बौरिएको बारपाक- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बौरिएको बारपाक

२०७२ वैशाख १२ को भूकम्पको इपिसेन्टर तहसनहसको थिलथिलोबाट उठे पनि यसले मौलिकतासँगै पुरानो जीवनशैली गुमाएको छ
भूकम्पपछि हालसम्म १ हजार ४ सय ५७ घर पुनर्निर्माण भएका छन् भने १ सय ४८ घर निर्माणका क्रममा छन्
जनकराज सापकोटा, हरिराम उप्रेती

गोरखा — पहाडका बीचमा उत्तरतिर लमतन्न फराकिलो फाँट । काला ढुंगाका छानाहरू भएका परम्परागत शैलीका गुजुमुज्ज घर । ढुंगाका छपनीहरूको स–साना गोरेटो । अनि गुरुङ र घलेहरूको परम्परागत संस्कृतिको झल्को । गोरखाको बारपाक भन्नेबित्तिकै धेरैको सम्झनामा यस्तै चित्र आउँथ्यो । २०७२ वैशाख १२ को भूकम्पको इपिसेन्टर बारपाकको त्यस्तो चित्र अब सम्झनामा मात्रै छ । 

बारपाक मुख्य बस्तीको बीचमा छ बुद्ध होटल । जसका भित्तामा भूकम्पअघिको बारपाकको तस्बिर झुन्ड्याइएको छ । त्यसमा तिनै ढुंगाका छाना भएका घरहरूको गुजुमुज्ज बस्ती देख्न सकिन्छ । होटलमा छिर्ने धेरैजसोले यही फोटो हेरेर, अहो ! बारपाक त यस्तो पो रहेछ भनेर अचम्म मानेजस्तो गर्छन् । गंगाबहादुर घलेलाई बारपाकतिर नेमराज माइला भनेर चिन्छन् । यिनै नेमराजले भूकम्पअघि खिचेको बारपाकको तस्बिर अहिले यो होटलमा मात्रै होइन, धेरै बारपाकीले सम्झनाको चिनो जसरी सँगालेर राखेका छन् । गंगा भन्छन्, ‘भूकम्पपछि त धेरैले यो फोटो खोजी–खोजी लगे नि ।’

त्यो तस्बिर खिच्दाको प्रसंग पनि रोचक छ । सन् २००७ तिर नेमराज पाटन क्याम्पसमा आईए पढ्थे । कुपन्डोलको एक फोटोकपी पसलमा काम गर्थे । टाइप गर्ने, सामान्य फोटोसप चलाउने उनको काम थियो । त्यतिबेलै उनले एउटा अटोफोकस डिजिटल क्यामरा किनेका थिए । दसैंमा घर फर्केका बेला उनी बारपाक छेवैको डाँडामा उक्लिए, पूरै बारपाकलाई एउटै फ्रेममा कैद गर्न खोजे । तर, कसरी सक्नु ! उनले एकै ठाउँमा उभिएर बारपाकको दुई सट खिचे ।

डेढ दशकअघिको बारपाक । तस्बिर सौजन्य : गंगाबहादुर घले

काठमाडौं फर्केर फोटोसपमा दुई स्न्याप जोडेर एउटै बनाए । काठमाडौंमा रहेका बारपाकी समाजलाई उनले त्यही फोटो फ्रेममा राखेर उपहार दिए । भूकम्पले त्यो पुरानो बारपाकको स्वरूप बिथोल्यो । पुनर्निर्माण सुरु भएपछि घरका आकार प्रकार फेरिए । धेरैले उनको त्यो पुरानो तस्बिर खोज्न थाले । अनि त नेमराजले धेरैवटा धुलाए, ५ सय रुपैयाँ लिने गरी फ्रेममा हालेर बेच्न थाले । उनी सुनाउँछन्, ‘भूकम्पपछि त धेरैलाई पहिलेको बारपाकको सम्झना भयो । अनि यही फोटो खोज्न थाले । ५ सयवटा जति त प्रिन्ट गरेर मैले नै बेचें हुँला ।’

