कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

युद्धका दुई वर्ष : जित्न नसकेको रुस, हार्न नचाहेको युक्रेन

अहिले रुसले तोपहरूको उत्पादन निकै बढाएको छ । इरानबाट ड्रोन र उत्तर कोरियाबाट क्षेप्यास्त्र खरिद गरिरहेको छ । युक्रेन भने हातहतियारका लागि अन्य देशसँग भर परिरहेछ ।

काठमाडौँ — लोकतान्त्रिक मुलुकमा आवधिक निर्वाचनहरू आउँछन्, जान्छन् । चुनावमार्फत निश्चित समयका लागि नेतृत्व चयन हुन्छ । मतदाताको मनसँगै मत जित्नेले देशको नेतृत्व लिन्छन् भने पराजितका लागि अर्को चुनाव पर्खिनुको विकल्प हुँदैन । तर भ्लोदिमिर जेलेन्स्की राष्ट्रपतिमा विजयी भएको २०१९ मार्च ३१ को युक्रेनको चुनाव भने यस अर्थमा केही फरक छ ।

युद्धका दुई वर्ष : जित्न नसकेको रुस, हार्न नचाहेको युक्रेन

‘मैले मेरो जीवनमा युक्रेनीलाई सक्दो हँसाउन खोजेको छु । मलाई लाग्छ, यो एउटा काममात्रै होइन, मिसन नै हो,’ राष्ट्रपतिको शपथका क्रममा जेलेन्स्कीले भनेका थिए, ‘आगामी पाँच वर्ष म युक्रेनीहरू रुन नपरोस् भनेर सबैथोक गर्नेछु ।’ जेलेन्स्की राष्ट्रपतीय कार्यभार सम्हालेको मे २० मा पाँच वर्ष पुग्दै छ । तर उनको कार्यकालका पछिल्ला दुई वर्ष भने युक्रेन अभूत्पूर्व पीडामा छ । अनि, जनताले ‘हाँस्न बिर्सिएका’ छन् । यसको कारण हो, रुससँगको युद्ध । जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएपछि उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने मुद्दालाई जबर्जस्त रुपमा यसरी उठान गरे कि रुसी राष्ट्रपति पुटिनका लागि त्यो सह्य भएन । अन्ततः पुटिनले २०२२ को फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरे । दुई देशबीच युद्ध सुरु भएको दुई वर्ष पुगेको छ ।

रुसी आक्रमणपछि युक्रेनमा ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको छ भने कैयौं संरचना ध्वस्त भएका छन् । संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपेली आयोग र युक्रेनी सरकारले गरेको अध्ययनअनुसार करिब ५९ लाख युक्रेनीले देश छाडेका छन् भने ३७ लाख आन्तरिक रूपमा विस्थापित भएका छन् । दुवैतर्फ ठूलो संख्यामा सैनिक हताहती भएको छ । अमेरिकी गुप्तचर अधिकारीले युद्धमा कम्तीमा १ लाख २० हजार रुसी सैनिकको ज्यान गएको र १ लाख ७० हजार घाइते भएको जनाएका छन् ।

बेलायतको रक्षा मन्त्रालयले भने ज्यान गुमाउने रुसी सैनिकको संख्या ५० हजार रहेको जनाएको छ । युक्रेनतर्फ भने ७० हजार मृत्यु भएको र एक लाख घाइते भएको जनाइएको छ । त्यस्तै, कतिपय रुसी सहरले पनि युक्रेनी ड्रोन आक्रमणको सामना गरेका छन् । दुवै देशको सेनामा हजारौं विदेशी भर्ती भएका छन् । तीमध्ये सयौंको ज्यान गएको छ । रुसी सेनामा भर्ना भएर ज्यान गुमाउनेमा नेपाली पनि छन् । सरकारले औपचारिक रुपमा दुई सय नेपाली रुसी सेनामा भर्ना भएको बताए पनि युद्धक्षेत्रमा रहेका नेपालीहरुका अनुसार त्यो संख्या निकै धेरै छ । तीमध्ये १३ नेपालीको मृत्यु भइसकेको छ भने थुप्रै घाइते भएका छन् । त्यस्तै रुसी सेनामा भर्ना भएर युद्ध क्षेत्रमा खटिएका ४ नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेका छन् ।

