कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

‘कम्बोडियाको टेलिकममा पनि मेरो लगानी छ, एनसेलमा जोखिम मोलेको हुँ’

सायद कुनै दिन एनसेलको पूर्ण स्वामित्व नेपालीकै हुन्छ । अहिले सुरुआत भएको छ ।

नेपाली मूलका सिंगापुर नागरिक सतिशलाल आचार्य अहिले नेपालका सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्चा र आलोचनाको शिखरमा छन् । यसअघि नै निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलमा श्रीमतीमार्फत २० प्रतिशत स्थानीय साझेदार रहेका आचार्यले आजिएटा युकेसँग स्पेक्ट्रलाइट युकेमार्फत पूर्ण स्वामित्व खरिद गरेका छन् । त्यसयता उनी चासो र जिज्ञासाका पात्र बनेका हुन् ।

‘कम्बोडियाको टेलिकममा पनि मेरो लगानी छ, एनसेलमा जोखिम मोलेको हुँ’

अपारदर्शी कारोबार र भविष्यमा एनसेल सरकारी स्वामित्वमा जान नदिन ‘चलखेल’ गरिरहेको भन्दै उनको आलोचना भइरहेको छ । सामाजिक सञ्जालदेखि आमसञ्चार माध्यममा खासै नदेखिने सतिशसँग ई–कान्तिपुरका लागि कृष्ण आचार्यले गरेको टेलिफोन कुराकानीको सम्पादित अंश :

दूरसञ्चार नियमावली, २०५४ अनुसार चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार त तपाईंंहरूले अनुमति नलिइकनै खरिद–बिक्री गरेको देखियो । नियामक निकायलाई किन यति धेरै बेवास्ता गर्नु भएको हो ?

हामीले आजिएटा युकेसँग सेयर खरिद गर्ने कागजातमा शुक्रबार मात्रै हस्ताक्षर गरेका हौँ । शनिबार र आइतबार छुट्टी भयो, सोमबार त हामीले प्रेस रिलिज निकालेर दूरसञ्चार प्राधिकरणसँग सम्पर्क गरी चिठी लेखिसकेका छौँ । खरिद–बिक्री सम्झौतामा हस्ताक्षर नै नगरिकन कसरी अनुमती लिन जाने ? आजिएटाले आफ्नो सेयर बिक्री गर्ने प्रतिस्पर्धा मसँग मात्रै गरेको होइन, अन्य लगानीकर्ता पनि सहभागी थिए । आजिएटाले धेरैजना लगानीकर्तामाझ बोलकबोल प्रक्रिया गर्दा उसले कसलाई छान्छ भन्ने, कसैलाई थाहा थिएन । कसले पाउँछ भन्ने थाहै नपाई स्विकृति लिन जाने कुरा भएन । जुन दिन थाहा भयो, त्यसको लगत्तै हामी प्राधिकरणमा गएका छौं ।

हाल खरिदकर्ताको हिसाबले तपाईंंको यो तर्क मान्न सकिएला, तर यसअघि पनि बिक्रेता आजियटासँगको तपाईं स्थानीय साझेदार पनि हो । यसको अर्थ एनसेलको संस्थापन हो तपाईंं । आजिएटाले ‘म एनसेलको शेयर बिक्री गर्दै छु’ भनेर पूर्वस्विकृति लिनुपर्थ्यो होला नि ?

