कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘अर्थतन्त्र चलायमान बनाउन समाजकै मनोबल उकास्नुपर्छ’

देशको आर्थिक अवस्थालाई लिएर उपभोक्ताको बुझाइ सकारात्मक नहुँदा माग र आपूर्ति चक्र बिथोलिएको छ
उद्योग, व्यापार व्यवसायका लागि सरकारले सहयोगी र संरक्षकको भूमिका निर्वाह गर्छ भन्नेमा ढुक्क हुन सकिएको छैन 
अहिलेको अवस्थामा कर्जाको मागमा तुरुन्तै सुधार आउने देखिन्न, सुधारका लागि सरकारले खर्च बढाउनुपर्छ, आर्थिक गतिविधि बढाउनुपर्छ
सात वर्षमा हामीले जुन प्रकारको व्यवसाय विस्तार, मुनाफा, लाभांश वितरण गरेका छौं, त्यसले हाम्रो व्यवस्थापकीय क्षमता बलियोभएको पुष्टि गर्छ

गत साता राष्ट्र बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको ‘बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै सर्वसाधारणको निक्षेप सुरक्षित’ रहेको जानकारी सर्वसाधारणमाझ गराएको थियो । त्यसका पछाडि पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाविरुद्ध सञ्जालदेखि सडकसम्म प्रश्न उठ्न थालेपछि राष्ट्र बैंकले प्रस्ट्याएको थियो ।

‘अर्थतन्त्र चलायमान बनाउन समाजकै मनोबल उकास्नुपर्छ’

बैंक तथा वित्तीय संस्था, लघुवित्तको ऋण तिर्नुहुँदैन भन्दै केही समूहले अभियान नै सुरु गरे पनि नियामक निकाय राष्ट्र बैंकसँगै बैंक तथा वित्तीय संस्थाका छाता संगठनले पनि वित्तीय संस्थाको प्रतिरक्षामा आवाज बाहिर ल्याएका हुन् । यही सन्दर्भमा नेपालको वित्तीय प्रणालीको अवस्था, शिथिल अर्थतन्त्र चलायमान बनाउने उपाय तथा सुझाव र नीतिगत सुधारका विषयमा केन्द्रित रहेर एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेसँग कान्तिपुरका यज्ञ बञ्जाडेसजना बरालले गरेको कुराकानीको सम्पादित अंश :

हाल सबै बैंकमा पर्याप्त तरलता छ, ब्याज दर पनि घटिरहेको छ, तर कर्जा विस्तार हुन सकेको छैन, पुससम्ममा ३ खर्ब ७७ अर्ब निक्षेप संकलन हुँदा पनि १ सय ९२ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ, यस्तो अवस्था कसरी आयो ?

अर्थतन्त्रमा अहिले सबैभन्दा ठूलो समस्या भनेको मनोबल खस्किनु हो । उपभोक्ता, उद्यमी र सर्वसाधारणमाझ नेपालको अर्थतन्त्र धराशायी अवस्थामा छ, आर्थिक मन्दी व्याप्त छ, योभन्दा खराब दिन आउँदै छन्, अहिले खर्च र लगानी गर्ने बेला होइन भन्ने बुझाइ छ । यसले गर्दा माग र आपूर्ति शृंखला बिथोलिएको छ, जसको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ । देशको आर्थिक अवस्थालाई लिएर हामीकहाँ विद्यमान नकारात्मक भाष्यले सबैभन्दा पहिला उपभोक्ता बजार सुस्ताएको छ । खरिदबिक्री घटेका छन् । यस्तोमा उद्यम व्यवसायको विकास हुने कुरै भएन । उद्यम क्षेत्रबाटै सरकारले राजस्व र सर्वसाधारणले रोजगारी पाउने हुन् । त्यसले अर्थतन्त्र चलायमान बनाउने हो । तर, देशको आर्थिक अवस्थालाई लिएर उपभोक्ताको बुझाइ सकारात्मक नहुँदा माग र आपूर्ति चक्र बिथोलिएको छ ।