सोभियत संघको १९९१ डिसेम्बर २६ मा विधिवत् विघटन हुनुभन्दा चार महिनाअघिको जनमतसंग्रहबाट युक्रेन स्वतन्त्र भएको थियो । युक्रेनलाई स्वतन्त्र घोषित गरेका युक्रेनियन सोसलिस्ट सोभियत रिपब्लिकका नेता लियोनिद क्रभचुक पहिलो राष्ट्रपति बने । १९९४ मा भएको राष्ट्रपतीय चुनावमा क्रभचुक पूर्वकम्युनिस्ट नेता लियोनिद कुचमासँग पराजित भए । उनी १९९९ मा पुनः निर्वाचित भएका थिए तर उक्त निर्वाचनमा धाँधली भएको थियो ।

त्यसयताका अढाई दशकमा युक्रेनको राष्ट्रपतीय चुनावको केन्द्रमा धाँधली र अनियमितताका समाचार रहे । २००४ मा भएको राष्ट्रपतीय चुनावमा रुसनिकट भिक्टर यानुकोभिचलाई जिताउन व्यापक धाँधली भएको आरोपसँगै युक्रेनमा ‘ओरेन्ज रिभोलुसन’ सुरु भयो । पुनः निर्वाचन गर्ने सर्वोच्च अदालतको आदेशपछि आन्दोलन त टुंगियो तर नयाँ चुनावमा भिक्टर युस्चेन्को विजयी भए । पश्चिमा देशको समर्थनमा राष्ट्रपति बनेका युस्चेन्कोको कार्यकालमा रुस र युक्रेनबीचको सम्बन्ध निकै तिक्ततापूर्ण रह्यो । युक्रेनमा आन्दोलन चर्काएर आफूनिकट उम्मेदवारलाई हराउने अमेरिकी कदमको विरोधमा रुसले २००९ मा केही समयका लागि ग्यास आपूर्ति बन्द गर्दै युक्रेनका साथै रोमानिया, हंगेरी र बुल्गेरियालगायत देशमा ऊर्जा संकट उत्पन्न गरिदियो ।

तर पश्चिमा देशसँग निकट सम्बन्ध बनाएको युक्रेनमा २०१० मा रुसपक्षीय भिक्टर यानुकोभिच राष्ट्रपतिमा निर्वाचित भए । युक्रेनमा देखिएका मुख्य समस्या बेरोजगारी र भ्रष्टाचार अन्त्यका लागि क्रियाशील देखिएका यानुकोभिचले व्यापार र लगानीका लागि युरोपेली संघ (ईयू) सँग हात अघि बढाएका थिए । त्यसका लागि २०१२ मा ‘ईयू–युक्रेन एसोसिएसन एग्रिमेन्ट’ तयार पनि भएको थियो । तर रुसी दबाबमा उनी त्यो सम्झौताबाट पछि हटेपछि युक्रेनमा समस्या थप जटिल बनेको हो ।

जसका कारण युक्रेनमा पुनः आन्दोलन सुरु भयो । अमेरिकालगायतका पश्चिमा देशको समर्थनमा गरिएको आन्दोलनपछि २०१४ मा युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिच देश छाडेर रुस पुगे । उनी भागेपछिको अन्तरिम सरकारले नेटोमा जोडिने कुनै योजना नरहेको बताएको थियो । तर रुसपक्षीय राष्ट्रपतिलाई सत्ताच्युत गर्ने पश्चिमा देशको रबैयाको बदलामा रुसले २०१४ मार्चमा युक्रेनी भूभाग क्राइमियालाई नियन्त्रणमा लियो र पूर्वी युक्रेनमा गृहयुद्धको आगो सल्काइदियो ।

युक्रेनी जलसेना रहेको क्राइमियाको सेभास्तोपोल रुसले कब्जा गरेसँगै युक्रेन जलसेनाविहीन बन्यो । त्यसमाथि ब्ल्याक सीको करिब आधा तटीय क्षेत्र गुमाएको युक्रेन भूपरिवेष्टित देशमा परिणत हुनेमा त्रसित देखियो । जसका कारण रुसबाट ओडेसालाई बचाउनका लागि भए पनि नेटोमा आबद्ध हुनुपर्ने आवाज उठ्यो । यानुकोभिच भागेपछि २०१४ मा भएको चुनावमा पेत्रो पोरोसेन्को निर्वाचित भए । यानुकोभिच युरोप पक्षधर भए पनि रुससँग वार्ताका लागि तयार रहेको बताएका थिए । उनले आफ्नो कार्यकालमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार र पारदर्शिताका क्षेत्रमा केही सुधार गरेका थिए । त्यसका साथै, डनबास क्षेत्रबाट रुसी पृथकतावादी फौजलाई फिर्ता गराउन सफल भएका थिए ।

