नयाँ गठबन्धन बनेसँगै नेप्सेमा उछाल

चार मिनेट मात्र बजार खुल्यो, तीन पटक सर्किट ब्रेकर लागेपछि सोमबार बजार बन्द, १ सय १७ अंकले नेप्से बढ्दा साढे ३७ करोडको कारोबार 

फाल्गुन २२, २०८०

यज्ञ बञ्जाडे

A surge in NEPSE with the formation of a new alliance

काठमाडौँ — अघिल्ला चार कारोबार दिन निरन्तर घटेको सेयर बजार सोमबार एकै दिन १ सय १७.७० अंकले बढ्यो । यस अवधिमा सेयर बजारमा तत्काल प्रभाव पार्ने तरलता, ब्याजदर, सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था, अर्थतन्त्रमा आर्थिक गतिविधिलगायतमा कुनै परिवर्तन भएको छैन ।

यसकारण सेयर बजारमा उच्च वृद्धि हुनुको प्रमुख कारण— पुरानो गठबन्धन भत्किएर नयाँ बन्नु नै देखिन्छ । यही कारण अघिल्ला चार कारोबार दिन करिब १६० अंकले तल ओर्लेर १ हजार ९ सय ६०.३० मा रहेको नेप्से सोमबार २ हजार ७९ मा उक्लेको छ । नेप्से एकै दिन यति धेरै अंकले बढेको गत मंसिर २५ यताकै उच्च हो । यसअघि गत मंसिर २५ मा नेप्से १ सय ११ अंकले बढेको थियो । 

हरेक राजनीतिक परिवर्तनले सेयर बजार प्रभावित हुँदै आएको छ । कुनै परिवर्तनले सेयर बजारमा सकारात्मक प्रभाव पार्छन् भने कुनैले नकारात्मक । यसपालि भने सेयर बजारमा सकारात्मक प्रभाव देखियो । हाल वित्तीय प्रणालीमा पर्याप्त तरलता छ, ब्याजदर निरन्तर घटिरहेको छ, बैंकहरू ग्राहक खोज्दै हिँडेका छन् । घरजग्गा, उद्योगलगायत अर्थतन्त्रका अन्य क्षेत्रमा अपेक्षित सुधार नहुँदा लगानीकर्ताले लगानीको धेरै अवसर पाएका छैनन् । यस्तो बेला सेयर बजार बढ्नुपर्ने विज्ञहरूको तर्क छ । तर पछिल्ला दिनमा बजार निरन्तरजसो घटिरहेको छ । अर्थतन्त्रमा सुधारका लागि राज्य लागिरहेको छ भन्ने आभास नागरिकमा नहुँदा उनीहरूको आत्मविश्वास बढ्न नसकेको र त्यसको नकारात्मक असर सेयर बजार पर्दै आएको थियो । यही अवस्थामा एकाएक पुरानो गठबन्धन भत्किएर नयाँ बन्दा लगानीकर्तामा आशा पलाएकाले बजारमा वृद्धि देखिएको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । 

‘सधैं निराशा मात्र देखिरहेका लगानीकर्ता नयाँ सरकार बन्दा राम्रो हुन्छ कि भनेर हौसिएको उपज हो सोमबारको बजार,’ सिजापतिले भने, ‘यसकारण यो शुद्ध राजनीतिक प्रभाव हो । यो वृद्धि दिगो होला भन्ने आधार देखिँदैन ।’ बजारको दिगो वृद्धिका लागि अर्थतन्त्रका सूचकहरू बलियो हुनुपर्नेमा अहिले त्यो अवस्था नरहेको उनले जनाए । 

सेयर बजारमा सोमबार लगानीकर्ताले चार मिनेट मात्र सेयर कारोबार गर्न पाए । उक्त अवधिमा सेयर कारोबार मापक नेप्से १ सय १७.७० अंकले बढ्यो । अघिल्लो दिनको तुलनामा यो ६ प्रतिशतको वृद्धि हो । उक्त दिन बिहान ११ बजे खुलेको बजार १२ः४ बजे पूर्ण रुपमा बजार बन्द नै भयो । बजार खुलेदेखि पूर्ण रूपमा बन्द भएका ेबीचको अवधि ६४ मिनेट मात्र हो । त्यही अवधिमा पनि ‘सर्किट ब्रेकर’ मार्फत ६० मिनेट अर्थात् एक घण्टा सेयर किनबेच बन्द गरियो । यसरी चार मिनेटमा नेप्से १ सय १७ अंकले बढेको हो । 