अर्कातिर, उद्यमीहरूलाई पछिल्लो समय राज्य संयन्त्रबाटै हतोत्साहित हुने खालका काम भएका छन् । एफपीओ वा मर्जर एन्ड एक्विजिसनको लाभमा भूतप्रभावी कर लगाउनेदेखि उद्योगी व्यवसायीहरूलाई गरिएका विभिन्न किसिमका धरपकडले मनोबल गिरेको छ । उद्योग, व्यापार व्यवसायका लागि सरकारले सहयोगी र संरक्षकको भूमिका निर्वाह गर्छ भन्नेमा ढुक्क हुन सकिएको छैन । समग्र समाजमा नै अलि बढी उग्र, आदर्शवादी र गैरजिम्मेवार सोच हाबी देखिन्छ । अहिले अराजकताले प्रश्रय पाइरहेको छ । इमानदार मानिस पनि सुनिनका लागि र मनपराइनका लागि नकारात्मक कुरा गर्न बाध्य छन् । नकारात्मक हौवा फैलिएपछि युवा नेपालमा भविष्य नदेखेर धमाधम विदेश जान थालेका छन् । गत वर्ष युवाहरूले पढ्नलाई मात्रै कुल १ खर्ब रुपैयाँ देशबाट लिएर गए । समग्रमा, हामीले आशाको सञ्चार गर्न नसक्दा उपभोक्ता, उद्यमी, नयाँ पुस्ता र समग्र समाजकै मनोबल खस्किएको छ । यसले अर्थतन्त्र चलायमान बन्न दिएको छैन । त्यसकारण बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त कर्जा प्रवाह भइरहेको छैन ।

अर्थतन्त्रमा शिथिलता देखिएको छ, यो अवस्थाबाट माथि उठ्न सरकारले ठूलो प्रयास गर्नुपर्नेमा दुई मत छैन तर त्यो प्रक्रियामा बैंकहरूको पनि त भूमिका हुन्छ होला नि ?

कर्जाको माग बढाउने काममा बैंकको खासै भूमिका हुँदैन । कुनै आयोजना लिएर ग्राहक आउनुपर्‍यो । त्यो आयोजना बैंक आफैंले खोल्न सक्दैन । आयोजना स्थापना गर्न उद्योमीसँग आत्मविश्वास हुनुपर्छ । र उसले सम्भावना देख्नुपर्छ । जबसम्म आम उपभोक्ता र उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन सकिँदैन, तबसम्म कर्जा माग बढ्ने सम्भावना रहन्न ।

तर विगतमा बैंकहरूले अनुत्पादक क्षेत्र खासगरी घरजग्गा तथा सेयरबजारमा बढी कर्जा प्रवाह गरे, त्यसमा अहिले नियामक निकाय राष्ट्र बैंकले कडाइ गरेपछि असर देखिएको हो भन्ने छ, यो स्थिति आउनुमा विगतमा बैंकहरूले गरेको गल्ती हुन सक्दैन र ?

बैंकहरूको कमजोरी भएन होला भनेर म भन्दिनँ । समग्र समस्या बैंकहरूको कमजोरी १० प्रतिशत मात्रै भूमिका खेलेको देखिन्छ । उपभोक्ता र उद्यमीको मनोबल खस्किनु र सग्रम अर्थतन्त्रको परिदृश्य नकारात्मक बन्नुमा बैंकहरूको भूमिका छैन । सम्भावना देखिने क्षेत्रमा बैंकहरूले लगानी गर्ने हुन् । राष्ट्र बैंकले नै बैंकहरूलाई ४० प्रतिशत कर्जा निर्देशित क्षेत्र र ५ प्रतिशत विपन्न क्षेत्रमा लगानी गर्नैपर्ने व्यवस्था गरिदिएको छ । यसरी कुल ४५ प्रतिशत ती क्षेत्रमा लगानी गर्नैपर्छ । तसर्थ बैंकहरूले घरजग्गा वा सेयर बजारमा बढी लगानी गरे भन्ने कुरामा सत्यता छैन । अहिले सबै वाणिज्य बैंकको कुल मार्जिन लेन्डिङ कर्जा ६६ अर्ब बराबरको लगानी छ । क, ख, ग सबैको वर्गका संस्थाको लगभग ८४ अर्ब रुपैयाँको लगानी छ । कुल कर्जा ५१ खर्ब रुपैयाँमध्ये ८४ अर्ब करिब १.६ प्रतिशत मात्रै हो । घर कर्जाबाहेक रियल इस्टेट क्षेत्रमा बैंकहरूको लगानी कुल कर्जा लगानीको ४.७ प्रतिशत हो । घर बनाउन वा किन्न त कर्जा दिनैपर्छ । किनभने औद्योगिकीकरणका लागि मात्रै बैंक चाहिने होइन, जनजीविकाका सवाललाई सम्बोधन गर्न पनि बैंक चाहिन्छ । तसर्थ घर कर्जासमेत जोड्दा रियल इस्टेटमा कुल कर्जा लगानीको करिब १२ प्रतिशत बराबरको मात्र कर्जा प्रवाह गरेका छन् । त्यसको जवाफ के हो भने वास्तविक क्षेत्रमा उपभोक्ताको माग बढेको छैन र घरजग्गा र सेयरमा पनि हामीले कडाइ नै गरेका छौं । तथापि अहिले ब्याजदर घटिरहेको छ र अर्थतन्त्रले एक प्रकारको लय समात्न खोजेको देखिन्छ ।

