कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

जनवादी कलाकार : सम्झिन चाहन्नन् युद्धका दिन

माओवादी जनयुद्धमा गीत–संगीत र कलाका माध्यमबाट रातोदिन खटिएका जनवादी कलाकार पछिल्ला वर्षमा आफूहरू उपेक्षामा परेको गुनासो गर्छन्
जे आस राखेर जनयुद्धमा होमिएका थियौं, त्यसले त्यो नतिजा दिएन । गीतका माध्यमबाट परिवर्तनको गुणगान गाइयो। देशमा विकास र परिवर्तन पनि भयो। तर, हामी यतै कतै छुट्यौं । -जमुना विक
महेश केसी

रुकुम पश्चिम — चुनबाङको खुला आकाशमुनिको फराकिलो चौर । त्यही चौरको बीचमा भइरहेछ एउटा ऐतिहासिक जमघट । भूमिगत अवस्थामा रहेका नेकपा माओवादीको सैन्य दस्ता जनमुक्ति सेनाका सर्वोच्च कमान्डर तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईलगायत शीर्ष नेताहरू लहरै बसेका छन् । कपडाको सामान्य पर्दामा रातो ब्यानर टाँगेर एउटा विशेष सांस्कृतिक कार्यक्रम प्रदर्शन भइरहेको छ ।

जनवादी कलाकार : सम्झिन चाहन्नन् युद्धका दिन

‘फाटेर जाँदै छ मैलो र धमिलो, हुनेछ गरिबको जीवन रमाइलो...’ बोलको गीतमा टप्पा नृत्य प्रदर्शन भइरहेका बेला एक्कासि गोली चलेको आवाजसँगै नाराबाजी हुन्छ अनि सुरु हुन्छ– ‘युद्धको मैदानबाट फर्कंदा...’ शीर्षकको गीति नाटक । ‘एउटा महान् सपना बोकी अघि बढेका यात्रीहरू, प्रचण्डपथले सु–सज्जित भई हिँडेका योद्धाहरू...’ बोलको गीतमा युद्ध मैदानको झझल्को दिने गरी हेलिकोप्टर उडेको अनि बम र बन्दुक पड्किएको आवाजसँगै लडाइँको दृश्य दर्शकदीर्घामा बसेकाहरूले एकटकले हेरिरहेका छन् । यो सबै दृश्य देखेर दर्शकदीर्घाको अघिल्लो लाइनमा बसेका अध्यक्ष दाहालसहितका सबैजसो शीर्ष नेता सुक्क–सुक्क गर्छन् । रुमालले आँसु पुछ्छन् ।

२०६२ असोज २३ गते रुकुमको चुनबाङमा ‘युद्धको मैदानबाट फर्किंदा...’ शीर्षकमा तत्कालीन नेकपा माओवादी केन्द्रको विशेष सांस्कृतिक अभियानअन्तर्गत आयोजना गरिएको एक कार्यक्रमको संक्षिप्त दृश्य वर्णन थियो यो ।

जनयुद्धको त्यो समय सम्झाउने यो कार्यक्रमको ५० मिनेट लामो झलक अहिले पनि युट्युबमा हेर्न सकिन्छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ मठस्थित डेरामा बसेर यो हेर्दै सिस्ने गाउँपालिका–३ पाङ्गा रुकुम पूर्वकी ३३ वर्षीया जमुना विकलाई प्रत्येकपल्ट यो दृश्य हेर्दा आँखा रसाउँछन् । युद्धकालीन स्मृति बताउने क्रममा फेरि एक पटक यही भिडियो हेरेर रोएपछि जमुनाले लामो सास तान्दै भनिन्, ‘यो हेरेपछि त्यो दिनको सम्झना आयो । अनि, मन थाम्नै सकिनँ ।’

यो कार्यक्रममा जमुना कलाकारका रूपमा सहभागी भएकी थिइन् । १४ वर्षको छँदा ६ कक्षाको पढाइ बीचमै छाडेर जमुना जनयुद्धमा होमिएकी हुन् । ‘गाउँमै पार्टीको एउटा कार्यक्रम थियो । दिदी उमेरकाहरूले नयाँ कपडा लगाएर नाचगान गरेको देखेपछि म पनि लोभिएँ । अनि, माओवादी हुने निधो गरेर घर फर्किनँ,’ ती दिनहरू सम्झिँदै उनले सुनाइन्, ‘मसँगै अरू २ जना साथी पनि थिए । हामीलाई तल्लो जात भनेर हेपेको सम्झेर पनि माओवादी भएपछि हेपाइमा परिँदैन भन्ने कुराले मलाई तान्यो र त्यसै दिनदेखि माओवादीमा पूर्णकालीन भएर लागें ।’

