कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
मेड इन नेपाल

जाभामा भेटौंला !

जब गगन प्रधानले २५ वर्षअघि काठमाडौंको हेरिटेज प्लाजामा हिमालयन जाभा स्थापना गरे, यो चिया पिउने आमबानीमा पहिलो हलचल थियो । समयक्रममा चियाको दोकान हिँडेका उपभोक्ता बिस्तारैबिस्तारै कफीसपतर्फ मोडिन थाले । आज काठमाडौंमा ५ हजार हाराहारी कफीसप छन् । 
सुरज कुँवर

काठमाडौँ — सिद्धार्थ वनस्थलीको एसएलसी, शंकरदेव क्याम्पसको प्रमाणपत्र तहपछि ०५६ सालमा जब गगन प्रधान अस्ट्रेलियाबाट होटल म्यानेजमेन्टमा स्नातक सकेर काठमाडौं फर्किए, त्यतिबेला काठमाडौंका गल्ली–गल्लीमा चिया पसलको एकछत्र राज थियो । त्यसताका काम गर्दागर्दै दिमाग ‘ह्यांग’ भइहाले मानिसहरू तातो पेयपदार्थका नाममा ५/१० रुपैयाँमा सिसाको गिलासमा पाइने चियाको चुस्की लिई शरीरबाट हराएको स्फुर्ती फर्काउँथे । मध्यम तथा उच्च वर्गका मानिसहरू पनि भेटघाटमा चिया नै पिउँथे/खुवाउँथे ।

जाभामा भेटौंला !

कफी खाने ‘कल्चर’ हिजोआज जस्तो स्थापित भइसकेको थिएन । अझ दानाबाट तयार पारिएको भुटेको कफी (रोस्टेट कफी बिन) त नेपालबाट अफ्रिका जति पर थियो, उपभोक्ताको सोचमा पनि त्यति नै पर थियो । मध्यम तथा उच्च सहरियाहरू भने फाट्फुट आयातित तयारी (इन्स्ट्यान्ट) कफीको धूलो दूधमा चिनीसँग उमालेर पिउँथे । यस्तै खाले कफी खाने आदत बनाइसकेका केही सहरिया व्यक्तिहरू कुनै कुनै पाँचतारे होटलमा यदाकदा कफी पिउन पुग्थे ।

२०५६ मंसिरमा जब गगनले काठमाडौंको हेरिटेज प्लाजामा हिमालयन जाभा स्थापना गरे, यो चिया पिउन गल्लीभित्र पस्ने मानिसहरूको आमबानीमा पहिलो हलचल थियो । समयक्रममा चियाको दोकान हिँडेका उपभोक्ता बिस्तारैबिस्तारै कफीसपतर्फ मोडिन थाले । आज काठमाडौंमा ५ हजार हाराहारी कफीसप छन् ।

हिमालयन जाभाका संस्थापक गगन प्रधान ।

भक्तपुरमा जन्मेका तर नयाँबानेश्वरमा हुर्केबढेका यी ४८ वर्षीयले २५ वर्षअघि १२ लाख रुपैयाँ लगानीमा ६ जना कर्मचारीबाट थालेको हिमालयन जाभाको हेरिटेज प्लाजापछि यात्रा ठमेल, काठमाडौं गेस्ट हाउस, लिंकन स्कुल रविभवन, सिटी सेन्टर, ब्लु बर्ड थापाथली, सिभिल मल सुन्धारा, पुतलीसडक हुँदै सगरमाथा प्रवेश गर्ने नाम्चे बजारसम्म उक्लिसकेको छ । काठमाडौंबाहिर कुरिनटार, पोखरा, इटहरीमा पनि जाभा अरू साझेदारसँग फ्रेन्चाइजमा विस्तार भएको छ ।

कोभिडअघि जोमसोम, तिब्बत, अमेरिकासम्मको यात्रा हिमालयन जाभाले गर्‍यो । कोभिडकालमा यसको यात्रामा बिराम लाग्यो । यसबेला आर्थिक मन्दीले जाभाको व्यापारमा पनि कम्तीमा ४० प्रतिशतले असर पुर्‍याएको छ । तर, गगन आत्तिएका छैनन् । गगनले आफ्नो कम्पनीको बजार मूल्य र वार्षिक कारोबारको हिसाबको अंक त निकालेका छैनन् । तर, यतिबेला धेरै लगानीकर्ताको आँखा जाभातर्फ छ । उनलाई लगानीको अफर गर्ने थुप्रै छन् । तर, उनी भविष्यमा सर्वसाधारणलाई पनि सेयर दिने सपना देखिरहेका छन् । आजको दिनमा एउटा जाभा विस्तार गर्न कम्तीमा १ करोड रुपैयाँ लगानी गर्नुपर्छ । फ्रेन्चाइज लिनेले जाभाको ब्रान्ड भ्यालु सदस्यताका लागि सुरुमै ३३ लाख रुपैयाँ बुझाउनुपर्छ ।