अर्थतन्त्रले लय समात्न खोजेको भन्नुभयो, यसको अर्थ पछिल्लो समय वास्तविक क्षेत्रबाट कर्जाको माग थोरै भए पनि बढ्न थालेको हो ?

अहिले २०/२१ भने जस्तो अवस्था मात्र हो । तर कुनै पनि इन्डिकेटरले कर्जा विस्तारको सुखद संकेत देखाएका छैनन् । उद्यमीहरूका वस्तु तथा सेवाको बिक्री मात्रा बढेको छैन, खपत बढेको छैन । राजस्व संकलनका तथ्यांक आशातित छैनन् । यहीबीचमा सरकारले २ खर्ब २१ अर्बले बजेटको आकार घटाउने घोषणा गरेको छ । यी सबै सूचकांक हेर्दा कर्जा विस्तार सुधारोन्मुख दिशातर्फत जान थालेको भन्ने लाग्दैन । अहिले निक्षेपको ब्याजदर घटिरहेको, आधार दरमा कमी आएको र सोहीअनुसार कर्जाका दरहरूमा पनि कमी आएको छ । अघिल्लो वर्षको तुलनामा अहिले करिब डेढ प्रतिशत विन्दुले कर्जाको ब्याजदर घटिसकेको छ । अहिलेको अवस्थामा कर्जाको मागमा तुरुन्तै सुधार आउने देखिन्न । सुधारका लागि सरकारले खर्च बढाउनुपर्छ, आर्थिक गतिविधि बढाउनुपर्छ । निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्नुपर्छ, अर्थतन्त्रमा देखिएको शिथिलता हटाएर कर्जा माग बढ्ने र लगानी विस्तार हुने अवस्था आएपछि मात्र अर्थतन्त्र सुधारको बाटोमा रहेको भन्न सकिन्छ ।

अब एनआईसी एसिया बैंककै बारेमा कुरा गरौं, पछिल्लो समय सामाजिक सञ्जालमा एनआईसी बैंकबारे विभिन्न किसिमका चर्चा भए, बैंकबारे चलेका हल्लाहरूको वास्तविकता के हो ?

