कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
आनीकी आमा

संसारको सर्वश्रेष्ठ शरण

आनीको प्राथमिक सम्झनामा बाबु छेगाले आमा यशीलाई गरेको कुटपिटका दृश्यहरू समावेश छन्

काठमाडौँ — आनी छोइङ डोल्माले आमाहरूका नाममा गाएकी छन्–
‘मेरो भोक मेटाउन, माकुरी नै बन्छिन् उनी
मेरो ख्याल गर्दागर्दै, आफैं बिलाउँछिन् उनी’

संसारको सर्वश्रेष्ठ शरण

उनकी आमाका दुई नाम थिए, एउटा आध्यात्मिक र अर्को सांसारिक । सांसारिक नाम बाबुआमाले दिएका थिए, कुन्जाङ । आध्यात्मिक नामचाहिँ गुरुले दिने बौद्ध परम्परा छ । त्यसअनुसार नाम राखिएको थियो– यसी डोल्मा ।

संसारमा दुःखका स्रोत अनन्त छन् । आमा ती सबै दुःखको सीमाभन्दा पर हुन्छिन्, आनीलाई लाग्छ । त्यसैले, आनी छोइङको विचारमा आमा संसारको जलनमा शरण लिने उत्तम आरक्षण हो ।

अध्यात्मको संसारमा डुबुल्की मार्न सत्यको शरण लिनुपर्छ भन्ने बुद्धोपदेशमा आनीलाई कुनै दुविधा छैन । तर, सत्यको मार्गमा सबै हिँडिसकेका हुँदैनन् । त्यसैले, संसारको दौडधुपमा पाउने दुःखबाट बच्ने उत्तम शरणचाहिँ आमा नै हो भन्छिन् उनी । अति पीडा हुँदा मुखमा अनायासै ‘मरें नि आमा’ त्यसैले निक्लेको हो भन्ने उनी ठान्छिन् ।

बढ्दो जाडोले ल्याएको ठिहीमा हालैको एक बिहान तातो पानी सुरुप्प पार्दै आनीले आफ्नी आमाको न्यायो स्नेह चिहाइन् । ‘मेरो खुसीलाई हजार गुना बढाएर मलाई नै फिर्ता गर्ने कला आमामा थियो, मलाई लाग्छ, यस्तो कला आमाहरूमा जन्मजात हुन्छ’ आनीले अर्धमुदित नयनका साथ आमालाई सम्झिन्, ‘अरूको हृदय तपाईंको खुसीमा ईर्ष्यालु हुन पुग्छ, आमाको भने तृप्त हुन्छ ।’

आनीका शान्त आँखाले के पनि देखेका छन् भने आफूलाई दुःख पर्दा सांसारिक लेनदेनका मानिसलाई कुनै फरक पर्दैन । आमा भने झन् बढी दुःखी भइदिन्छिन् ।

‘मैले होस सम्हालेदेखि नै आमाका आँखामा आँसु मात्रै देखें,’ आनी भन्छिन्, ‘आफ्नो जीवनको काल परिवेशका स्वास्नीमानिसले पाउने दुःख– होइन, सायद औसतभन्दा अझै बढी दुःख मेरी आमाले पनि पाउनुभयो ।’

आनीको प्राथमिक सम्झनाहरूमा बाबु छेगाले आमा यशीलाई गरेको कुटपिटका दृश्यहरू समावेश छन् । सन् १९६० को दशकमा तिब्बतमा पनि कम्युनिस्ट शासन सुरु भएपछि धेरै बौद्धालम्बीहरू भागेर नेपाल आए । तिनैमध्येका थिए आनीका बाबुआमा पनि । तर एक छोरीको जन्मपछि आमाको बिहे टुट्न पुग्यो । त्यसपछि आफूभन्दा २५ वर्ष जेठा छेगासँग बिहा गरेपछि बौद्धमा सन् १९७२ मा आनी र त्यसपछि दुई भाइको जन्म भयो ।

आमाको आँसु र कोमलता साथसाथै देखेकी उनले बाबुमा भने त्यो दुवै कहिल्यै महसुस गर्न पाइएकी थिइनन् । आफ्ना गुरु १६ औं कर्मापा रान्जुङ रिग्पे दोर्जे सन् १९८१ को हिउँदमा बित्दा भने उनका बाबु एकदमसँग रोए– दिनभरि, रातभरि ।

‘उहाँको आँखामा आँसु देख्दा म चकित भएँ,’ बाबुको कठोरता पग्लिएको क्षण उनलाई लागेछ, ‘आफूलाई रुवाउने मान्छे आफैं रोएको देख्दा कताकता मज्जा पनि आउँदोरहेछ ।’

