कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गाई फार्मको नाममा १५ सय रोपनी वन फँडानी

दोलखा — गाई फार्म संचालनको नाममा ठूलो परिमाणमा सामुदायिक वन फँडानी गरेको खुलेको छ । २०६६ माघ १४ गते दक्षिण एसियाकै ठूला गाई फार्म संचालन गर्ने भनेर भन्दै भीमेश्वर नगरपालिका–८ र ९ (तत्कालीन बोच र लाकुरीडाँडा गाविस) का ६ वटा सामुदायिक वनसँग कालिञ्चोक गाई फर्म तथा रिसर्च सेन्टरले सम्झौता गरेको थियो ।

गाई फार्मको नाममा १५ सय रोपनी वन फँडानी

गाई फार्म अझैसम्म संचालनमा आएको छैन । तर फार्मको नाममा सामुदायिक वन कब्जा गरेर ठूला परिमाणमा वन फँडानी भएको खुलेको छ । उक्त फार्मले हिमाली क्षेत्रको अधिकतम मूल्य रहेको भीमेश्वर नगरपालिका–८ का ३ वटा सामुदायिक वनको ठिंग्र सल्लाको वन फँडानी गरेको पाइएको छ ।

फर्मले सामुदायिक वनको १५ हेक्टर जंगल गाई फार्म संचालन नगरी १५ वर्षदेखि कब्जा जमाएको स्थानीयले बताएका छन् । उक्त फार्मले भूकम्पपछि व्यापक रुपमा जंगल फँडानी गरेको स्थानीयले बताए । डिभिजन वन कार्यालय दोलखामा भितेरी पाखा सामुदायिक वन उपभोक्ता समितिका २ सय बढी उपभोक्ताले वन फँडानीसहित कब्जामा लिएको उजुरी दिएपछि मात्रै फँडानी भएको खुलेको हो । स्थानीयसँगको साझेदारीमा (पीपीपी मोडल)मा फार्म संचालन गर्ने भन्दै तत्कालीन समयमा वनमा घाँस रोप्न र खर्क प्रयोग गर्ने मात्रै सम्झौतामा उल्लेख छ ।

वन फँडानीको उजुरीपछि डिभिजन वनले छानबिन सुरु गरेको हो । फार्मले संरचनासमेत सामुदायिक वनमा बनाएको फेला परेको छ । फार्मले १५ सय रोपनीमा रहेको वन फँडानी गरेको देखिएको अनुसन्धानमा खटिएका डिभिजन वन कार्यालयका वन अधिकृत दिपक रिमालले बताए । ‘अहिलेसम्म ६ वटा सामुदायिक वन फार्मले कब्जामा लिएको देखिएको छ,’ उनले भने, ‘पहिलो चरणमा वन क्षेत्र र आबादी जग्गा छुट्याउने काम भैरहेको छ, वन क्षेत्रको जग्गामा डोजर लगाएर सडक बनाउँदै ठूलो परिमाणमा वन फँडानी भएको देखिन्छ ।’

फर्मले बनाएका संरचनामा ठूलो परिमाणमा ठिङग्रे सल्ला प्रयोग भएको पनि फेला परेको उनले बताए । अनुमानित ५० हजार क्यूफिटभन्दा बढी काठ कटान भएको अनुमान गरेको उनले बताए । उक्त फार्मले सरकारी अधिकारी, उच्चपदस्थ र राजनीतिक आडमा वन फँडानी गरेको स्थानीयले बताएका छन् । फार्मका अध्यक्ष रामकुमार खड्का हुन् । उक्त फार्म हाल उनका छोरा प्रवीण खड्काले हेर्दै आएका छन् । सामुदायिक वनसँगको सम्झौतामा डाले घाँस र वनका रुख काट्न नपाउने सम्झौता छ । तर फर्मले हिमाली डाले घाँसका रुपमा रहेका खस्रुका रुख पनि ठूलो परिमाणमा फँडानी गरेको खुलेको छ । खस्रुको रुख कटान गरेर त्यसको मुढामा फर्मले च्याउखेती गरेको पाइएको रिमालले बताए ।

यस्तै खोल्मेलगायतका रुखहरु पनि काटिएको उनले बताए । ‘हामी अनुसन्धानकै प्रक्रियामा भएकाले परिमाण भन्न अलि कठिन हुन्छ,’ उनले भने, ‘फर्मले सामुदायिक वन पूर्णरुपमा कब्जा गरेर व्यवापक फँडानी भएको देखिएको छ ।’ वन फँडानीको अनुसन्धान सुरु भएपछि वनका अनुसन्धान अधिकृत र डिभिजन प्रमुखलाई अनुसन्धानबाट पछि हट्न उच्चपदस्थबाट दबाब आएको डिभिजन वन स्रोतले जनाएको छ । फर्मले भित्तेरीपाखा, शंखदेवी र सेतीदेवी दादरको १५ सय रोपनीको ६ हजारभन्दा बढी रुख कटान गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको अनुसन्धामा खटिएको एक वन अधिकृतले बताए ।