एआईसी एसिया बैंकले समाजको तल्लो तहमा आम सर्वसाधारणमा आधारित रहेर बैंकिङ गरेको छ । हाम्रो ग्राहक संख्या बैंकहरूमध्ये सबैभन्दा धेरै ४५ लाख छन् । सबैभन्दा ठूलो बैंकिङ सञ्जाल हाम्रै छ । देशभर हामी पुगेका छौं । निक्षेप संकलन र कर्जा विस्तार गर्दा दुवैतर्फ हामी वास्तवमै खुद्रा तथा साना र मझौला उद्यमीहरूलाई केन्द्रमा राखेर गरिरहेका छौं । हामीसँग झन्डै १ लाख कर्जाका ग्राहक र करिब ४५ लाख निक्षेप सेवा लिने ग्राहक छन् । यसले धेरै ग्राहक र असाध्यै छरिएको पृष्ठभूमिमा हामी सञ्चालित रहेको पुष्टि हुन्छ । अहिले वाणिज्य बैंकहरूको औसत ग्राहक संख्या जति छ, त्योभन्दा दोब्बर गुणामा हाम्रा निक्षेपकर्ता र ऋणीको संख्या छ । हामी दूरदराजमा पुगेर भुइँतहका र पहिलो पटक बैंक खाता खोल्नेहरूलाई बैंकिङ सेवा दिइरहेका छौं । हाम्रा ७२ प्रतिशत शाखा महानगरपालिका र उपमहानगर पालिकाबाहेक क्षेत्रमा छन् । देशको २० देखि ४९ वर्ष उमेरसम्मको १ करोड २६ लाख जनसंख्यामध्ये एकतिहाइ हाम्रो बैंकसँग जोडिएका छन् । हाम्रा कुल कर्जा ग्राहकमध्ये ३ करोडभन्दा कम कर्जा लिने ग्राहक करिब ९९ प्रतिशत छन् । यसरी तुलनात्मक रूपमा दूरदराजमा रहेका तथा सीमान्तकृत वर्गको आर्थिक उत्थानमा केन्द्रित भएर अर्थपूर्ण बैंकिङ गरेकामा हामीलाई गर्व छ । किनकि जबसम्म हामीले यस्ता लक्षित वर्गमा बैंकिङ सेवाको वास्तविक लाभ पुर्‍याउन सक्दैनौं, तबसम्म गरिबी न्यूनीकरण गर्ने र समतामूलक आर्थिक विकास गर्ने हाम्रो राष्ट्रिय लक्ष्य पूरा हुन सक्दैन । यसरी हेर्दा हामी हरेक जन–जनको बैंक भएका छौं ।

यति ठूलो ग्राहक संख्या भएको बैंकले निसानामा पार्दा एकैचोटि ठूलो जनसंख्यालाई दिग्भ्रमित पार्न र झुक्याउन सकिन्छ भन्ने बुझेका स्थिरता र शान्ति नचाहने तत्त्वहरूले हाम्राविरुद्ध अफवाह फैलाएका हुन् । यसमा केही सञ्चारमाध्यमसमेत व्यापक प्रयोग भए । तर खुसीको विषय– यावत् दुष्प्रयास सब निरर्थक सावित भए । यसबाट बैंकलाई उल्लेख्य कुनै नकारात्मक प्रभाव परेन । हाम्रा सेवा यथावत् सञ्चालन भइरहेका छन् । यस पटक मैले यो बैंकले आर्जन गरेको अगाध जनविश्वासको स्वाभाविक परिणाम मानेको छु । ठूलो र संगठित हिसाबले भ्रम र अफवाह फैलाउने यत्रो दुष्प्रयास हुँदासमेत हाम्रा निक्षेपकर्ताहरूको भरोसामा कुनै समस्या आएन, जसको म उच्च प्रशंसा गर्न चाहन्छु । यसका लागि म आम निक्षेपकर्ता, सेयरधनी, नियमनकारी निकाय र कर्मचारीहरूप्रति कृतज्ञ छु । बैंकको खराब कर्जा सबैभन्दा कममध्येमा रहेको र निक्षेपकर्ताको हित संरक्षण गर्न बैंकले कर्जा असुलीमा आवश्यक पहलकदमी समयमै लिइरहेका कारण आम सर्वसाधारणमा हामीप्रतिको विश्वास रत्तिभर पनि कम भएको छैन ।

तर पुसको तुलनामा माघमा एनआईसीको निक्षेप नै घट्यो भन्ने हल्ला छ, निक्षेप संकलनमा कुनै उतारचढाव आएको हो र ?

