कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

चितवनमा हावाहुरीले केरा खेती सखाप

१२ कराेड रूपैयाँ बराबरको क्षती

चितवन — चितवनमा शुक्रबार र शनिबार साँझपख आएकाे हावाहुरीले केरा खेतीमा ठूलाे नाेक्सान गरेकाे छ । चितवनकाे पूर्वी भागमा पर्ने रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रका ठूल्ठूला केरा बगानका लगभग सबै केराका बोट ढलेका छन् । जिल्लाकाे पश्चिम क्षेत्रमा खासै नाेक्सान नगरकाे चितवन केरा उत्पादक संघले जनाएकाे छ ।

चितवनमा हावाहुरीले केरा खेती सखाप

आउँदाे हप्ता १५ दिनपछि बजार लैजान मिल्ने अवस्थामा रहेका केराहरू ढलेर नाेक्सान हुँदा आर्थिक क्षति पुगेकाे चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए ।

क्षतिकाे विवरण संकलन भइरहेकाे र करिब दुई हजारदेेखि २५ सय बिघामा लगाएकाे केरा खेती हावाहुरीले नाेक्सान गरेकाे देखिने उनले बताए । उनकाअनुसार करिब १२ कराेड रूपैयाँ बराबरकाे केरा खेती ढलेर नाेक्सान भएकाे छ ।

'चितवनमा ३५ सय बिघामा केरा खेती छ । सबैभन्दा धेरै चितवनकाे पूर्वी भेगमा नै छ । पश्चिम भेगमा हावाहुरी खासै ठूलाे नआएकाले त्यस्ताे नाेक्सान छैन । पूर्वी क्षेत्रमा नाेक्सान नभएकाे केरा बगान नै छैन' चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले भने ।

चितवन खैरहनी -६ तुलसीपुरमा लगभग ११ बिघा जमिन भाडामा लिएर केरा खेती गरेकी आसिका मल्लकाे बगानका सबै केरा ढलेका छन् । उनकाे बगानकाे केरा हप्ता दिनपछि बिक्री हुने अवस्थामा थिए । 'अब ढलेपछि अलि कलिलै रहेका यी केरा कसैले किन्दैन । ढलेका बाेट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब आठ १० लाख रूपैयाँ खर्च आउन सक्छ । ठूलाे नाेक्सानी भयाे । केरा ढलेकाे बारी हेर्दा रिंगटा चल्छ र आफैं ढलाैंला झैं हुन्छ' मल्ले भनिन् ।

चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले हावाहुरीले चितवनकाे केरा खेतीमा गरेकाे याे नाेक्सानी अहिलेसम्म कै ठूलाे भएको दाबी गरे । केरा खेतीकाे बिमा हुने गरेकाे छ । तर गत वर्ष भएकाे क्षतिकाे बिमा भुक्तान अझै बाँकी रहेकाले अहिले हुने नाेक्सानीकाे भुक्तान कहिले हाेला भन्न नसकेकाे उनले बताए । 'किसानहरू याे पटक ठूलाे मारमा परेका छन् । अरू नभएपनि बिमा रकम छिटाे भुक्तानी गरे थाेरै भए पनि हामीलाई राहत त मिल्ने थियाे' पन्तले भने ।

प्रकाशित : जेष्ठ २०, २०८१ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×