कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
पर्दा पछाडि

सिनेमेटोग्राफर सुसन - 'क्यामेरा हल्लिए केही छैन, स्क्रिप्ट हल्लिनु भएन'

रीना मोक्तान

काठमाडौँ — 'रातो सुटकेस' भेनिसमा छानिनु सिनेमेटोग्राफर सुसन प्रजापतिका लागि खासै नौलो थिएन । यसअघि उनी निर्देशित लघु फिल्म 'लाज' बुसान पुगेकै थियो । 'साँघुरो' च्यानल फोरमा देखाइयो । 'बुलबुल'ले पनि तारिफ नै बटुल्यो । अन्य नेपाली फिल्म 'सेतो सूर्य' र 'कालोपोथी'ले पनि भेनिस टेकेकै हो ।

सिनेमेटोग्राफर सुसन - 'क्यामेरा हल्लिए केही छैन, स्क्रिप्ट हल्लिनु भएन'

तर, जब निर्माण टिमले भेनिस पुगेका नेपाली फिल्मको फरक उनी सामु छुट्याइदिए, सुसन खुशीले दंग! नेपाली सिनेमेटोग्राफरले खिचेको फिचर फिल्म भेनिस पुगेको यो पहिलो पटक हो । निर्माण टिमको कुरा सुनिसकेपछि सुसनलाई ठूलै उपलब्धि प्राप्त गरे झैं भयो । 'साँघुरो च्यानल फोरमा देखाउँदा मैले गरेको काम विदेशको च्यानलमा आयो भन्ने लागेको थियो । तर, नेपाली सिनेमेटोग्राफरले खिचेको पहिलो फिल्म भेनिस पुगेको रेड सुटकेस हो भन्ने सुनेपछि मलाई ठूलो उपलब्धि पाएँ भन्ने भयो, 'प्रजापति सुनाउँछन् ।

सुसन कथाले मागेको दृश्य खिच्ने सिनेमेटोग्राफरमा पर्छन् । उनी दृश्य खिच्दा वास्तविकता देखाउँछन् । 'रेड सुटेकेस'मा रातका थुप्रै दृश्य छन् । उक्त दृश्य खिच्न सुसनले 'लाइट' नबाल्ने निर्णय लिए । लाइटबाट रातको समय देखाउन सक्ने बजेट निर्माण टिमसँग थिएन । फिल्ममा लाइट अप्राकृतिक देखिनु पनि भएन ।

साँझ र बिहान फिल्म खिच्ने निर्णय भयो । त्यसैले सुटिङका क्रममा उनी बिहानको ३:३० मै उठ्थे । उज्यालो हुँदासम्म सुटिङ गर्थे दिनमा अर्को सट खिच्थे । अधिकांश सुटिङ नेचुरल लाइटमै खिचे । एउटै दृश्य खिच्न तीन दिन लाग्यो । खिच्दा खिच्दै उज्यालो हुँदा कतिपटक उनीहरु त्यसै फर्कनु पर्थ्यो । त्यसरी गरेको मिहेनत भेनिसमा देखिएको सुसनको अनुभव छ । 'त्यो दु:ख देखियो भन्ने भयो । मलाई त्यसको खुसी व्यक्त गर्न आउँदैन पनि होला, 'उनी भन्छन्, 'रातका सटलाई लाइट बालेर अप्राकृतिक देखाइएको भए सायद यो फिल्म भेनिसमा जाँदैन थियो होला । मलाई राम्रो देखिने सट चाहिँदैन । निर्देशकले पनि राम्रो सट खोजेन । वास्तविकता झल्काउने सट नै खिच्यौं ।'

'रेड सुटकेस' साथीकै प्रोजेक्ट, खिच्नै पर्‍यो । त्यहीमाथि फिल्मको कथासार नै सुसनलाई मनपर्‍यो । निर्माता रामकृष्ण पोख्रेल र निर्देशक फिडेल देवकोटा 'कलेज अफ फिल्म स्टडिज'का दौंतरी । फिल्ममेकिङमा 'बन्डिङ'को खास महत्त्व हुन्छ । त्यसैले फिल्मको प्रि-प्रोडक्सनदेखि नै टिममा सँगसँगै भए । प्रतिष्ठित फिल्म फेस्टिभल भेनिसमा उनको खिचाइको तारिफ भयो । 'दिमाग खराबको एउटा गीत रातभरी खिचेर भेनिस पुगेको थिएँ । प्रिमियरमा त घुरेछु, सौगातले कुइनो ठोकेर उठाइदियो,'भेनिसको रमाइलो क्षण सम्झिए ।

