कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७
समीक्षा

'गदर २'ले जोगाउँदैन 'गदर'को साख

विषयमा उम्दा 'ओएमजी २', कथाभन्दा सन्देश बढी 
रीना मोक्तान

काठमाडौँ — फिल्मको 'सिक्वेल' निर्माण गर्नुपछाडिका एउटै ध्येय हुन्छ, पैसा कमाउने । पुरानो फिल्मको भावना(इमोसन) बेच्यो, पैसा थुपार्‍यो । 'कटप्पा ने बाहुबलीको क्यों मारा ?' यही प्रश्नको जवाफमा 'बाहुबली २'ले बक्स अफिस थर्कायो । अहिले त सिक्वेल/प्रिक्वेलको ट्रेन्ड नै छ । सिक्वेलको हावाले नेपाली फिल्मकर्मीलाई पनि कहाँ नछोएको हो र ? 'कब्बडी', ‍'छक्का पञ्जा' र 'नाइँ नभन्नु ल' पछिल्ला उदाहरण भइहाले । गत शुक्रबारदेखि प्रदर्शनमा आएका 'गदर २' र 'ओएमजी २' पनि यही धरातलमा उभिएका छन् । 

'गदर २'ले जोगाउँदैन 'गदर'को साख

सुरुमा 'गदर २'का कुरा । २२ वर्षअघिको ब्लकबस्टर 'गदर : एक प्रेमकथा'को सिक्वेलले अहिले फेरि भारतको बक्स अफिस तताउन सुरु गरिसक्यो । भारत-पाकिस्तान विभाजनबीच अंकुराएको प्रेमकथा, हाते पम्प उखेलेर दुष्मनलाई पछार्ने सक्ने शक्ति भएका ट्रक ड्राइभर । दुई प्रेमीलाई छुट्याउन खोज्ने डरलाग्दा पिता । यस्तै भावनाले 'गदर : एक प्रेमकथा'लाई दर्शकले हेरेनन् मात्रै, अनुभव नै गरे । ‍निर्देशक अनिल शर्माले त्यही भावनालाई बेच्न 'गदर २' बनाए । तर, सिक्वेलमा त्यही भावनासँग दर्शकलाई जोड्न उनी चुकेका छन् । कमजोर पटकथा र निर्देशनले फिल्मलाई सार्थक सिक्वेल बन्नबाट रोकेको छ ।

'गदर'को कथा जहाँ सकिएको थियो, त्यहीँबाट सिक्वेल सुरु हुन्छ । फिल्मको क्लाइमेक्समा तारा सिंह (सन्नी देवल)ले पाकिस्तानी बटालियन मारेर सकिना(अमिसा पटेल) र छोरालाई हिन्दुस्तान फर्काएको हुन्छ । पाकिस्तानका मेजर हमिद इकबाल तारा सिंहसँग त्यही बटालियनको बदला लिन चाहन्छन् । पत्नी सकिना र छोरा चरणजित उर्फ जितेसँग रमाइरहेका तारालाई बदलाबारे पत्तो छैन । एकदिन युद्ध मैदानमा बम/बारुद पुर्‍याउने क्रममा अन्य ६ सिपाहीसँगै तारा लापत्ता हुन्छन् । त्यसबीच हमिदले पाकिस्तानमा हिन्दुस्तानी सिपाहीलाई बन्दी बनाएको खबर आउँछ । बाबुको खोजीमा पाकिस्तान पुगेका जिते भने दुष्मनको फेला पर्छ । छोरा बचाउन फेरि पाकिस्तान पुगेका ताराको कथा 'गदर २'मा देखाइएको छ । खासमा सिक्वेलको कथा उठान गजब्बकै छ ।

