२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

शान्ति वार्तास्थल बनाऔं

शान्तिका प्रणेताका रूपमा गौतम बुद्धलाई लिइन्छ । तसर्थ, विश्वमा अशान्ति, द्वन्द्व र युद्ध बढिरहेका बेला लुम्बिनी विश्व शान्तिको  मुहान हो भनेर सन्देश दिन जरुरी छ । यसको ब्रान्डिङ गरेर लुम्बिनीलाई शान्ति वार्ता स्थल बनाउन पनि सकिन्छ
वसन्त बिडारी

डेढ सय वर्षअघि बुद्ध जन्मस्थल लुम्बिनी कहाँ थियो ? कस्तो अवस्थामा थियो ? कसैलाई पत्तो थिएन । तथ्य माटोमुनि थियो । त्यसैले बुद्धग्रन्थमा लुम्बिनीबारे उल्लेख भएअनुसार तत्कालीन शासक र पुरातत्त्वविद्ले आफूअनुकूल व्याख्या गर्दै आएका थिए । बुद्ध जन्मस्थलबारे प्राचीन समयमा आएका चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका थिए ।

शान्ति वार्तास्थल बनाऔं

तिनै यात्रा विवरण लुम्बिनी खोजका आधार हुन् । विभिन्न समयमा आएका चिनियाँ यात्रीले बुद्ध जन्मेको स्थान र त्यहाँको वातावरणबारे उल्लेख गरेको पाइन्छ । उनीहरूको विवरणमा लुम्बिनीमा अशोक स्तम्भ रहेको उल्लेख छ । पुस्करणी पोखरीबारे उल्लेख गरिएको छ । बोधीवृक्ष रहेको र आसपासको प्राकृतिक अवस्थाबारे प्रस्ट लेखेका छन् । तर, लुम्बिनीको उक्त तथ्य लामो समय ओझेलमा परेको थियो ।

हाम्रो मुलुकमा लुम्बिनीको खोजबिनका लागि धेरै चासो थिएन । तत्कालीन समयका राणा शासकले विदेशीलाई नेपाल प्रवेशमा कडाइ गरेका थिए । मुलुकमै खोज अनुसन्धानको अवस्था शून्य थियो । त्यसैले बुद्ध जन्मस्थल भारतको उत्तर प्रदेश आसपास रहेको अनुमान मात्रै गरिन्थ्यो । तत्कालीन इस्ट इन्डिया कम्पनीअन्तर्गतका पुरातत्त्वविद् बुद्ध जन्मस्थलको खोजीमा थिए । चिनियाँ यात्रीका विवरण पछ्याउँदै खोज गर्ने क्रममा सन् १८९६ डिसेम्बर १ मा लुम्बिनी पुनः पत्ता लागेको थियो । त्यसपछि बुद्ध जन्मस्थलबारे विश्वलाई जानकारी भयो ।

जब लुम्बिनी पत्ता लाग्यो, त्यसपछि एक–दुई जना तीर्थयात्री आउन थालेका हुन् । सुरुवातमा आफैं खानेकुरा लिएर, ओढ्ने, ओछ्याउने बोकेर लुम्बिनी अवलोकन गर्न आउन थाले । त्यसबेला आवागमन सहज थिएन । लामो समय लगाएर खोज्दै डुल्दै आउँथे । बिस्तारै बुद्ध जन्मस्थलबारे प्रचार हुन थालेपछि श्रद्धालु आउने क्रम बढ्न थाल्यो । सन् १९५५/६० तिरबाट दुई/चार जनाको समूहमा आउन थाले । लामो अवधि लुम्बिनीमा आवासको व्यवस्था थिएन । पर्यटक आए पनि आफैंले बास खोजेर बस्नुपर्थ्यो ।

