लोकसेवा टपर भन्छन्– ‘असली परीक्षा आउनै बाँकी छ’
Highlights
- परीक्षाका बेला समय व्यवस्थापन सबभन्दा महत्त्वपूर्ण रणनीति हो । यसका लागि लिखित परीक्षामा सोधिने प्रत्येक प्रश्नलाई १६ मिनेटमा सक्काउने अभ्यास गरे अर्बिनले ।
काठमाडौँ — कुनै खास तिथिमितिहरू यस्ता हुन्छन्, जसले जीवनको बाटो बदल्छन् । अर्बिन रानाभाटका लागि फागुनको पहिलो दिन यस्तै एउटा नबिर्सने मिति बनेर आयो, जसका कारण उनी हिँड्ने बाटो र अघि बढ्ने दिशा नै बदलिएको छ ।
‘नाम निस्केन भने के गर्ने ?’ लोक सेवाको परीक्षा दिएर बसेका उनको मन घरीघरी एउटा प्रश्नले घोचिरहन्थ्यो, ‘विदेश जाने कि देशमै बस्ने ?’ गएको कात्तिकमा छँदाखाँदाको जागिर छाडेर उनी लोक सेवा तयारीमा लागेका थिए । रातदिन नभनी पढेको पढ्यै गरेका बेला होस् कि परीक्षा दिएर नतिजा कुर्दाका पट्यारलाग्दा दिनमा होस्, उनलाई उही प्रश्नले सताइरहन्थ्यो । सबैजसो दौंतरी अमेरिका, युरोप र अस्ट्रेलिया पुगिसकेका थिए । उनले पनि धेरै पटक जाने सुरसार नगरेका होइनन् । साथीहरूले ‘नेपालमा भविष्य नै छैन’ भनेर एकाएक देश छाडेपछि अर्बिनलाई पनि यहाँ बाँधिराख्ने केही कुरा भएजस्तो लाग्न छाडेको थियो ।
‘एकफेर लोक सेवा दिएर त हेर’ प्रहरी उपरीक्षकबाट गत वर्ष अवकाश प्राप्त उनका बाबु अर्जुन रानाभाटले अर्बिनलाई सम्झाएका थिए, ‘प्रयासै नगरी यहाँ केही छैन भन्न त नहोला कि ?’ बाबुको कुरा काट्न सकेनन् उनले । जागिर खाएरै लोक सेवा तयारी गर्न सकिएला भन्ने लागने उनलाई । त्यसैले वाग्मती प्रदेश सरकारको अधिकृत (सातौं तह) को पदमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा अस्थायी रूपमा एक वर्षदेखि गर्दै आएको काम छाडिदिए । कति खोज्दा पनि काम नपाइने देशमा भएको जागिर छाड्दा मन आत्तिएको थियो । झन्, १८ पदका लागि १६ हजारको आवेदन परेपछि त अर्बिनलाई आस लागेको थिएन ।
‘यति थोरै पदका लागि त्यत्रा मान्छे भिडेकाले पनि मलाई नाम निस्केला भन्ने आस थिएन,’ २६ वर्षीय अर्बिन भन्छन्, ‘त्यसैले, अब के गर्ने भन्ने प्रश्नले मलाई खुब अत्याएको थियो ।’
यो कस्तो दौड थियो भने, एकदम भोकाएका १६ हजार मानिसको दौड १८ थाली खानाका लागि भएजस्तो । यस्तोमा, जतिसुकै छिटो दौडन सक्नेको खुट्टा पनि काँप्ने नै भयो । करिब एक वर्ष यस्तै दुविधा र संशयमा गुज्रिए अर्बिन । जसै फागुन १ गते लोक सेवा आयोगले शाखा अधिकृतका लागि जाँच दिने १६ हजार उम्मेदवारमध्ये एक नम्बरमा अर्बिनको नाम सिफारिस गर्यो, तब उनका सारा दुविधाहरू अन्त भए ।