अमेरिकन बरिस्तासमेत रहेका गगन जाभाका लागि भने विदेशी कफी रुचाउँदैनन् । उनी नेपाली कफीलाई माया गर्छन् । १८ सय मिटरसम्मको उचाइमा कफी उत्पादन हुने भएकाले उनी खेतीमा पनि कस्सिएका छन् । कफी बनाउने बरिस्ताका लागि तालिम स्कुल १६ वर्षदेखि सञ्चालित छ ।

जसबाट उनले ७–८ हजार बरिस्ता उत्पादन गरिसकेका छन् । अहिले थापाथलीमा सेन्ट्रल किचनबाट बेकरी आइटम उत्पादन भइरहेका छन् । इलाममा कफी खेती भइरहेको छ । कफी बनाउने मेसिन लगायतका उपकरण र सामानको व्यापारमा पनि उनी जोडिएका छन् ।

काठमाडौं सहरभित्र र बाहिर गरेर अहिले हिमालयन जाभाको आउटलेट ५८ वटा पुग्दै छ । यो परिवारमा कम्तीमा ५ सय जना प्रत्यक्ष जोडिएका छन् । जसले दैनिक १२ देखि १५ हजार कप कफी सहरका मानिसहरूलाई खुवाइरहेका छन् । जाभाको फैलिँदो सञ्जालमा २५ वटामा गगन र उनका बराबरीका साझेदार आनन्द गुरुङ छन् । अस्ट्रेलियाबाट मेकानिकल इन्जिनियरिङमा स्नातक सकेका गुरुङ जाभाको बजारीकरणमा केन्द्रित छन् भने गगन यतिबेला कफी हाउसका लागि कफीबिन (दाना) को आपूर्ति गर्न किसानसँग जोडिएर उत्पादनतर्फ केन्द्रित छन् ।

२०४६ को राजनीतिक परिवर्तनपछि बदलिएको काठमाडौंमा कुनै बेला थियो, मानिसहरूको भेटघाट नाङलो बेकरी क्याफेमा हुन्थ्यो । कोही कसैलाई भेटघाट गर्नुपरे ‘नाङलोमा भेटौंला’ भन्थे । अहिले धेरैजसोले ‘जाभामा भेटौं’ भनेको सुनिन्छ । हिजोआज काम गर्दागर्दै दिमाग ‘ह्यांग’ भइहाले अधिकांश मानिसहरू कफीको सर्को तान्न हिमालय जाभा कुदिहाल्छन् । त्यहाँभित्र पसेपछि ‘पेन्डिङ’ कामलाई अघि बढाउने सहमतिमा जुट्छन् । फेरि भेटिने गरी छुट्छन् । हिजोआज मानिसहरूका जीवनका सबैसबै खाले काम गर्ने जक्सन बनेको छ जाभा । ‘गगन दाइ,’ केही ग्राहक कफी पिउँदै अनि साथमै रहेकी महिलालाई देखाउँदै गगनलाई भनिरहेका हुन्छन्, ‘यिनी मेरी श्रीमती हुन् । भर्खरै बिहे गर्‍यौं । यिनको र मेरो पहिलो भेटे यही जाभामा भएको थियो ।’ यस्तो कुराले गगन खुसी नहुने कुरै भएन ।

आफ्ना विदेशिन लागेका सन्तानको भविष्यका लागि उनीसँग दैनिक अभिभावकहरू परामर्श माग्छन् । जाभामा कोही ‘कर्पोरेट’ भेट गर्छन् भने कोही भविष्यका योजना सम्पन्न गर्न जुक्ति निकालिरहेका हुन्छन् । साझेदारबीच भेटघाट, पारिवारिक मिलन, बिहे छिनोफानोदेखि सम्बन्धविच्छेदसम्मका लागि हिजोआज जाभा स्टेसन हुन थालेको छ । ‘मानिसहरू हिजोआज जाभाको इन्टेरियर, सर्भिस, एम्बियन्सलाई आफ्नो कार्यालय वा बेडरुमको एक्स्टेसनका रूपमा हेरिरहेका छन्,’ गगनले भने, ‘अहिले पहिले जस्तो भाडामा अफिस चलाउनु पर्दैन । स्मार्ट मान्छेका लागि हाम्रा कफी स्टेसन उनीहरूको अफिस भइदिएका छन् । धेरैले हाम्रो जाभालाई नै आफ्नो अफिस भन्दै प्रचार गरेको सुनिन्छ ।’