सन् १९८२ सम्म लुम्बिनीमा होटल लज खुलेका थिएनन् । सन् १९८५ सालमा पडरियामा ४ कोठा र दुईवटा डर्मोटरी भएको बुद्ध होटल खुलेको थियो । त्यही नै पहिलो पाहुना घर थियो । त्यो पनि उच्चपदस्थ व्यक्तिको आवासका लागि बनाइएको थियो । अहिले तारे स्तरका ४ होटलसहित लुम्बिनीमा ७२ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । लुम्बिनीको पर्यटकीय सम्भावना देखेरै यसरी धेरै होटल रेस्टुरेन्ट खुलेका हुन् । यहाँ धेरै तीर्थयात्री र पर्यटक आउँछन् । उनीहरू होटलमा बस्छन् । पैसा तिर्छन् । तीर्थयात्रीका कारण लुम्बिनीको मात्र नभएर समग्र जिल्लाको व्यापार व्यवसाय फस्टाएको छ । कमाइ हुन्छ भनेर धेरै लगानीकर्ता लुम्बिनीमा केन्द्रित हुन थालेका छन् ।

लुम्बिनीको ब्रान्डिङ गर्ने काम ४० वर्षअघि सुरु भएको हो । सुरुवाती र अहिलेको अवस्था तुलना गर्दा लुम्बिनीले आर्थिक छलाङ मारेको छ । यहाँ ३ देखि ५ तारे होटल सञ्चालनमा छन् । लुम्बिनी परिसरमा दुईवटा जापनिज नामका तारे होटल छन् । अन्य होटल पनि उस्तै खुलेका छन् । अझै खुल्ने क्रममा छन् । तीर्थालु आगमनका दृष्टिकोणबाट लुम्बिनीको अवस्था उकासिएको छ ।

लुम्बिनी बौद्ध धर्मावलम्बीको स्थापित र महत्त्वपूर्ण तीर्थस्थल हो । तर, यहाँ तीर्थयात्री आउजाउ गर्दा के–के कुराले समस्या पारिराखेको छ भन्नेबारे धेरैको ध्यान जान सकेको छैन । नेपाल–भारत दुवैतर्फका सीमामा विदेशी तीर्थयात्रीले निकै समस्या झेल्नु परिरहेको छ । मुलुकमा आउने तीर्थयात्रीका लागि भारतीय इमिग्रेसनमा पूरा गर्नुपर्ने कागजी प्रक्रियालाई झन्झटिलो बनाइएको छ । लामो फर्म भर्नुपर्छ । कुनै पनि मुलुकबाट बाहिरिने व्यक्तिका लागि धेरै विवरण भरिरहनु नपर्ने हो । तर, भारतीय अध्यागमनमा घण्टौं लाम लागेर झन्झटिलो फर्म भर्नुपर्छ । पाहुनाले भारत प्रवेश गर्नासाथै आफ्नाबारे विस्तृत विवरण बुझाइसकेका हुन्छन् । त्यही विवरण फेरि किन भराउनु परेको होला जस्तो लाग्छ ।

भारतमा प्रक्रिया पूरा गरेर नेपाल भित्रिएपछि तीर्थयात्रीले झन् सास्ती खेप्नुपर्छ । नेपालतर्फको अवस्था पनि विजोग छ । अहिले नाकामा डिजिटल फर्म भर्नुपर्छ । नेपाली इमिग्रेसनमा पुगेर इन्टरनेट कनेक्ट गरेपछि मोबाइलमा डिजिटल फर्म आउँछ । त्यो फर्म पाहुनाले भर्नुपर्छ । फर्मका सबै विवरण अंग्रेजीमा हुन्छन् । लुम्बिनी आउने तीर्थयात्रीमध्ये अंग्रेजी नजान्ने पनि हुन्छन् । त्यस्ता व्यक्तिले कसरी भर्ने ? चिन्ताको विषय छ । सबै तीर्थयात्री धनीमानी र पढेलेखेका हुँदैनन् । कतिपय गाउँतिरबाट आउने पनि हुन्छन् । कतिपयको साथमा मोबाइल पनि हुँदैन । मोबाइलमा वाईफाई लगइन गरेपछि मात्र फर्म आउँछ । त्यो भर्नुपर्छ । मोबाइल नहुनेले कसरी फर्म भर्ने ? फर्म भर्न नजान्नेलाई उस्तै गाह्रो भइरहेको देखिन्छ । समूहमा लुम्बिनी आउने धेरै हुन्छन् । त्यस्तोमा समूहको फर्म भर्न दिनभरि लाग्छ । नाकामा दिन कटाउनु परेपछि कसरी लुम्बिनी घुमाइ हुन्छ । छोटो अवधिमा लुम्बिनीबारे के जानकारी पाउन सक्छन् ?

