कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

माछोमाछो भ्यागुतो

सुशील पौडेल

काठमाडौँ — डिस्क्लेमरः यदि तपाईं अनमोल केसीको बिछट्टै ठूलो फ्यान हुनुहुन्छ र उनका फिल्मको अन्ध प्रशंसक हुनुहुन्छ भने कृपया ‘२.० छड्के’ को समीक्षा नपढ्नुहोला । यसले तपाईंको चित्त दुखाउन सक्छ ।

माछोमाछो भ्यागुतो

यदि तपाईं अनमोलको कामको गुण वा दोषका आधारमा प्रशंसक हुनुहुन्छ भने उनको पछिल्लो यो फिल्म हेर्नुभएन भने अनमोलका लागि राहत हुनेछ । किनभने ‘२.० छड्के’ हेर्नु भनेको अनमोलले आफ्नो शुभचिन्तक गुमाउने भय हो ।

यार्चागुम्बु टिपेर फर्कंदै गरेका मनाङेलाई रोयल मनाङ ग्याङका गुन्डा नाइके साम्तेन (रवीन) ले बाटोमै लुटपाटसँगै हत्या गर्छन् । त्यहाँबाट ज्यान जोगाएर चितवन भागेको एउटा बालक पछि गएर ग्याङस्टारर मेंढक (अनमोल) ले चिनिन्छ । चितवनकै गुन्डा नाइके नटराज (कमलमणि) को छत्रछायामा हुर्किएको मेंढकको बदलाको कथा हो, ‘२.० छड्के’ । समीक्षात्मक रूपमा प्रशंसा नबटुले पनि इनिसियल हाइप पाएको फिल्म थियो, ‘छड्के’ । सोही फिल्मका निर्देशक निगम श्रेष्ठकै लेखनमा निर्देशित यो फिल्मबाट चलचित्र प्रेमीको ठूलो आशा त थियो नै, अनमोलसमेत जोडिएपछि स्टार पावर पनि थपिएको हो । तर फिल्मले बक्सअफिसमा सुरुवातदेखि नै निराशाजनक व्यापार गर्‍यो । लभस्टोरी फिल्ममा स्टारडम देखाएका अनमोललाई ग्याङस्टार छविमा पस्किएका निर्देशक श्रेष्ठको फिल्म कमजोर देखियो । श्रेष्ठले आवरणमा जति चमकधमक देखाएका छन्, फिल्मको पटकथा र चरित्र चित्रणमा त्यसो गर्न सकेका छैनन् । समस्या (कन्फ्लिक्ट) मा खेल्नुपर्ने फिल्म आफैं समस्याग्रस्त बनेको छ ।

कलाकारका रूपमा ‘मेगास्टार’ र चरित्रका रूपमा ग्याङस्टारका रूपमा सुरुमै पस्किएका अनमोललाई भूमिकाको हिसाबले टोले गुन्डाभन्दा माथि उठ्न दिइएको छैन । अझ एक दृश्यमा त मेंढकको ग्याङले बाख्रासमेत चोर्छ । न त राजनीतिक आवरणमा गुन्डागर्दी मच्चाइरहेको भनिएको नटराज सो अनुरूप आततायी हुनुपर्ने हो । तर चर्को डायलगबाजी गर्नुबाहेक चरित्रका खास काम केही छैनन् । गेटअपमा विचित्र देखिएर मात्र चरित्र भयंकर हुन्छ भन्ने मान्यतामा निर्देशक देखिन्छन् । ‘थ्री एक्ट’ को सर्वमान्य मान्यतालाई समेत पटकथाले पछ्याएको देखिँदैन । एक दृश्य र लगत्तैको दृश्यबीचको तारतम्य देखिँदैन । कतिपय दृश्य त केका लागि पर्दामा चलिरहेका छन् भन्ने हुन्छ ।

इन्जिनियरिङ गरिरहेकी याङ्कीलाई क्लबमा भेटाउनु र लगत्तैको दृश्यमा बाइक बिग्रिएर रिक्सामा मेंढकसँगै राखेर जबर्जस्ती प्रेममा पार्नु मात्र हैन, मेंढककै ग्याङमा समाहित गर्नु बलजफ्त लाग्छ । दर्शकले दुईबीचको प्रेमसम्बन्धलाई आत्मसात् नभई मान्दिनुपर्ने बाध्यता रहन्छ । त्यसबाहेकका अन्य कुनै पनि चरित्रको न पृष्ठभूमि छ, न लक्ष्य नै । केवल एक भीड जम्मा हुनु र दिनदहाडै बन्दुक पड्काउँदै र गुन्डागर्दी गर्दै हिँडेका दृश्यमा फिल्म सीमित देखिन्छ । लाग्छ, फिल्म बिना पटकथा र निर्देशनमा केही फुटेजको जोरजाम पारी हलमा फालिएको हो । कथा, पटकथा र संवादमा मात्र होइन फिल्म प्राविधिक पक्षमा पनि कमजोर छ । पृष्ठभूमि संगीतले भरथेग गर्न खोजे पनि पर्याप्त छैन । छायांकन मिश्रित खालको छ । सिन ब्लकिंगमा यति लापरबाह गरिएको छ कि मारकाटको दृश्यमा घाइतेहरू हाँस्दै भुइँमा ढलिरहेका छन् । यस्ता खालका बचपना कम्तीमा फिल्म मेकिङका विद्यार्थी निर्देशक श्रेष्ठका लागि क्षम्य हुँदैन । त्यसो त लेखन वा निर्देशनमा जम्न नसकेका निगम साम्तेनको भान्जा खजुरेको भूमिकामा भने जमेका छन् ।

‘छड्के’ बाट निर्देशनमा प्रचुर सम्भावना देखाएका निगम ‘लालपुर्जा’ सम्म आइपुग्दा पनि यतिधेरै स्खलित भएका थिएनन्, जति ‘२.० छड्के’ मा भए । देशकै महँगा र फ्यान फलोइङ भएका स्टारलाई कास्टिङ गर्नुको औचित्य पुष्टि गर्न नसक्नु निर्देशक र लेखकका रूपमा निगमले आफूलाई पहिल्यै कमजोर स्वीकार गर्नुको छनक पनि हो । किञ्चित आशा मात्रै राखेर फिल्म हेर्न जाने दर्शकका लागि ‘२.० छड्के’ माछोमाछो भ्यागुतोबाहेक केही हात पर्ने छैन ।

प्रकाशित : फाल्गुन २२, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?