कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

फेरिएको ‘च्यांग्रा ट्रेल’

मुस्ताङी खसीका नामले राजधानीसम्म पुग्ने तिब्बती च्यांग्राको ‘ट्रेल’ हिमाली क्षेत्रसम्म यातायात सहज भएपछि फेरिएको छ
महिनौंसम्म हिँडाएर लैजानुपर्दा बाटोमा लड्ने, चोरी हुनेलगायत समस्या हुन्थे। वन संरक्षण र सामुदायिक वन विकास हुँदै गएपछि पछिल्लो समय बाटोमा चरन र बस्नसमेत असहज हुने गरेको थियो।

म्याग्दी, दोलखा — नेपाली भान्छामा दसैंसँगै जोडिने खान्की हो मासु । महँगो भए पनि दसैंमा एक छाक भए पनि भेडा–च्यांग्राको मासु खोज्ने चलन छ । दसैं नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन, गाउँबस्तीसम्म खसीबोका र भेडा–च्यांग्राको व्यापार बढेको छ । काठमाडौंमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै निजी व्यापारीले धेरै ठाउँबाट भेडा–च्यांग्रा बिक्री गरिरहेका छन् ।

फेरिएको ‘च्यांग्रा ट्रेल’

कुनै बेला मुस्ताङ हुँदै तिब्बती नुन र पाल्पा हुँदै मधेशको सामानको (भोट–मधेश) वस्तु भेडा–च्यांग्रामा बोकाएर व्यापार गर्ने ‘साल्ट ट्रेड रुट’ थियो । अन्नपूर्ण–धवलागिरिबीचको कालीगण्डकी खोंच परम्परादेखि तिब्बती ‘च्यांग्रा ट्रेल’ हो । तिब्बतबाट भेडा–च्यांग्रामा नुनको भारी ल्याएर दसैंअघि बेंसीका बस्तीमा ओर्लने भोटका व्यापारी दुई थरी कारोबार गर्थे, नुनसित अन्न साट्ने र मासुका लागि भेडा–च्यांग्रा बेच्ने । हिउँद सकिएपछि तराई र पहाडी क्षेत्रबाट खाद्यान्नको भारी बोकाएर उकालो लाग्ने उनीहरू बर्खाभर लेकतिर चराएर फेरि अर्को दसैंअघि बेंसी झर्ने गर्थे । दसैं–तिहारमा तिब्बतको प्रमुख व्यापारिक नाका मुस्ताङबाट तिब्बती र डोल्पा, मुगु तथा उपल्लो मुस्ताङबाट भेडा–च्यांग्रा महिनौंसम्म धपाउँदै भोटकै व्यापारी बेंसीका बस्तीसम्म झर्ने चलन थियो । सडक संरचनाले हिमाली क्षेत्रसम्म यातायात सञ्चालन भएपछि मुस्ताङी खसीका नामले राजधानीसम्म पुग्ने तिब्बती ‘च्यांग्रा ट्रेल’ मा अहिले ढुवानीका साधन, व्यापारी भने फेरिएका छन् । परम्परादेखि तिब्बत, डोल्पा, मुगु र उपल्लो मुस्ताङबाट हिँडाउँदै ल्याएका च्यांग्रा म्याग्दीको घारखोला (अन्नपूर्ण गाउँपालिका–६) बाट बाँडिन्थे । कोहीले घारखोलाबाट पूर्व घार, शिख, घाडेपानी, विरेठाँटी, नयाँ पुल हुँदै पोखरा पुर्‍याउँथे । केही व्यापारी भने दक्षिण तिप्ल्याङ, बेनी, बाग्लुङ, कुश्मा हुँदै स्याङ्जातर्फ लैजान्थे । व्यापारीहरू सबै मुस्ताङी वा तिब्बती नै हुन्थे ।

...

