जूनको साहस

नृत्य नाटक ‘जून’ की पात्रको साहसको पहिलो स्रोत नै समाजमा रहेका गलत प्रवृत्ति र आफूमाथिको अन्यायविरुद्ध आवाज उठाउनु हो । बेथितिमाथि प्रश्न गर्न सक्नु हो । खासमा जून अन्याय चिर्न उज्यालोको झिल्को लिएर उदाएकी छन् ।
मधु शाही, केशव थापा

काठमाडौँ — ‘जून र हजारौं ताराहरूको बीचमा एक्ली ।’ नृत्य नाटक ‘जून’ की मुख्य पात्रको यो संवादले उनी कमजोर छिन् भन्ने अनुभूति दिन्छ । तर, नाटक पूरा हेरिसकेपछि भने उनको भूमिका ठीकविपरीत देखिन्छ । उनी जति एक्ली छिन्, उति साहसी र आँटिली पनि । उनको बहादुरीको पहिलो स्रोत नै समाजमा रहेका गलत प्रवृत्ति र आफूमाथिको अन्यायविरुद्ध आवाज उठाउनु हो । बेथितिमाथि प्रश्न गर्न सक्नु हो । जून, अन्याय चिर्न उज्यालोको झिल्को लिएर मण्डला थिएटरमा उदाएकी छन् ।

जूनको साहस

नम्रता केसीको निर्देशन, कोरियोग्राफर र परिकल्पना रहेको नाटक ‘जून’ नृत्य नाटक मञ्चन भइरहेको छ । नृत्य नाटकमा नाच, गानको पृष्ठभूमिमा टेकेर नारी चेत, विद्रोही र साहसी भावको प्रदर्शन गर्न खोजिएको छ । काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चित नाटक कथक नृत्यमा आधारित छ । यसमा कलाकारले एउटी परीको संघर्षरत दन्त्य कथा प्रस्तुत गर्न खोजेका छन् । कथक नृत्यमार्फत कथा भाव दर्शाउनु आफैंमा जटिल छ । नाटकमा निर्देशक नम्रताले कथा बुझाउन शब्द, संवाद र डिजिटल मिडियमको समेत प्रयोग गरेकी छन् । यसले दर्शकलाई नृत्यको मिठाससँगै जीवन्त अनुभूति गर्न सघाउँछ । यद्यपि नाटकको मूल सन्देश प्रभाव गर्ने आधार भने नृत्य नै हो ।

कलाकारले कथाको भाव दर्शाउन हाउभाउमा विशेष जोड दिएका छन् । कथक नृत्यको सौन्दर्य त छँदै छ । नाटक बुझाउने बेला बखत डालो, रुमाल, कुचो जस्ता प्रप्सको प्रयोग गरिएको छ । तर, नृत्य केन्द्रित नाटक भएकाले प्रप्सको झलकमलकमा दर्शकको ध्यान भने विखण्डित भएको महसुस हुन्छ । यसलाई निर्देशक नम्रताले स्वयं पनि स्वीकार गर्छिन् । उनी भन्छिन्, ‘केही प्रयोगात्मक देखाउन खोजेका छौं, यो हाम्रा लागि पनि नौलो अनुभूति हो ।’

एस्थेटिक डान्स स्टुडियोकी प्रमुखसमेत रहेकी नम्रताले कथक नृत्य विधालाई कथा वाचनको शैलीमा ल्याउन जोड दिएकी छन् । उनको विचारमा नृत्य भाव हो । जहाँ अनेक भाव पस्किन सकिन्छ । आफ्ना विद्यार्थीलाई उनी कथकमा कथा पस्किने कला सिकाउँदै आएको बताउँछिन् । ‘कथक कथा भन्ने नृत्य विधा हो । यही विधालाई टेकेर नाटक जून तयार पारेकी हुँ,’ उनी भन्छिन् ।

