कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बेनी-दरबाङ सडकको घुमाउनेमा २५ वर्षदेखि पहिरो बाधक

सडक खनेसँगै सुरु भएको पहिरो रोकथाम गर्ने वा विकल्प खोज्ने प्रयास हुन सकेन
घनश्याम खड्का

म्याग्दी — म्याग्दीको पश्चिम भेगका मंगला, मालिका र धवलागिरि गाउँपालिकासहित बाग्लुङको पश्चिम बुर्तिबाङ तथा ढोरपाटन हुँदै रुकुम जोड्ने सडक हो, बेनी–दरबाङ–मुना सडक । यो सडकको सदरमुकाम बेनीदेखि १० किमि पश्चिम तातोपानी–बाबियाचौर खण्डको घुमाउने भीरमा पहिरोले ८ दिनदेखि यातायात अवरुद्ध छ । घुमाउने भीरमा २५ वर्षदेखि एकै स्थानमा निरन्तर पहिरो खस्दै आएको छ । 

बेनी-दरबाङ सडकको घुमाउनेमा २५ वर्षदेखि पहिरो बाधक

सडक खनेसँगै सुरु भएको पहिरो रोकथाम गर्ने वा विकल्प खोज्ने प्रयास भने अहिलेसम्म हुन सकेको छैन । वर्षाका कारण पहिरो निरन्तर खसिरहेकाले अझै केही समय यातायात सञ्चालनमा ल्याउन सक्ने सम्भावना नभएको पूर्वाधार कार्यालय म्याग्दीका सूचना अधिकारी इन्जिनियर अर्जुन शर्माले बताए । यो पहिरो रोकथाम वा विकल्पबारे केही लेखापढी नभएको उनले जनाए ।

‘यो सडक हेर्ने जिल्लाको निकाय हामी नै हौं । अहिलेसम्म यो पहिरो रोकथाम गर्ने कुनै अध्ययन भएको पनि भेटिँदैन । म्याग्दी खोलामा एउटा १८–२० मिटर लामो ट्रस्टब्रिज हुने हो भने वैकल्पिक बाटो तयार हुन्छ । त्यही पनि जिल्लाका सरोकारवालाले चासो राखेका छैनन्,’ शर्माले भने ।

तत्कालीन जिल्ला विकास समितिले ०५६ मंसिरदेखि २० लाख र पश्चिम भेगमा पर्ने साविकका २० वटा गाविसको १–१ लाख बजेट जुटाएर बेनी–दरबाङ २४ किमि सडक खन्न सुरु गरेको हो । सुरु वर्ष फापरखेतसम्म १० किमि सडक निर्माण भएको थियो । बेनी–दरबाङ सडक खन्न सुरु गर्दा सदरमुकाम बेनीमा मोटर आइपुगेको थिएन । अहिले पहिरो फैलिँदै जाँदा समस्या भएकाले अब वैकल्पिक बाटो नै प्रयोग गर्नुपर्ने अवस्था आएको तत्कालीन जिविस म्याग्दीका सभापति रहेका नवराज शर्माले जनाए ।

जिल्लाको पश्चिम भेगको लाइफलाइन भनी चर्चा गरिएको घुमाउने पहिरो बेनी नगरपालिका–४ तातोपानीको फापरखेत र मंगला गाउँपालिका–२ सिमलचौर सीमामा पर्छ । करिब १ सय ५० मिटर चौडा फैलिएको पहिरोग्रस्त ठाउँ भिरालो पाखो गेग्रानयुक्त भएकाले सामान्य वर्षा हुँदा पनि गेग्रान बगाएर सडकमा थुपार्ने गरेको छ ।

अहिले बेनीबाट फापरखेत हुँदै म्याग्दी नदीमाथिको पक्की पुल तरेर पारि मंगला गाउँपालिका–४ पखेरबस्तीसम्म पुगिन्छ । पखेरमा यात्रु ओर्लेर करिब ५ सय मिटर पैदल हिँडेर म्याग्दी खोलाको अर्को झोलुंगे तरेर सिमलचौरबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ । पखेर र सिमलचौरबीचमा म्याग्दी नदीमाथि अर्को मोटर पुल निर्माण भए करिब ५ सय मिटर थप दूरीमा घुमाउने भीरको वैकल्पिक सडक तयार हुन्छ ।

‘घुमाउनेको पहिरोमा अहिलेसम्म करोडौं रकम बग्यो । अब यो पहिरोको विकल्प खोज्ने समय आएको छ । हामीले पहल र प्रयत्न सुरु गरेका छौं । वैकल्पिक सडकका लागि जग्गासमेत व्यवस्थापन गरेका छौं । पहुँचवालाकोमा मात्रै बजेट पर्दा हामीले सास्ती र गाली खाएका छौं,’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘लेखापढी अगाडि बढाउने कार्यालय पनि उस्तै छन्, जति भने पनि नसुन्ने, नटेर्ने । हिउँदमा सुत्ने, बर्खा लागे चिच्याउने भएको छ ।’

प्रकाशित : श्रावण ७, २०८१ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×