धेरै सन्तुष्टि मिलेको स्क्रिप्ट हो 'नीरफूल' : दयाहाङ

काठमाडौँ — अभिनेता दयाहाङ राई 'नीरफूल' को कथालाई विश्व चर्चित फिल्म 'बाइसकाइल थिभ्स' र 'पाथेर पांचाली'सँग जोडेर हेर्छन् । यी दुई फिल्मको तहसम्म पुग्ने कथा 'नीरफूल'मा देखाइएको दयाहाङले बताए ।

धेरै सन्तुष्टि मिलेको स्क्रिप्ट हो 'नीरफूल' : दयाहाङ

हालै काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा 'नीरफूल'लाई सबैभन्दा सन्तुष्टि मिलेको स्क्रिप्टको रुपमा दयाहाङले चर्चा गरे । स्क्रिप्ट सचिन घिमिरे र फूलमान बल मिलेर लेखेका हुन् ।

'एक कलाकारलाई कुनै चरित्र गर्ने धेरै लोभ हुन्छ । हुन त मैले गरेका फिल्मले ५१ दिन मनाए, पैसा कमाए । बाइसकाइल थिभ्स र पाथेर पांचालीजस्ता फिल्म आजको दिनसम्म पनि कहीँ कतै प्रदर्शन भइरहेको हुन्छ । त्यस्ता फिल्मको चर्चा नहुने कुनै क्षण हुँदैन होला । त्यस्तो कथामा काम गर्न पाएँ, आफूलाई कनेक्ट हुन पाउने कथामा काम गर्न पाएँ भन्ने लोभ हुँदो रहेछ,' राईले भने, 'त्यो आशा गरिरहँदा मलाई आएको स्क्रिप्टमाथि सबैभन्दा धेरै सन्तुष्टि मिलेको र त्यो ठाउँसम्मको हुन सक्छ भन्ने काम भएको फिल्म हो यो । त्यस्तो धेरै अपेक्षा त होइन तर मैले पाएको स्क्रिप्टमध्येको त्यो हिसाबले काम गर्न पाएको स्क्रिप्ट नीरफूल हो । मलाई साह्रै आनन्द लागेको फिल्म हो यो ।'

भूकम्पमा परिवार गुमाएका एक पात्रको भूमिकामा दयाहाङले फिल्ममा अभिनय गरेका छन् । 'एउटा भविष्य देखेर मेरो चरित्र कतै पुग्छ । त्यसबीचमा प्राकृतिक विपत्ति आउँदा मेरो छोरी हराउँछ । खोज्दै जाँदा मेरो छोरी मात्रै होइन, मेरो जन्मस्थान पनि हराइसकेको हुन्छ । फिल्ममा गम्भीर राजनैतिक व्यंग्य पनि छ, 'उनले भने ।

'नीरफूल' पाँच वर्ष अगाडि बनेको फिल्म हो । पत्रकारिता हुँदै निर्देशनमा होमिएका फूलमानको यो डेब्यु फिल्म हो । अहिले उनी नेपाल टेलिभिजनका महाप्रबन्धकसमेत हुन् ।

यो फिल्म बनाउँदै गर्दा सरकारलाई प्रश्न गर्ने स्थानमा रहे पनि अहिलेको अवस्था फरक भएको उनी बताउँछन् । 'अलि फरक आयामबाट समाजको कथा भन्न सकिन्छ भनेर मैले फिल्मको माध्यमलाई रोजेँ । फिल्ममा भइँचालो छ, तर यो भुइँचालोको कथा होइन । परिवारको सदस्य हराउँदाको कथा छ । परिवारको प्रेम र पीडा छ,'निर्देशक बलले भने,'यो फिल्म भ्रष्ट सिस्टम भर्सेस पहिचानको संकटमाथि बनेको छ । जतिबेला फिल्म बनाएँ त्यो बेला म सिस्टम बाहिर थिएँ । फिल्म प्रदर्शन गर्दै गर्दा सिस्टमभित्र छु । व्यक्तिगत हिसाबले मैले यी कुरा गर्न सक्दिन होला तर मेरो सिर्जनामार्फत भन्न सक्छु नि ।' बलले सन् २०१२ मा 'सेलफोन' नामको लघु फिल्म निर्देशन गरेका थिए ।

प्रकाशित : जेष्ठ १४, २०८० १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?