'गोर्खा वारियर'को प्रिमियर बेलायतमा

कान्तिपुर संवाददाता

काठमाडौँ — गोर्खाको वीरतामाथि बनेको फिल्म 'गोर्खा वारियर'को प्रिमियर बेलायतमा हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्म भदौ २४ गते सिनेवर्ल्ड लेस्टर स्क्वायर आइम्याक्स हलमा प्रिमियर गरिने निर्माण टिमले जनाएको छ ।

निर्देशक चाम्सले यो हलमा फिल्म प्रदर्शन गर्ने आफ्नो सपना पूरा हुन २० वर्ष लागेको समेत बताए । गोर्खालीको कथालाई पर्दासम्म ल्याउन सहज थिएन । 'जसरी गोर्खालीले लडाइँ लडे त्यसरी नै अहिले म संघर्ष गर्दैछु, हलिउडका कलाकारलाई प्रिमियरमा हिँडाउन,'चाम्सले भने । चाम्सका अनुसार प्रिमियरका लागि बेलायती राजपरिवारका सदस्यदेखि सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलेब्रिटीसम्मलाई निम्तो दिएका छन् ।

सन् १९४९ को मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा फिल्ममा समेटिएको छ । नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा कलाकारहरु रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरुप घले, सारा राईलगायतको अभिनय छ ।

निर्देशक चाम्स र गिरिराज घिमिरेले मिलेर लेखेको कथामा बनेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन । सुदीप बरालले खिचेको फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १२:१५
प्रतिक्रिया
पठाउनुहोस्

आर्थिक वृद्धि ऋणात्मक रहेका क्षेत्रले पुनर्कर्जा पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ऋणात्मक आर्थिक वृद्धिदर रहेका उत्पादन, निर्माण र थोक तथा खुद्रा व्यवसाय क्षेत्रका ऋणीले सस्तो ब्याजदरको पुनर्कर्जा सुविधा पाउने भएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घोषणा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ ।

'कार्यविधिमा क्षेत्रगत आर्थिक वृद्धिदर लगातार दुई त्रैमासमा ऋणात्मक रही क्षेत्रगत मन्दी देखिएका क्षेत्रमा प्रवाह भएको पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिनेछ,’ कार्यविधिमा भनिएको छ, ‘तर, उल्लिखित क्षेत्रमा प्रवाह भएको कर्जा भए पनि त्यो व्यापार तथा आयातजन्य व्यवसायलाई प्रवाहित कर्जाको हकमा पुनर्कर्जा सुविधा पाइने छैन ।’

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आव २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर पौने २ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । यस अवधिमा उत्पादन, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक हुनुका साथै अन्य क्षेत्रको वृद्धिदरमा पनि कमी आएकाले समग्र अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।

सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा आर्थिक वर्ष ०७९/८० को वार्षिक लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनले नेपालको अर्थतन्त्रको विस्तार खुम्चिने प्रक्षेपण गरेको हो । तर उक्त अवधिमा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

गत आर्थिक वर्षमा कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने प्रक्षेपण गरेकामा अहिले ६.६१ प्रतिशतको संशोधित अनुमान गरेको छ । यस वर्ष विद्युत् र होटल क्षेत्रको वृद्धिदर निकै राम्रो भए पनि कुल जीडीपीमा यस क्षेत्रको भार निकै कम रहेकाले समग्र जीडीपीमा खासै असर नपरेको कार्यालयले प्रस्ट्याएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×