काठमाडौंको कन्सर्टसँगै नेपथ्यको देशव्यापी प्रदर्शन सम्पन्न

काठमाडौँ — महिनादिन लामो भ्रमणमा देशभरका दर्शक भेटेर आएको लोक रक ब्यान्ड नेपथ्यको श्रृंखलाबद्ध यात्रा शनिबार सम्पन्न भएको छ । भृकुटीमण्डपमा ब्यान्डका गायक अमृत गुरुङले नयाँ गीत ‘भटभटे’ गाएर कन्सर्ट सुरु गरेका थिए ।

काठमाडौंको कन्सर्टसँगै नेपथ्यको देशव्यापी प्रदर्शन सम्पन्न

पछिल्लो देश दौडाहाबाट काठमाडौं आएको नेपथ्यले सर्वकालिक हिट गीत ‘भेडाको ऊनजस्तो’ प्रस्तुत गर्दा मैदानका दर्शक उफ्रन सुरु गरेका देखिन्थे । अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा त्यो उत्साह अझ बढ्न पुग्यो ।

‘हामीलाई सुन्न यहाँ उपस्थित हुनुभएका तपाईं सबैलाई स्वागत छ,’ अमृतले त्यसपछि गीतको साटो संवादको थालनी गरे, ‘हामीबीच यसरी भेटघाटको जोग जुराइदिने आयोजक मानवसेवा आश्रमलाई धेरै धेरै धन्यवाद छ है ।’


कोभिड महामारीले संसार आक्रान्त पारेपछि थामिएको नेपथ्य राजधानीमा यसपालि तीन वर्षपछि प्रस्तुत भएको हो । यसअघि भूकम्पले भत्किएको दोलखाको एउटा सरकारी विद्यालय निर्माणका लागि यसै भृकुटीमण्डपमै सन् २०१९ मा ब्यान्डले कन्सर्ट गरेको थियो ।

दर्शकहरुलाई स्वागत गरेपछि अमृतले फेरि ‘तपाईंहरुलाई म मेरो भेगतिर लैजान्छु, रोदीघरहरुमा लैजान्छु’ भन्दै गाउन सुरु गरेका थिए ।

‘खान्न म त लामपाते सुरती

लाउँ कि नलाउँ जुग जाने पिरती’


त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि मर्‍यो ’ र ‘जोमसोमे बजार’ले निरन्तरता पाएका थिए ।दर्शकहरुलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा

हिउँको फूल धौलासिरिमा’

‘हाम्रा गाउँघरहरु दिन प्रतिदिन तन्नेरीविहीन भइ रित्तिँदै जान थालेका छन्,’ अमृतले गुनासो गरे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दै छ ।’ यस्तो अवस्थामा स्वदेशमै युवाहरुलाई रोजगारीको अवसर जुराइदिन उनले दर्शकदीर्घामा रहेका मुलुकका उच्चपदस्थ ब्यक्तित्वहरुलाई अनुरोध गरे ।


त्यसपछि उनले लाहुरेहरुबाटै आएको गीत ‘नैनाताल’ सुनाएका थिए । त्यो गीतको धुनकै बीचमा पनि उनी बोल्न थाले– ‘एकदिन कोही पनि लाहुर जान नपरोस् है ।’

प्रतिउत्तरमा दर्शकदीर्घाबाट ठूलो समर्थनसहितको आवाज आएको थियो ।


कार्यक्रम अवधिभर गायक अमृतले कन्सर्टको आयोजक मानवसेवा आश्रमको उद्देश्यबारे बोल्नुका साथै पछिल्लो समय ब्यान्डले मानवताका निम्ति चालेको कदमलाई अर्थ्याउने प्रयत्न पनि गरेका थिए ।

यसै त्यसपछि ‘यो जिन्दगानी’, ‘गाउँ गाउँबाट उठ’ ‘रेशम’ र ‘तालको पानी’ गाएका थिए । अन्तिममा भने ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

तस्बिरहरु: दिपित राज/ नेपालय

कन्सर्टमा पूवप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापा, कलाकारहरू हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायत विशिष्ट पाहुनाहरु पनि सहभागी थिए ।

प्रकाशित : पुस १७, २०७९ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?