कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
अबिच्युरी

संगीतका भक्तको अवसान

रीना मोक्तान

काठमाडौँ — भजन शिरोमणिले प्रख्यात भक्तराज आचार्यले सोमबार बेलुका ४ बजेतिर सास फेर्न असहज मानेको कान्छा छोरा स्वरूपराजले थाहा पाइहाले । ‘बुबा गाह्रो भो ?’ स्वरूपले सोध्दा भक्तराज छोरालाई हेरिमात्र रहे । गत दसैंमा घरमा नै लडेपछि भक्तराजलाई श्वासप्रश्वासमा बेलाबेला समस्या पर्दै आएको थियो ।

संगीतका भक्तको अवसान

स्वरूपले बुबाको अक्सिजनको मात्रा बढाउने प्रयासमा लागे तर बढेन । ‘सास फेर्ने कोसिस गर्दागर्दै बुबाले मुख आँ गर्नुभयो । उहाँको शिर मेरो हातमा ढल्कियो,’ सम्भवतः बुबाको अन्तिम सासको साक्षी बनेका स्वरूपले मुटु गाँठो पार्दै भने, ‘त्यही बेलै बुबा मेरो हातमा बित्नुभएजस्तो लाग्छ ।’ हतारहतार मेडिसिटी अस्पताल लगिएका भक्तराजलाई चिकित्सकले सीपीआर दिए तर बचाउन सकेनन् । ८२ वर्षको उमेरमा नेपाली संगीत क्षेत्रले एउटा उस्तादलाई गुमायो ।

२०४६ मंसिर १९ को रात बौद्धमा केही गुन्डाहरूको सांघातिक आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि भक्तराज शिथिल बन्दै गएका थिए । ५ वर्षपछि क्यान्सरका कारण उनको जिब्रो काट्नु परेको थियो । त्यसपछि भक्तराजको गायनमा हठात् पूर्णविराम लाग्यो ।

‘उहाँ हार मान्ने मान्छे होइन,’ भक्तराजको बायोपिक ‘आचार्य’ मा बुबाकै भूमिका निर्बाह गरेका सत्यले थपे, ‘उहाँले जीवनमा धेरै संघर्ष गर्नुभयो । ५० सालदेखि नै ५, ७ हुँदै १० वर्षमा मर्छ भनेको मान्छे, आजसम्म जीवन संघर्ष गर्दै आउनुभयो ।’ बुबालाई असहज हुँदा उनी बाहिर थिए, हतारहतार अस्पताल पुगेका थिए । ‘बुबाको अक्सिजनको तह ३५ मा झरेको खबर पाउनासाथ म अगाडि नै अस्पताल दौडिए । तर, बुबा त घरमै बितिसक्नुभएको रहेछ,’ गला अवरुद्ध पार्दै सत्यले भने । दसैंमा घरमै बुबा लडेर थला परिसकेपछि करिब ४ महिनायतादेखि सत्य र स्वरूपले बुबालाई कहिल्यै एक्लै छोडेका थिएनन् । यसबीच अमेरिकाको डेढ महिनाको सांगीतिक भ्रमण पनि रद्द गरिदिए । दुई दाजुभाइमा एक जना घरमै बुबाको स्याहारमा लाग्थे । आमा सुशीलाले बुबाको आजीवन स्याहार गरेको स्वरूपले सुनाए । ‘उहाँको अवस्थालाई लिएर बुबाभन्दा पनि आमा धेरै चिन्तित हुनुहुन्थ्यो,’ रसिला आँखामा स्वरूपले भने ।

एक सय भारु बोकेर डुवर्सबाट नेपाल आएका भक्तराजले २०२० मा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए । खर्च सकिएपछि डुवर्स नै फर्के । हार्मोनियम, तबला र गितारसँगको नाताले उनलाई १० वर्षपछि फेरि नेपाल फर्कायो । फर्केको भोलिपल्टै नकुलकाजीको शब्द तथा आफ्नै संगीतमा ‘मलाई जीवन चाहिन्छ’ बोलको गीत पहिलो पटक रेकर्ड गराए । ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘हजार सपनाहरूको’ गरी ४ सयभन्दा बढी गीत, गजल, राष्ट्रिय गीत, भजन र बालगीत गाएका उनी सुरको मानक मानिन्थे ।

क्यान्सरका कारण जिब्रो काटिएपछि भने भक्तराजले निकै नैराश्यतामा जीवन बिताउँदै आएका थिए । ‘खासमा त्यही दिनमा मेरो सक्रिय जीवनमा पूर्णविराम लागेको हो । सर्वनाश भयो भनेर मर्न मन लाग्यो । जिब्रो काटिएपछि छतबाट हाम फालेर मर्न खोजें पनि । सुशीलाले बचाइन्,’ कान्तिपुरसँगको अन्तिम अन्तर्वार्तामा भूपेन्द्र खड्कालाई भक्तराजले भनेका थिए, ‘खासमा मेरो यो जीवनभन्दा मृत्यु राम्रो हो तर पनि म बाँचिरहेको छु ।’

जिब्रो काटिएर ३० वर्ष घरमै बस्दा पनि स्रष्टाको हकअधिकारका पक्षमा भक्तराज उभिरहे । भक्तराजले सधैं स्रष्टाले आफ्नो हकअधिकारका लागि लड्नुपर्ने पक्षमा उभिने गरेको गीतकार महेश आचार्यले सुनाए । भक्तराज जस्तो स्रष्टालाई राज्यले नचिनेको टिप्पणी गर्दै उनी भन्छन्, ‘भक्तराज आफैंमा सुरको उस्ताद हो । तर राज्यले उहाँको उचित सम्मान गर्न सकेन ।’ उनले भक्तराजका गीतहरू रेडियो नेपाल हुँदै म्युजिक नेपाल पुगेको प्रसंग निकाल्दै भने, ‘स्रष्टाको उत्पादन चलाउँदा त स्रष्टाले त्यसको आम्दानी (रोयल्टी) पाउनुपर्ने हो । त्यो नपाउँदा उहाँमा अत्यन्तै ठूलो गुनासो थियो ।’

लामो समयदेखि आचार्य परिवारसँग जोडिएका संगीतकार किरण कँडेल भक्तराजले खनेकै बाटोमा युवा पुस्ता हिँड्दै आएको बताउँछन् । ‘उहाँको स्वर नै जादुमयी थियो । वजनदार । गायकीमा प्रस्टता । उच्च कोटीको गायकलाई हामीले आज गुमायौं,’ उनले भावुक हुँदै भने, ‘उहाँ जत्तिको आवाज हुने गायक जन्मेको छैन । यस्ता स्रष्टाको जन्म विरलै हुन्छ ।’

अर्का संगीतकार हरि लम्साल भक्तराजलाई संगीतको विश्वविद्यालयका रूपमा परिभाषित गर्छन् । ‘हामी संगीतकर्मीका लागि त भक्तराज विश्वविद्यालय नै हुनुहुन्थ्यो । उहाँका सिर्जना सुनेर नै हामी यहाँसम्म आइपुगेका हौं । उहाँले खनेका बाटोमा हिँडिरहेका छौं,’ हरिले भने । भक्तराजको अन्तिम सास फेर्दाको साक्षी उनी पनि हुन् । उनी आचार्य परिवार बस्ने सानो खोकनाका छिमेकी पनि हुन् । भक्तराजलाई अस्पताल लैजाँदा उनी साथै थिए ।

प्रकाशित : फाल्गुन १५, २०८० ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×