तर, फितलो पटकथाले दर्शक फिल्मको पात्र सँगसँगै हिँड्न पाउँदैनन् । खासमा फिल्मको कथा बाबु खोज्न पुगेका छोरा र उनै छोरा बचाउन दुष्मनको सामना गर्न उभिएका पितामाथि छ । तर, मध्यान्तरअघि तारा र सकिनाको प्रेम देखाउनमै समय खर्चिएको छ । सकिना र तारासँगको छोराको सम्बन्ध स्थापनामा हतार गरिएको छ । पिता र छोराबीचको सम्बन्ध स्थापनामै विश्वासिलो नबन्दा यी दुईसँग दर्शक अन्तरसम्बन्धित हुनै पाउँदैन । त्यसैले मध्यान्तरपछि ताराले छोरातर्फ हेर्दै गाएको 'कितने दर्द भरी हे तेरी मेरी प्रेम कहानी'बोलले दर्शकको मन छुँदैन । जितेको आमासँगको सम्बन्ध पनि सही ढंगले स्थापना हुन पाउँदैन । कलाकार बन्न चाहने जिते अचानक कसरी बदलिए ? दर्शकले विश्वासिलो कारण भेटाउँदैनन् । दर्शकले दृश्यकै आधारमा सबै बुझिदिनुपर्ने हुन्छ । खासमा दृश्य भाषाले नै त्यो अनुभव गराइदिएको भए 'गदर २'को कथामा दर्शक बाँधिने थिए । फिल्मको क्लाइमेक्स दृश्य त यति तन्काइएको छ कि, अब सकियो भन्ने दृश्यपछि पनि एक्सन दृश्य अगाडि बढिरहन्छ । यस्तै कमजोरीहरूले कथामा ट्रिटमेन्ट आवश्यक रहेको देखाइदिन्छ । बाबु-छोराबीचको सम्बन्धलाई क्लाइमेक्स दृश्यतिर स्थापना गर्न खोज्दा कथाले लय समात्न नसकेको प्रस्ट हुन्छ । यी दुईबीचको सम्बन्धलाई पहिल्यै स्थापना गरिएको भए यी दुई पात्रका भावनालाई दर्शकले सजिलै सहानुभूति दिन सक्थे ।

फिल्म कमजोरीले मात्रै भरिएको छैन । केही त्यस्ता 'ट्विस्ट एन्ड टर्न' छन् जसले दर्शकलाई केही कदसम्म फिल्ममा बाँधेर राख्छ । 'उड्जा काले…', 'मे निक्ला…'जस्ता गीतले कथामा मिठास भरिदिन्छ । बाबु खोज्ने क्रममा पाकिस्तानी युवती मुस्कानको प्रेममा पर्छन्, जिते । तारा र सकिनाकै प्रेमलाई जिते र मुस्कानले दोहोर्‍याउँदा कथामा नवीनता आउँछ । तर, कथालाई दृश्यमा प्रस्तुत गर्न नसक्दा 'गदर २' प्रिक्वेलको नोस्टालिजियामा सीमित बन्छ । 'हाते पम्प' उखेल्ने ताराले यसपटक ठूलै वस्तु उचाल्छन्, सामान्य पात्रभित्र लुकिएको त्यस्तो शक्तिले दर्शकमा रोमाञ्चकता थप्ने नै भयो । ताराको त्यही सामान्य जीवनभित्रको असामान्य शक्तिलाई फेरि सन्नीले अभिनयमार्फत पर्दामा बाँचिदिएका छन् । तर, त्यतिबेला बन्दुक बोकेर दुष्मनसँग लडेकी सकिना 'गदर २'मा आँसु बहाइरहने, बाबु-छोराको पर्खाइमा बस्ने कमजोर चरित्र चित्रणमा खुम्चिएकी छिन् । उनको चरित्रलाई पर्दामा कम स्थान दिइएको छ । जितेको भूमिका देखिएका उत्कर्श शर्माको अभिनय औसत छ, सिमरत कौरले भने मुस्कानको भूमिकाबाट दर्शकको नजर आफूतर्फ तान्न सफल छिन् । 'गदर २'मा खट्किने भनेको अमरीश पुरीको चरित्र नै हो । भारतीय फिल्ममा पाकिस्तानलाई दुष्मन देखाउनु सामान्य नै भइसक्यो । सन् १९७१ को इन्डो-पाकिस्तान युद्धमा आधारित फिल्ममा पाकिस्तानीलाई दुष्मन देखाउनु ठूलो विषय होइन । एक पाकिस्तानी चरित्रलाई सकरात्मक देखाउँदै त्यसमा सन्तुलन बनाउने कोसिस भने गरिएको छ ।

अब सन् २०१२ मा प्रदर्शनमा आएको ओएमजी(ओ माई गड)मा प्रवेश गरौं । यही फिल्मको सिक्वेल हो, 'ओएमजी २' । यो फिल्म कथाका हिसाबले वास्तकविक सिक्वेल होइन । ओएमजी नास्तिक कान्जी लालजी मेहताको पसल अनि त्यसपछि उनले भगवानविरुद्ध हाल्ने मुद्दा उपर घुमेको छ । भूकम्पमा कान्जीको पसल ध्वस्त हुन्छ । कम्पनीले उल्टै घटनामा भगवानलाई दोषी देखाउँदै बिमा नदिने ढिपी कस्छ । त्यसपछि कान्जीले भगवानविरुद्ध अदालतमा मुद्दा हाल्छ । 'ओएमजी' उमेश शुक्लाले निर्देशन गरेका हुन् । फिल्मले कान्जीमार्फत धर्मको नाममा हुने व्यापारलाई प्रस्तुत गरेको छ । नास्तिक पात्रबाट सुरु भएको फिल्मको कथा भगवानको अस्तित्त्व रहेको विषयमा टुंगिन्छ । फिल्ममा भगवान कृष्णले कान्जीलाई सहयोग गरेको देखाइएको छ ।

