१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जीवन बदल्दै कर्णाली करिडोर

समग्र कर्णाली क्षेत्रको विकास–मेरुदण्डका रूपमा रहेको त्रिदेशीय सडक बनेपछि उत्तरी सिमाना हिल्सासँग दक्षिणी सीमा जमुनाह ५ सय ३० किलोमिटर दूरीमा जोडिने
चार वर्षअघि प्रतिक्विन्टल १० हजारसम्म पर्ने चामलको मूल्य अहिले चार हजार हाराहारीमा 
सबैभन्दा बढी बाजुरा, कालीकोट र हुम्लाका दर्जन बढी पालिकावासी प्रत्यक्ष लाभान्वित

मैला, हुम्ला — दसैं मुखैमा आएकाले चामलको जोहो गर्नु थियो । गाउँघरमा चामल पाउने कुरै थिएन । चार दिन हिँडेर बाजुराको कोल्टी पुग्नुको विकल्प थिएन । हुम्लाको अदानचुली–२ श्रीनगरका तेजबहादुर, कल बुढा र हरू बुढा चामल ल्याउन भेडा–च्याङ्ग्राको बथान लिएर कोल्टी हिँडे ।

जीवन बदल्दै कर्णाली करिडोर

घरबाट हिँडेको तेस्रो दिन २०७४ असोज ७ को बिहान उनीहरू बाजुराको हिमाली–६ मा पर्ने राँगेगौडो नामक चट्टानी भीर पार गर्दै थिए । अचानक माथिबाट चट्टानसहितको पहिरो खस्यो । तेजबहादुर उम्किनै पाएनन् । पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भयो । दसैंको मौकामा घरपरिवारलाई दुई छाक भात खुवाउने र बालबच्चालाई एक जोर नयाँ लुगा फेर्ने तेजको सपना पनि पहिरोमै पुरियो । परिवारले कर्णाली किनारमा उनको शवसँगै एउटा आशाको दियो निभाएर फर्किए ।

‘राँगेगौंडो’ बाजुरा, हुम्ला र मुगु जिल्लाका बासिन्दाका लागि डरको अर्को नाम थियो । चामल ल्याउन कोल्टी आउजाउ गर्दा यो भीरबाट कर्णाली नदीमा खस्थे । कोही तेजबहादुर जस्तै पहिरोमा पुरिन्थे । यस क्षेत्रका धेरैको आशाको दियो निभाउने यो भीर साँच्चै डरलाग्दो थियो । कति मानिसले यहाँ ज्यान गुमाए भन्ने हिसाब त कसैले राखेको छैन । हुम्ला ताजाकोटका दत्तबहादुर मल्ल भन्छन्, ‘कति लोटी (लडेर) मर्या, कतिलाई पहिराले चेप्यो (पुर्‍यो) । एक दुई जना नमरेको साल कहिल्यै हुन्थेन ।’

अहिले समय फेरिएको छ । हुम्ला, मुगु र माथिल्लो बाजुराका बासिन्दालाई नुन, चामलकै भारी बोक्नका लागि पुस्तौंपुस्तादेखि व्यहोर्दै आएको कष्ट र जोखिम घटेको छ । त्यसैले त हिजोआज भेडा/च्याङ्ग्राको बथान धपाउँदै चामल र दैनिक उपभोग्य सामानहरूको जोहो गर्न कोल्टीतर्फ ओहरदोहर गर्दै गरेका हुम्ली, मुगाल र माथिल्लो बाजुरेलीहरूको लर्को देखिँदैन । तीन वर्षयता कर्णाली करिडोरमा यातायातका साधन सञ्चालन हुन थालेपछि यस क्षेत्रका बासिन्दाको थाप्लोको नाम्लो मात्रै छुटेको छैन, तुलनात्मक रूपमा जीवनको जोखिम कम भएको छ ।

सडक खुल्नुअघि हुम्ला, बाजुरा र मुगुका बासिन्दाले हिँड्ने गरेको बाटो । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