आजिएटाको तर्फबाट मैले बोल्न मिलेन । हाम्रोतर्फबाट चाहिँ हामीले सम्झौतामा हस्ताक्षर गर्नासाथ प्राधिकरणमा गएका छौँ । प्राधिकरणलाई सूचना दिएर उहाँहरूले जे–जे कागजपत्र माग्नु हुन्छ, उपलब्ध गराउँछु भनेका छौं ।

अहिले कारोबारको मूल्यांकन तथा मूल्यका सन्दर्भमा पनि प्रश्न उठेका छन् । आजिएटाले शुरुमा ५० मिलियन डलर (६ अर्ब ६५ करोड) मा बिक्री गरेको भनेर प्रेस विज्ञप्ती जारी गर्यो । तर यसको वास्तविक कारोबार चाहिँ ५०० मिलियन डलर (६६ अर्ब ५० करोड) हो भन्ने कुरा छ । फेरि ४० करोड डलर (करिब ५३ अर्ब) भनेर अर्को विज्ञप्ती निकाल्नु भएको छ । मूल्यका सन्दर्भमा फरक- फरक तथ्यांक किन ? के छल गर्न खोज्नु भएको हो ?

आजिएटाको विज्ञप्तीमै ५० मिलियनको एउटा सर्त छ । तर, त्यसका विविध पक्षहरू (भेरिएबल्स) छन् । आजिएटालाई हामीले हरेक वर्ष फरक–फरक राशी बुझाउनुपर्छ । मिडियाले सम्झौताका अंकहरू मात्र हेरे, त्यसमा रहेका विभिन्न सर्तहरू हेरेनन् जस्तो लाग्छ । एनसेलको बैंक ऋण लगायत दायित्व पनि छन् । यी सबै जोड्दा ४ सयदेखि ४५० मिलियन डलर हाराहारी पुग्छ । यी शर्तबापतका रकम (भेरिबल) ठ्याक्कै कति हुन्छ भनेर अहिले नै भन्न सकिँदैन । तर, हाराहारीमा ४ सयदेखि ४५० मिलियन डलर हुन आउँछ ।

यो सम्झौताको रोचक पक्ष भनेकै आजिएटाले अहिले शेयर स्वामित्व बिक्री गरे पनि लाभांश भने सन् २०२९ सम्म नै पाउने सर्त हो । मलेसियन सरकारको समेत लगानी रहेको कम्पनी बाहिरिने तर आम्दानी भने लिइरहने । यसको अर्थ के हो ?

सन् २०२९ सम्म एनसेलले जति मुनाफा आर्जन गर्छ, त्यसको लाभांस हामीले आजिएटालाई दिनुपर्छ, भेरिएबल्स भनेको त्यही हो । उनीहरूलाई निश्चित मुनाफा दिँदै गर्नुपर्छ । यस कम्पनीको सेयर कारोबारको ‘इन्टरप्राइज भ्यालु’ चाहिँ करिब ४० करोड डलरजति हुन्छ ।

यसरी पछिसम्म पनि आजिएटाले एनसेलबाट लाभांस लिने भएपछि ऊ नेपालबाट पूर्ण रूपमा बाहिरिएको मान्ने कि आजिएटा यसमा छँदै छ भन्ने हो ?

मान्न त पूरै हिसाबले बाहिरिएकै मान्नुपर्छ । एनसेलको सम्पूर्ण सेयर मैले लिइसकेको छु । भविष्यमा समेत आजियटा एनसेलमा फर्कने छैन । तर, लेनदेनको संरचनाअनुसार आम्दानीबाट निश्चित रकम आजिएटालाई दिनुपर्छ । यो चाहिँ बेच्न इच्छुक र किन्न इच्छुक दुई पक्षबीचको आपसी समझदारीमा तय भएको विषय हो । हामी प्रतिस्पर्धी तरिकाबाट यो डिल गर्न सफल भएका हौँ । यो प्रतिस्पर्धामा अरू लगानीकर्ताहरू पनि सहभागी थिए, नेपाली पनि सहभागी थिए, भारतीय पनि थिए । सबैले आफ्नो बोलकबोल लगाएका थिए, हामीले पनि लगायौँ । त्यसमध्ये आजिएटालाई सबैभन्दा राम्रो जुन लाग्यो, त्यही छानेको हो । त्यसमा हामी परेका हौँ ।

अरू कतिवटा कम्पनीहरूबीच प्रतिस्पर्धा भएको थियो ? नेपाली कम्पनी को -को थिए ?