धेरैका निम्ति अब पुरानो बारपाकको सम्झना यस्तै यस्तै तस्बिरमा मात्रै सीमित छ । किनकि बारपाकका पुराना अधिकांश घर भत्किए, धेरै चर्किए । भत्किएर नलडेका घर पनि मर्मत नगरी बस्न नसकिने भएका थिए । सरकार, दातृ निकाय र संघसंस्थाको पहलमा बारपाकको पुनर्निर्माण सुरु भयो । तर, पुनर्निर्माणपछि बारपाकका घरको स्वरूप फेरियो ।

बारपाक अहिले तराईतिर बन्न थालेको कुनै अव्यवस्थित सहरको प्रारम्भिक स्वरूप जस्तो देखिन्छ । एकाध ढुंगाका छाना भएका घर त छन् । तर, ती ढलान गरेका र जस्तापाताले छाइएका पक्की घरहरूको भीडभाडमा हराएझैं लाग्छन् । बारपाक सामुदायिक होमस्टेका उपाध्यक्ष पुरबहादुर घलेका अनुसार पहिलेका ढुंगामाटोका घर लडेर मान्छेकै ज्यान लिएपछि आधुनिक तरिकाको निर्माणले प्रश्रय पाएको हो । ‘आफैंले बनाएका घर लडेर थिच्दा ७२ जना बारपाकीले ज्यान गुमाए । अनि कसले बनाउलान् पुरानै शैलीको घर ?,’ उनी भन्छन् ।

पुनर्निर्माणसँगै अहिलेको बारपाक बस्ती । भूकम्पले तहसनहस पारेको यो बस्तीमा ढुंगाका छाना भएका परम्परागत शैलीका घर बनाउन कोही पनि चाहँदैन । तस्बिर : अंगद ढकाल/कान्तिपुर ।

बारपाकले घर निर्माणमा मौलिकता गुमाएको चिन्ता यहाँ घुम्न आउनेहरूले गरे पनि स्थानीयवासीको तर्क बेग्लै छ । पुरानै स्वरूपका घर बनाउँदाको जोखिम भोगेकाले पनि स्थानीयवासी पिलर सिस्टमको घरतर्फ आकर्षित भएका हुन् । ढुंगाका छानो भएका अधिकांश घर भूकम्पले भत्किएका थिए । धेरैजसोले नयाँ घर बनाउँदा ती ढुंगा भित्तामा टाँसेका छन् । कतिले ढुंगाका छाना भुइँमा ढलान गरेर राखेका छन् । पुरबहादुरका अनुसार घुम्न आउनेहरूले पुरानै बारपाकको चित्र खोजिरहँदा नयाँ बारपाकसँग मौलिकता सम्झनामा मात्रै छ ।

बारपाक कस्तो थियो भनेर बुझाउन अहिले बारपाकमा निर्माण गरिएको संग्रहालय नै पुग्नुको विकल्प छैन । संग्रहालयको भित्तामा भूकम्पअघिको बारपाक गाउँको वर्णन यसरी गरिएको छ– ‘बारपाक गाउँ गोरखा जिल्लाकै एक नमुना गाउँ मानिन्छ । महाभूकम्पअघि बारपाकमा परम्परागत ग्रामीण बस्तीको मौलिक झलक अवलोकन गर्न सकिन्थ्यो । बारपाकमा १३ सय ८० घरधुरीको गुजुमुज्ज बस्ती थियो । पहाडको टुप्पोमा हल्का भिरालो जमिनका विभिन्न तहमा साँघुरो गल्लीका आसपास खाँदिएर बनेका घर थिए । चिल्लो स्लेटका छाना, माटो, ढुंगा तथा काठको प्रयोग गरी बनाइएका थिए ।

प्रत्येक घरको अगाडि र पछाडि आँगन र खुला ठाउँ, घरमा स–साना झ्याल र ढोकाहरू भएका प्रत्येक घरको पिँढीको बाहिरी भित्तामा एउटा खोपा बनाइएको थियो– जहाँ आफ्ना कुल देवताको पूजा गरिन्थ्यो तथा धुपौरो राखिन्थ्यो । घरको भुइँतलाको मध्यभागमा अँगेना बनाएर भान्साकोठाका रूपमा प्रयोग गरिन्थ्यो । जाडो महिनामा आगो ताप्न परिवारका सबै सदस्यहरू त्यही अँगेना वरिपरि भेला हुन्थे । प्रत्येक घरसँगै एउटा गोठ र भर्‍याङको ठिक मुन्तिर कुखुराको खोर पनि बनाइएको हुन्थ्यो ।’