धेरै मानिसहरू दैनिक २–३ कप कफीमा दिनभर जाभामा आफ्ना महत्त्वपूर्ण भेटघाट, असाइनमेन्ट सम्पन्न गर्छन् । गगनका अनुसार, सानो कर्पोरेट कार्यालय आवश्यक पर्ने तिनै ग्राहकलाई लक्षित गर्दै अब जाभाले मासिक सदस्यता शुल्कमा आधारित सेवा सुरु गर्ने भएको छ । सुरुवाती दिनमा ३५ देखि ७५ रुपैयाँ कपमा स्थापना भएको जाभामा अहिले १ सय ५० देखि ४ सय ५० रुपैयाँमा कफी पिउन पाइन्छ । जाभामा फास्टफुड भने पाइँदैन । तर, बेकरी आइटम भने सबैतिर राखिएको छ । खाना राख्दा मानिसहरूको ध्यान खानामै केन्द्रित हुने नवीनतम् सोच, सिर्जना, उपायमा केन्द्रित नहुने भएकाले जाभाले फास्टफुडलाई कहिल्यै प्राथमिकतामा राखेन ।

२० वर्षअघि सहरी क्षेत्रका मानिसहरूको जिब्रोमा स्थायी डेरा जमाउने चियाको दाँजोमा कफीमा आकर्षित हुनेहरू पनि ह्वात्तै बढेको कफीको खपतबाट देखाउँछ ।‘सुरु–सुरुमा नेपालमा ५०–६० टन कफी खपत हुन्थ्यो,’ नारायणहिटी पूर्वमा रहेको फ्रेन्चाइज हिमालयन जाभामा शुक्रबार बिहान भेटिएका गगनले भने, ‘अहिले ७–८ सय टन कफी नेपालमै खपत भइरहेको छ । नेपालमा उत्पादन हुने कुल कफीमध्ये विदेश निर्यात त्यस्तै ५–७ प्रतिशत मात्रै होला । हामीलाई पुगेकै छैन ।’

गगन अस्ट्रेलियाको विलियम ब्लु इन्टरनेसनल स्कुलबाट होटल म्यानेजमेन्टको स्नातक सकेर जब काठमाडौं फर्के र हेरिटेज प्लाजा कमलादीमा हिमालयन जाभा कफीसप खोले, उनकै बुबाले ‘त्यत्रो पढेर चिया पसल खोल्ने ?’ भनी टिप्पणी गरेका थिए । उनका बुबामात्रै होइन, त्यसबेलाको समाजले गगनलाई कफीसप खोलेर ‘सानो काम’ गरेको टिप्पणी गरेको थियो । तर, आज एक कप कफीले मानिसको स्वादमात्रै होइन, जीवन नै परिवर्तन गरिरहेको छ ।

उनलाई अमेरिका र अस्ट्रेलियामा रहेका नेपालीले ‘हिमालयन जाभा मिलाइदिन’ आग्रह गरेका दैनिक दर्जनौं इमेल पठाउँछन् । तर गगनलाई खासमा भारतमा हिमालय जाभाको चेन बिस्तार गर्ने रहर छ । त्यसअघि उनले नेपालभित्रै जाभालाई बृहत् रूपमा लैजान खोजिरहेका छन् । भारतपछि उनको इच्छा मध्यपूर्वी मुलुकहरू छन् । त्यहाँ कफी कल्चर अत्यधिक छ । उनी स्टारबक्स, इल्ली, लाभाजा लगायतका कफी ब्रान्डको लाइनमा हिमालय जाभालाई पनि उभ्याउने सपना देखेर हाल नेपालमै कफी उत्पादनमा लागिरहेका छन् । उनले पहिलो आउटलेट सुरु गरेको हेरिटेज प्लाजाबाट अहिले नयाँ भेन्चर क्याफे मोका पनि सुरु गरेका छन् । क्याफे मोकाले सस्तोमा जाभाकै गुणस्तरको कफी उपलब्ध गराउँछ । गगन यो हस्पिटालिटी क्षेत्रमा झुक्किएर भने आएका होइनन् । ‘मेरो बुबा गौरी प्रधानको दरबारमार्गमा कुमारी टुर एन्ड ट्राभल थियो । म सानैदेखि भविष्यमा कुन क्षेत्रमा लाग्ने भन्नेमा रुटम्याप क्लियर थियो,’ उनले भने, ‘जब उच्च शिक्षाका लागि होटल म्यानेजमेन्ट अध्ययन गर्न अस्ट्रेलिया उत्रिए । डे वानदेखि नै मैले नेपाल फर्किनुपर्छ भनेर सोचिसकेको थिएँ,’ उनले जाभा थाल्नुअघिको कुरा सम्झें ।