लोग्नेमान्छेको परिचय बोकेर कठोर र अक्कड हुने स्वभाव बाबुमा पूराकापुर थियो जसले गर्दा उनी छोरीको सम्झनामा एक रिसाहा मानिसका रूपमा अमिट छन् ।

‘उहाँको शब्दमा विनम्रता थिएन, क्रोधले फुलेर आमालाई र मलाई पिट्नु हुन्थ्यो,’ आनी भन्छिन्, ‘त्यसैले हुनुपर्छ, लोग्नेमान्छेहरूप्रति आमालाई ठूलो वितृष्णा थियो ।’

पहिलो लोग्नेबाट पाएको धोका र दोस्रोबाट पाएको अनन्त चोटहरूले हुनुपर्छ, उनकी आमाले सधैंजसो एउटा उपदेश दिने गर्थिन्– छोरा मान्छेको विश्वासमा कहिल्यै नपरेस् है छोरी ।

आमाको यो उपदेश उनको हृदयमा ढुंगाको अक्षरझैं गढ्न पुग्यो । त्यसैले किशोर वय सुरु हुनुअघि दसै वर्षको उमेरमा उनलाई परिब्राजक जीवन सुरु गर्ने धुन चढ्यो । तिनताक उनी ब्रुस लीको ठूलो प्रशंसक थिइन् । ब्रुस लीले झैं कपाल काटेकी थिइन् । अनि ब्रुसलीले झैं टोलका केटाहरूलाई मुक्का पनि हान्ने गर्थिन् ।

‘सायद आमामाथि बाबुको अत्याचारले होला, मलाई पनि छोरा मान्छेदेखि वितृष्णा हुने गर्थ्यो,’ आनीले आत्मबल प्रदर्शन गर्दै भनिन्, ‘एक दिन अचानक मैले आनी हुने निर्णय गरें र त्यो आमालाई सुनाएँ ।’

अक्सर आमाहरू छोराछोरी संन्यासी वा भिक्षु–भिक्षुणी भएको देख्न रुचाउँदैनन् । तर, यशीले भने उनको प्रस्तावलाई तुरुन्त समर्थन गरिन् । भिक्षुणी बन्ने उनको रायलाई उनका बाबुले पनि गलत भनेनन् । अझ, बाबुले त आनी भएर बस्नका लागि उपयुक्त ठाउँ कहाँ होला भनी खोजी पस्ने काम गरिदिए । बाबुका टाढाका काका पर्नेले सिफारिस गरे– शिवपुरीको छातीमा स्थापित नागी गुम्बा । त्यही गुम्बा थियो जहाँ उर्गेन टुल्कु रिन्पोछेले आनीलाई बुद्ध, धर्म र संघको शरण दिए । उनै रिन्पोछेलाई भेटेपछि हो, नाच्न र गाउन उधुमै मन पर्ने एउटी चुलबुले केटीको कपाल मुण्डन भएको ।

‘कपाल खौरिएपछि मलाई सबै खालका दुःखहरू भुइँमा झरेजस्तो अनौठो किसिमका हलुंगोपनको बोध भयो,’ परिब्राजक जीवनको प्रथम क्षणबारे उनी बोलिन्, ‘त्यसबेला मलाई के लाग्यो भने, मैले असली जीवन पाएँ ।’

घरबाट हिँड्ने बेलामा आनी दुःखी थिइन्, आमा एक्लै हुने भइन् भनेर । आमाचाहिँ खुसी थिइन्, छोरीले पिटाइ खान छुट्ने भयो भनेर ।

गुरु टुल्कु उर्गेन उधुमै दयालु थिए जसको रेखदेखमा आनीले नागी गुम्बामा शान्त जीवनको त्यो ज्योति भेटिन् जसलाई उनले घरसंसारको तप्त परिवेशमा कहिल्यै देख्नै पाएकी थिइनन् ।

‘त्यहाँ पुगेपछि मैले कहिल्यै भाँडा माझ्न परेन, लुगा धुन परेन, पकाउन परेन, भाइहरू स्याहार्ने काम गर्न परेन र ठूलो कुरा त– मैले कसैको चुटाइ खानुपरेन,’ उनले गुम्बामा भोग्न पाएको बालापनको स्वतन्त्रताको सम्झना यस्तो छ, ‘मैले मन लागेजति खेल्न र कुद्न पाएँ, शान्तिले दिन र रातहरू गुजार्न पाएँ ।’

घरेलु हिंसाले लुटेको बालापन उनले त्यहाँ फिर्ता पाइन् । अझ त्योभन्दा पनि ठूलो कुरा, उनले त्यहाँ नित्य ध्यान गराउने करुणामय गुरु र ध्यान गर्ने श्रद्धावनत संघ–सखीहरू पाइन् ।