एक घण्टा अवधिको नाटकमा नृत्य कलाकारले दर्शकको मन रिजाउन भने भरपूर मिहिनेत गरेको देखिन्छ । जून, एक आमा गुमाएकी बुबाकी प्यारी छोरी हुन् । बुबाको प्रेममा हुर्किएकी उनी सौतेनी आमा आएपछिको दुखान्त जीवन नाटकको पिंक प्वाइन्ट हो । खुसीले हुर्किएकी, दुःखसँग जुधेकी र अन्तमा राजदरबारसम्म पुग्न सक्ने सामर्थ्य नाटकको सुखान्त पाटो हो । सिन्ड्रेला दन्त्य कथाको कता कति भाव आउने भए तापनि नाटकमा नम्रताले कन्टेम्प्रअरी सन्देश दिन खोजेकी छन् । ‘सबै दन्त्य कथा सन्देशमूलक हुँदैनन्,’ उनी भन्छिन्, ‘कोमल परी होइन, अब समयअनुकूल साहसी र आँटिली परी हुन जरुरी छ । नाटक उसै शैलीमा ढालेकी छु ।’

सौतेनी आमा आएपछि जूनले धेरै दुःख पाउँछिन् । घरमै बसेका बुबा राजदरबारमा काम गर्न पुग्छन् । बुबा जेलमा परेको सूचना र सुनको जुत्ता लगाएर रानी बन्ने होडबाजी बीच जूनको फरक विचार नाटकमा मुख्य रूपमा पस्किन खाजिएको छ । सुनको जुत्ता र लुगाको लोभमा रानी बन्ने होइन । बुद्धि र विवेकले साम्राज्य पाउनुपर्छ छोरीले भन्ने क्रान्तिकारी सन्देश नाटकका राजकुमार पात्रमार्फत उठान गरिएको छ । नाटकमा जून पात्रले नृत्य भावसँगै राजाको दरबारसम्म पुग्ने बौद्धिक, साहसी चरित्र निर्वाह गरेकी छन् ।

कक्षा ११ मा अध्ययनरत १६ वर्षीया मिरिनल श्रेष्ठले नाटकमा जून पात्रको भूमिका गरेकी छन् । पाँच वर्षदेखि कथक नृत्य सिक्दै आएका उनी जून जस्तो मुख्य पात्रमा नृत्य नाटक गरेको भने पहिलो अनुभूति हो । एक घण्टाको अवधिमा सेकेन्डमै रुने, हाँस्ने, रिसाउने, मुस्कुराउनेलगायत अनेक भाव अनुहारमा पस्किनु उनका लागि अरू पात्रको भन्दा चुनौतीपूर्ण छ । ‘नाच्नु र कथा भन्नु दुवै चुनौतीपूर्ण छ,’ उनी भन्छिन्, ‘तर, मैले क्यारेक्टरमा इन्जोए गरेकाले थकान महसुस गरेकी छैन ।’

नृत्य नाटकमा आमाको भूमिका खेलेकी मनीषा बस्नेतको अभिनय पनि दमदार छ । उनी सेकेन्ड भरमै छुच्ची, घमन्डी, लोभी र डरलाग्दी बहुरूपी महिलाको भाव पस्किन सफल भएकी छन् । त्यस्तै चरा बनेकी अनु गौतम र मुसा बनेका गणेश श्रेष्ठ सहायक आकर्षित पात्र हुन् । मानवरूपी चरा, मुसो जस्ता जनावरको अभियनसमेत नृत्यकलामा कलाकारले पस्किएका छन् । जसले नाटकमा स्वादिलो चटनीको काम गरेको छ ।

नृत्य नाटकमा मेलिशा घिमिरे, निकोल श्रेया तामाङ, कुन्ती सिमली, रिजवान थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनामी बोहरा, प्रियंका चम्लागाईं, दिलासा गुरुङ, स्रमिस्टा दास, सुजाता दास र दृष्टि दाहालले रोचक नृत्य अभिनय गरेका छन् । सोमनाथ खनालको निर्माणमा बनेको नाटकमा संयोग गुरागाईंको शब्द लेखन छ । राजन खतिवडा र हुम बीसी, मनिकुलुङ राई र रोशन लोहरूङको मञ्च संयोजन भने लाइट संयोजनमा लिङ होपो कुइन्च सुनुवार साथ दिएका छन् । कस्टम्समा सन्जिता पराजुली र अदृश्य चौधरी रहेका छन् । नाटक वैशाख २४ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : वैशाख १८, २०८० ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?