'पठान'को ३ दिनको कमाइ : ३ सय करोडभन्दा बढी- मनोरञ्जन - कान्तिपुर समाचार

'पठान'को ३ दिनको कमाइ : ३ सय करोडभन्दा बढी

कान्तिपुर संवाददाता

काठमाडौँ — शाहरुख खान, दीपिका पादुकोणअभिनित चलचित्र 'पठान' ले ३ दिनमा विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ ।

यशराज फिल्म्सका अनुसार हिन्दी भर्सनले रिलिजको तेस्रो दिन ३८ करोड भारतीय रुपैयाँ कमाएको छ । अन्य भाषाबाट १ करोड २५ लाख कमाइ भएको फिल्म्सले जनाएको छ ।

जनवरी २५ मा 'पठान' हिन्दीका साथै तमिल र तेलुगू भाषामा रिलिज भएको थियो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार 'पठान'ले विश्वभरबाट पहिलो दिन १०६ करोड र दोस्रो दिन ११३ करोड रुपैयाँ कमाएको छ । तीन दिनमा चलचित्रले घरेलु बजारमा २०१ करोड र भारतबाहिर ११२ करोड कमाएको छ । अहिलेसम्म चलचित्रले ३१३ करोड भारतीय रुपैयाँ कमाएको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार विश्वका १ सयभन्दा बढी देशका करिब ८ हजार स्क्रिनमा 'पठान' प्रदर्शन भएको छ । पठानले विभिन्न रेकर्डसमेत तोडेको छ । 'पठान' एक दिनमा ७० करोड कमाउने पहिलो हिन्दी चलचित्र बनेको छ । यशराज ब्यानरमा बनेको फिल्ममध्ये बक्स अफिस कलेक्सनमा ५० करोड नघाउने तेस्रो फिल्म हो । यसअघि 'वार' ले ५३ करोड र 'ठग्स अफ हिन्दोस्तान' ले ५२ करोड कमाएका थिए ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको 'पठान' मा शाहरुख र दीपिका अलावा जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष राणालगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित : माघ १४, २०७९ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं टिम ८ स्वर्णसहित च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगर टिम तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा काठमाडौंले ८ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा आयोजक जैसीदेवल युथ क्लब ‘बी’ ३ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै दोस्रो भयो । तेस्रो स्थानको भक्तपुर नगरपालिकाले २ स्वर्ण र ४ कांस्य जितेको थियो ।

२० टिम सहभागी प्रतियोगिताको ग्यारोगीतर्फ पुरुषमा आयोजक ‘बी’ का सुरेशहाङ लिम्बु र महिलामा काठमाडौंकी दिया रजक उत्कृष्ट खेलाडी भए । पुम्सेमा गोदावरी नगरपालिकाका पिरव महर्जन र महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारै खेलाडीले १ सय अमेरिकी डलर पुरस्कार पाए ।

काठमाडौंका सौरभ रजक उत्कृष्ट प्रशिक्षक र भाष्कर श्रेष्ठ उत्कृष्ट निर्णायक बने । दुवैले जनही १ सय ५० अमेरिकी डलर पुरस्कार पाए । विजेतालाई काठमाडौं महानगरपालिकाका १७ वडाका अध्यक्ष नवीन मानन्धर, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले पुरस्कृत गरे ।

प्रकाशित : माघ १४, २०७९ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×