देउडा जगाउँदै स्वस्तिका

राजबहादुर शाही

मुगु — ‘कर्णालीपारिको त्यही हो क्या हुलाकी बाटो रक्षा गर्‍यौं भगुवान म दुरचारीको ।’ यो गीतले मुगुकी २५ वर्षीया स्वस्तिकालाई भाइरल बनाएको छ ।


झन्डै २ साताअघि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले धादिङमा गरेको कार्यक्रममा स्वस्तिकाले दूधे बच्चा पिठ्युँमा बोकेर यो गीत गाएकी थिइन् । स्थानीय पहिरनमा गीत गाएर उनले त्यहाँ उपस्थित गायक र दर्शकको मन जितिन् । त्यसपछि उनलाई राजधानीमा रेकर्डिङ स्टुडियोदेखि लाइभ दोहोरीसम्ममा गीत गाउन भ्यानभ्याइ छ ।

सोरु गाउँपालिकास्थित नुवाकोटकी स्वस्तिका गाउँकै स्कुलमा ८ कक्षा पढिरहेका बेला मादलको धुनमा पहिलो पटक गीत गाउँदा १२ वर्षकी थिइन् । त्यति बेला ‘तिरिरी’ बोलको गीत गाएर उनले त्यतिबेला ४ हजार ६ सय रुपैयाँ पाएकी थिइन् । २१ वर्षको उमेरै विवाह गरेपछि पनि स्वस्तिकामा गाउने जोसजाँगर हराएन । देउडा डाडी भाका गाउँदै आएकी उनले चर्चामा आएको छोटो समयमै एक्ली मैना, दरिह, कर्णालीको सेरोफेरोलगायत बोलका गीत रेडडिङ गरिसकेकी छन् । उनी अहिले आफू गायन क्षेत्रको ढोकामा पुगेको बताउँछिन् । ‘मैलेभित्र पस्न छ,’ उनले भनिन् ।

गीत गाउने अवसर पाइरहे पनि उनले राजधानीमै बस्ने कि फर्कने निर्णय लिन सकिरहेकी छैनन् । एकातिर घरधन्दा, खेतीपातीको जिम्मेवारी छ, अर्कातिर सोरु गाउँपालिकामा अस्थायी जागिर । श्रीमान् असल बमले भने गायन क्षेत्रमा लाग्न हौसला दिँदै आएका छन् । ‘अवसर पाए दुर्गमका महिलाले पनि गर्न सक्छन् भन्ने बुझेकी छु,’ उनले भनिन् ।

प्रकाशित : चैत्र १२, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

ग्रामीण अर्थतन्त्रको दुरवस्था

पाठक पत्र

भाषणको क्रममा अधिकांश शीर्ष नेताहरूले आर्थिक क्रान्तिको फोस्रो नारा दिएर जनता भुलाउने गरेको सन्दर्भ कसैबाट लुकेको छैन । रेमिट्यान्सको आडमा थामिएको अर्थतन्त्रलाई स्वदेशी उत्पादन बढाएर निश्चित आकार दिने योजना सरकारसँग छैन ।

आर्थिक बहस, ठाउँविशेषका आवश्यकता अनुसार कार्ययोजना तयार गरेर कार्यक्रमलाई मूर्तरूप दिने सोच सत्ताधारीमा नहुँदा संघ, प्रदेश, पालिकाहरू निष्कृय छन्, आर्थिक क्रियाकलाप क्षतविक्षत बनेका छन् । हाम्रो आर्थिक हैसियत यस्तो छ कि आम निर्वाचनदेखि अन्य ठूला कार्यक्रम सम्पन्न गर्नुपर्दासम्म छिमेकी देशबाट सयौंको संख्यामा गाडीहरू नमागी सुख छैन । विदेशीले उपहारस्वरूप दिएका ‘एम्बुलेन्सहरू’ सञ्चालन गर्न सक्ने हैसियत स्थानीय सरकार, समुदायसँग भएको पाइँदैन ।

ग्रामीण अर्थतन्त्र मजबुत नभई देशको अर्थतन्त्र माथि उठ्न सक्दैन भनेर जान्दाजान्दै गरिबलाई उकास्ने ठोस योजना सरकारसँग नहुँदा जनता उत्पीडित छन्, सीमित मात्रामा उत्पादित वस्तुले बजार नपाएपछि सर्वत्र नैराश्यता छाएको छ । स्थानीय सरकारले उल्टै गाउँमा उत्पादित डोको, डालो, ढकी लगायत सीपमूलक वस्तुमा कर लगाउँदा सर्वसाधारणको गाँस खोसिएको छ, हातखुट्टा बाँधिएको छ । यावत् विषम् परिस्थितिको सामना गर्न नसक्दा ग्रामीण जनता भागाभाग गर्दै कोही सहर पस्ने, कोही विदेश पलायन हुने दुरूह अवस्थाको परिदृश्यले मुलुकको परिचय दिएको छ । आयातित वस्तुबाट देशवासीको प्राण धानिएको छ भने निर्यातजन्य उत्पादन नगन्य छन् । आयातित चीनका तयारी पोसाक र भारतका खाद्यवस्तुहरूले हामीलाई टेको लगाइरहेका छन्, जेनतेन खडा हुने आधार दिएका छन् । वीरगन्ज नाका २–४ दिन रोकियो भने त्यसको असरले सर्वत्र हाहाकार मच्चिने सर्वसाधारणको दैनिकी ठप्प बन्ने, सामग्रीको कृत्रिम अभाव सृजना हुने लगायत समस्या बेलाबखत हामीले देख्दै, भोग्दै आएका छौं । परनिर्भरताको यस्तो तीतो यथार्थबाट नेतृत्व कहिले सचेत बन्ने ? हावादारी गफभन्दा स्वावलम्बन, आत्मनिर्भरताको चेत नेतृत्वमा नआएसम्म मुलुक गरिबीको दलदलमा फसिरहनेछ ।

– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : चैत्र १२, २०७९ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×