‘यो निकै ठूलो परिमाण हो, वनै सखाप पारेको देखिएको छ, वन फाँडेर बारी बनाई आलु रोपिएको पनि फेला परेको छ,’ ती अधिकारीले भने, ‘सुरुमा उजुरी आउँदा सामान्य होला भनेर सोचेका थियौं, फार्ममाथि अनुसन्धान नगर्न माथिबाटै दबाब आएको छ ।’ वनको जग्गा नाप्न नापी कार्यालयले सहयोग नगरेपछि नगरपालिकाको अमिन लगेर हाल वन र आबादी क्षेत्र छुट्याउने काम भैरहेको छ । १५ वर्षमा फार्ममा एउटै गाई पालिएको छैन् । उक्त फार्मले फँडानी गरेका काठबाट बाख्राको खोर पनि बनाएको छ । भूकम्पपछि वन फँडानी भएकाले काठ अबैध रुपमा तस्करी भएको हुनसक्ने देखिएको ती अधिकारीले भने । ‘उक्त समयमा भूकम्पपीडितको घर बनाउन काठ ओसारपसार सहज भएको बेला थियो,’ उनले भने, ‘त्यही मौकामा फँडानी भएको अनुमान गरेका छौं ।’

ठूल्ठूला रुखमा चिरान भएका मुढा र काम नलाग्ने काठ डोजरले खनेर गाडिएको समेत फेला परेको छ । उक्त क्षेत्रमा अझै पनि ठिङग्रे सल्लका अवशेषहरु यत्रतत्र छरिएका छन् । फार्म संचालन गर्न ठूलो परिमाणमा सेयरसमेत उठाइएको छ । स्थानीयलाई भने जग्गा भोगचलन गर्न दिएबापत सेयर दिने प्रलोभन देखाएर निजी जग्गासमेत फार्मले आफ्नो नाममा गरेको स्थानीयले बताएका छन् । तत्कालीन समयमा रोपनीको ८ हजारका दरमा फार्मले २ सय रोपनी जग्गा खरिद गरेको थियो । यस्तै स्थानीयले फार्मलाई करिब १ सय ८० रोपनी जग्गा भोगचलनका लागि दिए पनि सेयरका दिने भन्दै फर्मका नाममा पास भएको खुलेको छ । फर्म संचालन गर्ने भनेपछि भोगचलनका लागि जग्गा दिएको भए पनि अहिले फार्मको नाममा जग्गा पास भएको पीडित रमेश थापाले बताए । ‘उतिबेला भोगचलनका लागि भनेर जग्गा बुबाले दिनुभएको रहेछ,’ उनले भने, ‘बुबाको निधनपछि दाजुभाई बीच अंशबण्डा गर्ने क्रममा जग्गा तर फार्मका नाममा पास भएको पायौं ।’

फार्मका संचालकसमेत रहेका प्रविन खड्काले भने आफ्नै जग्गामा भएको रुख कटान गरेको दाबी गरेका छन् । तर उनले रुख कटानका समयमा पुर्जी भने नलिएको बताए । ‘आफ्नै जग्गााको रुख कटानका लागि त्यतिखेर रुख कटान गर्दा आवश्यक ठानेनौं,’ उनले भने, ‘तर वनको जग्गामा भएको रुख काटेका छैनौं स्थानीयले पाउने रुखको रकम तिएर लिएका हौं ।’ फार्म संचालनको अन्तिम तयारी गरिरहेको उनले बताए । भूकम्पको समयमा अस्थायी संरचना भने सामुदायिक वनमा बनाएको उनले स्विकारे ।

स्थानीयको घाँसदाउरा गर्ने सामुदायिक वनमा फार्मले प्रवेशमा रोक लगाएर कुकुर छाडिदिने गरेको भीमेश्वर–८ का वडाध्यक्ष काजी बुढाथोकीले बताए । ‘भूकम्पका समयमा स्थानीयले आफ्नै सामुदायिक वनबाट घर बनाउन काठ पाएनन्,’ उनले भने, ‘तर वनमा भने डोजर चलाएर रुख काट्ने मेसिनले फँडानी गरियो ।’ फर्मबाट काठ तस्करीसमेत भएको उनले दाबी गरे । फार्ममा सेयरधनी र संचालक पहुँचवाला छन्, शक्तिको आडमा व्यापक वन फँडानी भएको देखेका छौं,’ उनले भने, ‘सामुदायिक वनका केही पदाधिकारीसमेत यो काममा संलग्न भएका छन् ।’

वन फँडानीको उजुरीपछि डिभिजन वनले भित्तेरीपाखा सामुदायिक वनले फार्मसँग गरेको सम्झौता अवैधानिक धन्दै खारेज गरिदिएको छ । थप ५ वटा सामुदायिक वनसँग गैरकानुनी रुपमा गरेको सम्झौता खारेजी गर्ने तयारी गरिरहेका वन कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ८, २०८१ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×