खासमा आफूलाई परिवर्तन गराउन अस्ट्रेलिया पुगेको बताउने गगनलाई बुबाले ४ दशकसम्म चलाएको टुर एन्ड ट्राभललाई पनि अघि बढाउन बाटो खुला थियो । तर, उनी समाजमा परिवर्तन देखाउन चाहन्थे । ‘नेपालमा बसेर केही हुँदैन’ भन्ने आममानसिकतामा उनको विमति थियो । इमान्दार भएर मेहनत गर्दा परिवर्तन गर्न सकिनेमा उनी आत्मविश्वासी थिए । त्यसैले चानचुन ६ वर्ष अस्ट्रेलिया बसेर काठमाडौं फर्केपछि उनी स्वदेशमै केही न केही इलम गरेर अडिन चाहन्थे । त्यसबेला उनले नेपाल उत्रिएको ३/४ दिनमै सोल्टी होटलमा जागिर पाए । तर त्यहाँ ५ दिनमात्रै काम गरे । खासमा उनको मन नोकरीमा बसेको थिएन । लगत्तै उनले काठमाडौंको हेरिटेज प्लाजा आसपासमा कफीबारे प्रश्नावली बनाएर एउटा सानो अनुसन्धान गरे । जसको उद्देश्य कफीसप स्थापना गर्नु थियो । उनी एक कप कफीबाट नयाँ पुस्तालाई प्रेरित गर्न चाहिरहेका थिए । ‘झन्डै ४–५ सय चिया पिउने मानिसहरूबीच गरेको अनुसन्धानले मलाई कफीसप चल्न सक्छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसपछि म कफीबारे तालिम लिन अमेरिका पुगें ।’

अमेरिकाको लसएजेल्समा उनले एक महिना बरिस्ताको तालिम लिए । त्यहींबाट एउटा कफी बनाउने मेसिन र ग्रेन्डर बोकेर काठमाडौं ओर्लिए । ‘त्यसबेला भन्सार महसुलको सूचीमा कफी मेसिन नै थिएन,’ उनले भने, ‘मैले रंगीन टीभीलाई तोकिएको भन्सार महसुल तिरेर हिमालयन जाभाका लागि पहिलो कफी मेसिन नेपाल ल्याएको थिएँ । त्यो अहिले दरबारमार्गको जाभामा प्रदर्शनीमा राखेको छु ।’

बुबाको ट्राभल कम्पनी भएकाले उनी सानैमा पोखरा, चितवन घुम्न गइरहन्थे । तर, उनले त्यसबेला नेपालमा कतै पनि कफीको स्वाद चाख्न पाएका थिएनन् । अस्ट्रेलियामा पुगेपछि उनी अध्ययन गर्ने कलेजबाहिर सानो कफीसप थियो । कक्षामा छिर्नुअघि विद्यार्थीहरू कफी र चकलेट साथै लैजान पाउँथे । बिन कफीको पहिलो अनुभव उनले सिड्नीमै लिएका थिए । ‘तर त्यहाँ कफी कल्चर बलियो थिएन,’ उनले भने, ‘अस्टेलियामा इन्डोनएसियाको जाभा टापुको कफी पाइन्थ्यो । जसलाई बोलीचालीमा जाभा भनिन्थ्यो ।’

नेपालमा जब कफीसप खोल्ने योजनालाई गगनले अघि बढाए । नाम के राख्ने भन्नेमा उनी दोधारमा परे । उनले हिमालयन शब्द आफैं छाने र पछाडि फुर्कोमा धेरै नाम राखे अन्तः जाभा शब्दमा उनको मन अडियो र नाम भयो, हिमालयन जाभा । ‘सुरुमा धेरैलाई हिमालयन जाभाले झुक्यायो । कतिपय कम्प्युटर इन्स्टिच्युट ठानेर त कतिपय राम्रा फर्निचर शोरुम ठानेर पस्थे,’ गगनले भने, ‘तर, आज हिमालयन जाभा कफीको पर्यायवाची भएको छ ।’

गगन हिमालयन जाभालाई कफीमा मात्रै बुझियो भने त्यो अपुरो हुने बताउँछन् । ‘खासमा हामीले एक कप कफीभन्दा धेरै परको सोच रोखेका छौं । आजको दिनमा जाभा भनेको कफीमात्रै होइन । यो बृहत् छ । कफी मानिसहरूको जीवनशैली भइसकेको छ । अचेल कतिलाई तिम्रो अफिस कता छ भनेर सोधियो भने हिमालयन जाभा भन्छन् ।’ त्यसैले हिमालयन जाभा नेपाललाई कफीमार्फत विश्वभर चिनाउने अभियानमा छ, अनि एक कप कफीबाट पनि परिवर्तन गर्न सकिने रहेछ भनेर सन्देश दिइरहेको छ । बाँकी बुझ्न जाभामै भेटौंला ।

प्रकाशित : फाल्गुन १३, २०८० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?