पहिला नाकामा लिखित फर्म हुन्थ्यो । बाहिर ल्याएर अरूले पनि भर्न सहयोग गर्थे । अहिले डिजिटल फर्म भर्न आफैं उपस्थित हुनुपर्छ । मेरै आँखाले एउटा ग्रुपले प्रक्रिया पूरा गर्न ६/६ घण्टासम्म सीमामा बस्नुपरेको देखेका छन् । यसले तीर्थयात्रीलाई दुःखी बनाउँछ । दुवै मुलुकले मिलेर तीर्थयात्रीलाई कसरी सहज बनाउन सकिन्छ भन्नेतिर लाग्नुपर्छ । लुम्बिनीमा आउने ९७ प्रतिशत विदेशी तीर्थयात्री भारत हुँदै आउने गरेका छन् । सीमाको समस्याले भारतीय ट्राभल एजेन्ट पनि वाक्क भइसके । तीर्थयात्रीको समूहले लुम्बिनी जाऔं भने पनि भारतीय ट्राभल एजेन्टले नेपाल जानै झन्झटिलो छ भन्ने गरेका छन् । ४/५ घण्टा सीमामै लाग्छ । कतिखेर पुगेर कति खेर घुम्ने भन्दै प्रश्न गर्ने गरेका छन् ।

कसरी ब्रान्डिङ गर्ने ?

बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने तथ्यले यसको विश्वव्यापी ब्रान्डिङ गरिरहेको छ । त्यसमाथि विश्व सम्पदा स्थलमा सूचीकृत भएपछि लुम्बिनीको चर्चा बढ्यो । त्यसपछि झन् प्रचार भयो । यत्तिको प्रचारले अब पुग्दैन । लुम्बिनीमा आउने पर्यटक लक्षित गरेर धेरै लगानी भइसकेको छ । रूपन्देही मात्र नभएर कपिलवस्तु र पश्चिम नवलपरासीका बौद्धस्थलमा समेत पर्यटक लक्षित लगानी हुने क्रम बढेको छ । त्यसैले अहिलेकै प्रचारप्रसारले अब धान्दैन ।

लुम्बिनी ब्रान्डिङका धेरै पक्ष छन् । त्यसलाई हामी पहिचान गर्न सकेका छैनौं । मूलतः लुम्बिनीलाई विश्व शान्तिको मुहान भनेर ब्रान्डिङ गर्नुपर्छ । सन् १९९८ मा ‘लुम्बिनी विश्व शान्तिको मुहान’ भनेर मूल नारा बनाइएको थियो । तर, नारा बनाएर मात्र जति ब्रान्डिङ हुनुपर्थ्यो, त्यति हुन सकेन । त्यसैले विश्व शान्तिको सन्देश दिने र बौद्ध धर्मावलम्बी एकपटक लुम्बिनी पुग्नैपर्ने गौतम बुद्धको सन्देशलाई व्यापक र फराकिलो बनाएर ब्रान्डिङ गर्नुपर्ने बेला छ । विश्वमा अशान्ति, द्वन्द्व र युद्ध बढिरहेका बेला लुम्बिनी विश्व शान्तिको मुहान हो भनेर सन्देश दिन सक्नुपर्छ । शान्तिका प्रणेताका रूपमा गौतम बुद्धलाई लिन सकिन्छ । यसको ब्रान्डिङ गरेर लुम्बिनीलाई शान्ति वार्तास्थल बनाउन सकिन्छ ।