भारी बोक्ने क्रममा भोगेका उनीहरूका दुःख अब तीतो सम्झनाको रूपमा मात्रै जीवित छन् । बाजुराको स्वामीकार्तिक खापर–३ जुकोटका देउसुर मोचीलाई सात–आठ वर्षअघि जस्तो सातु सामल (पिठो, चामल, दाल, नुन, मसला आदि), ओढ्ने, ओछ्याउने, पकाउने भाँडाकुँडा हट्यारु डोकोमा खाँदेर नुन, चामल र लत्ताकपडाको जोहो गर्न डोटीको दिपायल पुगेको कुरा सपना जस्तै लाग्छ । हप्तौंसम्म भारी बोकेर पैदल हिँड्दा थाप्लोमा लगाएको नाम्लोले निधार पोल्थ्यो ।

पैताला र कुर्कुच्चाको छाला खुइलिएर रगत बग्दा सहन नसकिने पीडा हुन्थ्यो । कष्ट खप्न नसकेर रुँदैरुँदै आफूभन्दा ठूलो भारी बोक्दै दिपायलबाट हिँडेका दिनहरू सम्झिँदै देउसुरले लामो सास फेरे । ‘कर्णाली करिडोर खुल्यो, सदरमुकाम मार्तडीबाट पनि गाडी चल्न लाग्यो,’ उनले भने, ‘अहिले त गाउँठाउँ नजिकै खाद्यका दोकान छन् । हाम्रो जिन्दगी भारी बोक्दै सकियो । छोराछोरीका दिनमा भए पनि डोको छुट्यो । त्यसैमा खुसी छ ।’

कर्णाली करिडोरमा गाडी चल्न थालेपछि देउसुरमात्रै होइन, पूर्वोत्तर बाजुरा, दक्षिणी हुम्ला, मुगु र कालीकोटका बासिन्दाको थाप्लोको नाम्लो छुटेको छ । थाप्लोको नाम्लो मात्र छुट्दा मात्र पनि यी क्षेत्रका स्थानीयले पुस्तौंदेखि भोग्दै आएको नारकीय जीवनबाट मुक्ति पाएको महसुस गरिरहेका छन् । ‘उहिले त पैसा भए पनि नजिकमा खाद्यान्न पाइँदैनथ्यो । भारी नबोकी सुखै थिएन । अहिले त त्यो दुःख छैन,’ हुम्लाको ताजाकोटका अक कार्कीले भने ।

कर्णाली करिडार खुलेपछि खाद्यान्नको जोहो गर्न सहज मात्रै भएको छैन, स्वास्थ्योपचारका लागि पनि आउजाउ सजिलो भएको छ । ‘रोड नपुग्दासम्म गाउँमा कोही बिमारी भयो भने तीन/चार दिन बोकेरै कोल्टीसम्म पुर्‍याउनुपर्थ्यो । कति त बाटामै मर्थे,’ ताजाकोटकै वीरबहादुर मल्लले भने, ‘हाम्रो गाउँसम्म जिप चल्न थालेपछि कोल्टी हुँदै नेपालगन्जसम्म पुर्‍याउन सकिन्छ । कर्णाली करिडोर खुलेपछि धेरै सजिलो भएको छ ।’

कर्णाली करिडोर खुलेपछि हुम्लातर्फ हुइँकिँदै मालवाहक ट्रक र जिप । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको सिमकोटसम्म पुग्ने १ सय ९६ किलोमिटर लम्बाइको यो सडकमा अहिले हुम्लाको सल्लीसल्लासम्म ढुवानीका साधन र बोलेरो जिप चल्छन् । सल्लीसल्लास्थित कर्णाली नदीमा बेलिब्रिज निर्माण सुरु भइसकेको छ । उक्त पुल तयार भएपछि सल्लीसल्लादेखि सर्केगाड गाउँपालिकाको १२ किलोमिटर अगाडि लेप्चेसम्म सडक बनिसकेको छ । त्यहाँ पनि गाडी चल्छन् । गाडी चल्न थालेपछि पहिला सुनसान हुने यहाँका दर्जनौं ठाउँमा नयाँ बजारमा बनेका छन् । चहलपहल बेग्लै छ । बजार विस्तारसँगै राजमार्ग आसपासका गाउँहरूमा आर्थिक गतिविधि बढेको छ । कर्णाली करिडोर निर्माण कार्यदलको कवाडी नजिक रहेको कार्यालयका सेनानी अनुप पोखरेल २०८०/८१ भित्र हुम्ला सदरमुकाम सिमकोटमा गाडी पुर्‍याउने लक्ष्य रहेको बताउँछन् ।

खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको उपलब्धता सहज हुनुका साथै मूल्य पनि सस्तो परेको छ । चार वर्षअघि प्रतिक्विन्टल १० हजारसम्म पर्ने चामलको मूल्य अहिले चार हजार हाराहारीमा झरेको छ । बाजुराको हिमाली गाउँपालिकाको धुलाचौरमा पसल सञ्चालन गरिरहेका हुम्ला ताजाकोटका बागदल मल्लले भने, ‘पहिला मान्छे, खच्चर र भेडामा बोकाएर ल्याउँदा असाध्यै महँगो पर्थ्यो । अहिले त कतिपय सामान तराईकै भाउमा दिन्छौं । खाद्यान्नलगायत सामानमा गाडी भाडा मात्रै थपिने हो ।’ सडक यातायात चल्न थालेपछि स्थानीय उत्पादनले पनि बजार पाउन थालेको छ । नजिकै खुलेका हाटबजारमा स्थानीयले आफ्नो उत्पादन बेचेर आम्दानी गर्न थालेका छन् ।

‘पहिला हामीले उत्पादन संकलन गरेका सामान बेच्ने ठाउँ थिएन । अहिले बेच्न समस्या हुँदैन,’ ताजाकोटकै चक्रबहादुर मल्लले भने । उनले कर्णाली करिडोर आएपछि स्थानीयको जीवन फेरिएको बताउँदै जडीबुटी संकलन र बिक्रीबाट पनि वार्षिक रूपमा आम्दानी गर्ने गरेको उनले सुनाए । ‘कर्णाली करिडोर खुल्नुभन्दा पहिला यहाँका धेरैले किताबका चित्रमा मात्रै गाडी देखेका थिए । अहिले त हाम्रै पालिका क्षेत्रको कर्णाली किनारैकिनार भएर नियमित गाडी चल्छन्,’ हुम्लाको ताजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले भने, ‘तीन/चार वर्ष पहिला र अहिलेको अवस्था हेर्ने हो भने यहाँको जनजीवनमा धेरै फरक भएको छ । अर्कोतिर विकास निर्माणको कामको लागत पहिलाभन्दा धेरै गुणा सस्तो भएको छ ।’ उनले पहिला निर्माण सामग्रीको लागतभन्दा तेब्बर बढी रकम ढुवानीमा लाग्ने गरेकाले विकास निर्माणका काम सोचेजस्तो काम हुन नसकेको सुनाउँदै कर्णाली करिडोर सञ्चालनमा आएपछि विकास निर्माणका कामले तीव्रता पाएको बताए ।

सेनाले ढुंगामा बनाएको करिडोरको नक्सा । तस्बिर : वसन्तप्रताप/कान्तिपुर

अध्यक्ष जैसीले सडक पुगिसकेपछि पालिकाले उत्पादनमा केन्द्रित हुने योजना अघि बढाएको बताए । स्याउ, ओखर, चिनो, कागुनोलगायत स्थानीय उत्पादन बढाएर आत्मनिर्भर बनाउन प्रयास गरिरहेको उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोरको खुलालुदेखि सल्लीसल्लासम्म करिब १ सय २३ किलोमिटर सडक नेपाली सेनाले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ । सल्लीसल्लाबाट यो सडक हुम्लाको सदरमुकाम सिमकोट हुँदै तिब्बतको सिमाना हिल्सासम्म जोडिनेछ ।

अभाव, गरिबी, अशिक्षा, पछौटेपन बिम्बका रूपमा प्रस्तुत गरिने कर्णाली क्षेत्रमा सडक पुर्‍याउने उद्देश्यले २०४२ सालमा कर्णाली राजमार्गको सम्भाव्यता अध्ययन गरिएको थियो । देशमा बढ्दै गएको पञ्चायतविरोधी आन्दोलनको कोपभाजनमा परेपछि यो सडकको शिलान्यास भने २०४८ सालमा मात्रै भयो । पर्याप्त बजेट अभाव, फितलो कार्यान्वयनलगायत समस्या छिचोल्दै २०६३ सालमा कर्णालीको जुम्लामा गाडी पुगे पनि अन्य जिल्लाको दुःख उस्तै थिए ।

