नाटक 'माउजङ बाबुसाहेबको कोट': पुराना नेतृत्वलाई व्यंग्य- मनोरञ्जन - कान्तिपुर समाचार

नाटक 'माउजङ बाबुसाहेबको कोट': पुराना नेतृत्वलाई व्यंग्य

रीना मोक्तान

काठमाडौँ — बेनिसनको लामो ओभरकोट  
माउजङको लामो ‌ओभरकोट 
विदेशमा बनेको  
रङचाहिँ गाढा मासको 
शान यसको राणा शाषणको …

यो गीतसँगै मञ्चमा देखापर्छ, लामो ओभरकोट । स्यान्डमा त्यसै झुन्डिरहेको । मैलिसकेको ओभरकोट, टकटक्याउँदा धुलैधुलो निस्कने । यही कोटको दृश्यबाटै नाटक 'माउजङ बाबुसाहेबको कोट'को कथा सुरु हुन्छ । गीतमा भनेझैं यो कोट निरंकुश राणा शासनको प्रतीक पनि हो । जब-जब माउजङ बाबुसाहेब यो कोट लगाउँछन्, उनमा छुट्टै शान, दम्भ र घमण्डले बास गर्छ । मानौं यो कोटसँगै उनले शोषण गर्ने नेतृत्व स्वभाव पनि पहिरिन्छन् ।

बिर्तावाल घरानिया राणा माउजङ बाबुसाहेबको मुटु जोडिएको छ यो कोटमा । पकज(पश्चिम कमान्डिङ जर्नेल)ले बक्सिसमा दिएको यो ओभरकोट टकटक्याउँदा उनलाई चसक्क दुख्छ । तर, प्रजातन्त्रपछि यो कोटले पाउने मान/सम्मान घट्न थालेको छ । राजनीतिक परिवर्तनले ल्याइदियो यो परिस्थितिमा माउजङले आफ्नो कोटको सम्मान कसरी जोगाउलान् ? भवानु भिक्षुद्वारा लिखित 'माउजङ बावुसाहेबको कोट'मा आधारित यो नाटकमा उनको त्यही बिचलित मानसिकता, टुट्दै गएको घमण्ड र बाध्यात्मक अवस्थाहरु प्रस्तुत गरिएको छ । २००७ देखि २०१० तिरको समय दर्शाउने यस कथालाई सबिन न्यौपानेले नाट्यकरण र विवेक न्यौपाने (घने)ले निर्देशन गरेका हुन् । माघ ९ देखि नियमित मञ्चन भइरहेको नाटक माघ २५ सम्म देखाइनेछ । नाटकले दर्शकलाई करिब ६ दशकअघिको समाज, राजनीति र नेतृत्वसँग साक्षात्कार गराइदिन्छ ।

माउजङ, देशबाट फ्याँकिसकेको राणा शासनमै रमाउन चाहन्छ । त्यही शासनले दिएको शक्तिले जनतालाई दबाउन चाहन्छ र जनता आफूबाट थर्कमान भएको हेर्न चाहन्छ । त्यसैले प्रजातन्त्रपछि पनि उनीबाट त्यो शासकीय दम्भ उत्रिसकेको छैन । उतारेर फ्याँक्नुपर्ने त्यही ओभरकोटप्रतिको उनको आशक्ति नै त्यसको प्रमाण हो । लामो ओभरकोटले राणा शासन कति मैलिसकेको थियो भन्ने बिम्बात्मक चित्रण गर्छ । तर, माउजङ भने मक्किसकेको ओभरकोटमा जनताको त्यही पुरानो डर पाउन खोजिरहेको छ । उनी आफ्नो ओभरकोटलाई कसैलाई छुनसमेत दिँदैनन् । ओभरकोट पुरानो भइसकेको चर्चा जब चारैतिर फैलिन्छ, उनी नेपालगञ्जसम्म पुगेर त्यसलाई नयाँ बनाउने कोसिसमा लाग्छन् । महँगो रकममा ड्राइ क्लिनिङ गराउँछन् । खुम्चिएका कोटमा स्त्री लगाउँछन् । नाटकको यो दृश्यले माउजङ त्यही पुरानो व्यवस्था अंगाल्न चाहन्छ भन्ने देखाउँछ ।

यति पुरानो कथालाई निर्देशक विवेक र लेखक सबिनले किन नाटकमार्फत भन्न खोजे होलान् त ? प्रश्न उठ्न सक्छ । तर, जति नै पुरानो भए पनि माउजङको कथा वर्तमान समाज र राजनीतिसँग मिल्दोजुल्दो छ । सत्तामा भएकाहरुको पुराना सोच, प्रवृति, शक्तिप्रतिको लगाव माउजङको भन्दा खासै फरक छैन । हाम्रा नेतृत्वहरु नयाँ सोच, सिद्धान्त र परिवर्तनलाई स्वीकार्न सक्दैनन् । जसरी माउजङले प्रजातन्त्रलाई आफ्नो ठान्न सकेका छैनन् । उनी जनताले छानेर पठाएका नेतृत्वबाट त्यही पुरानै मान/सम्मान पाउनुपर्ने मनोविज्ञानमा देखिन्छन् । पछिल्लो समय प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा नयाँ अनुहारबारे बहस अगाडि बढ्यो । तर, पुराना दलका नेतृत्वले नयाँमा खासै विश्वास गरिदिएनन् । विकल्पमा यो पटक केही नयाँ अनुहार निस्किए । यो नाटकले त्यही परम्परागत शासकीय स्वभावका नेतृत्वहरुलाई समेत व्यंग्य गरेको छ ।

