कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गोविन्दाले दार्जीलिङबाट लोकसभा चुनाव लड्ने चर्चा

पर्वत पोर्तेल

काँकडभिट्टा — आसन्न भारतीय संसद्को तल्लो सदन (लोकसभा) निर्वाचनमा बलिउड अभिनेता गोविन्दा  (अरुण अहुजा) दार्जीलिङबाट उम्मेदवार बन्ने चर्चा चुलिएको छ । भारतमा १८औं लोकसभा चुनाव २०२४ को अप्रिल र मेको बीचमा हुने अनुमान गरिएको छ । 

गोविन्दाले दार्जीलिङबाट लोकसभा चुनाव लड्ने चर्चा

५९ वर्षीय गोविन्दालाई सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)ले ‘पहाडकी रानी’ भनेर चिनिने दार्जीलिङमा उम्मेदवार बनाउन सक्ने चर्चा छ । भाजपाले सन् २००९ देखि दार्जीलिङमा लगातार जित्दै आएको छ । सन् २००९ मा जसवन्त सिंहले जितेको दार्जीलिङमा २०१४ मा एसएस अहलुवालिया र २०१९ मा नेपालीभाषी राजु विष्टले जितेका थिए । यसअघि गोविन्दा सन् २००४ मा भारतीय कंग्रेसबाट लोकसभा सांसद बनेका थिए । उनले उत्तरी मुम्बईबाट चुनाव जितेका थिए ।

‘आगामी चुनावमा पनि भाजपाले दार्जीलिङको सिट गुमाउन चाहँदैन’, सिलिगुडीबाट प्रकाशित हुने दैनिक पत्रिका हिमालय दर्पणले लेखेको छ, ‘त्यही भएर नेपालीभाषीको मत पाउन सक्ने उम्मेदवारलाई भाजपाले खडा गर्ने सम्भावना छ ।’

१ सय ६५ भन्दा बढी हिन्दी सिनेमाका अभिनेता गोविन्दा गोविन्दा ‘नेपालका ज्वाइँ’ हुन् । काठमाडौकी सुनितासँग उनले विहे गरेका थिए । नेपाली ज्वाइँ भएकै कारण गोविन्दालाई दार्जीलिङको जनमत आफूतिर तान्न र चुनाव जित्न सहज हुने अनुमान गर्दै भाजपाले उनलाई टिकट दिन लागेको जनाइएको छ । दार्जीलिङका भाजपा समर्थकहरूले दार्जीलिङ संसदीय क्षेत्रबाट ‘ह्याट्रिक’ गरे पनि छुट्टै राज्य गोर्खाल्यान्ड स्थापनामा ठोस कदम चाल्न नसकेको आरोप लगाउँदै आएका छन् । सामाजिक सञ्जालमा गोर्खाल्यान्डका लागि सिन्को नभाँच्ने दललाई जिताउन नहुने जनमत पनि बढ्दै गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भाजपाले भने दार्जीलिङ निर्वाचन क्षेत्रलाई ‘सुरक्षित’ दाबी गर्दै आएको छ । नेपालीभाषी र हिन्दू मतबाट पुनः जित्ने बलियो आधार रहेको भाजपाको दाबी छ । ‘जितलाई निश्चित बनाउन गोविन्दालाई टिकट दिन लागेको हुन सक्छ’, एक राजनीतिक विश्लेषकले भने,‘जे होस् भाजपाले दार्जीलिङको सिट उम्केको हेर्न चाहँदैन ।’

भाजपाले ‘पुरानै अनुहार’ दोहोर्याउन सक्ने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । त्यसो हुँदा बहालवाला सांसद राजु विष्टले नै पुनः टिकट पाउन सक्ने सम्भावना देखिन्छ । तर, नेपालीभाषी भए पनि विष्टले दार्जीलिङ र गोर्खाल्यान्डका लागि उल्लेख्य काम गर्न नसकेको आरोप मतदाताको छ । ‘उनी नेपालीभाषी त हुन् तर नेपालीभाषीको पहिचानको संकटबारे उनले संसदमा कहिल्यै कुरा उठाएनन्’, दार्जीलिङका एक पत्रकारले भन्छन्,‘भारतका नेपालीभाषीको मुद्दा नै नबुझ्ने नेतालाई जनताले फेरि जिताउने सम्भावना देखिँदैन ।’

प्रकाशित : मंसिर १५, २०८० १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×