कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लघुवित्तको बेथिति अन्त्य गर्न १२ बुँदे घोषणापत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — लघुवित्तमा देखिएका विकृति विसंगति अन्त्य गर्न १२ बुँदे घोषणापत्र जारी चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सकिएको छ ।सम्मेलनले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

लघुवित्तको बेथिति अन्त्य गर्न १२ बुँदे घोषणापत्र

घोषणापत्रमा तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम फैलाऊ, गरिबीलाई शून्य बनाऊ’ अभियानलाई मुर्त रुप दिने उल्लेख छ ।

घोषणापत्रमा लघुवित्तमा देखिएका विकृति विसंगति अन्त्य गर्ने, सदस्य तथा संस्थाले समेटेका वर्गलाई सुसूचित गर्ने अभियान चलाउने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा सहजीकरण गर्ने, लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवा उद्यमी बनाउन सहयोग गर्ने, वातावरणमैत्री र उद्यमशील समाज बनाउन युवा परिचालन गर्ने, वातावरण अनुकुलता प्रवर्द्धन गर्न वातावरणमैत्री गाउँ निर्माण, प्रविधिमैत्री संस्था निर्माण र निष्क्रिय सदस्यलाई सक्रिय बनाउने अभियान चलाउने घोषणापत्रमा उल्लेख छ ।

समापन समारोहमा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले देशको आर्थिक अवस्था गम्भीर रहेकाले यस्तो अवस्थामा लघुवित्त तथा सहकारी क्षेत्रको भूमिका बढेर गएको बताए ।

‘लघुवित्त क्षेत्रले प्रत्यक्ष रुपमा समुदायमा रहेर काम गर्दै आएका छन्, यस क्षेत्रले वित्तिय अनुशासन पालना गर्दै सदस्यको हितमा रहेर काम गरेको अवस्थामा विपन्न नागरिकको अवस्थामा सुधार ल्याउन सहयोग पुग्छ,’ उनले भने, ‘अहिले यस क्षेत्रमा आएका विचलनलाई रोक्नको लागि गल्ती गर्नेलाई कारवाही र राम्रो गर्नेलाई संरक्षण गर्न राज्यजवाफदेही बन्नुपर्छ ।’

उनले लघुवित्त क्षेत्रलाई राजनीतिकरण गरेर यसकै नाममा आन्दोलन गर्ने क्रम बढेकोले यस्ता प्रवृत्ति रोक्न सबै पक्ष सहज रहनुपर्ने बताए । ‘वित्तीय संस्था डुब्नु भनेको आमनागरिकको बचत डुब्नु हो, यसतर्फ सरकारको ध्यान जान जरुरी छ’ उनले भने ।

प्रतिनिधि सभाका सांसद भगवती चौधरीले ६० लाख नेपाली गरिबीको रेखामुनि रहेको अवस्थामा झण्डै त्यत्तिकै सदस्य संख्यामा काम गर्ने लघुवित्त तथा सहकारी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताइन् ।

समापन कार्यक्रमका सभापति तथा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले सम्मेलनमा लघुवित्त तथा सहकारी क्षेत्रका समस्याका विषयमा गम्भीर समीक्षा भएको र घोषणापत्रमा उल्लेख गरिएका कुराहरुलाई समुदायस्तरमा गएर लागु गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

फागुन ५ र ६ गते दुई दिनसम्म चलेको सम्मेलनमा ८०० महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो । सम्मेलन हरेक दुई वर्षमा हुँदै आएको छ ।

प्रकाशित : फाल्गुन ६, २०८० २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

×