कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘सेतो दाग’ मेट्ने प्रयासमा ओस्कार

‘कोर्स करेक्सन’ गर्न बाध्य भएपछि आइतबार साँझ आयोजित ९५ औं संस्करणमा ‘आउट अफ द बक्स’ फिल्म र फिल्मकर्मीले अवार्ड थापेका छन्
सुशील पौडेल

काठमाडौँ — पाँच वर्षयता अमेरिकी गोराहरू सम्मिलित हलिउडको परिधिमा सीमित हुँदै गइरहेको आरोप खेपिरहेको ओस्कारले भने ९५ औं संस्करणको अवार्ड वितरणमा भने ‘कोर्स करेक्सन’ गर्न बाध्य भएको छ । फलस्वरूप लस एन्जल्सको डल्बी थिएटरमा आइतबार साँझ आयोजित समारोहमा ‘आउट अफ द बक्स’ फिल्म र फिल्मकर्मीले अवार्ड थापेका छन् ।

‘सेतो दाग’ मेट्ने प्रयासमा ओस्कार

त्यसो त एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसले ओस्कारमा लागेको ‘सेतो दाग’ मेट्ने प्रयत्नमा पछिल्ला वर्ष खर्चिंदै आएको छ । २०१५ जनवरीदेखि ‘ओस्कार सो ह्वाइट’ ह्यासट्यागमा सामाजिक सञ्जालमा ओस्कार बढी नै रंगभेदी भएको भन्दै विरोध चर्कन थालेपछि विश्वकै प्रतिष्ठित अवार्ड समारोहका टीभी दर्शक ह्वात्तै घटेका थिए । ९२ औं संस्करणको अवार्ड समारोहमा २३.६ मिलियन टीभी दर्शक अर्को वर्ष घटेर १०.४ मिलियनमा सीमित भएका थिए । जुन सन् १९७४ पछिको ओस्कारको इतिहासमै सर्वाधिक कम हो ।

हुन पनि ओस्कारले लगातारका दुई वर्ष आफ्नो मनोनयनमा एक जना पनि अश्वेत कलाकार/फिल्मकर्मी अटाएका थिएनन् । विरोधको नारा चर्किंदै गएर अवार्ड समारोह नै विवादित हुने अवस्थामा पुगेपछि आयोजकले विविधताको पक्षधरता देखाउँदै ओस्कारको पूर्ववत् मतदाता समूह नै बदल्यो । युवा, महिला र अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्नेले उल्लेख्य मात्रामा मतदान अधिकार पाएपछि त्यसको बाछिटा यसपटकको अवार्डमा पनि देखियो ।

ओस्कारको ९५ औं समारोहमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेपछि मिसेल योह

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसका अनुसार मतदान अधिकार पाउनेको सूचीमा अहिले ४५ प्रतिशत महिला, ३६ प्रतिशत आदिवासी/जनजाति र ४९ प्रतिशत ६८ देशबाट प्रतिनिधित्व गरेका छन् । फलस्वरूप यसपटक दुई एसियाली कलाकार मिसेल योह र के ह्यो क्वानसँगै कस्ट्युम डिजाइनर विधातर्फ अवार्ड हात पार्दै रुथ ई. कार्टर दोहोरो ओस्कार जित्ने पहिलो अश्वेत महिला भएकी छन् भने ‘नाटु नाटु...’ ले संगीततर्फ जितेर भारतलाई समेत जोड्यो ।

११ विधामा मनोनित फिल्म ‘एभ्रिथिंग एभ्रिह्वेर अल एट वन्स’ ले आइतबारको साँझ सर्वाधिक र मुख्य ७ विधामा ‘ब्ल्याक लेडी’ लाई आफ्नो बनायो । बक्स अफिसमा नै एक सय मिलियन डलरको व्यापार गरेर चर्चामा रहेको उक्त फिल्मबाट उत्कृष्ट अभिनेत्री मिसेल योहले अवार्ड जितिन् । हङकङबाट करिअर सुरु गरेर मलेसियाली फिल्ममा सक्रिय मिसेल ओस्कार जित्ने एसियाकी पहिलो महिलासमेत बनिन् । यसअघि यूह जुंग योनले ‘मिनारी’ का लागि र मियोसी उमेकीले ‘सायोनारा’ का लागि ओस्कार जितेका थिए ।

ओस्कार जितेपछि ६० वर्षीया मिसेलले भनिन्, ‘महिलाहरू कृपया कसैलाई पनि तपाईंको उर्वर समय सकिइसक्यो भन्न पाउने सुविधा नदिनुहोस् । सकिनँ भनेर कहिल्यै हतोत्साही नहुनुहोस् ।’ उनले साना नानीबाबुहरूलाई सम्बोधन गर्दै आफ्नो ओस्कार मन्तव्यमा भनेकी थिइन्, ‘यो (जित) आशा र सम्भाव्यताको उज्यालो संकेत पनि हो । सपनाहरूलाई सावित गर्न सकिन्छ भन्ने कुराको प्रमाण पनि हो यो ।’

उत्कृष्ट फिल्म ‘एभ्रिथिंग एभ्रिह्वे र अल एट वन्स’ का निर्देशकद्वय डानिअल क्वान, डानिअल साइनर्ट र निर्माता जोनाथन वाङ्ग