कल्पनासम्म पनि नगरेको नतिजा हात लाग्दा अर्बिनलाई एक क्षण त पत्यारै लागेन । आश्चर्य र अविश्वासले उनलाई चकित पारिरहेका बेला ‘लौ बधाई छ, अर्बिन । धेरै धेरै बधाई छ’ भन्दै उनका स्कुले सहपाठीले अमेरिका र अस्ट्रेलियाबाट पनि फोन र म्यासेज गरे । सामाजिक सञ्जालमा तस्बिर नै राखेर बधाइ दिनेको संख्या उस्तै थियो । बिर्सिसकेकाले पनि सम्झिए । आफन्तहरूले मिठाई खुवाए । बाबुआमाको त खुसीको सीमा नै थिएन । अर्बिनचाहिँ चकित बढी थिए कि हर्षित, छुट्याउनै नसक्ने अतिरेकमा थिए ।
‘यो मेरो जीवनको सर्वाधिक भावुक क्षण थियो,’ अहिले पनि बधाई थापिरहेका अर्बिन मुस्कुराए, ‘नामै निस्किन्छ कि निस्किन्न भन्ने भइरहेका बेला टपरै भएँ भन्दा त पत्याउनै नसक्ने खुसी आइलाग्ने रहेछ ।’ सरकारी सेवाका नवप्रवेशीलाई सिधै काममा लाग्नु सेवा प्रवाह कसरी गर्ने भन्ने अघि ६ महिने तालिम दिइन्छ । गत सातादेखि अर्बिन त्यही तालिम लिइरहेका छन् । त्यहाँ पनि टपर भएको भन्दै सबैले बधाई दिए । पढाउनेहरूले पनि उनलाई ज्यादा चासोका साथ सम्बोधन गरे । अनि बल्ल अर्बिनलाई विश्वास लाग्न थालेको छ, ‘यस वर्षको टपर म नै रहेछु ।’
लोक सेवामा दुई चरणका परीक्षा हुन्छन् । पहिलो चरणको परीक्षा प्रारम्भिक हो । यसमा देश विदेशका इतिहास र भूगोलसँग सम्बन्धित सामान्य ज्ञानबारे प्रश्नहरू वस्तुगत रूपमा सोधिन्छन् । गएको असार अन्तिममा लिइएको परीक्षामा अर्बिन १६ हजार विद्यार्थीको हूलमा लुसुक्क सामेल भएका थिए ।
‘सामान्य ज्ञान भएकाले त्यसमा मैले राम्रै गरें र पास भइएला भन्ने पनि भयो,’ अर्बिन भन्छन्, ‘त्यसको केहीपछि रिजल्ट आयो, १० हजार फेल भएछन्, बाँकी ६ हजारमा मेरो नाम पनि थियो, जसले अघि बढ्न प्रेरणा दियो ।’ लिखितमा शासन प्रणाली, समसामयिक र सेवा प्रवाहसम्बन्धी गरी तीन विषयको लिखित परीक्षा लिइन्छ । ‘यो परीक्षा नै सबभन्दा महत्त्वपूर्ण र कठिन हो नाम निकाल्न,’ अर्बिन भन्छन्, ‘किनभने, यसले परीक्षार्थीको वास्तविक सुझबुझ र ज्ञान के कति छ भनेर निर्धारण गर्छ ।’ यो परीक्षामा चार हजारले नाम निकाले । त्यसमा पनि अर्बिन परे ।
नेपालको लोक सेवाजस्तो भारतमा ‘युनियन पब्लिक सर्विस कमिसन’ (यूपीएससी) को परीक्षा लिइन्छ । यसलाई संसारको कठिनतम परीक्षामध्ये एक मानिन्छ किनभने केही पदका लागि यहाँ लाखौं युवा प्रतिस्पर्धा गर्छन् । भारतको संघीय लोक सेवा आयोगको त्यस परीक्षाबारे निर्देशक विदु विनोद चोपडाले हालै एक सिनेमा बनाएका थिए, ‘टुवेल्थ फेल ।’ सिनेमामा देखाइएजस्तै मुख्य पात्र मनोजको जस्तो कठिन जीवन नभए पनि मिहिनेत भने उत्तिकै गरेका थिए अर्बिनले ।