यता 'ओएमजी २'मा भने भगवान् शिव(अक्षय कुमार) धरतीमा आइपुग्छन्, कान्तिशरण मुग्दल(पंकज त्रिपाठी)लाई सहयोग गर्न । कान्तिका छोरालाई एकदिन अनैतिक कार्य गरेको भन्दै विद्यालयले निकालिदिन्छ । सूचना/ज्ञानको अभावले अन्जानमै छोरा उक्त कार्यमा सहभागी भएको कान्तिले बुझ्छ र उक्त घटनामा आफैंलाई जिम्मेवार ठान्छ । त्यसपछि आफूसहित विद्यालय, औषधि पसलदेखि जटिबुटी बेच्ने व्यक्तिबाट माफी र क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दर्ता गर्छ । अब कान्तिले यो मुद्दा जित्ला वा नजित्ला, त्यसका लागि फिल्म नै हेर्नुपर्ने हुन्छ ।

एक बाबुले आफ्नो छोराका लागि गर्ने संघर्षको कथा मात्र यो फिल्ममा देखाइएको छैन । तर, यौन शिक्षाजस्तो संवेदनशील विषयमाथिको आवश्यकतालाई उजागर गरिदिन्छ । यौन शिक्षाका अभावमा किशोर/किशोरीले भोग्नुपर्ने परिस्थितिहरु प्रस्तुत गर्दै फिल्मले विद्यालयस्तरबाटै यो शिक्षामाथि सिकाइनुपर्ने विषयमाथि बहस छेड्छ । तर, फिल्म कथा वाचनतिर भन्दा पनि सन्देशमूलक बनाउन खोज्दा कमजोर बनेको छ । फिल्ममा यस्ता संवादहरू पात्रले बोल्छन्, जुन पटकथाको आवश्यकता भन्दा पनि दर्शकलाई सन्देश दिनकै लागि राखिएको आभास हुन्छ ।

समाज र परिवारको संकुचित मानसिकतामाथि व्यंग्य गर्दै फिल्मले यस्तो संवेदनशिल विषयमा असंवेदनशील बन्ने निकायलाई पनि प्रश्न गरेको छ । अमित राय निर्देशित यो फिल्म प्रिक्वेलमा झैं केही समान संवाद र प्लट छन् । 'ओएमजी'मा परेश रावललाई प्यारालाइसिस हुन्छन्, यता कान्ति दुर्घटनामा परेर बित्छ । फिल्मको कथाबाहेक अन्य तत्त्वमा खासै नौलोपन भेटिन्न । सहजै अनुमान लगाउन सकिने कथाका कारण 'ओएमजी'ले प्रिक्वेल स्तरको स्वाद पस्कँदैन । यौन शिक्षाको विषयलाई कथामा पस्कनु यो फिल्मको सबैभन्दा बलियो पक्ष हो । तर, यौन शिक्षाको आवश्यकतालाई बुझाउन भगवान नै संसार आउनुपर्ने विषय भने विश्वासिलो लाग्दैन । कान्तिको भूमिका गरेका पंकज त्रिपाठीको अभिनय फिल्मको अर्को मजबुत पक्ष हो । अक्षय कुमार शिवको भूमिकामा सुहाएका छन् । अधिवक्ताको अभिनयमा यामी गौतमले आफूलाई प्रमाणित गर्न पाएकी छन् ।

यौन शिक्षालाई विद्यालयस्तरबाटै सिकाउनुपर्ने विषय समेटेको यही फिल्मले भने भारतको सेन्सरबाट 'एडल्ट' प्रमाणपत्र पाएको छ । त्यसैले होला हालै अक्षयले सेन्सरलाई व्यंग्य गर्दै भनेका थिए,'यो फिल्मलाई सबै स्कुलमा देखाउनुपर्छ । यो पहिलो एडल्ट फिल्म हो जुन एडल्ट दर्शककै लागि बनेको हो' । अक्षयले भनेझैं '‌ओएमजी २' विद्यालयस्तरमै देखाउँदा पनि फरक पर्दैन ।

प्रकाशित : श्रावण ३०, २०८० १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×