तर गैरकानुनी रूपमा विदेशमा लागानी रहेको पनामा पेपरको खुलासापछि पोरोसेन्को २०१९ को निर्वाचनमा वर्तमान राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग पराजित भए । हास्यकलाकार जेलेन्स्कीले ‘भ्रष्टाचारको सामना गर्ने र पूर्वी युक्रेनमा चर्किरहेको द्वन्द्व अन्त्य गर्ने’ प्रतिबद्धतासहित चुनावी सफलता हासिल गरेका थिए । उनको सत्तारोहणपछिको केही समय रुसी नेतृत्व युक्रेन मामिलामा ‘पर्ख र हेर’ को अवस्थामा देखिएको थियो । तर जब २०२१ को जनवरीमा जेलेन्स्कीले युक्रेनलाई नेटोमा सामेल गर्न अमेरिकी राष्ट्रपति बाइडेनलाई अपिल गरे । त्यसका साथै जेलेन्स्की सरकारले २०२१ को फेब्रुअरीमा युक्रेनका राजनीतिज्ञ तथा पुटिनका मित्र भिक्टर मेदभेदचुकमाथि प्रतिबन्ध लगाए, रुससँगको सम्बन्धले नयाँ मोड लियो ।

स्थिति जटिल बन्दै गएसँगै २०२१ मार्च र अप्रिलमा रुसी सेनाले युक्रेनी सीमा क्षेत्रमा सैन्य अभ्यास गरेका थिए । यद्यपि, उक्त अभ्यासपछि फौज फिर्ता गरिएको थियो । तर सोही वर्षको अक्टोबरमा युक्रेनले टर्किस ‘बायराक्तार टीबी–२’ ड्रोनको प्रयोग गरेपछि रुष्ट रुसले पुनः युक्रेनी सीमामा सेना तैनाथ गर्‍यो । त्यसबीचमा २०२१ डिसेम्बर पहिलो साता अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि आक्रमण गरे र रुसलाई आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिए । तर त्यसको बदलामा डिसेम्बर १७ मा रुसले पूर्वी युरोप र युक्रेनमा नेटोले सैन्य गतिविधि नगर्ने बाध्यकारी कानुनी प्रत्याभूतिसहित विस्तृत सुरक्षा प्रस्ताव माग गरेको थियो । २०२२ को जनवरीमा रुसी र अमेरिकी कूटनीतिज्ञको वार्ता असफल भएपछि रुसले फेब्रुअरी १० मा बेलारुस र ‘ब्ल्याक सी’ मा सैन्य अभ्यास गर्‍यो ।

त्यसका बाबजुद नेटोमा आबद्ध हुन निरन्तर प्रयास जारी राख्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइपछि रुष्ट पुटिनले फेब्रुअरी २१ मा युक्रेनबाट छुट्टिएका दोनेत्स्क र लुहान्स्क गणराज्यलाई रुसले मान्यता दिँदै रुसी फौज परिचालनको आदेश दिए । फेब्रुअरी २२ मा जर्मनीले नर्ड स्ट्रिम–२ ग्यास परियोजना स्थगित गर्नुका साथै अमेरिका र ईयूले पहिलो चरणका प्रतिबन्धहरू घोषणा गरे । युक्रेनका पृथकतावादीले फेब्रुअरी २३ मा रुसी सहयोग मागेपछि युक्रेनी संसद्ले संकटकाल घोषणालाई अनुमोदन गरेको थियो र त्यसको भोलिपल्ट अर्थात् फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि पूर्ण मात्राको आक्रमण सुरु गरेको हो ।

