कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विद्यालय कम्पाउन्डमै विद्यार्थीको हाटबजार

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयको प्रवेशद्वार छिर्दा मेला–महोत्सवमा पसेजस्तो हुन्छ । प्रवेशद्वारको दाहिनेतिर दैनिक उपभोग्य वस्तु लहरै राखिएका छन् ।

विद्यालय कम्पाउन्डमै विद्यार्थीको हाटबजार

कुखुरा, अण्डा, ताजा तरकारी तथा फलफूल, घिउ, मह, कोदो, फापर, मकै, सिमी, बोडी, अचारलगायतका खाद्यसामग्री बिक्रीका लागि राखिएका छन् । जुन विद्यार्थी आफैंले उत्पादन गरेका हुन् ।

नमोबुद्ध–७, भकुण्डेस्थित माधवप्रसाद तिमल्सिना झोलाभरि तरकारी तथा फलफूल किनेर फर्कंदै गर्दा हर्षित देखिन्थे । विद्यालयमा सञ्चालन गरिएको हाट बजारले आफूलाई बाल्यकालको स्मरण गराएको बताए । लोप हुने स्थितिमा पुगेको हाटबजार, आफ्नै समुदायमा रहेको विद्यालयमा सञ्चालन गरिएकामा उनले खुसी व्यक्त गरे । ‘हाटबजारमा विद्यार्थी आफैंले उत्पादन गरेका सामग्री राखिने खबर पाएको थिएँ,’ उनले भने, ‘उनीहरूलाई प्रोत्साहन गर्न आएको हुँ ।’

बालबालिकालाई पढाइसँगै व्यवसायतर्फ उन्मुख गराउन हाटबजार कार्यक्रम प्रभावकारी हुने भकुण्डेकी इशा जैसवालले बताइन् । विद्यालयले आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीले हाटबजार सञ्चालन गरेका हुन् । हाटबजारमा उदयपुरका रूपेश कार्कीसहितको टिमले आलु, साग, गोलभेडा, धनियाँ, ब्रोकाउली, कागती, प्याजलगायत ताजा तरकारी बिक्रीका लागि राखेको थियो ।

सप्तरीकी निशा यादवको टिमले कोदो, फापर, राज्मा, सिमी, सूर्यमूखी, कालो–सेतो भटमास, मकै, गहत, केराउ, लप्सीलगायत सामग्री बिक्रीका लागि राखेको छ । सिराहाकी हिमानी यादवले सुन्तला, अदुवा, बदाम बिक्रीका लागि राखेकी छन् । ‘यो मेरा लागि नयाँ अनुभव हो,’ उनले भनिन्, ‘पढ्दै कमाउँदै कार्यक्रमबाट सीपमूलक काम र हाटबजारबाट व्यापारिक ज्ञान पाएकी छु ।’ धुलिखेल–११, डाँडागाउँका निश्चल चौलागाईंले आफैंले विद्यालयमा हुर्काएका कुखुरा र अण्डा बिक्रीमा राखेका छन् । जसबाट उनले पाँच हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको बताए ।


‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीले उत्पादन गरेका सामग्रीको बजारीकरणमा सहजीकरणका लागि विद्यालयमा हाटबजार कार्यक्रम राखिएको जनक माविका संयोजक हरिहर अधिकारीले बताए । उनका अनुसार यसअघि पनि हाटबजार राख्ने गरिएको भए पनि सामग्री थोरै हुने भएकाले अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिकाबीच सीमित हुन्थ्यो । ‘विद्यार्थीलाई हौसला र प्रोत्साहन प्रदान गर्न अहिले हाटबजारलाई बृहत् गराइएको छ,’ जनक माविका संयोजक अधिकारीले भने ।

प्रकाशित : फाल्गुन २, २०८० १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×