दिनभरको लेखपढ र खेलकुद अनि रात्रिको विश्रामअघि उनका गुरुले संसारको कोलाहलबाट टाढा जंगलको बीचमा शान्तसँग उभिएको गुम्बामा शिष्यलाई नित्य ध्यान गराउँथे । त्यहाँ एक युवा तपस्वी काठमाडौंदेखि कहिले साथीहरू बोकेर त कहिले आफ्ना साना छोराहरूका साथ ध्यान गर्न नित्य रूपले आउँथे ।

आनी हरेक महिना घर आउँथिन् आमालाई भेट्न । यही उपक्रममा वर्षौं बित्यो । उनले जीवनको ठूलो परिधिमा आफूलाई विस्तार गर्दै लगिन् । संसार उनको आवाजले मग्न बन्यो र त्यो खबरले आमा झन् बढी मग्न भइन् ।

‘आफ्ना हरेक उपलब्धिहरू म दौडेर आमालाई सुनाउँथें र उहाँको आँखामा त्यसको चमक देखेर आनन्दित हुन्थें,’ आनी सुरुवाती सफलताका क्षणहरूतर्फ फर्केर टक्क अडिन्थिन्, ‘आमाको त्यो खुसी देख्दा मलाई झन् बढी सफलता बटुलेर उहाँलाई झन् बढी खुसी पारौंजस्तो भइरहन्थ्यो ।’

भिक्षुणी जीवनको सुरुवाती सफलता, पढाइ र ध्यानमा राम्रोसँग नभिज्दै उनका बाबुको देहान्त भइसकेको थियो । एक्ली आमालाई संसारको सारा खुसी दिन सक्ने गरी आनीको प्रसिद्धि चुलिँदै थियो । तर, अढाई दशकअघि डाक्टरले दिएको एउटा खबरले आनीलाई ठूलो आघात दियो– तिम्री आमालाई मृगौलाको रोग लाग्यो ।

तिनताक नेपालमा मृगौला रोगीका लागि अहिलेजस्तो निःशुल्क डाइलाइसिस र प्रत्यारोपण कल्पना बाहिरको कुरा थियो । सातामा दुई पटक डाइलाइसिस गराउँदा ७० हजारजस्तो खर्च हुन्थ्यो, तर पनि पालो पाउन सहज थिएन । तर अनेक यत्नले आनीले डाइलाइसिसको व्यवस्था जुटाइरहिन् । प्रत्यारोपण नै अन्तिम चिकित्सा हो भन्ने निधो भएपछि आनीले आमालाई सुटुक्क दिल्ली लगेर आफ्नो मृगौला प्रत्यारोपण गर्ने व्यवस्था मिलाएकी थिइन्, तर आमाले मानिनन् ।

‘उपचारको अन्तिम क्षणमा आमाले यो थाहा पाउनु भएछ, उहाँले मेरो मृगौला लिनै मान्नु भएन’ आनी सम्झिन्छिन्, ‘फेरि मैले आमालाई एक नातेदारको राजीखुसीमा उहाँलाई प्रत्यारोपणका लागि दक्षिण भारत लगें, त्यहाँ पनि उहाँले अरूलाई दुःख दिएर आफू निको हुन चाहन्न भनेर अडान लिनुभयो ।’

अर्को एक पटक पनि आनीले यस्तै प्रयास गरिन्, तर प्रत्यारोपण हुन सकेन । अन्ततः सन् २००६ को डिसेम्बरमा आमाले चोला बदलिन् ।

‘आमा बितेपछि म एकदम रित्तोजस्तो भएँ,’ भन्छिन्, ‘लेखपढ गर्न नजानेकी र आफ्नै उमेर पनि यति हो भनेर यकिन गर्न नसक्ने मेरी आमाको जीवन खासमा त्यस समयका आम स्वास्नी मानिसको जीवनको कथा हो जसको सुख पितृसत्ताको जन्जिरले कैद थियो ।’

आमाको स्मृतिमा आनीले सन् २०१० मा ‘आरोग्य प्रतिष्ठान’ स्थापना गरिन् जहाँ मृगौलाका रोगीले डाइलाइसिसको सुविधा लिन सक्छन् । आमाको सम्झनामा उनले गीतहरू गाइन् र आमा शीर्षकमै एल्बम पनि निकालिन् । आमाको सम्झनामा उनले अनेक दान पुण्य पनि गरिन् । र पनि, आनीलाई लाग्छ, आमाको ऋण तिर्न बाँकी छ ।