पहिलो त्रैमासमा हामीले ५० अर्बले निक्षेप बढायौं भने चालु आर्थिक वर्षको ६ महिनामा ६७ अर्बले निक्षेप बढायौं । समग्र बैंकिङ क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा निक्षेप ६ प्रतिशतले बढेकोमा एनआईसी एसियाको भने हामीले करिब २१ प्रतिशतले निक्षेप बढाएका थियौं । त्यो बेला ब्याजदर यस्तो उच्च गतिमा घट्न थालेको थिएन । कर्जाको माग हुन्छ भन्ने सोचेर हामीले निक्षेप संकलन गरेका थियौं । तर कर्जाको माग सोचेअनुसार नभएपछि त्यो निक्षेप हाम्रा लागि खर्चिलो भयो । निक्षेप कम गर्न हामीले मंसिरदेखि नै सबैभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्नेबारे सूचना निकाल्न थाल्यौं । निक्षेप घटाउने हाम्रो योजनामुताबिक नै हो । तथापि त्यो बेला पनि हाम्रो तरलता अनुपात २० प्रतिशतभन्दा बढी नै थियो । अर्थात् हामीसँग पर्याप्त मात्रामा बचत थियो । पछिल्लो समय एनआईसी एसियाको बचत असुरक्षित रहेको र सहकारीको जस्तै हालत हुन सक्ने भएकाले बचत झिकिहाल्नुपर्छ भन्ने खालका जुन अभिव्यक्ति आए, त्यसयता न निक्षेप झिक्ने दर बढेको छ, न त हाम्रो सीडी रेसियो वा लिक्विडिटी रेसियो नै राष्ट्र बैंकले तोकेको भन्दा बाहिर गएको छ । त्यही बेलामा हाम्रो सीडी रेसियो ७७.१८ प्रतिशत र लिक्विडिटी रेसियो २७.२८ प्रतिशत थियो अर्थात हामीसँग चाहिनेभन्दा धेरै तरलता थियो ।

एनआईसी एसिया बैंक सबै सूचकमा बलियो छ भन्ने आधार के हुन् ?

बैंकहरू कत्तिको बलिया छन् भनेर हेर्न अन्तर्राष्ट्रियस्तरमै ‘क्यामेल्स रेटिङ’लाई आधार मान्ने गरिएको छ । क्यामेल्स रेटिङले बैंक तथा वित्तीय संस्थाको पुँजी पर्याप्तता, सम्पत्ति गुणस्तर, व्यवस्थापन, आय, तरलता र संवेदनशीलता जाँच गर्छ । पुँजीका हिसाबले हामी नियामकले तोकेको न्यूनतम सीमाभन्दा निकै माथि छौं, सम्पत्तिको गुणस्तर (एसेट क्वालिटी) का हिसाबले पनि हामी बैंकिङ उद्योगमै सबैभन्दा कम खराब कर्जा (एनपीएल) अनुपात भएको दोस्रो वाणिज्य बैंक हौं । विगत सात वर्षमा हामीले जुन प्रकारको व्यवसाय विस्तार, मुनाफा, लाभांश वितरण गरेका छौं, त्यसले हाम्रो व्यवस्थापकीय क्षमता बलियो भएको पुष्टि गर्छ । कमाइको हिसाबले हेर्दा हाम्रो खुद नाफा, प्रतिसेयर आम्दानी, इक्विटीलगायत सबै सूचकांक सकारात्मक छन् । हाल बैंकहरूले ९० प्रतिशसम्म सीडी अनुपात कायम गर्न पाउँछन् । हाम्रो सीडी अनुपात ८० भन्दा तल छ । न्यूनतम २० प्रतिशत तरलता राख्नुपर्नेमा हामीसँग २५ प्रतिशतभन्दा बढी छ । यसकारण नियामकले तोकेको भन्दा निकै सबल मात्रामा हामीसँग तरलता उपलब्ध छ । तरलतालगायत जुन जुन सूचकांकले एउटा बलियो वाणिज्य बैंक भएको देखाउनुपर्ने हो, ती सबै क्षेत्रमा हामी उत्कृष्टमा पर्छौं ।

आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० मा भएका ठूला मर्जरले गर्दा वाणिज्य बैंकहरूमध्ये हामी व्यवसायको आकार र नाफाका हिसाबले पहिलो स्थानको बैंकबाट अलिकति तल झरेका छौं । तर पनि हामी अझै सबैभन्दा ठूलोमध्ये नै छौं । अझ शाखा सञ्जाल र ग्राहक संख्याका हिसाबले हेर्दा त हामी पहिलो स्थानमै छौं । तथापि हाम्रो लक्ष्य अंकका हिसाबले एक नम्बर हुनेभन्दा पनि सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने हो । हाम्रो प्रतिसेयर आम्दानी समग्र बैंकिङ क्षेत्रको औसतभन्दा ७० प्रतिशतले बढी र स्वपुँजीमा प्रतिफलतर्फ समग्र बैंकिङ क्षेत्रको औसतभन्दा ५१ प्रतिशत बढी छ । ग्राहकको संख्यामा समग्र बैंकिङ क्षेत्रको औसतभन्दा झन्डै दोब्बर छ ।

एनआईसीले यी उपलब्धि छोटो समय अर्थात् ६–७ वर्षमै हासिल गरेको भन्ने छ, खासमा यति छिटो र ठूलो उपलब्धि कसरी सम्भव भएको हो ?

करिब ६.५ वर्ष अगाडि हाम्रो बैंकको वासलातको आकार ९९ अर्ब थियो, जुन पुस २०८० सम्म आइपुग्दा ४ सय ३४ अर्ब पुगेको छ । त्यसैगरी हाम्रो ग्राहक संख्यासमेत ५.५ लाखबाट बढेर करिब ४५ लाख पुगेको छ । यस्तै स्थिति मुनाफा, शाखा सञ्जाललगायत हरेक सूचकांकमा छ । हामीले सर्वप्रथम बैंकमा ‘वान बैंक वान टिम वान ड्रिम’ भन्ने हिसाबले सपना निर्माण गर्‍यौं । अनि उक्त सपनालाई मूर्त रूप दिन सक्ने बैंक व्यवस्थापन निर्माण गर्‍यौं र अरूभन्दा फरक तरिकाले अर्थपूर्ण बैंकिङ गर्ने स्पष्ट मार्गचित्र दर्शनसहित सेवाको गुणस्तर, प्रविधिको प्रयोग र व्यापक सञ्जालको उपलब्धतालाई पुँजीकरण गर्दै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्यौं । हामीले ३ सय ६० शाखा, १ सय ११ विस्तारित काउन्टर र ६ सय ७० वटा एटीएम विस्तार गर्‍यौं ।

सेवाको गुणस्तरलाई विश्वस्तरीय बनाउन हामीले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै बैंकका हरेक गतिविधि र प्रक्रियालाई डिजिटाइज गर्ने र ग्राहकलाई प्रदान गर्ने सेवासमेत धेरैभन्दा धेरै डिजिटल माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलायौं । फलस्वरूप आज हामी डिजिटल बैंकिङतर्फ समेत एक नम्बर हुन सफल भएका छौं । हाम्रोमा आज हरेक दिन करिब ३.५ लाख कारोबार हुन्छ, जसमध्ये ३ लाखभन्दा बढी डिजिटल माध्यमबाट मात्रै हुन्छ । मोबाइल बैंकिङ, पीओएस, क्यूआर, डेबिट कार्डलगायत कारोबारमा हाम्रो बजार हिस्सा निकै ठूलो अन्तरले पहिलो स्थानमा छ । कतिपय डिजिटल फ्रन्टमा त हामीले सम्पूर्ण बजारको झन्डै एकतिहाइ बजार हिस्सासमेत ओगट्न सफल भएका छौं ।

हामीले शाखालगायत भौतिक पूर्वाधारभन्दा पनि बढी डिजिटल पूर्वाधार सिर्जना गर्न र त्यसलाई सुरक्षित बनाउन लगानी गरेका छौं । यसबीचमा हाम्रा मोबाइल बैंकिङ प्रयोगकर्ता १.२ लाखबाट बढेर करिब २६ लाख र डेबिट कार्डतर्फ १.६ लाखबाट बढेर १९.४ लाख पुग्यो । अहिले हरेक वर्ष हाम्रोमा ५ लाखभन्दा बढी नयाँ ग्राहक थपिइरहनुभएको छ, जुन वास्तवमै हामीप्रतिको आम जनमानसको विश्वासको उभार हो । आज बैंकिङ क्षेत्रका विभिन्न सूचकांकमा जति पनि वृद्धि र रूपान्तरणका ऐतिहासिक उचाइ छन्, ती सबै एनआईसी एसिया बैंकका नाममा छन् ।

