कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अफ्रिकन स्वाइन फिभरले गण्डकीमा ५० करोडको क्षति

अघिल्लो वर्षको जेठ २ देखि हालसम्म १६ हजार ५ सय ५४ वटा बंगुर मरे 
दीपक परियार

पोखरा — गण्डकी प्रदेशमा अफ्रिकन स्वाइन फिभर देखिएको २१ महिनामा ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । ०७९ जेठ २ देखि हालसम्म १६ हजार ५ सय ५४ वटा बंगुर मर्दा प्रत्यक्ष रूपमा उक्त रकम बराबरको क्षति पुगेको गण्डकीको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांक छ । 

अफ्रिकन स्वाइन फिभरले गण्डकीमा ५० करोडको क्षति

क्षति कास्कीमा बढी छ । कास्कीमा मात्रै १५ हजार ३ सय ९९ बंगुर मरेको तथ्यांक छ । उक्त संख्या कुल क्षतिको ९३ प्रतिशत हो । गत वर्ष जेठमा बंगुरमा लाग्ने संक्रामक रोग गण्डकीमा भित्रिँदा धेरै क्षति पुगेको थियो । यस वर्ष मंसिरमा पुनः उक्त रोग प्रदेशभित्र देखापरेको छ । मंसिरयता कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४, गोरखामा १३ गरी कुल १ सय १२ बंगुर मरेका छन् ।

कास्कीमा ठूलो संख्यामा बंगुर पालिएकाले क्षति पनि यही जिल्लामा बढी भएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत बालकुमार श्रेष्ठले जनाए । यो रोग आउनुपूर्व गण्डकीमा झन्डै १ हजार व्यावसायिक बंगुर फारम रहेकामा हाल एकतिहाइ मात्रै चालु अवस्थामा छन् । ४० हजारको संख्यामा पालिएका बंगुर घटाएर १० हजारमा झारिएको छ । कास्कीका १ सय २७ व्यावसायिक फार्ममा रोग आउनुअघि २० हजार बंगुर रहेकामा हाल ५ हजार मात्रै छन् । निर्देशनालयले १० प्रतिशतमा झार्न बंगुर पालक किसानलाई आग्रह गरेको छ । ‘बंगुर पालक किसान यतिबेला निकै समस्याग्रस्त अवस्थामा छन्,’ श्रेष्ठले भने, ‘धेरै फार्ममा सबै बंगुर मरेर रित्तै छन् ।’

उल्लिखित क्षति प्रारम्भिक आकलन मात्रै भएको निर्देशनालयकी महानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले बताइन् । ‘विशुद्ध बंगुर मरेको हिसाब मात्रै ५० करोड रुपैयाँ हो,’ उनले भनिन्, ‘त्यसबाहेक किसानले खोरलगायत भौतिक संरचना, दाना, पानीमा गरेको खर्च पनि जोड्दा दोब्बर, तेब्बर बढी क्षति पुगेको छ ।’ गत वर्ष उक्त रोग देखिएपछि व्यावसायिक किसानलाई कार्यालयमै बोलाएर बंगुर बिक्री गरेर घटाउन आग्रह गरेको सुनाइन् । ‘यो रोगको कुनै प्रभावकारी उपचार छैन । रोग लागेपछि बंगुरको मृत्युदर शतप्रतिशत छ,’ उनले भनिन्, ‘यसको रोकथाम गर्ने भनेकै जैविक सुरक्षा अपनाएर हो । त्यसका लागि भएका बंगुर बिक्री गरेर बीउ मात्रै जोगाउन किसानलाई आग्रह गरेका थियौं ।’ निर्देशनालयको सुझाव मान्ने व्यावसायिक किसानले समयमै बंगुर बेचेको र उनीहरूले राम्रो मूल्य समेत पाएको सेढार्इंले बताइन् । केही किसानले बेलैमा सुझावलाई गम्भीरतापूर्वक नलिँदा ठूलो क्षति भएको उनको भनाइ छ ।