नाटकले त्यतिबेलाको समाजमा दर्शकलाई फर्काउन त्यही समयको संवाद, पहिरनलगायत अन्य प्रप्सहरुमा काम गरेको देखिन्छ । संगीतलाई निकै बलियो ढंगले प्रस्तुत गरेको छ । दृश्य परिवर्तनमा 'बेनिसनको…' बोलको गीतलाई चलाखीपूर्ण ढंगले प्रयोग गरिएको छ । उक्त संगीतले कथालाई निरन्तर बग्न सहयोग गरेको छ । सूत्राधारको कथा वाचनले पनि दर्शकलाई कथासँग बाँधिन मद्दत गरेको छ । यसअर्थमा सूत्राधारको भूमिकामा देखिएका दिवाकर घिमिरेको अभिनयको प्रशंसा गर्न सकिन्छ । कलाकार सरोज अर्यालले माउजङको मनोविज्ञानलाई आफ्नो अभिनयमार्फत मञ्चमा प्रस्तुत गरिदिएका छन् । माउजङको अहम, दम्भ र कमजोरीहरुका मिहिन कुराहरलाई उनको अभिनयले देखाउँछ ।

कमेडियन प्रनेश गौतम बडाहाकिमको भूमिकामा फिट देखिएका छन् । नाटकमा अन्य कलाकारहरु सन्तोष थापा, सानु पाण्डेय, सुनील खड्का, सविन लुईंटेल, वीरेन्द्रसिंह कुसवाहा र ओसन कार्कीको अभिनय देख्न सकिन्छ ।

प्रकाशित : माघ १६, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्

बैंकहरूद्वारा आक्रामक रुपमा धितो लिलामी, मूल्यांकनकर्ता भन्छन्- काम गर्न अप्ठेरो भयो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय बैंकहरु कर्जा असुलीका लागि धितो लिलामी बिक्री गर्न आक्रामक रुपमा लागेका छन् । बैंकहरुले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणले समयमै बैंकहरुको नउठेको कर्जा तथा साँवा रकम समेत बढेको देखिएको छ । समयमै कर्जा तथा साँवा रकम नउठेपछि बैंकहरुले धितो लिलामी बिक्री गरी त्यसैबाट कर्जा असुल गर्दछन् । तर धितो मूल्यांकनकर्ता (भ्यालुयर्स)ले भने बैंकहरूको यो गतिविधिप्रति आपत्ति जनाएका छन् । 

बैंक तथा वित्तीय संस्था आक्रामक रुपमा कर्जा असुलीमा लागेकाले आफूहरुलाई काम गर्न अप्ठेरो भएको मूल्यांकनकर्ताहरूले गुनासो गरेका छन् । नेपाल भ्यालुयर्स एसोसिएसनले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो गुनासो गरेको हो । बैंक तथा वित्तीय संस्थाका यस्ता गतिविधिले मूल्यांकनकर्ताहरुमा ठूलो असर परेको एसोसिएसनले जनाएको छ । ‘हाल मुलुकको असहज आर्थिक परिदृष्यका कारण र बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसँग ऋण असुली गर्न एकतर्फी दवाव दिएका कारणले मूल्यांकनकर्ताहरुलाई पर्न सक्ने असरको बारेमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरू आक्रामक रुपमा धितो लिलामीमा लागेकाले मूल्यांकनकर्ता पनि नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिकाको धितो मूल्यांकनकर्ता सम्बन्धी विशेष व्यवस्थाको अन्तरनिहीत भावनाअनुरुप सजग भई मूल्याङ्न कार्य गर्नुपर्ने अवस्था आइपुगेको एसोसिएसनले जनाएको छ ।

‘अस्थिर बजारको कारण स्वभाविक रुपमा ऋणीहरुमाथि दवाव पर्ने बैंक तथा वित्तीय संस्था जवर्जस्ती असुलीमा जाने र जसको असर स्वरूप धितो मूल्याङ्कनमा झनै दवाव पर्न गइरहेको एसोसिएसनलाई महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ । यस अवस्थामा धितोको मूल्यांकन र पुनः मूल्यांकन कार्य स्वभाविक हुन नसक्ने कारणले मूल्यांकनकर्ताहरुलाई पर्न सक्ने असरमा एसोसिएसन गम्भीर रहेको र सरोकारवाला निकायलाई समेत यस एसोसिएसनले ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : माघ १६, २०७९ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×