कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पाइरेसीको चपेटामा फिल्म

पछिल्लो समयको चर्चित हलिउड फिल्म ‘बार्बी’ मात्र होइन, दुई दशकअघिका ‘मालकम इन द मिडल’ शृंखलादेखि ‘सेभेन्थ ह्याभेन’, ‘क्याच मी इफ यू क्यान’ जस्ता ड्रामा र फिल्म पनि टिकटकमा अपलोड भइसकेका छन् ।
सजना बराल

अनौठो के छ भने विश्वभरका सिनेमा हलहरूमा चलिसकेपछि हालै मात्र स्ट्रिमिङ प्लाटफर्ममा आइपुगेको ‘बार्बी’ फिल्म टिकटकमा पहिलेदेखि नै छ । फिल्म अघिल्लो साता मात्रै प्राइम भिडियो, एप्पल टीभी र माइक्रोसफ्ट स्टोरमा अपलोड भएको हो । तर त्यसअघि नै ‘बार्बी’ टिकटकमा आइसकेको थियो । सिनेमा हल र ओटीटीको सट्टा कतिपयले टिकटकमै फिल्म हेर्ने गरेका छन् ।

पाइरेसीको चपेटामा फिल्म

‘बार्बी’ मात्रै होइन, अन्य टेलिभिजन कार्यक्रम र कथानक चलचित्रहरूसमेत टिकटकमा हेर्न सकिने अवस्था छ । बढीमा १० मिनेट लामो भिडियो मात्रै अपलोड गर्न मिल्ने टिकटकमा तीन घण्टाका फिल्म कसरी हेर्ने भन्ने लाग्ला । त्यसको एउटै सहज उत्तर हो– टुक्रा टुक्रा पारेर । टिकटक प्रयोगकर्ताको एउटा जमात नै छ, जसले फिल्म र अन्य कार्यक्रमहरू टुक्रा पारेर सम्पूर्ण कन्टेन्ट टिकटकमा हाल्ने गर्छ । भाग १, २, ३ गर्दै राखिएको हुन्छ सबै कन्टेन्ट ।

त्यस्ता क्लिपमा ‘कपिराइट क्लेम’ नआओस् वा यसबारे निर्माताले थाहा नपाऊन् भनेर कतिपयले सक्कली भिडियोमा अन्य कन्टेन्ट मिसाएर अपलोड गर्छन् । दर्शकलाई थप हेर्ने चाहना रहिरहोस् भनेर एकैचोटि सम्पूर्ण फिल्म वा भिडियो अपलोड गरिँदैन, क्रमैसँग एकपछि अर्को भाग अपलोड गर्ने गरिएको छ । तपाईं–हामीले टिकटकमा बार्बीजस्ता पछिल्ला कुनै फिल्म सर्च गर्‍यो भने सुरुमै फिल्मका कन्टेन्ट नआउन सक्छन् । तर, कुनै एउटा भाग पत्ता लाग्यो भने त्यसपछि लगातार अन्य भाग फटाफट फेला पर्छन् ।

त्यति मात्रै होइन, कहिलेकाहीँ टिकटकको अल्गोरिदम आफैंले भाग ८ जस्ता शीर्षकमा ९० सेकेन्ड लामा क्लिपहरू ‘फर यु पेजेज’ मा देखाइरहेको हुन्छ । एकपटक त्यस्ता क्लिप हेरेपछि त्यससँग सम्बन्धित थप क्लिप एकपछि अर्को गर्दै स्क्रिनमा आइरहन्छन् । सन् २००० को चर्चित ‘मालकम इन द मिडल’ शृंखलादेखि ‘सेभेन्थ ह्याभेन’, ‘क्याच मी इफ यू क्यान’ जस्ता ड्रामा र फिल्म टिकटकमा अपलोड भइसकेका छन् ।

सामाजिक सञ्जाल टिकटकमा फिल्म र टेलिभिजन कार्यक्रमहरू यसरी अपलोड गर्नु पाइरेसीको नयाँ स्वरूप भएको भन्दै आलोचना हुने गरेको छ । कुनै पनि कृतिको अनधिकृत प्रयोग वा पुनरुत्पादन पाइरेसी हो । त्यस्तो गतिविधिले प्रतिलिपि अधिकारसँगै चलचित्र र टेलिभिजन स्टुडियोहरूको बौद्धिक सम्पत्तिको अधिकारसमेत उल्लंघन भएको हलिउडका वकिलहरू तथा कानुनका जानकारहरू बताउँछन् । पाइरेसीमा परिएला भन्ने डरले यस्ता टिकटक पोस्टहरूमा फिल्मको नाम भने अक्सर उल्लेख गरिएको हुँदैन । कतिपय निर्माता वा प्रतिलिपि अधिकार धनीहरू भने आफ्ना फिल्म र भिडियोहरूको सित्तैमा प्रचार भएको ठानी यस विषयमा चुप छन् ।

त्यस्ता क्लिप पोस्ट गर्ने एकाउन्टका फलोअरहरू लाखौंको संख्यामा हुन्छन् । तिनका पोस्टहरूमा हजारौं कमेन्ट्स, लाइक्स र भ्युज देखिन्छ । तथापि, त्यस्ता पाइरेटेड–क्लिपमा कसैले विज्ञापन वा प्रायोजन नगर्ने भएकाले यसबापत उनीहरूले कुनै आम्दानी गर्न सक्दैनन् । तर, पछिल्लो समय प्रयोगकर्ताले टिकटकमा दैनिक खपत गर्ने समय इन्स्टाग्रामजस्ता अन्य प्लाटफर्मको भन्दा बढी भइसकेको र यसको शक्तिशाली अल्गोरिदमले के खाने, के पिउने, के किन्ने र के हेर्ने भन्नेसम्मका विषयमा प्रयोगकर्तालाई प्रभाव पार्ने गरेकाले भिडियो कन्टेन्ट वितरणमा यो अपरिहार्य माध्यमझैं बनेको छ ।