बारपाकका ७१ वर्षीय फूलबहादुर घले भूकम्पले बारपाकको पुरानो परिचय खोसिदिएको बताउँछन् । ‘भूकम्पपछिको परिवर्तन देखिने भनेको नै घरहरूमा हो । अहिले पिलर भएका घर बनेका छन् । तर, कुनै अग्ला, कुनै होचा छन्,’ उनी भन्छन् । घरहरू मात्रै होइन ढुंगाका पर्खालहरूको बीचोबीच अघि बढ्ने साना गल्लीहरू पनि बारपाकमा छैनन् । भूकम्पपछि बारपाकका केही गल्लीहरूमा गाडी नै गुड्न हुने गरी बाटो चौडा बनाइयो । गल्लीमा बिछ्याइएका ढुंगाहरू पनि सडक निर्माणका क्रममा हराए । उनले भने, ‘अब ती गल्लीहरू त सम्झनामै सीमित छ ।’

स्थानीय रोलबहादुर घलेलाई परम्परागत शैलीका घरहरूको सम्झना अहिले पनि आइराख्छ । ‘बस्न पहिलेकै घरमा मज्जा, जाडो भयो भने आगो बाल्न पाइन्थ्यो, अँगेनामा दाउरा थपे हुनी,’ उनी भन्छन्, ‘अहिलेको घरमा आगो फुक्नै मिल्दैन । सिमेन्टको घरमा रङ लगाइएको छ, धूँवा चलाए कलर बिग्रन्छ भन्छन् ।’

घरको स्वरूप बदलिएसँगै बारपाकीहरूको जीवनशैली पनि बदलिएको छ । जस्तो कि, भूकम्पअघि धेरैजसो बारपाकी दिसापिसाब गर्न घरभन्दा केही पर शौचालय धाउँथे । पानी लिन ढुंगेधारा जानुको विकल्प थिएन । अहिले धेरैजसो घरभित्रै शौचालय छन् । घरमै पानी आउने धारा जडिएका छन् । रोलबहादुरले भने, ‘पहिले तीनधारामा पानी लिन पुग्थ्यौं । अहिले त किचनमै धारा पुगेको छ ।’

घरभित्र सुविधा थपिए पनि बदलिएको बारपाकका कारण परम्परागत घर निर्माणको सीप भएका धेरैको रोजगारी पनि गुमेको छ । स्थानीय तुलबहादुर घलेजस्ता ढुंगाको गारो लगाउन जान्ने, घरमा सुर बाँधेर चौकोस मिलाउन जान्नेहरू कामविहीन भएका छन् । उनले भने, ‘१२ हात गारो लगाउने कि, १४ हातको ? ढुंगाको गारो सिधा हुनुपर्थ्यो त्यसैले जोकोहीले त्यस्तो गारो लगाउन र ढुंगाको छाना राख्न जान्दैनथे । तर, त्यस्ता सीप भएकाहरूको अहिले के काम ?’

बारपाकमा भूकम्प स्मृति स्मारक। तस्बिर : अंगद ढकाल/कान्तिपुर

परम्परागत शैलीका घर जस्तै बारपाकको जीवनशैली पनि परम्परागत नै थियो । फौजीमा जाने चलन धेरै पुरानो नै थियो, नगएकाहरू धेरैजसो खेतीपाती र पशुपालनमा आश्रित थिए । भेडा पाल्थे, त्यसैको रौंबाट बख्खु बनाएर लगाउँथे । आधुनिक शैलीको घर बनेपछि पशुपालनमा कमी आएको र खेतीपातीको चलन पनि घट्दै गएको छ । रोलबहादुरले भने, ‘अहिले बख्खु बुन्दैनन्, तलबाटै बजारका लुगा ओढ्ने, ओछ्याउने, लगाउने गर्ने चलन बढेको छ ।’