कतिपय विश्लेषकहरू रुस–युक्रेन युद्धको जड २०१४ मा युक्रेनको क्राइमियामा रुसले गरेको आक्रमणलाई बताउने गर्छन् । तर पछिल्लो समस्याको बीजारोपण भने करिब डेढ दशकअघि नै भएको हो । २००८ को अप्रिल २ देखि ४ सम्म रोमानियाको राजधानी बुखारेस्टमा नेटोको २० औं सम्मेलन भएको थियो । अमेरिकी पत्रकार टकर कार्लसनलाई दुई साताअघि दिएको अन्तर्वार्तामा पनि रुसी राष्ट्रपति पुटिनले युक्रेन समस्या २००८ मै सुरु भएको बताएका थिए । २००८ को नेटो सम्मेलनका दौरान युक्रेन र जर्जियालाई अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको सदस्यता दिने घोषणा गरिएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको दबाबमा उक्त घोषणा गरिए पनि त्यसका लागि कुनै प्रक्रिया भने उल्लेख गरिएको थिएन ।

खासगरी, रुस र युक्रेनबीचको पछिल्लो तनाव यहींबाट सुरु भएको मानिन्छ । शीतयुद्धकालीन सैन्य गठबन्धन नेटोको विस्तार नगर्नेमा अमेरिका र रुस त्यसअघि नै सहमत भइसकेका थिए । त्यसविपरीत अमेरिकी प्रशासन अघि बढेफछि त्रुद्ध रुसले तत्कालै आपत्ति जनाएको थियो । सोभियत संघ विघटनको संघारमा पुगेका बेला अन्तिम शासक मिखाइल गोर्बाचोभलाई अमेरिकालगायत पश्चिमा देशका नेताहरूले नेटोको पूर्वतर्फ विस्तार नगर्ने र रुसको राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधि नगर्ने आश्वासन दिएका थिए । तर अमेरिकालगायतका पश्चिमा देशको त्यसविपरीतको बढ्दो रबैयाले रुसलाई थप आक्रामक बनाएको देखिन्छ ।

युक्रेन नेटोको सदस्य बनेमा आफ्नो देशको सीमा क्षेत्रमा सैन्य गतिविधि बढ्ने र त्यसले राष्ट्रिय सुरक्षामाथि नै खतरा उत्पन्न हुने पुटिनले बताउँदै आएका छन् । उनले युरोपका पूर्वी भाग र स्टोनिया, लात्भिया र लिथुवानियाबाट नेटोको सेना र सैनिक संरचना हटाइनुपर्ने माग गर्दै आएका छन् । जेलेन्स्की राष्ट्रपति भएसँगै पश्चिमा विश्वसँग नजिकिएको युक्रेन ईयूको सदस्यता लिने तयारीमा छ । युक्रेन पनि बेलारुसजस्तै रुसको राजनीतिक, आर्थिक तथा सैन्य प्रभावमा रहोस् भन्ने चाहेका रुसी राष्ट्रपति पुटिनका लागि यो कुरा असह्य भएको छ ।

बेलारुसमा २०२० सेप्टेम्बरमा भएको चुनावमा अलेक्जेन्डर लुकासेन्को विजयी भएका थिए । तर मतगणनामा धाँधली गरेर उनलाई जिताइएको भन्दै बेलारुसमा ठूल्ठूला सडक प्रदर्शन भएका थिए । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सैन्य सहयोग लिएर लुकासेन्को प्रदर्शन दबाउन सफल भएका थिए । युक्रेनमा आन्दोलन चर्केपछि २०१४ मा भागेका भिक्टर यानुकोभिच रुस पुगेका थिए । पुटिनले युक्रेनमा आक्रमण गरी उनको नेतृत्वमा आफूअनुकूलको सरकार गठन गर्ने योजना थियो । आक्रमण सुरु गरेसँगै रुसले साता/दस दिनमा युक्रेनमा आफूअनुकूलको सरकार बनाउने अनुमान पनि गरिएको थियो । ‘युक्रेनी लुकासेन्को’ बन्न तयार यानुकोभिच युक्रेन फर्कने तयारीका लागि बेलारुस पुगिसकेका थिए । तर रुसले केही दिनमा फत्ते हुने ठानेको रणनीति भने दुई वर्षसम्म पनि सफल हुन सकेको छैन ।