सिन्धुपाल्चोकका महेश थापा तीन वटा कन्टेनर (ठूला ट्रक) ल्याएर म्याग्दी सदरमुकाम बेनी पुगेका छन् । उनी कन्टेनरमा कुनै निर्माण सामग्री, लत्ताकपडा वा खाद्यान्न लिएर आएका हैनन् । न म्याग्दीका लेकाली आलु वा मुस्ताङका स्याउ नै लिन आएका हुन् । थापाजस्तै अन्य धेरै व्यापारी रित्ता कन्टेनर लिएर बेनी पुगेका छन् । उनीहरू अहिले कन्टेनर र ट्रक ल्याएर दसैंलक्षित गरी मुस्ताङबाट ल्याइएका भेडा–च्यांग्रालाई काठमाडौंको बजारमा पुर्‍याउन आएका हुन् । ‘मैले गोठ, खसीको तौल तथा आकारको आधारमा एउटैको ३०–४० हजार तिरेर तीन सय च्यांग्रा किनेको छु,’ बेनीबाट ट्रकमा च्यांग्रा हाल्दै गरेका थापाले भने, ‘यो सिजनमा ९० लाख बढी लगानी भएको छ । काठमाडौं पुर्‍याएर ढुवानीसहित मुनाफा राखेर जिउँदै बेच्ने हो ।’


म्याग्दी सदरमुकाम बेनीमा काठमाडौं लैजान कन्टेनरमा चढाइँदै। तस्बिर : घनश्याम खड्का/कान्तिपुर

दशकयता यही व्यापारमा संलग्न थापाका छोरा र अन्य केही आफन्त पनि खसी–च्यांग्राकै व्यापारमा छन् । अहिलेसम्म नाफा धेरै नभए पनि घाटा नै खानु भने नपरेको बताए । १० वर्षदेखि मुस्ताङका भेडा–च्यांग्रा लगेर भक्तपुरको सल्लाघारीमा व्यापार गर्दै आएका उनले यो रुटमा खसी व्यापारको शैलीमा धेरै परिवर्तन देखेको सुनाए । मोटर बाटोको पहुँच सहज बन्दै गएपछि मुस्ताङीको जीवनशैली मात्र फेरिएको नभई भोट–काठमाडौं परम्परागत खसी व्यापारमा पनि परिवर्तन आएको उनले सुनाए ।

पहिला भेडा–च्यांग्रा धपाउँदै मुस्ताङी वा भोटकै कृषक/व्यापारी बेच्न आउँथे । अहिले तलबाट व्यापारी पैसाका बिटा बोकेर हिमाली उक्लिन्छन् । ‘म १२ वर्षदेखि मुस्ताङबाट आएका खसी काठमाडौं लगेर बेच्दै आएको छु । सडक नहुँदासम्म मुस्ताङी वा भोटकै व्यापारी बेनी/बाग्लुङसम्म बेच्न ल्याउँथे । हामी त्यहीँ बार्गेनिङ गरी किन्थ्यौं । अहिले मुस्ताङको पनि उपल्लो भेगसम्मै गाडी सहजै चल्न थालेपछि हामी नै माथि जान्छौं ।’ गत वर्ष कागबेनी पुगेको र यसपालि उपल्लो मुस्ताङको समरसम्म पुगेर खसी खरिद गरेर ल्याएको सिन्धुपाल्चोककै अर्का व्यापारी बच्चु तामाङले बताए । ‘महिनौं हिँडाउँदै बजार लैजाने चलन पुरानो भइसक्यो । अहिले मुस्ताङबाटै ट्रकमा राखेर लैजान्छौं । बाटोमा भीरबाट लड्ने, खोलामा बग्ने र चोरीको डर पनि हुँदैन,’ उनले भने, ‘समय पनि बचत खर्च पनि । जोखिमबाट पनि कम ।’ यातायातको सुविधा नपुग्दासम्म भेडा–च्यांग्रा बेच्न व्यापारीहरू महिनौंको यात्रा तय गर्थे । महिनौंसम्म हिँडाएर लैजानुपर्दा बाटोमा अनेक समस्या हुन्थे । लड्ने, चोरी हुनेलगायत समस्या हुन्थे । वन संरक्षण र सामुदायिक वन विकास हुँदै गएपछि पछिल्लो समय बाटोमा चरन र बस्नसमेत समस्या हुने गरेको थियो । ‘पहिले गाउँबस्तीमा पनि धेरै भेडा–च्यांग्रा बेच्थ्यौं । कुनै ठाउँमा त अन्न लिएर साट्थ्यौं पनि । अचेत सहर बजारतिर धेरै बिक्री हुन्छन्,’ थापाले सुनाए, ‘अचेल गाउँघरमा कुखुरा भित्रिइसके । सहरमा भेडा खोज्छन् ।’