माओवादी सशस्त्र आन्दोलनमा होमिएकी जमुनाले त्यसपछि पढ्न पाइनन् । नाच्ने–गाउने कुरामा रुचि राख्ने उनी जनवादी कलाकारका रूपमा पार्टीले खटाएका ठाउँमा कार्यक्रममा सहभागी हुन थालिन् । ‘हुनेछ जनताको जित, आउनेछ सुनौलो बिहानी । पार्नेछौं सपना साकार, बन्नेछ गरिबको सरकार...’ देखि ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन...’ जस्ता गीतमा छमछम नाच्दै गरेका ती दिनको सम्झनाले जमुनालाई हिजोआज उतिसारो खुसी दिँदैन । किनकि, जे आस राखेर उनी जनयुद्धमा होमिएकी थिइन्, त्यसले त्यो नतिजा दिएन । ‘गीतका माध्यमबाट परिवर्तनको गुणगान गाइयो । देशमा विकास र परिवर्तन पनि भयो । तर, हामी यतै कतै छुट्यौं,’ उनले गुनासो गर्दै भनिन्, ‘अहिलेको परिवर्तनको जग नै जनयुद्ध थियो । मान्छे–मान्छेबीचको विभेदमा केही कमी आए पनि नव–सामन्तहरूको उदय भयो । अनि, आन्दोलनमा सहभागी भएका हामीजस्ता कैयौं योद्धा बेवास्तामा पर्‍यौं ।’

२०६४ सालको संविधानसभा निर्वाचनसम्म पूर्णकालीन कलाकारका रूपमा अनवरत माओवादीमा काम गरेकी जमुनाले त्यसपछि आफूहरूलाई घर–घर जाऊ भनेर पठाएको सम्झिइन् । ‘के–के न होला भनेर माओवादी भएको त अन्तिममा रित्तो हात घर फर्किनुपर्‍यो,’ उनले भनिन्, ‘टाठाबाठाले अवसर पाए, ठूला मान्छे भए । हामीजस्ता सोझासाझालाई कसैले वास्ता गरेन ।’

घर फर्किएको आठ वर्षपछि २०७० सालमा बिहे गरेकी जमुनाले यसपछि पनि अनेकन हन्डर–ठक्कर खाएको बताउँछिन् । बिहेपछि पनि जीवनमा खुसीको घाम झुल्किएन । भारतको ढुंगाखानीमा मजदुरी गरिरहेका उनका श्रीमान्को दुर्घटनामा मृत्यु भयो । श्रीमान्को मृत्युपछि ११ र ७ वर्षका दुई छोरी हुर्काउँदाको सास्तीलाई उनले जेनतेन झेलिरहेकी छन् ।

गीत–संगीतका माध्यमबाट तत्कालीन माओवादी जनयुद्धताका नेतामा एकता, सेनामा साहस र जनतामा जागरण पैदा गरेका जमुनाजस्ता धेरै कलाकारले आफू माओवादीमा लागेकामा पछुतो व्यक्त गर्छन् । त्यसैमध्येका अर्का कलाकार हुन्– त्रिवेणी गाउँपालिका–४ का ५६ वर्षीय दलबहादुर घर्ती । ‘कमरेड हुरी’ का नामबाट त्यसबेला परिचित घर्ती अहिले मुसीकोट नगरपालिका–४ सोलाबाङमा मयूर नाचका लागि आवश्यक सामग्री बनाएर बेच्छन् ।

२०५९ सालदेखि लडाकु दस्ताका रूपमा माओवादीमा आबद्ध भएका घर्तीले २०५२ देखि २०६८ सम्म पार्टीको पूर्णकालीन कलाकारका रूपमा काम गरे । ‘देशका करिब ४० भन्दा धेरै जिल्लाका गाउँबस्तीमा पुगेर परिवर्तनका भाका सुनाइयो, कला प्रदर्शन गरियो,’ उनले भने, ‘म त एरिया, क्षेत्रीय, जिल्ला हुँदै राष्ट्रिय कलाकारका रूपमा मरीमरी खटें । पटक–पटक मरेर बाँचें । तर, अहिले १६ वर्षपछि त आफूलाई रित्तै पाएँ ।’

युद्धताका पार्टीले ‘बन्दुकका सेना, कलमका सेना र मादलका सेना’ भनेर परिभाषित गरेको सम्झिँदै घर्तीले त्यतिबेला आफूहरूलाई बहकाउनका लागि यो सबै भनेजस्तो लागिरहेको बताउँछन् । ‘आन्दोलनलाई सफल पार्न के गरिएन, कहाँ पुगिएन ?,’ उनले भने, ‘तर अहिले पार्टी कहाँ पुग्यो अनि हामी कहाँ छौं ? अहिले यो सबै सम्झिँदा त दिक्क लागेर आउँछ ।’