भूकम्पपछिका वर्षहरूमा बारपाकका खर्कका भेडीगोठ पनि घट्दै गएका छन् । बारपाकका तुलबहादुर घले भूकम्पअघिसम्म भेडापालनमै रमेका थिए । भूकम्पले घर भत्काएपछि भने उनलाई गाउँ फर्किनैपर्ने भयो । ‘भूकम्प जाँदा गोठमा थिएँ, घर भत्किएको छ भनेपछि उता भेडाबाख्रा स्याहार्ने कि गाउँ फर्कने भन्ने भयो,’ उनले भने, ‘केही दिन म्यानेज गरें । सबैका घर भत्किएका छन्, गाउँमा टहरो हाल्ने मान्छे पाइँदैन, पछि गोठ नै छाडेर गाउँ फर्किएँ ।’

भूकम्पपछि एक दर्जनभन्दा बढीले गोठमा बस्न छाडेको उनले सुनाए । २९ वर्ष गोठमा बिताएका फूलबहादुर घले पछिल्लो पुस्ताले बाबुबाजेको पेसामा रुचि नदेखाउँदा गोठ नासिँदै गएको बताउँछन् । ‘आफू पनि कमजोर हुँदै गयो, एउटा छोरा लाहुरे, अर्को विदेश गएपछि धान्ने मान्छे भएन,’ उनले भने, ‘मेरो मात्र होइन, सबैका छोराछोरी लेखापढी गरेपछि कि लाहुरे बन्न खोज्छन्, कि विदेश हिँड्छन्, गोठमा बस्न चासो दिँदैनन् ।’

भूकम्पपछिका वर्षहरूमा बारपाकीहरूले बाँदर आतंकको पनि सामना गर्न थालेका छन् । स्थानीय कृष्णबहादुर गुरुङलाई घर छेउछाउमा लगाएका सागपात, प्याज–लसुन सबै बाँदरबाट जोगाउनकै चिन्ता छ । अघिल्लो वर्ष त उनले लगाएको आधा मकै बाँदरले सखापै पारेका थिए । पालिकाले बाँदर भगाउन भन्दै गाउँलेलाई बारुद राखेर चर्को आवाजमा पड्काउने साधन पनि दियो । तर, सुरुमा तर्सेका बाँदरहरू पछि–पछि बारुदको गन्ध र चर्को आवाज सजिलै पचाउन सक्ने भए । उनले बाँदर धपाउन के मात्रै गरेनन्, पासो थापे, भुजामा विष हालेर मार्न खोजे । तर, कुनै उपाय कामयाब भएनन् । कृष्णले सुनाए, ‘अहिले त म हरदम गुलेली बोकेर हिँड्छु ।’

फूलबहादुरका अनुसार भूकम्पअघिसम्म जंगल छेउसम्मै स्थानीयले जौ, आलु, मकैलगायतका बाली लगाउँथे । पछि गाउँलेको जीवनशैली फेरियो । बसाइँसराइ बढ्यो । खेतीपाती गर्ने घटे । अनि त जंगल छेउछाउमै रमाइरहेका बाँदर खानेकुराको खोजीमा बस्तीमै पस्न थाले । फलफूलदेखि अन्न बालीसम्म सबै बाँदरले सखाप पार्ने भएपछि यसपाला आधा बारी बाँझै छाडेको कृष्णले सुनाए । उनले बाँदरले खाँदैनन् भनेर खुर्सानी खेती पनि गरे । तर, बाँदरले फलेका खुर्सानी टिप्दै फाल्दै नास पार्न छाडेनन् । उनले सुनाए, ‘भूकम्पपछि त बाँदरले धुरुक्क पारेका छन् ।’

