कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

मधेशमा रोपाइँ उत्साहजनक

गत वर्ष असार २९ सम्म मधेशमा रोपाइँ हुने कुल क्षेत्रमध्ये २८ दशमलव ४ प्रतिशतमा मात्र रोपाइँ भएको थियो, यस वर्षको सोही अवधिमा ६१ दशमलव ५ प्रतिशत पुग्यो
राजु चौधरी

काठमाडौँ — राष्ट्रकवि माधव घिमिरेको ‘नेपालै नरहे’ कवितामा एउटा पंक्ति छ— ‘तराई हाम्रो सुनको टुक्रा, हिमाल हिराको... ।’ यो पंक्तिले मधेशमा फल्ने धानको महत्त्वलाई दर्साउँछ । अन्य स्थानको तुलनामा मधेशमा बढी धान उत्पादन हुने र त्यसले नेपालीहरूलाई ‘जीवन’ दिएकाले पनि उनले कवितामा यस्तो आशय प्रकट गरेका हुन् ।

मधेशमा रोपाइँ उत्साहजनक

कवि घिमिरेले भनेजस्तै ‘सुन फल्ने’ मधेशमा यस वर्ष रोपाइँ उत्साहजनक छ । गत वर्षको यही अवधिमा भएको रोपाइँलाई हेर्दा यस वर्षको रोपाइँले किसान हौसिएका छन् । गत वर्षको यही अवधिमा मधेशमा रोपाइँ हुने कुल क्षेत्रमध्ये २८ दशमलव ४ प्रतिशतमा मात्र रोपाइँ भएको थियो । तर यस वर्ष समयमै मनसुन भएको र अकासे पानीको भर पर्नुपर्ने स्थानमा पनि रोपाइँ भएपछि रोपाइँको क्षेत्रफल बढेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार मधेशमा ३ लाख ८३ हजार १ सय ५० हेक्टरमा धान रोपाइँ हुन्छ । यस वर्ष असार ३१ सम्म मधेशमा ६१ दशमलव ५ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको छ । रोपाइँमा भएको उत्साहले धान उत्पादन बढ्ने संकेत गरेको मन्त्रालयले जनाएको छ । भलै, उत्पादन बढ्न समयमै आवश्यक पानी, मल, गुणस्तरीय बीउबिजन चाहिन्छ ।

किरा रोग, बाढीले पनि उत्पादनमा असर गर्न सक्छ । रोपाइँमा भएको उत्साहजनक अवस्थाले भने धान बढ्ने संकेत गरेको जानकार बताउँछन् । ‘धानका लागि मुख्य आधारभूत वस्तु भनेको पानी हो । यस वर्ष औसतभन्दा राम्रो पानी परेकै कारण बढी धान फल्ने मधेशमा रोपाइँ उत्साहजनक छ । मधेशसँगै अन्य प्रदेशमा पनि राम्रो छ,’ मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने, ‘समयमै राम्रो उत्पादन हुनु भनेको उत्पादन वृद्धिको संकेत हो ।

यसपालि रासायनिक मलको समस्या छैन, बीउबिजनमा सुधार छ । रोग किरा, बाढीले प्रभाव नपारे उत्पादन बढ्छ ।’ केही स्थानमा अत्यधिक वर्षात्का कारण बाढी पहिरो पनि गएको छ ।


बाढीले किसानलाई प्रभाव पारे पनि समग्र राष्ट्रिय उत्पादनमा त्यति असर नपर्ने रेग्मीको भनाइ छ । सरकारी तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत छ । चामलको मात्रै कुरा गर्दा कुल गार्हस्थ्य उत्पादनमा करिब ५ प्रतिशत योगदान छ । ‘धान उत्पादन बढ्ने संकेत देखिए पनि अहिले नै ठोकुवा गर्न भने गाह्रो हुने वरिष्ठ तथ्यांक अधिकृत रेग्मीको भनाइ छ ।

रोपाइँ पहाड र सुदूरपश्चिमबाट सुरु हुन्छ । त्यसपछि अन्य क्षेत्रमा हुन्छ । मुलुकभर १३ लाख ९८ हजार २ सय ७४ हेक्टरमा रोपाइँ हुन्छ । ०८१ असार ३१ सम्म ६८.६ प्रतिशत रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ । जब कि ०८० असार २९ सम्म ५६.५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । सुदूरपश्चिममा लगभग रोपाइँ सकिएको छ । यहाँ ९५ प्रतिशत रोपाइँ भइसकेको छ । ०८० असार २९ सम्म सुदूरमा ९२.८ प्रतिशत रोपाइँ भएको थियो । यहाँ १ लाख ७४ हजार ५ सय ५७ हेक्टरमा रोपाइँ हुन्छ ।

कर्णाली प्रदेशमा ४१ हजार ९ सय ४ हेक्टरमा रोपाइँ हुन्छ । यस वर्ष ८६.२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष असार २९ सम्म ७३.८ प्रतिशत रोपाइँ भएको थियो । यी दुईबाहेक अन्य प्रदेशमा पनि रोपाइँको विवरण उत्साहजनक छ । ‘यसपालि धान रोपाइँलाई चाहिने पानीको मात्रा पर्याप्त छ, जसले गर्दा रोपाइँ राम्रो छ,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘मलको अवस्था पनि राम्रो भएकाले उत्पादन सकरात्मक हुने सम्भावना छ ।’

रोपाइँ सकेपछि धान उत्पादन बारे मन्त्रालयले आफ्नो धारणा राख्ने उनले बताए । हालसम्म १५ लाख ५७ हजार १ सय हेक्टर जमिनमा सिँचाइ पुगेको मन्त्रालयको भनाइ छ । सिँचाइ सुविधा पुगेका क्षेत्रमध्ये ६५.७ प्रतिशतमा तह सिँचाइ र ३४.१ प्रतिशतमा भूमिगत सिँचाइ छ । असार पहिलो दुई साता धान रोपाइँ सुखद नभए पनि मनसुन सक्रियसँगै रोपाइँ बढेको हो । कोशीमा ६१.७ प्रतिशत रोपाइँ भएको छ । यहाँ २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुने मन्त्रालयको भनाइ छ । गत वर्ष असार २९ सम्म कोशीमा ५५.९ रोपाइँ भएको थियो ।

वाग्मतीमा ३ लाख ८३ हजार १ सय ५० हेक्टरमा रोपाइँ हुन्छ । असार ३१ सम्म ६९.२ प्रतिशत रोपाइँ भएको छ । गण्डकीमा ९६ हजार ५३ हेक्टरमा धान रोपाइँ हुन्छ । हालसम्म ६७.४ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । लुम्बिनीमा ३ लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुन्छ । असार ३१ सम्म ६६.७ प्रतिशत रोपाइँ भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रकाशित : श्रावण २, २०८१ ०५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×