कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

तीर्थकुमारी थापाका गीतमा झुमे दर्शक

काठमाडौँ — लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८०'लाई अन्नपूर्ण चेम्बर अर्केस्ट्राले आयोजना गरेको हो । 

तीर्थकुमारी थापाका गीतमा झुमे दर्शक

शुक्रबार राष्ट्रिय नाचघर जमलमा गायिका थापाले करिब २ घण्टा गायन प्रस्तुति दिइन् । केही युगल गीतमा संगीतकारसमेत रहेका छोरा सुरज थापाले उनलाई साथ दिए । 'डाँडामाथि बिहानै'बोलबाट सुरु भएको प्रस्तुतिमा गायिका आफ्ना थुप्रै चर्चित गीतहरू पस्किइन् ।

५ दशकदेखि लोकसंगीतमा सक्रिय थापाले 'म त खाँदिनँ कुवाको पानी हो', 'ढुङ्गे बगर माया', 'झम्के फूली, नाकैमा बुलाकी', 'उकालीमा पनि हजुर मोटर जाँदो रैछ', 'बारीको डिलमा ओखरबोट', 'माछी मार न हे दाइ हो'लगायत गीत गाउँदा दर्शक गीतमा झुमे । 'झम्के फूली'माथिको अन्तिम प्रस्तुतिपछि दर्शकले 'माछी मार न'को फर्माइस गरे । दर्शकको आग्रहपछि उनले उक्त गीत पुन: गाइन् ।

कार्यक्रममा २ वटा नेवारी गीतमाथि पनि गायिका थापाले प्रस्तुति दिइन् । 'दाइ काँ को'बोलको गीतमा रचनाकार रत्न बेहोशीले उनलाई गायनमा साथ दिए । एकल साँझ गर्ने आमाको सपनालाई पूरा गर्न पाउँदा संगीतकार सुरज दंग थिए । 'मेरो सपना पूरा भयो । आमाका लागि यति गर्न पाएँ, मेरो जीवन सफल भयो । आमालाई यसरी नै आागामी वर्षहरूमा गाउन लगाइरहन पाऊँ,' सुरजले भने ।

२०२८ सालमा रेडियो नेपालमा रेकर्डिङ गर्दै गायन यात्रा थालेकी गायिका थापाले हालसम्म एक हजारभन्दा बढी गीत रेकर्ड गरिसकिन् । उनले प्रबल गोरखा दक्षिणवाहु मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौँ सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

प्रकाशित : मंसिर ९, २०८० ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×