भूकम्पको केन्द्रबिन्दुसमेत रहेका बारपाक बस्ती दुई वडामा विभाजित छ । बारपाक सुलिकोट गाउँपालिका–१ र २ अन्तर्गत पर्ने बारपाकमा भूकम्पको सात वर्षसम्म १ हजार ४ सय ५७ घर पुनर्निर्माण भएका छन् । अब १ सय ४८ घर पुनर्निर्माण गर्न बाँकी रहेको बारपाक–१ का वडाध्यक्ष धनबहादुर घलेले बताए । ‘विशेष कारण भएकाहरूको घर पुनर्निर्माण बाँकी छ,’ उनले भने, ‘दलित बस्ती, विदेश भएका, तल्लो बजार क्षेत्रमा भएकाहरूको मात्र घर पुनर्निर्माण बाँकी छन् ।’

वडाध्यक्ष घले पनि भूकम्पपछि बारपाकले पुरानो स्वरूप गुमाएकामा चिन्ता गर्छन् । ‘अब पुरानो डिजाइनका घरहरू बनाउने दिन फर्किएर आउँदैन,’ उनले भने, ‘यहाँ आएका पर्यटकलाई भुलाउन नेचुरल चिजहरूलाई भने संरक्षणको योजना बनाएका छौं ।’ भूकम्पको इपिसेन्टर भएकै कारण त्यो बेला बारपाकको नाम संसारभरि फैलियो । धेरै जनधनको क्षति भएकाले पनि बारपाक धेरैको चासोमा पर्‍यो । अहिले बारपाक आएका पर्यटकहरूले भूकम्पपछि बनेका गुम्बा, पुनर्निर्माण भएका ढुंगेधारा, भूकम्प स्मृति पार्क, चौताराहरूको अवलोकन गर्ने गरेको वडाध्यक्ष घलेले बताए । उनले भने, ‘यहाँ आउने पर्यटक भूकम्पपछि कस्तो बस्ती बस्यो भन्ने बुझ्न र भूकम्पको बेलाको अनुभव सुन्न पनि रुचाउँछन् ।’

बारपाक सामुदायिक होमस्टेका उपाध्यक्ष पुरबहादुर घलेको बुझाइ भने अरूको भन्दा केही फरक छ । बारपाकले मौलिकता गुमाए पनि स्थानीयले नयाँ शैलीका घरबाट सुविधा पाएका छन् । भूकम्पअघि नै बारपाक घुमेर फर्केकाहरू अहिले आएर पुरानै बारपाक खोज्ने गरेको अनुभव त उनीसँग छ । भन्छन्, ‘तैपनि आधुनिक शैलीका घर बनाएर बारपाकी जोखिममुक्त बनेका छन् र घरभित्रै हुने धारादेखि शौचालयसम्मको सुविधा पाएका छन् ।’

आधुनिक शैलीका अग्लाअग्ला घरहरू भए पनि धेरैजसो घरमा स्थानीयको बसोबास भने छैन । किनभने बारपाकमा बहालवाला र भूतपूर्व गरेर चार सय जना सेना, प्रहरीमा आबद्धका परिवार छन् । त्यस्तै बारपाकका झन्डै चार सय तन्नेरी नेपाली सेना, भारतीय सेना, सिंगापुर प्रहरी, ब्रिटिस, अमेरिकी र फ्रान्सेली सेनामा आबद्ध छन् । जस्तो कि पुरबहादुर आफैं भारतीय सेनाका अवकाशप्राप्त हुन् । उनका कान्छा भाइ बेलायती सेनामा छन् । उनको काठमाडौं र बेलायत दुवैतिर घर छ । उनले भने, ‘६०/७० घर यस्ता छन्, कि ती खाली छन् कि बुढा बाआमा मात्रै छन् ।’ पुरबहादुरले बताएको चित्रले पनि बारपाकको स्वरूप भूकम्पपछि किन पहिलेजस्तै रहेन भन्ने बुझाउन मद्दत गर्छ ।

७९ वर्षका कनिराम गुरुङ २०१८ सालमा बेलायती सेनामा भर्ती भएका थिए । अवकाशपछिका दिन उनी कहिले बेलायतमा त कहिले पोखराको घरमा बिताउँछन् । उनी भूकम्पपछि एकैचोटि बारपाक फर्के । उनले सुनाए, ‘पहिले त ढुंगामाटाकै घर थिए । घरका माथिल्लो तलामा राखनधरन चल्थ्यो । फलेकले वा ढुंगाले छाउँथे । अब त त्यस्ता घर शिलाझैं खोज्नुपर्छ ।’ उनी आफैंले पनि पुरानो भत्किएको घरको जगमा नयाँ बनाएका छन् ।