ठ्याक्कै यतिवटा थिए भनेर भन्न सकिएन । तर धेरैवटा कम्पनीबीच प्रतिस्पर्धा भएको हो । कतिवटा कम्पनी थिए ? को–को थिए भन्नेबारे आजिएटाले भन्ला । सबैथोक हामीलाई भन्दैनन् । उनीहरूले खुलेर त भनेका छैनन् तर मैले सुनेअनुसार नेपाली र भारतीय लगानीकर्ताहरू पनि यो सेयर खरिदको प्रतिस्पर्धामा थिए ।

तपाईंको एनसेल खरिदलाई लिएर संसद र सरकारभित्र प्रश्न उठेअनुसार अनुमतीपत्रको २५ वर्षे म्याद गुज्रिएपछि कम्पनीको स्वामित्व सरकारमा हस्तान्तरण हुने भन्ने व्यवस्थालाई छल्न यो डिल गरिएको भन्ने छ । तपाईंले यो कम्पनी सरकारीकरण हुनबाट रोकी आफैँले हत्याउन यो डिल भएको भन्ने आरोपमा के भनाइ छ ?

अहिले पनि शेयरहोल्डिङ त बाहिर अर्थात विदेशी कम्पनीकै छ । जबसम्म २५ वर्ष पुग्दैन, अथवा २४ वर्ष ११ महिना २९ औं दिनसम्म त केही पनि परिवर्तन भएको छैन नि, छ र ? भोलि के हुन्छ त्यो मैले के भन्न सकुँला र ? हामीले नेपालीलाई नै बेचौँला कि, नबेचौँला कि । नेपालको दूरसञ्चार ऐनअनुसार २५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्छ, त्यो कानुन त मान्नैपर्छ । विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकाले नेपालले विदेशी र नेपालीलाई बराबर प्रोत्साहन गर्नुपर्छ भन्ने अर्को पक्ष पनि छ । अन्य देशमा प्रोत्साहन गरिन्छ, नेपालले पनि गरे राम्रै हुन्थ्यो । तर नेपालको कानुन जे छ, त्यो त हामीले मान्नै पर्यो । यद्यपी, एनसेलको म्याद सकिन अझै समय बाँकी छ ।

तपाईं गैरआवासीय नेपाली हुनुहुन्छ । त्यस नाताले तपाईंलाई राजनीतिकभन्दा बाहेक सांस्कृतिक, आर्थिक लगायत अधिकार नेपाल सरकारले दिनेगरी सुनिश्चितता गरिदिएको छ । यो सुविधा उपयोग गरी 'म नेपाली नागरिक हुँ, कानुनले दिएको सुविधाअनुसार अब यो कम्पनी सरकारीकरण हुनुहुँदैन' भनेर आफैसँग राख्नु हुन्छ कि सेयर स्वामित्व परिवर्तन गराएर पुन: सरकारको हुनबाट रोक्ने प्रयास हो ?

हामीले एनसेल आजिएटाको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट युकेबाट किनेका हौँ । स्पेक्ट्रलाइट विदेशी कम्पनी हो । यसबाट हामीले नेपालको हितको लागि लगानी गर्छौं । एकजना नेपालीले पहल गर्दा नेपालमा उल्टो हिसाबले हेर्ने चलन छ, योभन्दा बढी के भनौँ र । हाललाई यो कम्पनी हामीले किनेका छौँ, नेपालमा केही गर्छौँ भनेर हामी आएका हौँ । मैले आजिएटासँग मागेर पाएको कम्पनी होइन, उसले प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट हामीलाई छानेको हो । बोलकबोलबाट जो पनि छानिन सक्थ्यो । स्पेक्ट्रलाइटको सट्टा भारतीय कम्पनी छानिएको भए तपाईं यही प्रश्न उसलाई गर्नुहुन्थ्यो ? हामी त केही गर्छौं भनेरै आएका हौँ ।

त्यसो हो भने तपाईंको नेपालमै दर्ता भएको र एनसेलमा पहिले नै २० प्रतिशत शेयर स्वामित्व रहेको सुनिभेरा क्यापिटल भेन्चरबाट एनसेल आजिएटाको ८० प्रतिशत शेयर खरिद नगरेर किन बेलायतमा नयाँ कम्पनी खोली त्यताबाट कारोबार गर्नु भयो ?

