कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पर्वतारोही एली पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण–१ हिमालको आरोहण

काठमाडौँ — आगामी दुई वर्षभित्र सगरमाथासहित विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल पूरक (बोतल) अक्सिजनबिना आरोहण गर्ने लक्ष्यका साथ नेपाल उत्रिएकी अस्ट्रेलियाली महिला आरोही ४८ वर्षीया एली पेपरले आइतबार अन्नपूर्ण (प्रथम) आरोहण गरेकी छन् । 

पर्वतारोही एली पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण–१ हिमालको आरोहण

उनको आरोहण व्यवस्थापन गरिरहेको काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अनुसार एलीले बोतल अक्सिजनबिना विश्वको १० औं अग्लो हिमाल अन्नपूर्ण प्रथम (८ हजार ९१ मिटर) को चुचुरोमा आइतबार बिहान १२ः०७ मिनेटमा पुगेकी थिइन् । उनीसँगै उनका सहयोगी हाई अल्टिच्युट गाइड मिकेल र निमा शेर्पा पनि चुचुरोमा पुगेका थिए ।

‘अक्सिजनको सहायताबिना बादलमाथिका १४ वटा शिखरलाई सम्मान’ भन्ने नारा लिई ०८० असारबाट सुरु भएको एलीको द्रुत गतिमा सबै ८ हजार मिटरभन्दा बढी उचाइका १४ हिमाल आरोहण अभियान पाकिस्तानको ब्रोड पिक र त्यही वर्षको भदौमा उत्तरी गोरखाको मनास्लु हिमालको आरोहणबाट सुरु भएको थियो ।

यसै क्रममा उनले आफ्नो अभियानअन्तर्गत आइतबार तेस्रो हिमालका रूपमा अन्नपूर्ण (प्रथम) आरोहण गरेकी हुन् । अन्नपूर्ण आरोहणमा जानुअघि उनले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा २०८२ साउनसम्म सबै १४ वटा हिमाल आरोहण सकिसक्ने बताएकी थिइन् । बिनाअक्सिजन ब्रोडपिक आरोहण गर्ने उनी पहिलो अस्ट्रेलियाली महिला आरोहीसमेत हुन् । उनले सबैभन्दा पहिलो ८ हजार मिटर अग्ला हिमाल सन् २००७ मा तिब्बतमा पर्ने चोओयु आरोहण गरेकी थिइन् । त्यसताका पूरक अक्सिजनको सहायताबिना ८ दिन लगाई त्यो हिमाल आरोहण गरेकी थिइन् ।

दुई दशक पर्वतारोहणको अनुभव लिइसकेकी पेपरले अन्नपूर्णको आरोहणपश्चात् यसै वसन्तकालीन याममा ताप्लेजुङमा पर्ने कञ्चनजंघा अनि संखुवासभामा पर्ने मकालु हिमाल आरोहण गर्दै छिन् । एलीको आरोहणका व्यवस्थापक सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले विश्वमा हालसम्म दुई जना आरोहीले मात्रै पूरक अक्सिजनबिना संसारका सबै १४ वटा अग्ला हिमाल बिनाअक्सिजन एक दशक बढी समय लगाई आरोहण गरेको बताउँदै महिला पर्वतारोहीले यसरी बिनाअक्सिजन विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूमध्ये ३ वटा हिमालको आरोहण गर्नु ज्यादै चुनौतीको विषय भएको बताए ।

अस्ट्रेलियाको सबैभन्दा ठूला पर्वतारोहण क्षेत्र ब्लु माउन्टेन क्षेत्रमा हुर्केबढेकी एलीलाई संसारभरका सबै १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहणमा नेपाली शेर्पा गाइडहरूले सघाउँदै आएका छन् ।

प्रकाशित : वैशाख २, २०८१ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×