ग्रामीण क्षेत्रमा विपद्पछिको पुनर्निर्माण शीर्षकमा बारपाक केन्द्रित अनुसन्धान गरेका ग्रामीण वास्तुकला विज्ञ मिलन बगाले भूकम्पअघिको बारपाकलाई ग्रामीण पर्यटनको चर्चित ठाउँ र एकीकृत बस्तीको सुन्दर मौलिक नमुनाका रूपमा सम्झन्छन् । उनले भने, ‘बारपाकमा घर थिएन, घार थियो । माहुरीको घार जस्तै बसेका थिए । त्यहाँ एकीकृत संरचना मात्रै थिएन, एउटा संस्कृति, परम्परा र रहनसहनको सामूहिकता पनि थियो । भूकम्पपछि त्यो मेटियो ।’

भूकम्पछिको पुनर्निर्माणमा भएको ढिलाइले व्यक्तिगत रूपमा आ–आफ्नै तरिकाले घर बनाउनुपर्ने बाध्यताले मौलिकता हराएको उनले बताए । ‘अहिलेको बारपाक संरचनात्मक रूपले बलियो छ । तर, पुरानो मौलिकता यसमा छैन । यद्यपि विपद्को केन्द्रबिन्दु भएकाले यो ठाउँको महत्त्व त सधैं रहन्छ,’ उनले भने ।

प्रकाशित : पुस २३, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्

जलपन्छीको गणना सुरु

नारायण शर्मा

नवलपरासी पूर्व — नेपालमा आजदेखि जलपन्छी गणना सुरु भएको छ । पानीमा बस्ने चराको संख्या र अवस्थिति पत्ता लगाउन गणना सुरु गरिएको हो ।

सीमसार क्षेत्र अन्तर्राष्ट्रिय संस्थाका नेपाल प्रतिनिधि डा. हेमसागर बरालका अनुसार नेपालका १६ जिल्लाका प्रमुख १५ वटा नदी र ३ हजार ३५ वटा तालतलैयामा रहेका चरा गणना गरिने भएको हो । गणनामा नेपालमा ३ सयभन्दा बढी स्वयंसेवक परिचालन गरिने छ ।

बरालका अनुसार दुई हप्तासम्म हुने गणनामा मोरङ, सुनसरी, धनुषा, मकवानपुर, काठमाडौं, भक्तपुर, चितवन, पूर्वी नवलपरासी, कास्की, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया कैलाली, कञ्चनपुरलगायतका १६ जिल्लाका तालतलैया र खोला नालामा केन्द्रित रहेर जलपन्छीको गणना गरिने भएको हो । खास गरेर अन्तर्राष्ट्रिय महत्त्वका सीमसार क्षेत्रलाई प्राथामिकता दिएर गणना गरिने भएको हो । कोसी, बीसहजारी ताल, कैलालीको घोडाघोडी ताल, कपिलवस्तुको जगदीशपुर ताल र कास्कीका तालरूलाई प्राथामिकता दिइने छ ।

पन्छीविद् बराल गणनाको क्षेत्र विस्तार हुँदै गए पनि चराको संख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको बताउँछन् । नेपालमा पछिल्लो तथ्यांकअनुसार ८ सय ८९ प्रजातिका चरा बस्छन् जसमध्ये करिब २ सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्र ६ सय ५२ प्रजातिका चरा रहेको तथ्यांक छ ।

संरक्षणकर्मी डीबी चौधरीको नेतृत्वमा ३० जना गणक पूर्वी नवलपरासीमा हुने चरा गणनामा सहभागी हुनेछन् । नेपालमा साइबेरिया, थाइल्यान्ड, तिब्बतलगायतका ठाउँबाट समेत चराहरू आउने गरेका छन् ।


प्रकाशित : पुस २३, २०७९ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×