परीक्षाका सबै चरणहरू पार गरेर अन्तर्वार्तामा जाने समय आयो । चार हजारमध्ये उच्च अंक ल्याउने ३२० जनाबाट १८ जनालाई छान्न बसेका लोक सेवा आयोगका सदस्य वीरबहादुर राई र दिनेश सिलवालका साथ अर्बिनले नचिनेका एक जना विज्ञको समूहले उनको अन्तर्वार्ता लियो । यो मानौं एक अन्तिम ढकढक थियो उनको भविष्यको द्वारको । ढोका खोल्ने नखोल्ने, यी तीनको हातमा थियो । परिणाम जे भए पनि होस् भनेर अर्बिनले उत्तेजनाका ग्रन्थिहरूलाई दबाउँदै प्रश्नहरूको सामना गरे ।
रामपुर क्याम्पसबाट कृषिशास्त्रमा एमएस्सी गरिरहेका अर्बिनले जीवनवृत्ति भने प्रशासकको रोजेको कारण के हो भनेर उनलाई सुरुमै सोध्ने काम भयो । यो अप्रत्याशित प्रश्नले उनी अकमकिएनन् । किनभने, यो उनले सोचिसम्झी गरेको निर्णयसँग सम्बन्धित थियो । ‘मैले कृषि छोडेको छैन, छोड्दिन पनि,’ उनले संक्षिप्त तर दृढ उत्तर दिए, ‘सेवाको भिन्न चरित्र मात्रै रोजेको हो किनभने यहाँ पनि कृषिको ज्ञान काम त लाग्छ ।’ त्यसपछि २५ मिनेटजति चलेको प्रश्नोत्तरमा खास कुरा भएनन् । उही, सामान्य रुचि आदि इत्यादिबारे गफ भए ।
‘अँ, एउटा प्रश्न अलिक झमेलामा पार्ने खालको थियो,’ स्टाफ कलेजमा दिनभरि तालिम लिएर निक्लँदा किञ्चित् थाकेजस्तो देखिएका अर्बिनका आँखा केही सम्झेजस्तो गरी चलमलाए, ‘त्यो जारी सहकारी संस्थाहरूको बेथितिसँग थियो ।’ अर्बिनलाई सोधिएछ– सहकारीमा समस्या आउनाको कारण के हो र यसलाई कसरी हल गर्नु हुन्छ ? यसमा पनि अर्बिनले मन्त्रसिद्ध वाणीजस्तो गरी छोटो र कारगर उपाय फिराएछन्– सहकारीको सिद्धान्तअनुसार यी संस्थाहरू चलेनन्, त्यसैले यो अवस्था आयो । संविधानले तीनै तहको सरकारलाई सहकारीको नियमन गर्ने अधिकार दिएको छ । त्यसको प्रयोग गर्दै सहकारीलाई लिकभन्दा बाहिर हिँड्न नदिनु नै समाधान हो ।
उनको यो उत्तरले अवश्य पनि प्रश्नकर्ताहरू सन्तुष्ट भएको हुनुपर्छ । फागुन १ गते उनीहरूले गरेको सिफारिसमा अर्बिनको नाम एक नम्बरमा नत्र कसरी आउँथ्यो र ? ‘जति पटक पास भए पनि अन्तर्वार्ताको नतिजा नआउन्जेल दुविधा रहिरहन्छ,’ अर्बिन भन्छन्, ‘किनभने, के हुन्छ कसैले पनि भन्न सक्दैन ।’ तनहुँको चुँदी रम्घामा जन्मिएका अर्बिनले एघार वर्षअघि आफ्नो कक्षाका ९३ साथीहरूका साथ एसएलसी परीक्षा दिएका थिए । ती सबै उत्तीर्ण भए, अधिकांश विदेश गए तर लोक सेवामा जाँच दिने भने त्यो सिंगो समूहबाट सम्भवतः उनी मात्र भए ।
बाबु अर्जुनले झैं उनकी शिक्षिका आमा विमलाले पनि अर्बिनलाई यही देशमा केही गर भन्ने अर्ती बारम्बार दिने गर्थे । त्यसैले विदेश जाउँ कि क्या हो भन्ने धेरै पटकको भावावेशलाई दबाएर कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङबाट स्नातक गरेका अर्बिनले मोरङको रतुवामाई नगरपालिकामा अधिकृत छैटौं पदमा करारको कर्मचारी भई केही समय काम गरे । केही महिनापछि नै उनी वाग्मती प्रदेशमा अस्थायी अधिकृतका रूपमा काम गरे । एक वर्ष जतिको अवधिमा उनले स्थानीय र प्रदेशको निजामती सेवा प्रशासनको संक्षिप्त अनुभव बटुलेका थिए । त्यसअघि उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को बारपाक बहुप्राविधिक शिक्षालयमा कृषि प्रशिक्षक भएर झन्डै एक वर्ष काम पनि गरेका थिए । यो सब अनुभवले उनलाई संघीय सेवामा प्रवेश गर्नका लागि प्रेरणा र सहयोग दुवै गर्यो ।
उनले एकै वर्षको उही समयको प्रदेश लोक सेवा र लोक सेवा आयोग सबैको गरेर ४ वटा परीक्षा दिएका थिए । ती सबै परीक्षामा उत्तीर्ण पनि भए । शाखा अधिकृत परीक्षामा भने उनी सर्वत्र चिनिने गरी पहिलो नम्बरमै उत्तीर्ण हुन पुगे । ‘लोक सेवा आयोगको तयारी गर्दा एउटा तनावपूर्ण समय हुन्छ र अधिकृत भइसकेपछि त्यो तनावबाट मुक्त भएको आभास हुने रहेछ,’ अर्बिन भन्छन्, ‘जति पढेपछि तयारी पूरा भए नभएको थाहा हुँदैन, त्यसमाथि प्रतिस्पर्धी धेरै हुनाले झन् स्थिति अप्ठ्यारो हुने गर्दोरहेछ ।’ त्यस्तै देशमै प्रयास गरेपछि मात्र विदेशबारे सोच्नुपर्छ भन्ने बुबाका सुझावहरू पनि उनी सम्झिरहन्छन् । ‘यहाँ प्रयास नै नगरी नेपालमा केही छैन भन्नु गलत रहेछ, बुबाको कुरा सही साबित भयो,’ उनले भने ।
अक्सर उनलाई साथी र चिनजानकाहरू ‘टप हुने गरी पढ्ने कुनै भिन्न शैली छ कि’ भनेर सोध्ने गर्छन् । यस मामिलामा उनको सटीक जवाफ छ । ‘मेरो विचारमा टप गर्नका लागि गर्नुपर्ने मिहिनेत र नाम निकाल्न गर्ने मिहिनेत उस्तै हो, नाम निकाल्ने र टप गर्नेबीचको फरक भनेको भाग्य हो,’ भन्छन्, ‘त्यसैले टप गर्छु भनेर पढ्नभन्दा पनि सबै विषयवस्तुलाई समेटेर आफ्नो तयारीलाई परिस्कृत बनाउँदै लैजान सल्लाह दिन्छु ।’ परीक्षामा विषयवस्तुको ज्ञान मात्र भएर हुन्न, त्यसलाई व्यक्त गर्न सक्ने कला पनि चाहिने उनको बुझाइ छ । पढाइको साथसाथै निर्धारित समयभित्र उत्तर लेख्ने अभ्यास पनि निरन्तर गरी नै रहनुपर्छ भन्ने सुझावलाई उनी आफैंले महिनौंसम्म पालना गरेका थिए ।
तयारीका क्रममा चिन्ता र दबाब झेल्न उनी इन्टरनेटमा आफूलाई उत्प्रेरित गर्ने भिडियोहरू हेर्थे र अग्रजका अनुभव सुन्थे । पढेको नसम्झने वा विश्लेषण गर्न नसक्ने वा पढ्न अल्छी लाग्ने आम समस्याले उनलाई पनि नसताएको होइन । त्यसलाई उनी तालिका बनाएर निश्चित समयमा सक्ने गरी लक्ष्यलाई स–साना खण्डमा बाँडेर जित्ने प्रयत्नमा लागिरहे । ‘साँझमा पढ्न अल्छी लाग्थ्यो,’ उनी भन्छन्, ‘त्यसबखत भाइसँग बाहिर घुम्न निस्कन्थें, कुनै बेला साथीहरूसँग फोनमा कुरा गर्थें र पढाइप्रति लगाव बनाइराख्न कोसिस गर्थें ।’