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार दसैंमा मुस्ताङबाट ८ हजार हाराहारी भेडा–च्यांग्रा पोखरा, काठमाडौंसम्म पुग्ने अनुमान छ । मुस्ताङमा बर्सेनि उत्पादन घट्दै गएको र कोरोला नाका बन्द भएर तिब्बतबाट आयात रोकिँदा भेडा–च्यांग्राको मूल्य भने अकासिएको छ । विज्ञ केन्द्रका अनुसार गत वर्षभन्दा चार हजार भेडा–च्यांग्रा कम आएका छन् । मूल्य बढेपछि सामान्य परिवारले मुस्ताङी च्यांग्राको मासु खान नसक्ने अवस्था आएको छ । ‘तातोपानी नाका खुल्छ र तिब्बती च्यांग्रा आउँछन् भनेर उता गएँ । तातोपानी भदौसम्म नखुलेपछि कोरोला नाका खुल्ने आसले यता आयौं । यो पनि नखुल्दा गाउँघरबाट संकलन गरेर महँगोमा लग्नुपरेको छ,’ काठमाडौंको खसी बजारमा लगेर कारोबार गर्दै आएका सिन्धुपाल्चोकका व्यापारी बच्चु तामाङले भने, ‘तिब्बतबाट नआउँदा एउटै च्यांग्रामा ग्राहकलाई १०–१५ हजारसम्म महँगो पर्न जान्छ । खाली कसरी फर्कनु भनेर ६०–७० वटा मात्र ल्याएर आएको छु । यतै महँगो पर्दा यसपालि त च्यांग्रा नबेचिने डर पो हुँदै छ ।’ आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घटेकाले मासु बिक्री नहोला कि भन्ने डर लागेको उनले बताए । मुस्ताङबाट आउने भेडा–च्यांग्राको संख्या घट्दा म्याग्दीमा भाउ बढेको हो । व्यापारीहरूका अनुसार गत वर्षभन्दा प्रतिच्यांग्रा ७–१० हजार रुपैयाँसम्म बढी परेको छ । लोघेकर–दामोदरकुण्ड गाउँपालिका–१ चराङबाट च्यांग्रा बेच्न ल्याएका नाम्ग्याल गुरुङले जोमसोममै प्रतिगोटा ५५ हजार रुपैयाँ पर्ने च्यांग्रा बजारमा पुर्‍याउँदा ५७–६० हजारसम्म पुग्ने बताए । डोल्पाबाट पनि तीन हजार भेडा–च्यांग्रा मुस्ताङकै बाटो भएर आएका छन् ।


लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका अनुसार चार वर्षअघि उपल्लो मुस्ताङमा धेरै दिनसम्म परेको बाक्लो हिउँमा पुरिएर आठ हजार बढी भेडा–च्यांग्रा मरेकाले मुस्ताङमा उत्पादन घटेको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रभित्र हरेकमा ३ सय बढी भेडा–च्यांग्रा पाल्ने १३ वटा गोठ सूचीकृत छन् । थप ५०–१०० का दरले पाल्ने १० परिवार छन् । ‘युवा पुस्ता पशुपालनमा आकर्षित छैन । भेडी गोठको संख्या घटेको छ । हिमपातले पुरिँदा पनि उत्पादन घटेको हो,’ चराङस्थित पस्मिना उत्पादन च्यांग्रा फार्म उपभोक्ता समितिकी अध्यक्ष माया विष्टले भनिन्, ‘पस्मिनाका लागि पालेका भए पनि हाम्रो फार्मबाट दुई वर्षपछि मासुजन्य च्यांग्रा उत्पादन हुन्छ ।’ उनले हिउँबाट बचाउन २ रोपनी क्षेत्रफलमा खोर बनाएको बताइन् । ‘हामीले यो फार्म नमुना बनाएका छौं, अन्य कृषकलाई पनि उत्प्रेरित गरिरहेका छौं,’ उनले भनिन् ।