ठेकेदारको लापरबाही र ढिलासुस्ती, राजमार्गमा पर्ने कडा चट्टानी भूबनोटका कारण जुम्ला गाडी पुगेको ८ वर्षभन्दा बढी भइसक्दा पनि करिडोर निर्माणले गति लिन नसकेपछि २०७१ चैत ९ मा मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई यो सडक निर्माणको जिम्मा दिने निर्णय गरेको थियो । भौगोलिक विकटता, मौसमी प्रतिकूलता, राजनीतिक अस्थिरता, कडा चट्टानलगायत कारण उल्लेख गर्दै सरकारले कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडकका रूपमा परिभाषित गर्दै सेनालाई दिने निर्णय गरेको थियो ।

कर्णाली करिडोरसँग जोडिएपछि बाजुराको पिलुचौरमा कर्णाली नदीमा सञ्चालित फेरी । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

हाल निर्माण भएको १ सय २३ किलोमिटर सडकको सबैभन्दा बढी ४४ किलोमिटर भाग बाजुरा जिल्लामा पर्छ । कालीकोटमा ४० र हुम्लामा ३९ किलोमिटर खण्ड पर्छ । यस सडकसँग जोडिएका जिल्लाका एक दर्जन बढी पालिका र मुगुका खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकाका स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । धेरैजसो ठाउँमा कर्णाली करिडोरबाट शाखा सडक निर्माण भइसकेका छन् । गत साता बाजुराको हिमाली गाउँपालिको धुलाचौर र मुगुको खत्याड गाउँपालिकाको बीचमा बग्ने कर्णाली नदीमा निर्मित बेलिब्रिज सञ्चालनमा आइसकेको छ । उक्त बेलिब्रिज सञ्चालनमा आएपछि रारा ताल आवतजावत गर्न सहज भएको छ ।

समग्र कर्णाली क्षेत्रको विकासको मेरुदण्डका रूपमा रहेको यो त्रिदेशीय सडक निर्माण पूरा भएपछि उत्तरी सिमाना हिल्सासँग दक्षिण भारतीय सीमा जमुनाह ५ सय ३० किलोमिटर दूरीमा जोडिने छ । उत्तर दक्षिण जोड्ने यो सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेपछि तिब्बतमा पर्ने मानसरोवर कैलाश यात्राका लागि पर्यटकको आगमन बढ्ने, कर्णालीको रारासहित विभिन्न पर्यटकीय गन्तव्य र बाजुराको बडीमालिका, बुढीनन्दालगायत यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यमा पर्यटन व्यवसाय फस्टाउने स्थानीयको आशा छ ।

कर्णाली करिडोर खुलेपछि गुल्जार बनेको बाजुराको पिलिचौर बजार । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

कर्णालीको वर्षौंदेखिको सडक सपनाको प्रतीक्षाको घडी अन्तिम समयमा पुगेको बताउँदै हुम्लाका पूर्वसांसद छक्कबहादुर लामाले यसले कर्णाली क्षेत्र मात्रै नभएर पश्चिम नेपालकै आर्थिक र पर्यटकीय क्षेत्रमा क्रान्ति ल्याउने बताए । ‘सडक निर्माण सम्पन्न भएपछि कर्णालीका जनताका दुःख कम हुने मात्रै होइन । तिब्बत र नेपालबीचको परम्परागत व्यापारिक सम्बन्धमा यो सडकले नयाँ आयाम थप्नेछ,’ लामाले भने, ‘यो सडकले उत्तर दक्षिणका छिमेकी देश जोडिने भएपछि कर्णाली क्षेत्र आर्थिक गतिविधिको केन्द्र बन्ने पक्का छ ।’ कर्णाली करिडोर चीनको सिल्करोडअन्तर्गत पर्ने टिरोड परियोजनासँग जोडिने भएकाले यसबाट देशले नै ठूलो फाइदा लिन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

‘भूभागका हिसाबले देशकै ठूलो कर्णाली प्रदेश त व्यापार, पर्यटन, जडीबुटी र पशुपालनको केन्द्र बन्ने नै भयो । यसबाट देशको अर्थतन्त्रमा पनि नयाँ आयाम थपिन सक्छ,’ उनले भने । कर्णाली करिडोर निर्माण भएपछि करिडोर जिल्लाका विकट गाउँहरूमा लिंकरोड निर्माणको काम तीव्रत्तर ढंगले चलिरहेको र दुर्गमका बासिन्दाको जीवनस्तरमा फेरबदल आएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १३, २०८० ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?