फिल्ममेकिङमा कोभिडअघि र पछि धेरै अन्तर आएको सुसनको विश्लेषण छ । 'पहिला त फिल्ममा आँखालाई तान्ने, सफा भिजुअल मनपराइन्थ्यो । अहिले त रियालिटी इमेजलाई नै रुचाइन्छ । पहिला त सबै कुरा छर्लङ्गै देखिनुपर्थ्यो । अहिले त लाइटले पनि स्टोरीटेलिङमा धेरै सहयोग गरिरहेको हुन्छ, 'उनी भन्छन् ।

कोभिडको समयमा सुसनले आफ्नो कामलाई फर्केर हेर्न पाए । कोभिडबिच 'आइएम ट्वान्टीवान' खिचेका उनले त्यसपछि 'चिमुसीची' र '२ नम्बरी' खिचे । त्यसपछि हङकङ पुगे अनि फर्केर 'दिमाग खराब' गरे । त्यससँगै लगातार 'हात्तिछाप' र 'रङ्गेली' खिचे । अहिलेका व्यस्त सिनेमेटोग्राफर सुसन पछिल्लो समय निर्देशकको पहिलो रोजाई बन्ने गरेका छन् ।

यो वर्ष मात्रै सुसनले ६/७ वटा फिल्म खिचे । उनी व्यवसायिकदेखि फरक धारका फिल्मलाई समानान्तर ढंगले खिच्दै आएका छन् । 'म यत्तिको हुनुमा कलेजको पढाइले साथ दिएको छ । कलेज पढ्दा त हामी यो सुविधा भएन, के भनेन भनिरहेका हुन्थ्यौं । तर, त्यही पढाईले हामीलाई परिपक्व बनायो, '३९ वर्षीय प्रजापति सुनाउँछन् ।

नेपाली फिल्मकर्मीमा इमान्दारिताको कमी देख्छन् उनी । 'हामी इमान्दार छैनौंजस्तो लाग्छ । पैसातिर इमान्दार छौं । तर, जुन प्रोजेक्टका लागि पैसा लिन्छौं त्यसैप्रति इमान्दार छैनौंजस्तो लाग्छ । म आफैंमा पनि त्यो इमान्दारिता देख्दिनँ, 'आफ्नै कामको समीक्षा गर्दै भने, 'इमानदार भएको भए वर्षमा यति धेरै प्रोजेक्टमा दौडिन्थेन होला । एउटै प्रोजेक्टलाई राम्रो बनाउन समय खर्चन्थें ।'

प्रि-प्रोडक्सनमा पनि नेपाली फिल्मकर्मीको तयारी अपुग रहेको उनको धारणा छ । 'फिल्म सुटिङमा जाने १/२ हप्ताअघिसम्म पनि स्क्रिप्ट फाइनल भइसकेको हुँदैन । अहिले त विस्तारै परिवर्तन हुँदैछ । अडिसन/वर्कसप हुन थाल्यो । हामीकहाँ प्रोडक्सन डिजाइनर हुँदैन । हामी कलाकारमा पैसा खर्चन्छौं । तर, फिल्म देखिने कहाँबाट हो ?' प्रश्न गर्दै भने, 'पर्दामा देखिने विषयमा मात्र खर्च छ तर देखाउनुपर्ने कुरामा खर्च गर्दैनौं । लोकेसन, प्रोपर्टीमा खर्च नै हुँदैन ।'

उनी पैसालाई भन्दा फिल्मकर्मीले प्रोजेक्टलाई माया गर्नुपर्ने धारणा राख्छन् । पैसा कमाउनलाई त अन्य विकल्प छँदैछन् । कोभिडबीच १० महिना हङकङ बस्दा ६/७ महिना उनले फुड डेलिभरीको काम गरे । सिनेमेटोग्राफीमा भन्दा बढी पैसा कमाउँथे । तर, आफ्नो प्रोफेसनमाजस्तो मज्जा अरुमा कहाँ ? त्यसैले त्यो काम छोडेर सिनेमेटोग्राफीमै फर्किए । उनी आफू आबद्ध फिल्मको स्तर आफ्नो पक्षबाट कसरी बढाउने भन्ने ध्याउन्नमै हुन्छन् ।