करिब १२ अंकले घट्दा आइतबार नेप्से १ हजार ९ सय ६० मा बन्द भएको थियो । आइतबार साँझदेखि नै सत्ता गठबन्धन परिवर्तनको हल्ला चलेको थियो । यसको असरकै कारण सोमबार बजार खुल्नुअघि (प्रि–ओपनिङ) नै नेप्से १६ अंकले बढिसकेको थियो । यसअनुसार सोमबार बजार खुल्दा नेप्से १ हजार ९ सय ७६ अंकमा पुगिसकेको थियो । अघिल्लो दिन बन्द भएको

मूल्यको तुलनामा अधिकतम २ प्रतिशतले मूल्य बढाएर नयाँ कारोबार गर्न पाउने कानुनी व्यवस्था छ । यसलाई ‘प्रि–ओपनिङ प्राइस’ भनिन्छ । 

सोमबार बजार वृद्धिको पछि चलखेल मात्र भएको नेपाल स्टक एक्सचेञ्जका एक पूर्व कार्यकारी अधिकृतको भनाइ छ । ‘चार मिनेटमा साढे ३७ करोड रुपैयाँको सेयर किनबेच हुँदा २ सय ३० वटा कम्पनीको सेयर मूल्य बढेको छ । मूल्य बढेका कम्पनीहरूमध्ये धेरैजसोको १० देखि १५ रुपैयाँ हाराहारीमा मात्र बढेको देखिन्छ,’ ती अधिकारीले भने, ‘यसकारण सोमबारको बजार वृद्धिको मुख्य कारण चलखेल हो । सत्ता गठबन्धन परिवर्तन हुने भएपछि केही लगानीकर्ताले जानबुझ रूपमै बजारमा चलखेल गरेर बढाएका हुन् । आउँदा २/४ दिन सेयर बजारको अवस्था हेरेपछि यो प्रमाणित हुन्छ ।’ 

अहिले उच्च अंकले बजार बढ्नुको पछि कुनै विशेष कारण नदेखिएकाले यस्तो अवस्थामा लगानीकर्ता निकै संवेदनशील हुनुपर्ने नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी बताउँछन् । ‘सत्ता गठबन्धन परिवर्तन भए पनि अझै मन्त्रीहरूको टुंगो लागिसकेको छैन । यसकारण बजार यति धेरै अंकले बढ्नुपर्ने कारण देखिँदैन,’ उनले भने, ‘यस्तो बेला लगानीकर्ता निकै सजग बन्नुपर्ने, हल्लाको पछि लागेर निर्णय गर्नुहुँदैन ।’ 

नेप्से ६ प्रतिशतले बढेपछि सोमबार तेस्रो पटक सर्किट ब्रेकर लागेर बजार बन्द गरिएको हो । यो दिन बजार खुलेलगत्तै ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेकर लागेपछि २० मिनेट किनबेच रोकियो । पहिलो सर्किट ब्रेकर लागेर खुलेको बजार ५ प्रतिशतले बढ्दा दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेट कारोबार रोकियो । त्यसपछि खुलेको बजार १२ बजेर ४ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि उक्त दिनको कारोबार बन्द गरिएको हो । 

हालको व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा ४ प्रतिशतले बजार बढ्दा वा घट्दा २० मिनेट कारोबार बन्द गरिन्छ । कारोबार सुरु भएको दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे वा घटे ४० मिनेटका लागि र त्यसपछि जुनसुकै समयमा बजार ६ प्रतिशतले बढे वा घटे उक्त दिनकै लागि कारोबार बन्द गर्नुपर्छ ।

सोमबारको बजारले नेप्सेमा दिगो सुधारको संकेत नदिएको अर्का एक पुराना लगानीकर्ता पनि बताउँछन् । ‘मेरो हिसाबमा बजारका लागि यस्तो बढाइ राम्रो हुँदैन । बजारमा उछाल नै आउनुपर्ने गरी नत नीति गत परिवर्तन भएको छ, न त पूर्ण रूपमा भरोसा हुने गरी सरकारमै । अब आउने मन्त्री पनि बजारका लागि नयाँ हुनेछैनन् । तर लगानीकर्ता धेरै उत्साहित देखिए । जुन ठीक होइन,’ उनले भने, ‘अहिले अरू क्षेत्रमा कहीं पनि पैसा छैन, ती क्षेत्र बिरामी छन् । बजारको दिगो सुधारका लागि चारैतिरबाट पैसा आउनुपर्छ ।’ बजार धेरै घटिसकेकाले अहिले लगानी थप्ने समय भए पनि अझै केही दिन पर्ख र हेरको नीति लिनुपर्ने उनको सुझाव छ । यसअघि ०७८ भदौ २ मा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु (३ हजार १ सय ९९) मा थियो । त्यसपछि घटेको बजार धेरै पटक २ हजार भन्दा तल झरिसकेको छ । 

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully