बेलायतमा ‘ढोरपाटन’

कान्तिपुर संवाददाता

काठमाडौँ — हिउँदमा ढोरपाटनका सबै गाउँले बेंसी झर्छन् । अनि, गाउँको रेखदेख दुई कुरुवा महिलाले गर्छन् । ७५ वर्षका ती दुई बूढीआमै सम्बन्धले भने सौता हुन् ।

तिनै दुई जना मिलेर हिउँद काट्दाको कष्ट र उनीहरूको सम्बन्ध देखाइएको वृत्तचित्र हो, ‘ढोरपाटन’ । यही वृत्तचित्र बेलायतको प्रमुख डकुमेन्ट्री फेस्टिभल ‘सेफिल्ड डकफेस्ट’ मा वर्ल्ड प्रिमियर हुने भएको छ ।

जुन १४ देखि १९ सम्म चल्ने महोत्सवको चौथो दिन मुख्य प्रतिस्पर्धामध्येको ‘इन्टरनेसनल फस्ट फिचर कम्पिटिसन’ मा वृत्तचित्र देखाइन लागेको हो । राजन कठेत र सुनीर पाण्डे निर्देशित ७८ मिनेटको ‘ढोरपाटन’ लाई अंग्रेजी नाम भने ‘नो विन्टर होलिडेज’ दिइएको छ ।

निर्देशक कठेतले डकुमेन्ट्रीको तयारी सन् २०१८ देखि नै सुरु गरिएको बताउँछन् । निर्माण टिमले त्यति बेलादेखि विभिन्न कार्यशालादेखि पिचिङ कार्यक्रममा डकुमेन्ट्रीलाई ‍सहभागी गराउँदै आएको थियो । त्यही क्रममा २०२१ मा सेफिल्डकै ‘द विकर्स’ भन्ने पिचिङ कार्यक्रममा ‘ढोरपाटन’ छनोटमा पर्‍यो । करिब एक करोड रुपैयाँ बराबरको अनुदान रहेको पिचिङ कार्यक्रमको शीर्ष पाँचमा पर्‍यो वृत्तचित्र ।

डकुमेन्ट्री खिच्न दुई निर्देशकसँगै छायाकार बबिन दुलालले ढोरपाटनमा सय दिन बिताएका थिए । अध्ययनका लागि टिमले एउटा हिउँदमा १० दिन बिताएको थियो । त्यसपछिको हिउँद वृत्तचित्र खिच्न राजन, सुनीर र बबिनले ७० दिन बिताए । त्यसपछि शरद र वसन्त ऋतुमा दस/दस दिन लगाएर खिचे । ‍

‘बूढीआमा बस्ने घरबाट आधा घण्टामा पुगिने होटलमा हामी बस्यौं । हिउँ परेको बेला, केही कठिन भए पनि हामी तयारीसहित पुगेका थियौं,’ निर्देशक कठेतले भने, ‘बुढ्यौली हुनु के हो ! प्रकृतिसँग जुधेर बूढीआमैहरू कसरी बाँचिरहेका छन् भन्ने कुरा हामीले वृत्तचित्रमा देखाएका छौं ।’ वृत्तचित्रको सम्पादन भने किरण श्रेष्ठले गरेका हुन् ।

प्रकाशित : जेष्ठ १०, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्

रुखबाट लडेर मृत्यु 

माधव अर्याल

पाल्पा — घाँस काट्दा रुखबाट लडेर घाइते भएका रैनादेवी छहरा–२, सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकीको उपचारका क्रममा मंगलबार राति निधन भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाका अनुसार घर नजिकै घाँस झार्ने क्रममा लडेर घाइते भएका बुढाथोकीको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको थियो ।

घरनजिकैको समीको रुखमा चढेका बुढाथोकी रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घटनाका सम्बन्धमा प्रहरी चौकी भुसालडाँडा र जिल्ला प्रहरी कार्यालयको टोलीले थप अनुसन्धान गरेको छ ।


प्रकाशित : जेष्ठ १०, २०८० ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×