवा रित नै । उनीहरूले बनाएका सबै शतक एसियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने क्षेत्रीय प्रतियोगिताका हुन् । देव, अर्जुन र रितमात्र नभई कुनै पनि नेपाली ब्याटरले एसीसी यू–१९ एसिया कप र यू–१९ विश्वकपजस्ता प्रमुख प्रतियोगितामा शतक बनाउन सकेका छैनन् ।

सन् २००० मा श्रीलंकाबाट सुरु नेपालको यू–१९ विश्वकप यात्राले दक्षिण अफ्रिकामा आठौं प्रतियोगिता छुँदै छ । तर कहिल्यै पनि नेपाली ब्याटर तीन अंकको स्कोरमा पुग्न सकेनन् । शतकको हिसाबमा सन् २०१२ देखि यू–१९ एसिया कपमा खेल्दै आएको नेपालको कथा उस्तै छ । एसियाली क्रिकेटका ‘पावर हाउस’ टोलीविरुद्ध नेपालको ब्याटिङ झनै संघर्षमय छ । यहाँ अर्धशतक बनाउनु नै ठूलो उपलब्धि हुँदै आएको छ ।

नेपाल समावेश समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । पाकिस्तान र अफगानिस्तान एसियाकै शक्तिशाली राष्ट्र हुन् । त्यसैले नेपालको दोस्रो चरण यात्रा र यू–१९ विश्वकपमा पहिलो शतक ठूलै चुनौती बनेर आएको छ । कतै नेपाली ब्याटरले व्यक्तिगत तीन अंक छोएको खुसीमा यसपालि पनि ब्याट हावामा घुमाउन नपाउने त होइन भन्ने डर समर्थकमा देखिन्छ ।

दक्षिण अफ्रिका पुगेको नेपाली यू–१९ टोलीमा रहेका देव र गुलशन झाले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । देवले पपुवा न्युगिनी र अमेरिकाविरुद्ध गरी दुई तथा गुलशनले यूएईविरुद्ध दुई तथा आयरल्यान्डविरुद्ध एक गरी एकदिवसीय अन्तर्राष्ट्रियमै तीन अर्धशतक बनाइसकेका छन् । त्यसमध्ये यूएईविरुद्धको अविजित ६७ रनको त्यही इनिङ्स हो, जुन गुलशनले एसीसी प्रिमियर कपको फाइनलमा बनाएर नेपाललाई एसिया कपमा पुर्‍याएका थिए । देव, गुलशन, अर्जुनसहित आकाश त्रिपाठी, विशालविक्रम केसी, उत्तम थापामगर, दीपक बोहरा दक्षिण अफ्रिकी भूमिमा ठूलो इनिङ्स खेल्न सक्षम छन् ।

डिसेम्बरमा अर्जुन एसिया कपमा शतक नजिक पुगेका थिए । अफगानिस्तानविरुद्ध उनी यूएईमा ९१ रन बनाएर आउट भएका थिए । नेपाली खेलाडीको यू–१९ एसिया कपमा यो उच्च स्कोर हो । त्यसैले दुई पटक यू–१९ एसिया कपमा नेतृत्व गरिसकेको हिसाबले देव मान्छन् अब पालो नेपाली खेलाडीको शतक पनि हो ।

‘एसिया कपमा खेलिसकेको हिसाबमा भन्नुपर्दा शतक बनाउन खासै गाह्रो छैन, अर्जुन एसिया कपमा अफगानिस्तानविरुद्ध शतक नजिक पुगेकै हो । उसलाई त्यो खेलमा अन्य खेलाडीबाट खासै साथ भएन । उत्तम थापाले पनि पाकिस्तानविरुद्ध अर्धशतक बनाइसके,’ देवले भने, ‘एउटा सिनियर खेलाडीको हिसाबमा मैले र गुलशनले जिम्मेवारी लिएर खेल्नुपर्ने हुन्छ ।’

गुलशनले दक्षिण अफ्रिकामा स्कटल्यान्ड यू–१९ विरुद्धको अभ्यास खेलमा १ सय १४ रन बनाइसकेका छन्, त्यसलाई अब प्रतिस्पर्धात्मक खेलमा परिणत गर्ने बेला आएको छ ।

‘अर्धशतक र शतक बनाउँदा स्वभाव र माइन्ड सेटको कुरा हुन्छ । म चाहिँ ब्याटिङ गर्दा राम्रो मेन्टल स्पेसमा खेल्छु,’ देवले भने, ‘म पनि शतक बनाउन आतुर छु । आशा छ विश्वकपमा यसपालि हामीबाट शतक आउला । प्रतिभाका हिसाबले सबै राम्रा छन्, तर ३–४ खेलाडी शतक हान्ने क्षमता राख्छन् ।’ उनी आफूसहित गुलशन, अर्जुन र उत्तमलाई शतक बनाउने सूचीमा राख्छन् ।

अर्जुन र देव दुवैले आफ्नो पहिलो शतक गत वर्ष फेब्रुअरीमा कुवेतविरुद्ध अजमानमा यू–१९ विश्वकपका लागि आयोजित एसिया छनोटमा बनाएका थिए । अर्जुनले १ सय १२ बलमा १ सय ८ र देवले १ सय १७ बलमा १ सय २५ रन बनाएका थिए । अक्टोबरमा मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपमा पुनः यी दुईले नै शतक बनाए । देवले इरानविरुद्ध ६० बलमै १ सय र अर्जुनले साउदी अरेबियाविरुद्ध १ सय ११ बलमा १ सय ४३ रन बनाएका थिए ।