प्रथम पत्रको परीक्षा (प्रारम्भिक) को दिन उनी निकै आत्तिएका थिए । तर पनि नतिजा राम्रो आयो । अब भने परीक्षाको सबैभन्दा कठिन लिखित परीक्षाको चरण थियो । त्यसको तयारीका लागि भने धेरै समय दिए । विभिन्न इन्स्टिच्युटको अभ्यास परीक्षामा सामेल भए र आफ्ना कमजोरीहरू के रहेछन् भनेर नियाले । पाठ्यक्रमका विभिन्न शीर्षकलाई विभाजन गरेर मिल्दोजुल्दो र सम्बन्धित शीर्षकलाई सँगै राखेर पढ्न थाले । त्यसक्रममा उनले गहिरो रूपले एउटा तथ्यलाई देखे र मनन पनि गरे– परीक्षाका बेला समय व्यवस्थापन सबभन्दा महत्त्वपूर्ण रणनीति हो । यसका लागि लिखित परीक्षामा सोधिने प्रत्येक प्रश्नलाई १६ मिनेटमा सक्काउने अभ्यास गरे उनले । ‘समय व्यवस्थापनका लागि निकै मिहिनेत गर्दा पनि परीक्षामा भने अन्तिमका प्रश्नलाई समय अभाव हुने नै गर्छ,’ अर्बिनको अनुभव छ, ‘त्यसैले मैले अप्ठ्यारो लागेको प्रश्न अन्तिममा गर्थें ।’
लोक सेवा परीक्षामा निकै धेरै विषयवस्तुको ज्ञान आवश्यक पर्छ । यसमा बुझ्नुपर्ने, सम्झनै पर्ने र घोक्ने कुराहरू धेरै छन् । ‘सबै कुराहरू पढ्दै गर्दा कुहिरोको कागजस्तो कताकता हराएको महसुस हुने गर्छ,’ उनी भन्छन्, ‘धेरै कुरा जान्दा पनि एकदम केही नआएको जस्तो स्थिति हुन्छ, निकै मिहिनेत गर्दा पनि नतिजा आफूले चाहेजस्तो आउँछ नै भन्ने हुँदैन, त्यो स्थिति निकै चुनौतीपूर्ण छ ।’ परीक्षाको एउटा महत्त्वपूर्ण पाटो वर्तमान घटना र त्यससँग सम्बन्धित समाचारबारे अपडेट हुनु पनि हो । त्यसका लागि उनले मुख्यतः सामाजिक सञ्जालहरूको उपयोग गरे । त्यसबाट आउने महत्त्वपूर्ण समसामयिक विषयबारे उनले टिपोट पनि गरे र त्यसलाई पछि कण्ठस्थ पार्थे ।
अहिले उनका यी सबै मिहिनेत र हैरानीका दिनहरू सकिएका छन् । नतिजा निस्केपछि उनलाई हाइसन्चो भएको छ । तर, भिन्नखाले धपेडी र चुनौतीले घेरेका छन् । कर्मचारीका हैसियतले गर्ने व्यवहार र काममा कसरी फरकपन ल्याउने होला भनेर उनी सोचिबस्छन् । ‘सार्वजनिक सेवा क्षेत्रको ठूलो चुनौती भनेको नागरिकमैत्री आधुनिक सेवा प्रवाह गर्नु नै हो,’ कर्मचारीतन्त्रबारे उनको धारणा छ, ‘जमानाअनुसारको सेवा प्रवाह गर्न सार्वजनिक सेवा क्षेत्र सक्षम हुनैपर्छ ।’ हुन पनि हो, सानोभन्दा सानो कामका लागि पनि नागरिकहरू हत्तु हैरान हुनुपर्ने स्थितिमा चलिरहेको छ कर्मचारी संयन्त्र । लोक सेवाबाट छानिएका आफूहरूको असली परीक्षा भनेकै यसलाई बदल्न सक्ने नसक्नेमा छ भन्ने अर्बिनलाई थाहा छ । ‘सेवा प्रवेश गर्नु मात्र असली परीक्षा होइन’ शान्त स्वभावका अर्बिनले संक्षिप्तमा कुरा टुंग्याए, ‘असली परीक्षा त हाम्रो काम नै हो जुन अब सुरु हुनेवाला छ ।’
प्रकाशित : फाल्गुन १४, २०८० ०६:४१