आनी जब उनी खुसी हुन्छिन्, आमाको यादले बिथोलिन्छिन् । ‘देश–विदेशको यात्राबाट घर फर्किंदा ढोकामा आमा देख्न खोज्छन् मेरा आँखाहरू’ आनीले आँखा चिम्लिन्, ‘भोक लागेका बेला आमाको स्नेहले खुवाउने उनै आमालाई खोज्छ मनले ।’

यसरी, हर मौसम र हर परिवेश आनीलाई आमाको याद आइरहन्छ । जीवनको यहाँसम्मको यात्रामा आनीलाई के बोध भएको छ भने, करुणा मनुष्यको सर्वाधिक बलियो शक्ति हो । किनभने, करुणाकै बलले सामान्य मानिसमा बुद्ध चेतना जागृत हुन्छ र ऊ दुःखदेखि मुक्त भई अरूलाई पनि दुःखबाट मुक्त पार्न तल्लीन हुन्छ । करुणाकै शून्यताले मानिसमा हिंसा र प्रतिहिंसा पैदा गर्छ र जीवन अनन्त दुःखको गर्तमा जाकिन्छ । फेरि, मानिसबाहेक अरू कुनै प्राणीमा पनि करुणा गर्न सक्ने खुबी छैन ।

आमाले पाएको कष्ट देखेर भिक्षुणी जीवन रोजेकी आनी सायद कहिल्यै आमा हुने छैनन् । यो अवसर गुमाएकामा के उनलाई छुकछुकी छ ? ‘विलकुलै छैन’ आनी मुस्कुराइन्, ‘किनभने, करुणा गर्न आफ्नै सन्तान जन्माइराख्न पर्दैन, जसलाई पनि करुणा गर्ने अवसर हामी सबलाई छ ।’

उनको यो करुणापूर्ण दृष्टिले जीवनका पछिल्ला वर्षहरूमा के निचोड निकालेको छ भने, उनका रिसाहा बाबुलाई करुणाको सबभन्दा बढी खाँचो थियो । ‘अहिले पो मैले बुझें, उहाँ बाइपोलार (खास कारणबिनै भावदशाविपरीत ध्रुवमा सरिरहने मनको ढाँचागत बिमारी) सिकार हुनुहुँदोरहेछ,’ आनीले विस्मयमा आँखा फारिन्, ‘अहिलेजस्तो हुन्थ्यो भने मैले कति उपचार गराउँथें, कति माया अभिव्यक्त गर्थें ।’

सानोमा आफ्ना सौतेनी बाबुबाट पाएको प्रताडनाका कारण बाबुमा त्यो कठोरताको विकास भएको रहेछ भन्ने पनि अहिले उनलाई थाहा भयो । अनि के पनि थाहा भयो भने, बाबुकै त्यो कठोर मिजासका कारण उनी आन्तरिक सुखहरूले भरिएको परिब्राजक जीवनमा लाग्न पुगिन् ।

‘कतिपय नराम्रा कुराहरू राम्रो आवरणमा आउँछन् र कतिपय राम्रो कुरा नराम्रो आवरणमा आउँछन्,’ आनीले गहिरो सास फेरिन्, ‘उहाँमा त्यो कठोरता नआइदिएको भए मैले यति राम्रो जीवन देख्नै पाउन्नथें, बुबाको गाली र आखिरमा दुर्वचन नै मेरा लागि मार्गदर्शक बनेको रहेछ, यो थाहा पाएपछि म उहाँप्रति पनि ज्यादै कृतज्ञ छु ।’

बाबु जीवितै छँदा उनलाई यो ज्ञान थिएन, त्यसैले आनीले कृतज्ञतापूर्ण व्यवहार प्रदर्शन गर्न सकिनन् । यही बोधका कारण उनी आफ्नो सम्पर्कमा आउनेहरूलाई के सुझाउँछिन् भने, कृतज्ञता व्यक्त गर्ने काममा ढिलाइ सर्वथा अनुचित छ ।

बितिसकेका बाबुआमाको सम्झनामा अनेक थोक गर्नुभन्दा जीवित छँदै तिनका प्रति प्रेम प्रकट गर्नु, समय दिनु र हेरचाह गर्नु करोडौं गुणा पुण्यदायक भन्ने आनीको निचोड छ । संसारमा बाबुआमाबाहेक सबै थोक भनेजति पाइन्छ भन्ने सामान्य लोकोक्तिमा किञ्चित् समय नफाली आफ्नो जीवनदाताप्रति प्रेम दर्शाउनुपर्छ भन्ने उही भाव लुकेको बोध उनलाई हुन्छ ।

‘आज मसँग नपुग्दो केही छैन,’ भन्छिन्, ‘तर, उही माया गर्ने आमा छैनन्, गाली नै गरे पनि बाबु छैनन् ।’

प्रकाशित : पुस ३, २०८० ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×