पछिल्लो समय नेटो सदस्यहरूले युक्रेनलाई ठूलो मात्रामा हातहतियारदेखि आर्थिक सहयोग दिँदै आएका छन् । यसको एकमात्र उद्देश्य भनेको अमेरिकी नेतृत्वमा रुसलाई घेर्ने रणनीति हो । तर त्यो तत्काल सफल हुने देखिँदैन । किनभने युद्ध भनेको सैनिक मात्र नभई हातहतियारको निरन्तरको आपूर्ति पनि हो । अहिले रुसले तोपहरूको उत्पादन निकै बढाएको छ । इरानबाट ड्रोनहरू र उत्तर कोरियाबाट क्षेप्यास्त्रहरू खरिद गरिरहेको छ । युक्रेन भने हातहतियारका लागि अन्य देशसँग भर परिरहेको छ । उसलाई अमेरिका र ईयूले आर्थिक सहयोग गरिरहेका छन् । रुसी आक्रमणलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले भनेका थिए, ‘भ्लादिमिर पुटिनले युक्रेन र समग्र लोकतान्त्रिक विश्वविरुद्ध युद्धको सुरुवात गरे । उनी हाम्रो देश र सबै संरचना ध्वस्त पार्न चाहन्छन् । तर हामीलाई युक्रेनी जनताको शक्ति थाहा छ ।’ जेलेन्स्कीले भनेजस्तो युक्रेनीको शक्ति ठ्याक्कै थाहा नभए पनि युद्धमा दुई वर्षसम्म अपराजित रहनु उनका लागि सफलता नै हो ।

तर एउटा कुरा निश्चित छ– अरूको भरमा रहेको युक्रेनले रुसलाई पराजित गर्न सक्ने कुनै सम्भावना छैन । अर्कोतर्फ, विदेशी भूमिमा पुगेर युद्ध जित्न रुसलाई पनि त्यति सहज देखिन्न । तर पनि दुई देशबीच तत्काल वार्ता हुने सम्भावना निकै कम छ । किनकि, पछिल्लो समय रुस वार्ताका लागि खासै इच्छुक देखिँदैन भने युक्रेन आत्मसमर्पण गर्ने पक्षमा छैन ।

यस्तो अवस्थामा युक्रेनमा नयाँ नेतृत्व चयन नभएसम्म दुई देशबीचको युद्ध टुंगिने अवस्था छैन । खासगरी, रुसी राष्ट्रपति पुटिन अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको पर्खाइमा छन् । आगामी अमेरिकी राष्ट्रपतिले युक्रेनमाथिको समर्थन फिर्ता लिएर रुससँगको व्यावसायिक सम्बन्ध जोडेको खण्डमा युद्धलाई आफूअनुकूल टुंगोमा पुर्‍याउन सकिने उनको विश्वास छ । र, युद्ध अन्त्यका लागि ‘कोरियाली मोडल’ विकल्प हुन सक्छ । त्यो भनेको युक्रेनको सुरक्षा जिम्मेवारी पश्चिमा देशले लिने र रुसले स्वतन्त्र युक्रेनको अस्तित्व स्वीकार गर्ने हो । तर त्यसका लागि पुटिनलाई मनाउन भने ठूलै कसरत चाहिने देखिन्छ । दुई वर्ष लामो युद्धका क्रममा युक्रेनले चार वटा महत्त्वपूर्ण क्षेत्र गुमाइसकेको छ । आक्रमणसँगै नियन्त्रणमा लिएका लुहान्स्क, दोनेत्स्क, जापोरिजा र खेर्सनलाई रुसले जनमतसंग्रह गरी आफूमा गाभिसकेको छ ।

युद्ध चलिरहेकै बेला युक्रेनी राष्ट्रपति जेलेन्स्की ‘२०२२ को टाइम वर्ष व्यक्ति’ घोषितसमेत भए । ‘रुस–युक्रेन युद्धले आशा वा त्रास जे निम्त्याए पनि दशकौंयता हामीले नदेखेको तरिकाबाट विश्वलाई जोडेको’ भन्दै टाइम म्यागेजिनले भ्लोदोमिर जेलेन्स्कीलाई वर्ष व्यक्ति घोषणा गरेको थियो । टाइमले भनेजस्तो रुसी आक्रमण सुरु भएसँगै जेलेन्स्कीले आफ्नो मन्त्रिपरिषद्, प्रबुद्ध वर्ग, नागरिक समाजलगायतलाई युद्धविरुद्ध एकत्रित राख्न र संसद्लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी र दरिलो रूपमा उपस्थिति जनाउन सफल त भए तर नागरिकको ओठमा हाँसो ल्याउन सकेनन् । आशा गरौं, युक्रेनमा मार्च ३१ मा हुने राष्ट्रपतीय चुनावले त्यस्तो नेतृत्व जन्माओस् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : फाल्गुन ११, २०८० १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?