लजिस्टिक्सको पनि कुरा हुन्छ । सायद कुनै दिन एनसेलको पूर्ण स्वामित्व नेपालीकै हुन्छ । अहिले शुरुवात भएको छ । म नेपाली भए पनि बस्ने त विदेशमै हो । म सिंगापुरमा बस्छु । नेपालबाहेक अरू धेरै देशमा मेरा काम छन् । मैले एनसेलको ८० प्रतिशत शेयर खरिद गर्नकै लागि स्पेक्ट्रलाइट खोलेको हुँ । हाल यसमा म एक्लै छु ।

नेपालमा केही गर्न आएको भन्नुभयो । तर, दुरसञ्चार व्यवसायको आम्दानी र मुनाफा घट्दो रहेको विश्लेषण आइरहेको छ । एनसेलको बैंक ऋण, कर, नविकरण शुल्क लगायत दायित्व पनि ठूलो छ । यो अवस्थामा तपाईंले के देखेर जोखिम मोल्नु भयो ? केही न केही ‘गेम’ त पक्कै होला ?

बिजनेस भनेको यस्तै हो, जुनसुकै व्यापार राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ । नेपालमा कतिपय बैंकले राम्रो गरेका छन्, कतिपयले नराम्रो गरेका छन् । कतिपय बिमा कम्पनीले राम्रो गरेका छन्, कुनैले छैनन् । व्यापार हो, जोखिम हुन्छ, मैले जोखिम मोलेको हुँ । मैले नेपालमा मात्रै व्यापार गरेको छैन, अरू देशमा पनि टेलिकम कम्पनी चलाएर र तिनमा लगानी गरेर बसिरहेको छु । टेलिकमबाहेक अरू कामहरू पनि गरिरहेको छु । व्यापार गर्दा अलिकति रिस्क त हुन्छ । पहिले ८ वटाजति देशका टेलिकम क्षेत्रमा हामीले लगानी गरेका थियौँ । अहिले चाहिँ म कम्बोडियाको टेलिकम क्षेत्रमा छु । कम्पनीलाई तलबाट माथि लग्ने, देशलाई राम्रो डिजिटल सेवा दिने, नेपालीहरूलाई समृद्ध बनाउने, देशभर सेवा विस्तार गर्नेमा हाम्रो प्रयत्न हुनेछ । व्यापार गरेपछि कसरी त्यसलाई बढाउने भन्ने योजना त हामीसँग भइहाल्छ । हाम्रो व्यापार बढे सरकारको पनि राजश्व बढ्छ ।

मंगलबार मात्रै सत्तारुढ गठबन्धनको बैठकले एनसेल शेयर खरिद–बिक्रीलाई अपारदर्शी, गैरकानुनी भएको भन्दै यसमाथि छानबिन गर्नेबारे सरकारले घोषणा गरिसकेको छ । यसबारे तपाईंको धारणा के छ ?