अर्जुनको साउदी अरेबियाविरुद्ध इनिङ्स नेपालको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा सबै खाले संरचनामा व्यक्तिगत उच्च स्कोर पनि हो । देव र अर्जुन दुवै एकदिवसीय खेलका सुहाउँदा ब्याटर पनि हुन् । अर्जुन इनिङ्सको सुरुआत गर्छन् र मज्जासँग टिकेर खेल्ने क्षमता राख्छन् । देव इनिङ्स जमाएर खेल्छन् । देवको तेस्रो यू–१९ शतक अक्टोबरमा यूएईविरुद्ध थियो । उनले एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा वायुमास ओभल मैदानमा ९२ बलमा १ सय रन बनाएका थिए ।

‘हाम्रा खेलाडीको क्षमतामाथि मलाई पूर्ण विश्वास छ, उनीहरूले शतक प्रहार गर्न सक्छन् । शतक भनेको खेलेर मात्र हुने कुरा होइन । विकेटमा गएर टिकेर खेल्ने क्षमता राख्न सक्नुपर्छ, धैर्य देखाउन सक्नुपर्‍यो, तबमात्र शतक बन्न सक्छ,’ नेपाली यू–१९ टोलीका प्रशिक्षक जगत टमाटाले दक्षिण अफ्रिका जानुअघि भनेका थिए, ‘हामीसँग शतक हान्ने क्षमताका खेलाडी छन् । कन्डिसन बुझेर खेल्ने हो भने शतक बन्न सक्छ ।’

उनलाई सबै खेलाडी उस्तै लाग्छ । हरेक खेलाडीलाई आ–आफ्नो जिम्मेवारी दिएको उनी बताउँछन् । शक्ति गौचनले २००१ मा माल्दिभ्सविरुद्ध बनाएको १ सय रनयता नेपालका खेलाडीले यू–१९ का अन्तर्राष्ट्रिय प्रतियोगितामा १० शतक बनाइसकेका छन् । त्यसमा ७ शतक टमाटाकै प्रशिक्षणमा छ । सन् २०१५ मा राजु रिजालले युगान्डाविरुद्ध मलेसियामा बनाएको शतक भने अलिक फरक थियो । यो आईसीसी यू–१९ विश्वकप छनोटमा बनेको थियो । अन्य सबै ९ शतक एसीसीका क्षेत्रीय प्रतियोगितामा बनेका छन् ।

‘नर्भस नाइन्टिज’

नेपालका दुई खेलाडी शतक नजिक पुगेर रोकिएका छन् । कनिष्क चौगाईंले सन् २००४ मा बंगलादेशविरुद्ध ९० र प्रदीप ऐरीले २०१२ मा नामिबियाविरुद्ध ९८ रन बनाएका थिए । दुवै अविजित रहेपछि शतक बनाउने मौका पाएका थिएनन् ।

‘यू–१९ विश्वकपको अनुभव निकै राम्रो भएको थियो, हाम्रो टिम पनि त्यतिखेर राम्रो थियो । हामीले सुरुका खेलहरू हारे पनि अन्त्य राम्रो गरेका थियौं,’ १२ वर्षअघि अस्ट्रेलियामा यू–१९ विश्वकप खेलेका प्रदीपले भने, ‘व्यक्तिगत उच्च स्कोर अझै मेरै नाममा छ । म चाहन्छु मेरो नाममा रहेको यो कीर्तिमान कुनै नेपाली खेलाडीले तोडेर शतक बनाऊन ।’

ब्रिसवेनमा उनले छैटौं नम्बरमा ब्याटिङ गर्दै उक्त स्कोर बनाएका थिए । उनको प्रयासमा नेपालले नामिबियाविरुद्ध ७ विकेट गुमाई २ सय १७ रन बनाएको थियो । अन्तिम ओभरमा १४ रन बनाए पनि प्रदीपले शतक बनाउन सकेका थिएनन् । शतकका लागि अन्तिम बलमा ४ रन चाहिने अवस्थामा उनले २ रनमात्र जोड्न सकेका थिए । कनिष्क नेपालबाट यू–१९ मा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

सन् २००२ देखि २००६ सम्म गरी यू–१९ विश्वकपका तीन संस्करण खेल्नेक्रममा उनले २० खेलमा ५ सय ३७ रन बनाएका थिए । तर, उनको तीन अर्धशतक कहिल्यै शतकमा परिणत भएन । त्यो समयको क्रिकेट त्यस्तै थियो, जतिखेर एक महिनाको बन्द प्रशिक्षणबाट नेपाली टोली यू–१९ विश्वकप खेल्न पुग्थ्यो ।

१८ वर्षयता नेपाली युवा क्रिकेट टोलीमा धेरै परिवर्तन आइसकेको छ । यू–१९ विश्वकपका लागि एसीसीका तीन युवा प्रतियोगिता खेलेको नेपाल युवा विश्वकपकै तयारीका लागि पछिल्लो दुई सातादेखि दक्षिण अफ्रिकामा छ । नेपाली युवा टोलीले जुन प्रदर्शन पछिल्लो समय देखाएका छन्, त्यो हेर्दा मुख्य प्रतियोगितामा शतक टाढा नभएको प्रदीपको विश्लेषण छ । उनका अनुसार एसियाली महाद्वीपमा भएको भए नेपाली खेलाडीलाई शतक बनाउन झन् सजिलो हुन्थ्यो ।

प्रकाशित : माघ ५, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×