तर एनआईसी एसिया बैंकले नियामकीय प्रावधान पालना नगर्दा राष्ट्र बैंकले अनुसन्धान थालेको, शाखा बन्द गर्न खोज्दा अनुमति नपाएको, कर्जा असुलीमा बैंक आक्रामक रूपमा प्रस्तुत भएको भन्ने आरोप छ नि ?

राष्ट्र बैंकले अनुसन्धान नै गरेको चाहिँ होइन, यो मिडियाको भाषा हो । राष्ट्र बैंकले हाम्रो होस् वा अन्य सबै बैंकको नियमित अनुगमन गर्छ, गरिरहेको छ । राष्ट्र बैंकको नियमित काम हो । उसको वार्षिक क्यालेन्डरअन्तर्गतको अनुगमन हो । हाम्रोमा मात्र विशेष अनुगमन होइन । कुनै पनि शाखा बन्द गर्न हामीले राष्ट्र बैंकमा निवेदन दिएका छैनौं । निवेदन नै नदिएको अवस्थामा राष्ट्र बैंकले स्वीकृति नदिने भन्ने सवाल नै भएन । त्यस्तै बैंकको काम नै नागरिकबाट निक्षेप संकलन गरेर आवश्यक परेका नागरिकलाई नै कर्जा प्रवाह गर्ने हो । यहाँ बैंकको भूमिका वित्तीय मध्यस्थता मात्र हो । सबै प्रकारको अवस्था वा परिस्थितिमा बैंकको निक्षेपको सुरक्षा दायित्व र जिम्मेवारी बैंकको हुन्छ । यसकारण कर्जा दिँदा पनि बैंकले पछि असुली गर्न सकिने गरी दिने हो । यसअनुसार बैंकले ऋणीको नगद प्रवाह, आयको स्रोत, पर्याप्त धितो लिने गर्छ । यो अन्तर्राष्ट्रिय प्रचलन नै हो । हामीले पनि त्यहीअनुसार गरिरहेका छौं । राष्ट्र बैंकको निर्देशनअनुसार ऋणीलाई पर्याप्त समय दिएर, सबै कानुनी प्रक्रिया पूरा गरेरै कर्जा असुली गर्ने गर्दै आएका छौं ।

अहिले पनि बैंकको प्राथमिक पुँजी निर्देशित सीमाभन्दा थोरै मात्र बढी छ, प्राथमिक पुँजी बढाउन तपाईंहरूलाई केले रोकेको हो ?

प्राथमिक पुँजीमा दबाब हाम्रो बैंकमा मात्र होइन, सञ्चालनमा रहेकामध्ये आधाभन्दा धेरै वाणिज्य बैंकमा परेको छ । अहिले बैंकहरूको प्राथमिक पुँजी औसत ९.६३ प्रतिशत छ, जुन विगतमा औसत करिब १२ प्रतिशत हुन्थ्यो । अहिले कर्जा असुलीमा कमी, खराब कर्जा बढ्दै गएकाले धेरैजसो बैंकलाई प्राथमिक पुँजीमा दबाब परेको छ । अहिले यो बैंकिङ उद्योगकै समस्या भएकाले त्यसमा सहजीकरणका लागि राष्ट्र बैंकले पनि कुनै नीतिगत तयारी गरेको जानकारी पाएका छौं । आशा छ, छिट्टै निर्देशन जारी हुनेछ ।

तपाईं देशको एउटा ठूलो बैंकको कान्छो सीईओ हुनुहुन्छ, खासगरी रोजगारीको सिलसिलामा दक्ष युवाशक्ति अर्थात् तपाईंकै उमेरका धेरैजसो युवा विदेश पलायन भइरहेका छन्, यसलाई रोक्न के गर्नुपर्छ होला ?

