कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ कहिले ? 

दुई सिफ्टमा चौबिसै घण्टा काम, दुई साताभित्र विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्ने कामलाई तीव्रता दिइने दाबी 
विमल खतिवडा

काठमाडौँ — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा दुई सिफ्टमा चौबिसै घण्टा काम गराएर ६ महिनाभित्र ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ बनाउन थालिएको हो ।

सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ कहिले ? 

अहिलेसम्म १ हजार १ सय २६ मिटरमध्ये १ सय मिटर सुरुङ खन्ने काम सकिएको छ । मेसिनले मात्र खनेका कारण केही ढिलाइ भए पनि अब विस्फोट गराएर काम गर्दा प्रगति बढ्ने सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यको दाबी छ ।

बढीमा दुई साताभित्र विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्ने कामलाई तीव्रता दिइने आयोजनाले जनाएको छ । बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम हुनेछ । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । ‘सबैभन्दा बढी पहिरोको समस्या भएको ठाउँमा सुरुङ निर्माण गरिएको हो,’ शाक्यले भने, ‘यस खण्डमा पहिरो नियन्त्रणका सबै काम गरिनेछ ।’ पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा ठेक्का सम्झौता भएको हो । सुरुङ मार्ग निर्माण थालेको २५ महिना हुन लाग्यो । अहिलेसम्म भौतिक प्रगति भने १२ प्रतिशत मात्रै छ । ‘अहिलेको काम गराइले ६ महिनाभित्र ‘ब्रेक थ्रु’ गर्न सकिन्छ,’ शाक्यले भने, ‘केही समस्या नआए र अहिले जसरी चट्टान मात्र भेटिए काम छिटो र सजिलो हुने भएकाले तोकिएकै समयभित्र काम सकिन्छ ।’

सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ । २ सय ४३ मिटर दूरीका तीन वटा क्रस प्यासेज बन्नेछन् । ‘सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्छ,’ उनले भने, ‘त्यसको पनि निर्माणको काम भइरहेको छ ।’ सुरुङ र क्रस प्यासेजसहितको दूरी १५७३ मिटर छ । ‘अहिले निर्माणका क्रममा राम्रो चट्टान भेटिएको छ, ब्लास्टिङबाट काम गर्ने तयारी छ,’ उनले भने, ‘ब्लास्टिङबाट सुरुङ खन्न थालेपछि एक पटकमा दुई मिटर ब्लास्ट गर्न सकिने र एक सिफ्टमा दुवैतर्फबाट ब्लास्टमार्फत दुई/दुई मिटर खन्न सकिन्छ ।’ क्रस प्यासेजसहित दिनमा ७ मिटर खन्न सकिने उनको अनुमान छ ।

‘दुई सिफ्टमा काम गर्दा दिनमा १४ मिटर सुरुङ र क्रस प्यासेज खन्न सकिन्छ,’ उनले भने, ‘यसरी काम भए ब्लास्टिङमार्फत काम गर्न थालेको ११२ दिनमा खन्ने काम सकिन्छ ।’ बीचमा केही समस्या आइहाले पनि बढीमा ६ महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्न सकिने उनको दाबी छ । पहिला सुरुङको काम सकेर त्यहाँबाट गाडी पास गरेर ‘रक सेट’ बनाइनेछ । ‘ब्रेक थ्रु’ भएको ६ महिनाभित्र सुरुङबाट गाडी चलाउने योजना रहेको आयोजनाले जनाएको छ ।

रक सेटको दूरी ७ सय ८० मिटर छ । ‘सुरुङ निर्माण गरिएको क्षेत्रमा ढुंगा खसे तल झर्ने गरी ओरालो पारेर सिमेन्टेड रक सेट बनाइनेछ,’ उनले भने, ‘कत्रो ढुंगा झर्छ र त्यसलाई धान्न सक्ने/नसक्ने सबै विषयलाई आधार मानेर रक सेटको डिजाइन गरिएको हो ।’ अहिले राति पहरो काट्ने काम भइरहेको छ ।

‘राति ५ घण्टा सडक बन्द गरेर काम भइरहेको छ, यो क्रम सय दिन चल्छ,’ उनले भने, ‘सुरुङअन्तर्गत भएका सबै काम र ठेक्कामा चौबिसै घण्टा काम जारी छ ।’ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सुरुङ निर्माणको ठेक्का लिएको हो । सुरुमा यो कम्पनीले काम गर्न ढिलाइ गरेको थियो । आयोजनाले लगातार ताकेता गरिरहेकाले ठेकेदारले कामको गति बढाएको शाक्यको भनाइ छ ।

‘सुरुमा रूख काट्न नपाउँदा काम गर्न नपाएको ९ महिना समय थप दिनुपर्ने माग ठेकेदार पक्षबाट आएको छ,’ शाक्यले भने, ‘९ महिना होइन, समय तालिकाअनुसार कति दिन काम रोकियो, त्यो दिन प्रमाणित गरेर पठाउन भनेका छौं ।’ आयोजना तोकिएकै समयमा सकिने दाबी गरिए पनि केही कारणले ढिला भए जरिवाना तिर्नुपर्ने डरले ठेकेदारले पहिल्यै म्याद थपको माग गरेको जनाइएको छ । सुरुङ दुई लेनको बन्नेछ । यसको ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ हो । यो नागढुंगा–सिस्नेखोला सुरुङ मार्गभन्दा अग्लो हुनेछ । जमिनदेखि यसको उचाइ ९.२ मिटर हुनेछ । नागढुंगा–सिस्नेखोला सुरुङको उचाइ ८.२ मिटर छ । डिजाइनअनुसार भेन्टिलेसनका लागि १५ वटा जेट फ्यान जडान गरिने उल्लेख छ ।

प्रकाशित : चैत्र २९, २०८० ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×