इजरायली सेना र हमासबीच आक्रमण जारी

इजरायली सेनाले गाजाको १३ तले भवन ध्वस्त गरिदिएपछि हमासले तेल अभिभमा पनि रकेट प्रहार गर्‍यो
अहिलेसम्म ३ इजरायली र २८ प्यालेस्टिनी नागरिकको मृत्यु
इकान्तिपुर डेस्क

काठमाडौँ — इजरायल र प्यालेस्टाइनको सीमामा सोमबार रातिदेखि चर्किएको द्वन्द्व झन् बढ्दै गइरहेको छ । प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलको तेल अभिभ सहरमा लक्षित गरी १३० वटा मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

इजरायली सेना र हमासबीच आक्रमण जारी

गाजा पट्टीमा रहेको १३ तले भवनमा इजरायली सेनाले आक्रमण गरी ध्वस्त बनाएपछि हमासले तेल अभिभमा रकेट प्रहार गरेको बताएको छ । गाजाको उक्त भवनमा रहेका मानिसलाई भने पहिले नै सुरक्षित स्थानमा निस्कन चेतावनी दिइएको थियो । इजरायली सेनाले हमासको सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरिरहेको बताएको छ ।

सोमबार रातिदेखि हमासले इजरायलतर्फ ३ सयभन्दा बढी रकेट प्रहार गरेको छ । इजरायली प्रहरीका प्रवक्ता मिकी रोजेनफेल्डले एएफपीसँगको कुराकानीमा हमासले हानेको रकेट तेल अभिभमा खाली बसमा खसेको बताएका छन् । ५ वर्षीया बालिकासहित ३ जना घाइते भएको पनि उनले जानकारी दिए ।

बीबीसीका अनुसार अहिलेसम्म तीन जना इजरायली र २८ प्यालेस्टिनी गरी ३१ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै इजरायली सेनाले गाजाका १५० ठाउँमा आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई द्वन्द्व कम गर्न अनुरोध गरेका छन् । बुधबार यसै विषयमा छलफल गर्न स‌ंयुक्त राष्ट्र स‌ंघको सुरक्षा परिषद्को बैठक बस्दै छ ।

इजरायली रक्षामन्त्री बेन्नी गान्ट्जले भने 'इजरायली आक्रमणको सुरुवात मात्र' भएको बताएका छन् । चरमपन्थी समूहलाई परास्त गरेर दीर्घकालीन रुपमै आफूहरुले शान्ति पुन:स्थापना गर्ने उनको दाबी छ । त्यस्तै हमास नेता इस्माइल हानियाले इजरायलले द्वन्द्वलाई बढाए प्रतिक्रियाका लागि आफूहरु तयार रहेको बताएका छन् ।

इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व चर्कियो : ९ बालबालिकासहित कम्तीमा २० जना मारिए

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यसअघि मंगलबार हमासले ‘रेड लाइन’ नाघेर आक्रमण गरेको बताएका थिए । । सन् २०१४ को युद्धपछि पहिलो पटक हमासद्वारा रेड लाइन नाघिएको पनि उनले दाबी गरेका छन् ।

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको छ । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका छन् । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।

प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका छन् । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।

हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

प्रकाशित : वैशाख २९, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?