'एउटा फिल्मको स्तर कहाँसम्म पुर्‍याउने भन्ने कुरा सिनेमेटोग्राफरकै हातमा हुन्छ । स्टोरी टेलिङमा पनि सिनेमेटोग्राफरको समान उपस्थिति हुन्छ । निर्देशकको भिजनलाई भिजुअलमा कसरी उतार्ने भन्ने कुरा उसकै हातमा हुन्छ, 'उनी भन्छन्, 'क्यामेराबाट हामीले कथा भन्ने हो । क्यामेरा हल्लियोस् मतलब भएन । तर, कथा हल्लिनु भएन । कुन क्यामेराले फिल्म खिच्यो भन्ने दोस्रो कुरा हो । पहिलो त स्क्रिप्ट नै बलियो हुनुपर्छ ।'

सुसनले नेचुरल लाइटको ज्ञान फोटोग्राफर किशोर कायस्थबाट सिकेका हुन् । कलेज पढ्दा उनी कायस्थको खुबै संगत गर्थे । त्यही फोटोग्राफीको शैलीलाई आफूले अहिले फिल्ममा प्रयोग गर्दै आइरहेको उनी सुनाउँछन् ।

सिनेमेटोग्राफर राजेश श्रेष्ठबाट भने लाइटमाथिको नियन्त्रण सिके । अन्य सिनेमेटोग्राफरलाई झैं सुरुवातमा सुसनको झुकाव फोटोग्राफीमै थियो । त्यही फोटोग्राफीले कलेज अफ फिल्म स्टडिज (ओस्कार) पुर्‍यायो । कलेजपछि लघु फिल्म बनाए । एउटा फिचर पनि बनाए, 'हे युवा' । फिल्म पढेको घमण्ड त्यो प्रोजेक्टले तोडिदियो । त्यसपछि आफैंसँग ठानिलिएँ, 'अब म काम गर्न सिधै हाम फाल्दिनँ । पाँच वर्ष सहायक बनेर अनुभव बटुल्छु' । राजेश श्रेष्ठलाई सहयोग(असिस्ट) गर्न थाले । विनोद पौडेलसँग 'अवेकन आइज' गरे । त्यसपछि 'केही राम्रो काम गर्दैछु' भन्ने अनुभव भयो । त्यही फिल्म हेरेर राजेशले उनलाई असिस्ट गर्न बोलाएका थिए ।

त्यही समयमा नेपालमा 'गड लिभ्स इन्द द हिमालयज' भन्ने फिल्मको सुटिङ हुँदै थियो । लाइन प्रड्युसर थिए कलाकार सुनील थापा । भारतीय निर्माण टिमले बनाउँदै गरेको फिल्ममा निर्देशक विनोद पौडेल पनि जोडिए । सुसनलाई पनि त्यसमा जोडिने मन भयो । साथिभाइलाई कुरा गर्न लगाए तर, कतै मौका पाएनन् । जसरी पनि उनलाई त्यो टिमको काम हेर्ने मन थियो । त्यसैले सुटिङ हेर्न भक्तपुरबाट पुगे पनौतिको मकैटार । सुटिङ हेर्दाहेर्दै कतिबेला टिमभित्र बसेर काम गर्न थाले पत्तो पाएनन् ।

३ दिनको सुटिङ सकेर टोली बन्दीपुर जाने तयारी थियो । अब कसरी त्यहाँ जाने ? सुसनको दिमाग चल्यो । यसपटक सोझै सुनीललाई भनेर बन्दीपुर आउने रहर देखाए । 'त्यतिबेला खान पनि लाज लाग्थ्यो । अर्काको प्रोडक्सनमा त्यसरी खान । तर, प्रोडक्सन हेर्ने अर्जुन पोख्रेलले खाना बोलाउनु हुन्थ्यो,' आफूभित्रको सिक्ने हुटहुटी सुनाए ।

बन्दीपुर जाँदा पकेटमा ३० हजार बोके, होटलमै बस्नुपरे आवश्यक पर्ला भनेर । त्यहाँ पनि टिमभित्रकै सदस्य झैं काम गरे । त्यसपछि सिनेमेटोग्राफीबारे थप सिक्नकै लागि भारत पुगे । भारत पुगेको चौथौं दिनमा 'सापित' भन्ने फिल्मको सुटिङ हेर्न पाए । त्यो फिल्ममा पनि १०/१५ बिताए, एउटा सट खिच्न पाए । त्यतिबेला नेपाली फिल्म क्षेत्रमा डिएसएलआरबाट भिडियो खिच्ने अभ्यास भइरहेको थियो । नेपाल फर्केर डिएसएलआरबाटै 'अपवाद'(२०१०) खिचे । अपवादपछि सुसनले पछाडि फर्केर हेर्नुपरेन ।

प्रकाशित : मंसिर १५, २०८० १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×