यति हुँदाहुँदै पनि केही प्रयोगात्मक अपवादबाहेक फिल्म निर्माता वा स्टुडियोहरूले टिकटकमा सम्पूर्ण भिडियो नै सेयर गर्नेजस्ता काम हालसम्म गरेका छैनन् । एनबीसी युनिभर्सलअन्तर्गतको पिकक नामक स्ट्रिमिङ प्लाटफर्मले भने ‘किलिङ इट’ र ‘लभ आइल्यान्ड यूएसए’ का सम्पूर्ण शृंखला टिकटकमा राखेको थियो । कतिपय प्रयोगकर्ताले फिल्म हल, टीभी वा स्ट्रिमिङ प्लाटफर्मभन्दा टिकटकमै फिल्म हेर्न सजिलो हुने अनुभव सुनाएका छन् । ‘म आजभोलि पहिलाझैं त्यति धेरै टीभी खोल्दिनँ किनभने सबैथोक मेरो मोबाइलमै आउँछ,’ सिकागोका अडियो इन्जिनियर जेसी ह्युजेज भन्छन्, ‘नेटफ्लिक्स, हुलुभन्दा टिकटक हेर्न रुचाउँछु । यसमा रमाइला कन्टेन्ट खोजिरहनुपर्दैन, एकपछि अर्को आफैं आइरहन्छन् ।’

अमेरिकामा सन् १९९८ मा पारित भएको डिजिटल मिलेनियम प्रतिलिपि अधिकार ऐनले इन्टरनेट कम्पनीहरूका प्रयोगकर्ताले टिकटकजस्ता प्लाटफर्ममा अनधिकृत सामग्रीहरू पोस्ट गरेमा कम्पनी दोषी नहुने र सजायसमेत नहुने सुनिश्चित गरेको छ । फिल्म स्टुडियो, निर्माता कम्पनी वा व्यक्तिगत रचनाकार स्वयंले त्यस्ता गतिविधि अनुगमन गरेर प्रतिलिपि अधिकार उल्लंघनका घटनाबारे कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था छ । ‘जबसम्म प्लाटफर्मले जानकारी पाउनासाथ उल्लंघन भएका सामग्री तुरुन्त हटाउन सक्रिय भूमिका खेल्छन् तबसम्म कम्पनीलाई कुनै कानुनी परिबन्द लागू हुँदैन,’ प्रतिलिपि अधिकारसम्बन्धीका अधिवक्ता ग्रिनबर्ग ग्लुस्कर भन्छन् ।

बौद्धिक सम्पत्ति अधिकार उल्लंघन हुने सामग्री आफूहरूले प्रतिबन्धित गरेको र उल्लंघनका घटनामा प्रतिलिपि अधिकार धनीलाई रिपोर्ट गर्ने सुविधासमेत दिएको टिकटकको दाबी छ । यस्ता अनधिकृत कन्टेन्ट पोस्ट हुने गरेको विषयमा भिडियो स्ट्रिमिङ साइट, युट्युबको त सधैंभरि आलोचना हुँदै आएको छ । युट्युबलाई पाइरेसीको प्याराडाइज (स्वर्ग) का रूपमा कटाक्ष गर्ने गरिन्छ । सन् २०१० मा युट्युबले १५ मिनेटभन्दा लामा भिडियो अपलोड गर्ने सुविधा दिएको दिनदेखि नै त्यसमा पाइरेसीको समस्या सुरु भएको हो ।

रेकर्ड गरिएका, हल्लिएका वा नराम्रो क्वालिटीका नभई युट्युबमा पूरै एचडी क्वालिटीका पाइरेटेड भिडियो राख्ने गरिएको र त्यसबारे कसैले जानकारी नदिए वा दाबी पेस नगरे सदैव रहिरहनु ठीक नभएको जानकारहरू बताउँछन् । पुराना ब्लकबस्टर वा डीभीडीको जमानामा तहल्का मच्चाएका थुप्रै फिल्म युट्युबमा निर्माताको अनुमतिबेगर अपलोड गरिएका छन् । युट्युबको सञ्चालक गुगलले भने प्रतिलिपि अधिकार धनीले युट्युबमा उनीहरूका कन्टेन्टमाथि नियन्त्रण कायम गर्न सकुन् भनेर कपिराइट र कन्टेन्ट म्यानेजमेन्ट प्रविधिमा आफूहरूले ठूलो लगानी गरेको दाबी गर्दै आएको छ ।

टिकटक, युट्युब मात्रै होइन, फेसबुक, इन्स्टाग्राम, एक्स, भाइबर, ह्वाट्सएपजस्ता भिडियो पोस्ट गर्न मिल्ने एप्लिकेसनहरूमार्फत पाइरेटेड कन्टेन्ट सेयर हुने गरेको छ । पछिल्लो समय शाहरूख खान स्टारर ‘जवान’ फिल्मका पाइरेटेड क्लिप ह्वाट्सएपबाट फैलिएको विषय ठूलो मुद्दा बन्यो । फिल्म निर्माता कम्पनी रेड चिल्लिज इन्टरटेनमेन्टले एन्टी पाइरेसी एजेन्सी नियुक्त गरेर त्यस्ता क्लिप सेयर गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी कारबाहीका लागि कडा पहल गरेको थियो ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : आश्विन ७, २०८० ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×