विशेष गरी नृत्यमा पोख्त घर्तीले गितार, हार्मोनियम, मादल र अक्टोप्याट बजाउन पनि सिकेको बताउँछन् । उनले कोठामा अहिले पनि विभिन्न वाद्य सामग्री सुरक्षित राखेका छन् । सा रे ग म... र गितारका सूत्र आदि लेखेको पुरानो डायरी देखाउँदै उनले भने, ‘माओवादी भएर नाच्न र बाजा बजाउन सिकियो । तर, यो कलापछि कहींकतै प्रयोगमै आएन । अहिलेका माओवादीले त सायद हामीलाई चिन्दा पनि चिन्दैनन् होला ।’

माओवादी कलाकारका रूपमा दिलोज्यान दिएर लागेकी अर्की कलाकार हुन्, कल्पना बुढा । सिस्ने गाउँपालिका–२ प्वाङ रुकुम पूर्वकी ४३ वर्षीया उनी १० कक्षामा पढ्दापढ्दै माओवादी आन्दोलनमा पूर्णकालीन भएर लागेको बताउँछिन् । ‘२०५३ देखि २०६५ सम्म निरन्तर पार्टीमा कलाकारका रूपमा काम गरें,’ उनले भनिन्, ‘अहिले पछुतो सिवाय केही पाएकी छैन ।’

त्यतिबेलाको समयमा जे–जस्तो भए पनि अहिले आएर त्यतिबेला किन आन्दोलनमा होमिएँछु भनेर पछुतो हुने गरेको उनको भनाइ छ । ‘श्रीमान् पनि जनमुक्ति सेनामै हुनुहुन्थ्यो, सेना समायोजना हुँदा उहाँ अयोग्य ठहरिनुभयो । म योग्य त भएँ तर गाना–बजाना छोडेर रित्तै घर फर्किएँ,’ उनले भनिन्, ‘अहिले आएर जीवनको उर्वर समय यसै बिताएजस्तो लाग्छ । ती दिन अब म सम्झिन चाहन्नँ ।’

पछिल्लो समय पार्टी–संगठनको जिम्मेवारी त परको कुरा, सामान्य सम्पर्कमा समेत नरहेको बताउने कल्पनाका श्रीमान् २०६५ पछि परदेशमा छन् । ‘उता श्रीमान् श्रम गर्दै हुनुहुन्छ,’ उनले भनिन्, ‘यता म दुःखजिलो गरेर दुई छोराको लालनपालन गरिरहेकी छु ।’ युद्धताका माओवादी पार्टीको संगठन र सेनामा लागेकाहरूको दाँजोमा कलाकारहरूलाई पदीय जिम्मेवारी र हैसियतमा भन्दा काममा मात्रै खटाएको भन्दै मुसीकोट–१० रुकुम पश्चिमकी अर्की कलाकार प्रेमकुमारी सुनारले पनि कलाकार निरन्तर उपेक्षामा पर्ने गरेको बताइन् ।

४६ वर्षीया प्रेमकुमारीले ७ कक्षा पढ्दापढ्दै २०५२ सालदेखि निरन्तर कलाकारका रूपमा काम गरिन् । २०६४ सालमा मुसीकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी उनी यस्तो अवसर पाउने निकै थोरै कलाकारमा पर्छिन् । ‘हाम्रा गीतहरूले पार्टीभित्र ऊर्जा पैदा गर्थ्यो भने जनतामा माओवादीप्रतिको विश्वास र बुझाइलाई प्रस्ट गर्थ्यो । तर, तिनै कलाकार माओवादी सत्तामा पुगेपछि गणनामा परेनन्,’ उनले भनिन्, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीका अनकन्टार गाउँबस्तीमा संगीतमा भाका बुनेर हामीले आन्दोलनलाई बलियो बनाउने काम गरेका हौं ।’

युद्धताका रातभरि सांस्कृतिक कार्यक्रम गरेर दिनभरि संगठन निर्माण र फौजी काममा आफ्नो ज्यानको समेत पर्वाह नगरेर खटेका धेरै जनवादी कलाकारलाई पार्टीले उचित मूल्यांकन गर्न नसकेको गुनासो व्याप्त छ । पहिले पार्टी प्रधान हुन्थ्यो भने अहिले व्यक्ति प्रधान भइरहेको दलबहादुर घर्तीको भनाइ छ । ‘माओवादी जनयुद्ध भनेको के हो र कसरी, केका लागि भएको थियो भन्ने नै थाहा नपाएकाहरूले अहिले सत्ताको स्वाद चाखिरहेका छन्,’ आक्रोशित उनले भने, ‘दलाल, नोकरशाही, सामन्ती र पुँजीपतिका विरुद्धमा गरेको लडाइँ अन्ततः त्यही भासमा कताकता हरायो । वास्तविक माओवादीमाथि अहिले नक्कली माओवादीले शोषण गर्ने अवस्था आयो । यो सबै देख्दा विरक्त लागेर आउँछ ।’

प्रकाशित : फाल्गुन १०, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?