कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लगानी सम्मेलन लक्षित दिल्लीमा ‘पावर समिट’  

उर्जा क्षेत्रका भारतीय उद्यमीहरुलाई नेपालमा लगानीको आग्रह 

नयाँ दिल्ली — नेपाल सरकारले गर्न लागेको तेस्रो लगानी सम्मेलन-२०२४ लाई लक्षित गरेर भारतस्थित नेपाली दूतावासले बुधबार नयाँ दिल्लीमा उर्जा क्षेत्रका भारतीय लगानीकर्तालाई नेपालमा लगानीको अवसरबारे जानकारी दिएको छ । दूतावासले ईन्डियन फेडरेसन अफ ग्रिन इनर्जीसँग सहकार्य गरेर नेपाल र भारतबीच उर्जा सहकार्यको वर्तमान स्थिति र सम्भावनामाथि छलफल चलाएको हो ।

लगानी सम्मेलन लक्षित दिल्लीमा ‘पावर समिट’  

कार्यक्रममा राजदूत शंकरप्रसाद शर्माले दिन प्रतिदिन बढ्दै गएको भारतको उर्जा आवश्यकता पूर्तिका लागि नेपालमा रहेको उर्जाको स्रोत उपयोगी देखिएको बताए । उनले नेपाली उत्पादानका लागि भारतमा ठूलो बजार रहेको भन्दै दुई देशका सरकार र लगानीकर्ताबीच सहकार्यको प्रशस्तै ठाउँ रहेको भनेका छन् ।

उनले लगानीकर्तालाई लगानी मैत्री वातावरण दिन नेपाल सरकार तयार रहेको र आवश्यकता अनुसारको ऐन, नियममा समेत समेत गर्दै लगेको कार्यक्रममा बताए । नेपालले आगामी १० वर्षमा भारतीय बजारमा १० हजार मेगावाट बिजुली बेच्न पाउने सम्झौताले पनि लगानीकर्ताहरुलाई बजारको सुनिश्चितता बढाएको उनले बताए । बांग्लादेशसँग पनि बिजुली बजारको ढोका खुलेकाले लगानीकर्ताका लागि अवसर रहेको उनको भनाइ थियो ।

कान्तिपुरसँगको कुराकानीमा राजदूत शर्माले आगामी बैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनका बारेमा जानकारी दिन उद्यमीहरुसँग अन्तर्क्रिया गरिएको बताए । नेपालमा लगानीकर्ताहरुको आकर्षण बढाउन तथा नेपाल र भारतका लगानीकर्ताबीच नेटवर्क विस्तारका लागि कार्यक्रम उपयोगी भएको उनले उल्लेख गरेका छन् ।

'नेपालमा लगानीको कस्तो सम्भावना छ, कस्तो नीति छ त्यसबारेमा बताउन र भारतीय उद्यमीहरुको जिज्ञासा मेटाउन अन्तर्क्रियाले लाभ मिलेको छ,' उनले भने, 'भारतको निजी क्षेत्र नेपालमा लगानी बढाउन चाहिरहेको पाइएको छ ।'

नेपालले लिएको लगानीमैत्री नीति र भारतले नेपालसँग उर्जा व्यापारमा गरेको सहजीकरणले नेपालले राम्रो अवसर पाएको आफूले अनुभव गरेको उनको भनाइ छ । कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का पदाधिरीहरुले भारतीय लगानीकर्तालाई नेपाली निजी क्षेत्रसँगको सहकार्यमा लगानी गर्न समेत आग्रह गरेका छन् ।

कार्यक्रममा उर्जा क्षेत्रमा संलग्न नेपाली र भारतीय उद्यमीहरुको सहभागितो थियो । नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको छ । त्यसका लागि ४६ खर्ब रुपैयाँ आवश्यक रहेको अनुमान छ । उक्त लगानी नेपाल भित्रबाट मात्रै सम्भव नभएकाले विदेशी लगानीकर्ताहरुलाई लगानीका लागि आह्वान गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । ईप्पानले नेपाली लगानीकर्ताहरुको मात्रै नभएर विदेशी लगानीकर्ताको हितको रक्षा गर्नपनि वकलात गर्ने आवश्यकता अनुसारको सहजिकरण गर्न तयार रहेको भन्दै भारतीय लगानीकर्ताहरुलाई आश्वास्त पार्न खोजेका थिए ।

दिल्लीको ह्याविटेट सेन्टरमा गरिएको ‘पावर समिट’ मा भारतको उर्जा मन्त्रालयका अतिरिक्त सचिव श्रीकान्त नागुलापल्लीले दुई देशबीच उर्जा सहकार्य बढ्दै गएको बताए । भारतमा ठूलो अद्यौगिक घराना अडानी समूहका उपाध्यक्ष जयरमण पुनीधानले नेपालमा सम्भाववित लगानीको अवसरबारे आफूहरुले अध्ययन गरिरहेको बताएका थिए । कार्यक्रममा उत्तर भारत हाइड्रो पावर र अन्य विभिन्न भारतीय कम्पनीका पदाधिकारीहरुले पनि नेपालको उर्जा क्षेत्रमा आफ्नो रुची देखाएका छन् । भारतीय उद्यमीहरुले दुई देशबीच थप प्रसारण लाईन बन्नुपर्नेमा पनि जोड दिएका छन् ।

लगानी सम्मेलनलाई लक्षित गरेर दूतावासले यसअघि गुजरात, लखनऊ र दिल्लीमा पनि फरक–फरक समूहसँग अन्तर्क्रिया गरेको थियो । अहिलेसम्म चारवटा कार्यक्रम गरिसकेको राजदूत शर्माले बताए । ‘ठूल ठूलै ग्रुप डाकेर भाइव्रेन्ट गुजरातको एउटा सेशनमा छुट्टै नेपालको लगानी सम्मेलनबारे छलफल गरेका थियौं, त्यस्तै इन्डियन चेम्बर अफ कमर्स, द एसोसिएटेड चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री तथा पर्यटनसँग सम्बन्धित व्ययसायीहरुसँगै अलग्गै कार्यक्रम गरेका छौं,’ कान्तिपुरसँग उनले भने, ‘छलफलमा उद्यमी र उद्यमीका संगठनहरुले लगानी सम्मेलनमा सहभागी हुने ईच्छा जनाउनु भएको छ । संगठनहरुले आफ्नो संगठनमा नेपालको लगानी सम्मेलनबारे सदस्यहरुलाई जानकारी दिन सूचना पनि निकालेका छन् । आशा छ, यताबाट राम्रै सहभागिता हुनेछ ।’

प्रकाशित : चैत्र २१, २०८० २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×