बुद्धले भ्रातृत्व, करुणा, माया दया प्रेमको प्रादुर्भाव गरेका थिए । अन्य धर्ममा यी कुरा भए पनि बढी प्राक्टिकल रूपमा बुद्धले व्याख्या गरेका छन् । जुन सुन्दाखेरी नै सर्वसाधारणको जीवनमा सजिलै प्रयोग गर्न सकिन्छ । यी कुराको अनुभूति गर्न, जीवनलाई राम्रो र सकारात्मक बनाउन र शान्तिको ऊर्जा लुम्बिनीबाट पाइन्छ भन्नका लागि पनि लुम्बिनी जानुपर्छ भन्ने सन्देश दिन विश्व शान्तिको मुहान लुम्बिनी हो भनेर व्यापकता गर्न आवश्यक छ ।

जीवनको अन्तिम घडीमा बुद्धले आफ्ना श्रद्धालु/अनुयायीसित भनेको कुरालाई लुम्बिनीको ब्रान्डिङको आधार बनाउन सकिन्छ । कुशीनगरमा महापरिनिर्वाणपूर्व बुद्धले अनुयायीलाई आफ्नो जीवनका महत्त्वपूर्ण चार स्थलमध्ये सुरुमा लुम्बिनीमा पाइला टेक्न सम्झाएका थिए । जुन कुरालाई हामीले प्रचार गर्न सकेका छैनौं । अझ भनौं बुद्धको यति महत्त्वपूर्ण वाणी गौण बनेको छ । यसरी हेर्दा बुद्धले नै आफ्नो जन्मस्थलको प्रचार गरिसकेका छन् । मृत्युअघि बुद्धले आफ्ना अनुयायीलाई चार स्थल पुग्नैपर्ने बताएका थिए । आफू जन्मेको स्थान लुम्बिनी, ज्ञान प्राप्त गरेको बौद्धगया, पहिलो पटक धर्मदेशना गरेको सारनाथ र महापरिनिर्वाण मिलेको कुशीनगर पुग्नैपर्ने बताएका थिए ।

बुद्धका समकालीन गुरु, शिक्षक र अनुयायी कसैले यसरी आफ्नो मृत्युपश्चात् लुम्बिनी जानु भनेको पाइँदैन । अन्य धर्मावलम्बीका अगुवा र जन्मदाताले पनि सन्देश दिएको पाइँदैन । तर, बुद्धले त्यस बेलै लुम्बिनीको ‘ब्रान्डिङ’ गरिसकेका हुन् । बौद्ध धर्मावलम्बीको दिग्गनिकायको महापरिनिर्वाण सूत्रमा मृत्युशय्यामा पुगेका बेला बुद्धले अनुयायीलाई यी चार ठाउँ पुग्नुपर्ने बताएको उल्लेख पाइन्छ । बुद्धले ती ठाउँमा श्रद्धा, भक्ति र चेतनशील भएका जानु भनेका छन् । त्यो ठाउँ तिमीहरूलाई वैराग्य जगाउने ठाउँ हो । यस्ता ठाउँमा बुद्धले आफ्नो आध्यात्मिक इनर्जी छोडेको हुनुपर्छ । त्यही भएर श्रद्धालु आउनासाथ यहाँ स्वर्णिम अनुभूति पाउने विश्वास गरिन्छ । यस्तो ठाउँमा भक्ति र श्रद्धाका साथ कोही आएको छ भने त्यो चिजले छुन्छ । वैराग्य आउनु भनेको नाशवान् चिजसँग नजिक नहोऊ भन्ने नै हो । त्यसैले बुद्धधर्ममा यी ४ ठाउँ अनित्यताको बोध गराउने स्थान हुन् ।