आफ्नो अवार्ड आफ्नी आमा र संसारभरका आमाहरूप्रति समर्पित गर्दै उनले थपिन्, ‘उहाँहरू हो वास्तविक सुपरहिरो । आमाहरूबिना हामी कोही पनि आज यहाँ हुने थिएनौं ।’ अवार्ड जित्नुको श्रेय आफ्ना निर्देशकद्वय र फिल्मको कास्ट एन्ड क्रुलाई दिँदै यसैकारण अवार्डको हकदार हुन सम्भव भएको पनि बताइन् । उनी फिल्ममा अमेरिकामा लन्ड्री व्यवसाय सञ्चालन गरिरहेकी चिनियाँ एभिलिन क्वान ह्वाङको भूमिकामा छिन् । फिल्म मल्टिभर्समा आधारित रही एक मध्यम वर्गीय आप्रवासी चिनियाँ परिवारको कथामा छ जसमा तीन पुस्ताबीचको प्रेम र घृणाबीचको सम्बन्धलाई दर्शाइएको छ ।

सोही फिल्ममा मिसेलको पतिको भूमिकामा देखिएका के ह्यु क्वानले पनि सहअभिनेतातर्फ ओस्कार जिते । ‘इन्डियाना जोन्स एन्ड द टेम्पल अफ डुम’ र ‘द गुनिज’ फिल्ममा बालकलाकारका रूपमा अभिनय सुरु गरेका योहले करिअरको उत्तरार्द्धमा अभिनयमा मौका नपाएपछि विरक्तिएका थिए । ‘मेरो यात्राको सुरुवात डुंगामा भएको थियो । केही समय मैले शरणार्थी शिविरमा पनि बिताएँ र अहिले हलिउडको सबैभन्दा ठूलो माहोलमा उभिएको छु,’ उनले भने, ‘मान्छेहरू त यस्ता कहानी केवल फिल्ममा मात्र घट्छ भन्ठान्छन् । म आफैं पनि मेरो जीवनका घटित कहानीमा विश्वास गर्न सकिरहेको छैन । यो अमेरिकी सपना हो । सपना त्यो हो, जो तपाईं स्वयंले पनि यसमा विश्वास गर्नैपर्छ । मैले त लगभग विश्वास गुमाइसकेको नै थिएँ । तर तपाईंहरू कृपया सपनालाई जीवित नै राख्नुस् ।’

‘द ह्वेल ’ बाट उत्कृष्ट अभिनेताकोअवार्ड ग्रहण गरेपछि ब्रेन्डन फ्रेजर । तस्बिरहरू : एपी

‘एभ्रिथिंग एभ्रिह्वेर अल एट वन्स’ मा कर निरीक्षकको भूमिकामा रहेकी जेमी लीले आफ्नो सहअभिनेत्रीको ओस्कार दर्शकमा समर्पण गर्दै भनिन्, ‘मेरो आमा र बुबा पनि कुनै बेला ओस्कारका लागि मनोनित हुनुभएको थियो तर जिते मैले ।’ त्यसैगरी ‘द ह्वेल’ का लागि अभिनेताको ओस्कार जितेका ब्रेन्डन फ्रेजरले आफ्नो ३० वर्षदेखिको फिल्म करिअरको असफलतालाई आत्मसात् गर्दै भने, ‘यी सबै चिज मैले सहजै हासिल गरेको पनि हैन ।’ उनले आफूलाई रचनात्मक जीवन दिएकामा निर्देशक ड्यारेन एरोनोफोस्कीलाई पनि धन्यवाद दिए ।

पहिलो विश्वयुद्धताकाको सुरुङ जीवनबारेमा लेखिएको उपन्यासमा आधारित फिल्म ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ ले अन्तर्राष्ट्रिय फिचर फिल्मसहित चार प्राविधिक विधामा ओस्कार जित्यो ।

यसपटकको ओस्कार भारतका लागि बढी उपलब्धिमूलक देखियो । संगीततर्फ मनोनयनमा परेको ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतको स्टेजमा समेत प्रस्तुति रह्यो ।

भारतीय अभिनेत्री दीपिका पादुकोणले आफ्नो देशको प्रतिनिधित्व गर्दै उक्त गीतको प्रशंसामा आफ्ना मन्तव्यसमेत दिएकी थिइन् ।

त्यसैगरी ‘द इलाफेन्ट ह्विस्पर्स’ ले डकुमेन्ट्री सर्ट फिल्मतर्फ उत्कृष्ट हुँदै ओस्कार जित्दा भारतका पोल्टामा दुई ओस्कार भित्रिए । कार्तिकी गोंजथाल्विसको लेखन तथा निर्देशन रहेको ३९ मिनेट लामो उक्त सर्टफिल्ममा मानव र जनावरबीचको सम्बन्धलाई एक टुहुरो छावा रघु र त्यसको रेखदेखमा जीवन अर्पण गरेका दुई भारतीय बोमन र बेलीमार्फत व्यक्त गरिएको छ । आदिवासीको प्रकृति प्रेमसमेत दर्साइएको यस फिल्मलाई झन्डै पाँच वर्ष लगाएर तयार पारिएको थियो ।

यस्तो छ ओस्कर विजेताको सूची :

उत्कृष्ट फिल्म : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल साइनर्ट(एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर(द ह्वेल)

उत्कृष्ट अभिनेत्री : मिसेल योह

उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान

उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस

अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

एनिमेटेड फिचर फिल्म : गुईलेर्मो डेल ट्रोज पिनोकियो

उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर

डकुमेन्ट्री फिचर : नाभल्नी

डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स

हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल

सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ

ओरिजिनल सङ : नाटु नाटु (आर.आर.आर)

साउन्ड : टप गन : मेभरिक

प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

भिजुअल इफेक्ट्स : अवतार : द वे अफ वाटर

फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

एडप्टेड स्क्रिनप्ले : वुमन टकिङ

ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

प्रकाशित : फाल्गुन ३०, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?