निर्देशनालयले क्षति बेहोरेका किसानलाई राहतस्वरूप बंगुरका पाठापाठी खरिद गर्न चालु आर्थिक वर्षमा बजेटको समेत व्यवस्था गरेको छ । ‘किसानको आत्मविश्वास बढाउन एउटा बंगुरको पाठापाठी खरिद गर्न ४ हजार रुपैयाँ अनुदान दिने गरी पुनःस्थापना कार्यक्रम बनायौं,’ महानिर्देशक सेढाईंले भनिन्, ‘अहिले फेरि रोग देखियो । हामीले राहत भनेर दिने तर फेरि बंगुर मर्ने हो कि भनेर यो कार्यक्रम अगाडि बढाउन सकेका छैनौं ।’ उनका अनुसार कार्यालयमा प्रदेशका १ सय ६२ किसानले राहतका लागि आवेदन दिएका छन् ।

यो रोग पुनः देखिएपछि निर्देशनालयले रोग पुष्टि भएको क्षेत्रमा स्थलगत अध्ययन गर्ने, थप निगरानीका कार्य गर्ने, फार्म निःसंक्रमणका कार्य तथा जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । यो रोगको संक्रमण हुँदा सुंगुर, बंगुरमा उच्च ज्वरो आउने पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकीका प्रमुख डा. किरण पाण्डेले जनाए । शरीरमा नीलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता लक्षण देखिन्छन् । रोग लागेपछि सुंगुर, बंगुर तथा बँदेलको शतप्रतिशतसम्म मृत्यु हुन्छ । यो रोग मानिसमा भने सर्दैन ।

‘बंगुर भएका खोरमा यो रोगको भाइरस देखिएकै थियो, नभएकोमा पनि देखियो,’ पाण्डेले भने, ‘खाली भएको खोरमा बंगुरको दिशामा, भित्तामा, पानीमा लामो समयसम्म पनि यो भाइरहेको अनुसन्धानबाट देखिन्छ ।’ जैविक सुरक्षा र सचेतना नै यो रोगको उपचार र रोकथामको उपाय रहेको उनले दोहोर्‍याए । ‘विश्व पशु स्वास्थ्य संगठनले पनि यसको भ्याक्सिन प्रमाणित गरेको छैन,’ उनले भने, ‘यो भाइरस आइसकेपछि बंगुरको संख्या घटाउनु नै नियन्त्रणको उपाय हो ।’ बाहिरी व्यक्तिलाई खोरमा पस्न नदिने, बाहिरबाट खोरमा जाँदा निःसंक्रमणको विधि अपनाउने, खोरमा फोहोर व्यवस्थापन गर्ने, भोजभतेर, होटलबाट ल्याइएका जुठो खानेकुरा नखुवाउने, खुवाउनै परे ३० मिनेट पकाएर खुवाउनुपर्ने उनी सुझाउँछन् ।

रोग लागेको थाहा पाएपछि सक्दो चाँडै संक्रमित बंगुरलाई खोरबाट निकालेर मार्ने र गाड्ने नियन्त्रणको अर्को उपाय रहेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव टंकप्रसाद प्रसार्इंले बताए । तर त्यस्तो गर्दा किसानलाई राहत दिने प्रबन्ध सरकारले नगरेको उनको भनाइ छ । ‘हामीले किसानलाई बंगुर मारेर गाड भन्नलाई राहत दिनुपर्छ,’ उनले भने, ‘सरकारले महामारी घोषणा नगरेकाले त्यसरी राहत दिने नियमावली नै छैन ।’ रोगले बंगुर मरेर खोर नै बन्द गर्नुपर्ने अवस्थाका किसानले च्याउ खेती जस्ता वैकल्पिक खेतीका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने तयारी गरेको उनले सुनाए ।

प्रकाशित : फाल्गुन १, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×