बुद्धले लुम्बिनी पुग्नु भनेर दिएको सन्देशलाई मनन गरेर प्रचारमा ल्याई मार्केटिङ गरेको पाइँदैन । बुद्ध जन्मस्थल भनेर मात्र रटान गरिएको छ । ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर ट्रक वा गाडीमा लेखेको भरमा मार्केटिङ हुँदैन । आस्थापूर्ण र सबैलाई छुने नारा बनाएर ब्रान्डिङ गर्नुपर्छ । भारतीयले पनि यसरी मार्केटिङ गरेका छैनन् । भारतमा बुद्धसँग सम्बन्धित ७ वटा स्थल छन् । कपाल नहुने मान्छेलाई जसले काइयो बेच्न सक्यो त्यो राम्रो ब्रान्डिङ हो । जसको कपाल छैन, उसैलाई काइयो बेच्न सक्ने राम्रो व्यापारी हो । यो तरिका भारतीयसँग छ । तर, हामी धेरै ठाउँमा चुकेका छौं ।

बुद्धिष्ट सेक्टरको विकास, संरक्षण र प्रवर्द्धनमा भारतीय निकै अघि छन् । सडक, हवाई बाटोघाटो र होटलमा उनीहरू निकै अघि छन् । बुद्धस्थलका कनेक्टिभिटी राम्रो बनाएका छन् । सीमाको भारतीय भूमिमा रहेको पिपरहवाका बारेमा यस्तो माहोल बनाइदिन्छन् कि नेपालमा रहेको वास्तविक कपिलवस्तु (राजा शुद्धोदनको दरबार) का बारेमा उनीहरू सोच्नै पाउँदैनन् । उनीहरूले शुद्धोदनको राजप्रासाद पिपरहवा नै हो भन्दै रटान लगाउँछन् ।

नेपालमा बुद्धसँग सम्बन्धित रहेर बुद्धको जन्मस्थललगायत ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक स्थलको राम्रो प्रचार गर्नुपर्छ । यी क्षेत्रको आकर्षणलाई श्रव्यदृश्यमा कैद गरेर पेनडाइभ र एसडी कार्डमा राखेर विदेशी पर्यटकलाई दिनुपर्छ । ब्रोसर पनि बनाउनुपर्छ । हिमाल–पहाडमा घुम्न आउने विदेशी पर्यटकलाई भिसा दिने ठाउँमै पेन डाइभ र एसडी कार्ड दिन सकियो भने उनीहरूमा के रहेछ भनेर उत्सुकता हुन्छ । त्यसपछि उनीहरू आइटिनरी परिवर्तन गर्न बाध्य हुन्छन् । एक–दुई दिनका लागि भए पनि बुद्धस्थलतर्फ जान आकर्षित हुनेछन् । लुम्बिनीका बारेमा जानकारी नै नभएकाहरू विदेशमा प्रचारप्रसारमा गएको भेटिन्छन् । उनीहरूलाई कसले त्यहाँ पठाउँछ, बडो अचम्म लाग्छ । नेपाल पर्यटन बोर्ड लुम्बिनीको प्रचारप्रसारमा प्रभावकारी देखिन्न । बोर्डले लुम्बिनी, कपिलवस्तु र रामग्रामका कतिवटा ब्रोसर छाप्यो त ? अहिले सोध्नुपर्ने अवस्था आएको छ । लुम्बिनीको प्रचारका लागि मैले लेखेको पुस्तक नेपाली, अंग्रेजी, जापानी, श्रीलंकाली, बर्मेलीका अतिरिक्त थाई, चिनियाँ, हिन्दी, तिब्बती र नेवारीलगायत १० भाषामा प्रकाशित छ । विदेशी तीर्थयात्रीले लुम्बिनीबारे आफ्नै भाषामा पढ्न पाउँदा निकै आनन्दित हुन्छन् । यस्तो काम गर्दा न सरकारले हौसला दिन्छ, न त धन्यवाद नै ।

आफ्नै भाषामा पुस्तक पाउँदा सन् २०१० मा एक जापानीले ९ सय प्रति पुस्तक खरिद गरेका थिए । पुस्तक पढेपछि लुम्बिनी नेपालमा पर्छ भनेर उनले अचम्म माने । जापानमा बुद्धको जन्मस्थल भारतमा पर्छ भनेर पढाइन्छ । ‘अब म यो पुस्तक लगेर विद्यालयमा दिन्छु, सरकारलाई पनि पाठ्यपुस्तक सच्याउन भन्छु’ भनेर ती जापानी स्वदेश फर्किए । धेरैलाई लुम्बिनी नेपालमा पर्छ भन्ने थाहा नै छैन । यो पुस्तकले पनि त्यसलाई चिर्ने काम गरेको छ ।

लुम्बिनीको प्रमोसनका लगि सबैको उत्तिकै दायित्व छ । होटलहरूको काम खाना ख्वाउने र सुताउने मात्रै होइन । उनीहरूको पनि दायित्व छ । होटलमा बुद्धस्थलका आकर्षित ब्रोसर राख्ने, राम्रो आतिथ्यता गर्ने र टेलिभिजनमा बुद्धस्थलका वृत्तचित्र लगाइदिएर आकर्षण थप्ने काम पनि गर्न सकिन्छ । होटलमा रुम बुकिङ गरेर साँचो लिउन्जेल कपिलवस्तु र रामग्रामको आकर्षण देखाउन सकियो भने उनीहरूमा लेन्थ अफ स्टे पनि बढ्न सक्छ ।

राम्रो बाटो र एयर रुट नहुँदा पनि समस्या भइरहेको छ । भैरहवा र पोखराको एयरपोर्ट चलेका छैनन् । चल्न नसक्ने भए नबनाएको भए हुन्थ्यो । अर्को विडम्बना काठमाडौं–बैंककको एकतर्फी भाडामा बैंकक–कलकत्ता दोहोरो टिकट पाइन्छ । त्यही भएर धेरै पर्यटक तीर्थयात्री उता जान सजिलो मान्छन् । उता गएपछि उनीहरूको यातायातको कनेक्टिभिटी राम्रो छ । चारैतिर घुमेर अन्तिममा पैसा बचे यता आउँछन्, नभए उतैबाट फर्किन्छन् । यता नेपालमा विदेशीलाई हवाई भाडा दोब्बर पर्छ । अनि कसरी नेपाल आउन उत्साहित हुन्छन् त ? काठमाडौंबाट भैरहवा आउन नै विदेशीलाई झन्डै १४/१५ हजार पर्छ । बसमा आउन ८/१० घण्टा लाग्छ । भारतले बौद्ध पर्यटन राम्रो बुझेको छ । त्यही भएर लगानी पनि गरेको छ ।

लुम्बिनीलाई राजनीतिबाट मुक्त गर्न सक्यो भने मात्र यसको बृहत्तर विकासमा टेवा पुग्छ । अन्यथा बिग्रनुको विकल्प छैन । विश्वकै उत्कृष्ट गुरुयोजना बनाउनेमा पर्छन् जापानी वास्तुकलाविद् केन्जे टाँगे । उनले नै लुम्बिनीको गुरुयोजना पनि बनाएका हुन् । सिंगापुर सिटी उनले दुई वर्षमा डिजाइन गरेका थिए । जुन अहिले विश्वकै व्यवस्थित, विकसित र उत्कृष्ट सहरमा पर्छ । लुम्बिनी गुरुयोजना उनले ६ वर्ष लगाएर डिजाइन गरेका थिए । एउटा कागजको पन्नाभित्र बुद्धको सिंगो दर्शन झल्काएका थिए । तर, अहिलेका कोषका नेतृत्वकर्ताले उक्त गुरुयोजनालाई खोस्टो सावित गरिदिएका छन् ।

(विडारी लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्त्व विभाग प्रमुख हुन् ।)

प्रकाशित : चैत्र १८, २०८० ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?