कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायल-प्यालेस्टाइन द्वन्द्व समाधानका लागि चीनले हरसम्भव प्रयास गर्नेछ : चिनियाँ विदेश मन्त्रालय

‘अमेरिकाको विरोधका कारण संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले तत्काल कदम चाल्न सकेन’
इकान्तिपुर डेस्क

काठमाडौँ — चीनले इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्व समाधानका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मार्फत पहल गर्ने बताएको छ । केही दिनयता इजरायल–प्यालेस्टाइनबीच हिंसात्मक द्वन्द्व चर्किएको छ । सोमबारयता जारी द्वन्द्वमा प्यालेस्टाइनतर्फ १३२ र इजरायलतर्फ ८ जना मारिएका छन् ।

इजरायल-प्यालेस्टाइन द्वन्द्व समाधानका लागि चीनले हरसम्भव प्रयास गर्नेछ : चिनियाँ विदेश मन्त्रालय

इजरायल–प्यालेस्टाइन मामिलासम्बन्धी अमेरिकी उपसहायक सचिव हाडी अमर तेलअभिभ ओर्लिइसकेका छन् भने विभिन्न मुलुकले प्यालेस्टाइनको गाजा क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी भइरहेको आक्रमण रोक्न आग्रह गरिरहेका बेला चीनको प्रतिक्रिया आएको हो ।

शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अलजजीराका पत्रकारको प्रश्नको जवाफ दिँदै इजरायल–प्यालेस्टाइनबीचको पछिल्लो द्वन्द्वले सबैलाई चिन्तित बनाएको भन्दै समाधानका लागि पहल गर्ने बताएकी हुन् ।

मे महिनाका लागि संयुक्त राष्ट्रसंघको अध्यक्ष भएका हिसाबले पनि चीनले यस विषयमा गम्भीरताका साथ भूमिका निर्वाह गरिरहेको प्रवक्ता चुनयिङले बताइन् । सुरक्षा परिषद्मा यस विषयमा छलफलका लागि पहल भए पनि अमेरिकाका कारण ढिलाइ भइरहेको उनको आरोप थियो ।

शुक्रबार गाजा क्षेत्रमा इजरायली सेनाले हवाई आक्रमण गरेपछिको दृश्य तस्बिर : रोयटर्स

सुरक्षा परिषद्का अन्य सदस्यले तत्काल इजरायल–प्यालेस्टाइन क्षेत्रमा शान्ति स्थापनाका लागि पहल गर्ने कुरामा जोड दिए पनि अमेरिकाका कारण ढिला भएको उनले बताइन् । ‘मे १० मै यस विषयमा संयुक्त विज्ञप्ति जारी गर्ने कुरामा अमेरिकाले विरोध जनायो । त्यस्तै मे १२ मा भएको दोस्रो आपत्कालीन परामर्श बैठकमा पनि अमेरिकाले संयुक्त विज्ञप्ति जारी गर्न मानेन,’ उनले भनिन् । अमेरिकाले किन यसो गरिरहेको छ भन्ने कुराले सबैलाई चकित बनाएको पनि उनले बताइन् । उनले अगाडि भनिन्, ‘अमेरिकाले किन यसो गरिरहेको छ ? यसले हामी सबै अचम्मित भएका छौं । यसको उत्तर अमेरिकाले मात्रै दिन सक्ला ।’

त्यस्तै अमेरिकाले मुस्लिमहरुको अधिकारका बारेमा चिन्ता गर्ने दाबी गरे पनि इजरायल–प्यालेस्टाइन द्वन्द्वका कारण ठूलो संख्यामा मुस्लिम नागरिक घरबारविहीन हुँदा पनि देखेको नदेख्यै गरेको प्रवक्ता चुनयिङले बताइन् । चीनको जिनजियाङ प्रान्तमा मुस्लिमहरुमाथि ‘कथित दमन’ भयो भन्दै बेलायत र जर्मनीसँग मिलेर आरोप लगाउने अमेरिकाले प्यालेस्टिनी मुस्लिमहरुको अवस्थामा भने देखेको नदेख्यै गरेको उनको भनाइ थियो । ‘यस्तो राजनीतिक तमाशाको पछाडिको असली उद्धेश्य के हो ? प्यालेस्टिनी मुस्लिमहरुको जीवन पनि उत्तिकै महत्वपूर्ण छ भनेर बुझ्नुपर्छ,’ उनले भनिन् ।

मार्चमा मध्यपूर्वका मुलुकहरुका भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले मध्यपूर्वको सुरक्षा र स्थायित्वका लागि ५ बुँदे पहल सुरु गरेको पनि प्रवक्ता चुनयिङको भनाइ थियो । त्यसमध्ये प्यालेस्टिनी नागरिकको समानता र न्यायका साथै समस्याको दीर्घकालीन समाधानको पहल गर्ने एउटा बुँदा रहेको उनले बताइन् । अहिलेको गम्भीर अवस्थालाई हेर्दै सर्वसाधारणको अधिकार र जीवनरक्षाका साथै द्वन्द्व समाधानका लागि सबै प्रयास गरिनुपर्ने पनि उनको भनाइ छ ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ १, २०७८ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?