गत वर्ष मात्रै विदेश जाने विद्यार्थीहरूले १ खर्बभन्दा बढी रकम विदेश लगे । नेपालमा १ वर्षमा हालसम्म आएको सबैभन्दा बढी प्रत्यक्ष विदेशी लगानी भनेको करिब २० अर्ब मात्रै हो । गत वर्ष करिब ५ अर्ब रुपैयाँ मात्र विदेशी लगानी भित्रियो । यस वर्ष त्यत्रो संख्यामा पर्यटक नेपालमा आउँदा पनि देशलाई ६१ अर्ब मात्रै आम्दानी भयो । जब कि करिब ४४ अर्ब रुपैयाँ गत वर्षमा मात्रै नेपालीले विदेश भ्रमणबापत खर्च गरे । गत आर्थिक वर्षमा हामीले कृषिजन्य उत्पादन मात्र करिब २ सय ५६ अर्बको आयात गर्‍यौं । यसबाट के देखिन्छ भने हामीले व्यापक रूपमा उत्पादन वृद्धि गर्न, गरिबी न्यूनीकरण गर्न, राजस्वको आधार वृद्धि गर्न, समन्यायिक आर्थिक विकास गर्न र रोजगारी सिर्जना गर्न प्रत्यक्ष विदेशी लगानी भित्र्याउन मात्रै होइन, देशभित्रै रहेका उद्योगी व्यवसायीको मनोबल उच्च बनाउन र उनीहरूलाई राज्यका तर्फबाट हुने हरतरहको सहजीकरण तथा सबलीकरण गर्न अनिवार्य हुन्छ । मैले के भन्न खोजेको हुँ भने नेपालमा न अवसरको अभाव छ, न स्रोतसाधनको नै । त्यसैले हामीले देशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक भाष्यको रक्त सञ्चार गर्नुपर्दछ । समस्या तथा चुनौती हरेक देशमा छन् । सबै प्रकारका समस्या र चुनौतीहरूका बाबजुद हामी यो देशमै धेरै गर्न सक्छौं र सक्नैपर्छ । यसमा राज्य, बैंकिङ प्रणालीलगायत सबैले आफ्नो योगदान दिनैपर्छ । देशभित्र उत्पादन बढाउन आर्थिक गतिविधि बढाउन, रोजगारी सिर्जना गर्न र राजस्वको आधार बढाउन हामीले देशभित्रका सबै उद्योगी व्यवसायीको उच्च सम्मान गर्नैपर्छ । उनीहरूलाई सहजीकरण गरिदिनुपर्छ । अनि मात्र हामी सही दिशातर्फ जान्छौं । त्यसपछि मात्र प्रत्यक्ष विदेशी लगानी आउँछ । यसकारण अब सबै मिलेर अर्थतन्त्र चलायमान बनाउनुपर्छ । १० जना दसतिर फर्केर भएन । हामी सबैले जित्ने एउटै बाटो भनेको अर्थतन्त्रको समृद्धि हो ।

अन्त्यमा, अहिले बैंकहरूविरुद्ध केही जिम्मेवार अधिकारीहरूले समेत अभिव्यक्ति दिन सुरु गरेका छन् । खासमा लघुवित्तको ऋण नतिरौं भन्ने अभियान बैंकसम्म आइपुगेको देखिन्छ । यस विषयलाई कसरी हेर्नुभएको छ ?

नेपालमा लघुवित्तले पिरामिडको तल्लो तहमा रहेका गरिब तथा विपन्न परिवारको सबलीकरणमा ज्यादै ठूलो योगदान दिएका छन् । जस्तै क, ख र ग वर्गका वित्तीय संस्थाले गरेको कुल १८ लाखलाई धितो लिएर कर्जा दिएका छन्, जब कि लघुवित्तहरूले मात्र करिब २७ लाखलाई बिनाधितो कर्जा दिएका छन् । यो तथ्यलाई मनन गरेर हामीले लघुवित्त संस्थाहरूको आवश्यकता, योगदान र अपरिहार्यलाई दृष्टिगत गर्नेबित्तिकै समस्या समाधानको आधारशिला निर्माण हुन्छ । त्यतातर्फ जानैपर्छ ।

प्रकाशित : फाल्गुन १४, २०८० ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×