मुस्ताङको लोमन्थाङ, लोघेकर दामोदरकुण्ड र बाह्रगाउँमुक्ति क्षेत्र गाउँपालिकाका क्षेत्रमा मात्र भेडा–च्यांग्रा पालन गरिन्छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले लोमन्थाङबाट २ हजार, लोघेकर दामोदरकुण्डबाट २ हजार र बारागुङमुक्ति क्षेत्र गाउँपालिकाबाट ३ हजार र डोल्पाबाट एक हजार हाराहारीमा भेडा–च्यांग्रा तल झार्दै गरेको जनाएको छ । ‘अगुवा कृषक, समूह र व्यापारीसँग लिएको जानकारीबाट यो वर्ष ८ हजार जति भेडा–च्यांग्रा दसैंका लागि बजार झर्दै छन्,’ केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि आचार्यले भने, ‘मुस्ताङबाट बजार झार्ने भेडा–च्यांग्राको आधारभूत क्वारेन्टाइन (सामान्य स्वास्थ्य परीक्षण) गरिएको छ । गत सातासम्म ५ हजारको निरोगिता प्रमाणपत्र लगेका छन् ।’ यतिबेला म्याग्दी, बाग्लुङ, पर्वत, तनहुँका बस्तीमा समेत भेडा–च्यांग्राको माग बढेको छ । यहाँका प्रायः घरमा दसैंका लागि भेडा–च्यांग्रा बाँधिएको छ । महँगीका कारण एकै परिवारले सिंगो खान नसक्ने अवस्था भएकाले छिमेकी परिवार मिलेर पनि आँगनमा खसी बाँधेका छन् ।

काठमाडौं पुग्दै लेकका खसीबोका

दोलखाको उत्तरी क्षेत्रबाट दसैंका लागि १ सय ५० भन्दा बढी भेडा र खसीबोका राजधानीका बजारमा लगिएको छ । गौरीशंकर गाउँपालिका–६ चंखु मार्बुलेकबाट तल झारेका भेडासहित खसीबोका स्थानीय व्यापारीले राजधानीका बजार पठाउने गरेका छन् ।


दसैंलक्षित गरेर हरेक वर्ष लेकका भेडा र खसीबोका लिन ठेकेदारहरू गाउँमा आउने गरेको स्थानीय निमा शेर्पाले बताए । गाउँ आएका व्यापारीले गएको वर्षकै मूल्यमा खरिद गरेका छन् । गाउँ पुगेका व्यापारीले प्रतिकेजी ६ सयदेखि ६ सय ५० सम्म लिने गरेको उनले बताए ।

सडक खुल्नुभन्दा अघि एक साता लगाएर भेडा, खसीबोका खेदेर स्थानीय व्यापारीकहाँ पुग्ने गरेका थिए । सडक खुलेपछि गाउँ पुगेका व्यापारीले गाउँसम्म आइपुगेका भेडा र खसीबोका बसको छतमा राखेर सिधै राजधानी लैजाने गरेका छन् ।

लामो समयदेखि लेकमा पुगेर भेडा, खसीबोका किनबेच गर्दै आएका बिगु गाउँपालिका–८ का हर्कमान थामीले यो वर्ष ४० वटा लिएर काठमाडौं गइरहेको बताए । उनले भने, ‘पहिला पो हिँडाएर एक सातामा सिंगटी पुगेर बसबाट लैजान्थ्यौं । अहिले सडक आएको छ, काठमाडौं पुर्‍याएर भोलिपल्टै बेच्न सकिन्छ,’ उनले भने, ‘हिँडाएर लैजाँदा चरनको पनि समस्या हुने, झन्झट पनि उस्तै । गाडीमा ढुवानी सजिलो भए पनि मर्ने समस्याले कहिलेकाहीँ नोक्सान बेहोर्नुपर्छ ।’ काठमाडौंमा फूलपातीको २ दिनअघिबाट मात्रै खसीबोका किनबेच बढी हुने गरेको उनले सुनाए । दोलखाको लेकाली क्षेत्रबाट दसैंको सिजनमा ५ सय हाराहारी खसीबोका राजधानी लैजाने गरेको छ ।

प्रकाशित : कार्तिक २, २०८० ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×