कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बैंकर पक्राउमा निजी क्षेत्रको ध्यानाकर्षण

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ गरिएको घटनामा निजी क्षेत्रले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । यस विषयमा निजी क्षेत्रका व्यवसायीहरूको छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको तीनै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यस विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले पनि विज्ञप्ति जारी गरेको आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘बैंक वित्तीय संस्थाहरूले विद्यमान ऐन तथा केन्द्रीय बैंकबाट जारी भएका निर्देशनको अधीनमा रही आ–आफ्ना नीति तथा कार्यविधिबमोजिम आ–आफ्ना अधिकार क्षेत्रभित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्ने कार्य सञ्चालन गर्दै आएका छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरूमा कुनै पनि लगानीसम्बन्धी निर्णय गर्दा सबै कर्मचारी तथा सञ्चालक समितिले तोकिएको सिद्धान्तकै पालना गरी असल नियतबाट कार्य गर्ने गरेको बुझाइ छ ।’

विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिलाई समेत पदीय ओहदा वा कागजातमा हस्ताक्षर गरेका कारण उनीहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको हो कि भन्ने देखिएको पनि विज्ञप्तिमा उल्लेख छ । ‘यस्ता कार्यले बैंकरहरूको कार्यदक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवं मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र त्यसको असर समग्र अर्थतन्त्रको वृद्धि विकासमा हुन सक्नेतर्फ ध्यान दिन सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासबारे गहिरो अध्ययन र जानकारी नलिई कुनै पेसाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिई हिरासतमा राखिनु गलत भएको भन्दै सिबिफिनले आपत्ति जनाएको छ । ‘बैंकका गतिविधि नियामक निकायको सूक्ष्म निगरानीमा रहेको विषय विदितै छ,’ सिबिफिनले विज्ञप्तिमा भनेको छ, ‘बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुनुपर्दछ । व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासाग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसाग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई दृष्टिगत गरी ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ । तर धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको छ ।’ तसर्थ कर्जा प्रवाह जस्तो नियमित कार्यको टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने कार्य नगर्न ध्यानाकर्षण गराइएको सिबिफिनले जनाएको छ ।

प्रकाशित : फाल्गुन १९, २०८० ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×