हामीले केही पनि गलत गरेजस्तो लाग्दैन, सबै पारदर्शी नै राखेका छौँ । सरकारले जे जिज्ञाशा राख्छ, हामी खुला रूपमा जवाफ दिन्छौँ र कानुन उल्लंघन नगरेको सुनिश्चत गर्छौं । कोही मान्छेले किनबेच नै गर्न नहुने भन्ने छ र ? कम्पनी किन्न र बेच्न नपाउने भन्ने छ र ? अरू मान्छेले बैंकको शेयर किन्न पाउने, घर किनबेच गर्न पाउने, टेलिकम चाहीँ मा खरिद–बिक्री गर्न नपाउने भन्ने छ र ? किनबेचमा हामीले सँधै कर तिर्दै आएका छौँ । यसअघि आजिएटाले नै पनि त्यत्रो ४७ अर्बको कर लगाउँदा, बैंकबाट ऋण लिएर भए पनि तिरेकै थियो । हामी हाम्रो कर्तव्यबाट त भागेका छैनौँ नि । सञ्चार माध्यमले हामीलाई कसरी वा कस्तो चित्रण गरेको छ, त्यो आफ्नो ठाउँमा छ । तर, हामीले एक कानुनी निकायका रूपमा गर्नुपर्नै सबै कुरा गरेका छौँ र भविष्यमा पनि गर्छौं ।

नेपाल सरकार र यहाँका मुख्य राजनीतिक दलका प्रतिनिधिसँग तपाईंले कुराकानी गरेर उनीहरूले सुनिश्चित गरिदिएपछि यो खरिद–बिक्री सम्झौता भएको भन्ने अनुमान गरिएको छ । नेताहरूसँग तपाईंको कुन तहमा कुराकानी भएको हो ?

तपाईं आफैँले नेपालका दल मिलेर यो विषयमा छानबिन गर्नुपर्यो भनिरहेका छन् भन्दै हुनुहुन्छ । छानबिन गर्ने विषयले नै यो प्रश्नको जवाफ दिँदैन र ? राजनीतिक तहमा मेरो कसैसँग केही पनि कुरा भएको छैन ।

यति लामो समय, झण्डै ६ वर्ष आजिएटाले नेपालमा व्यापार गर्यो । अहिले हिँड्ने बेलामा प्रत्यक्ष विदेशी लगानीका लागि नेपालमा राम्रो वातावरण छैन भन्ने लाल्छना लगायो । उसले नियमितजस्तै नाफा लग्यो, अझै लभांश लैजाने तपाईंहरुबीचको सम्झौता छ । तपाईं आफैं पनि यहाँ नाफा देखेर नै उत्साहित भएर सेवा सञ्चालन गर्ने भन्दै हुनुहुन्छ । तर नेपालमा लगानीको वातावरण छैन भन्नु गैरव्यावसायीक हर्कत हैन र ?

आजिएटाको तर्फबाट म बोल्न सक्दिनँ । म आजिएटा होइन । उनीहरूले के महसुस गर्छन् भनेर मैले भन्न सक्दिनँ । तर पक्कै पनि नेपालमा अलिक राम्रो विदेशी लगानी भइदिएको भए राम्रो हुन्थ्यो भन्ने हो । म नेपाली मूलको मान्छे भएँ, नेपालमा केही गरौँ, केही योगदान पुर्‍याऊँ भन्ने मेरो इच्छा छ । नेपालको व्यवसायिक वातावरणबारे मभन्दा बढी तपाईंहरू नै जानकार हुनुहुन्छ । नेपालमा वातावरण राम्रो भइदिएको भए सबैजना लगानी गर्न आउँथे होलान् । मैले थप के कमेन्ट गरौँ र ? तपाईंहरूको साथ भयो भने राम्रो वातावरण बन्ला । राम्रो वातावरण बन्यो भने धेरै लगानी पनि आऊला ।

टेलिकम सेवाकै कुरा गर्दा, स्मार्ट सेलमा पनि तपाईंहरूको लगानी थियो । त्यो कम्पनी खारेजीमा पर्यो । त्यसमा असफल, यसमा सफल कसरी हुनुहुन्छ होला ?

स्मार्ट टेलिकम त हामीले धेरै अगाडी छोडिसकेका थियौँ । त्योभन्दा बढी कमेन्ट नगरौँ होला यस विषयमा ।

प्रकाशित : मंसिर २१, २०८० १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×