इजरायल-प्यालेस्टाइन द्वन्द्व अन्त्यको पहल गर्न अमेरिकी दूत तेलअभिभ ओर्लिए- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायल-प्यालेस्टाइन द्वन्द्व अन्त्यको पहल गर्न अमेरिकी दूत तेलअभिभ ओर्लिए

कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायल र प्यालेस्टाइनबीच सोमबार रातिदेखि जारी संघर्ष चर्किंदै गइरहेका बेला अमेरिकी दूत तेलअभिभ ओर्लिएका छन् । 

इजरायल-प्यालेस्टाइन मामिलासम्बन्धी अमेरिकी उपसहायक सचिव हाडी अमर तेलअभिभ विमानस्थलमा ओर्लँदै तस्बिर : प्यालेस्टाइन मामिलासम्बन्धी अमेरिकी इकाई

दुवै तर्फबाट आक्रमणलाई बढाउँदै लगिरहेका बेला अमेरिकी दूत आइपुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । इजरायल–प्यालेस्टाइन मामिलाका उप सहायक सचिव हाडी अमर शुक्रबार तेलअभिभ आइपुगेका हुन् । उनले इजरायलका विदेशमन्त्री, रक्षामन्त्री र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि भेट्न सक्ने बताइएको छ ।

इजरायली उच्च स्रोतका अनुसार बाइडेन प्रशासनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आइतबारको बैठकअघि नै युद्धविरामका लागि दुवै पक्षलाई सहमत गराउने पहल जारी राखेको छ ।

बीबीसीका अनुसार अमरले इजरायल, प्यालेस्टाइन र संयुक्त राष्ट्र संघका अधिकारीहरुसँग युद्धविराम गराउनका लागि पहल गर्नेछन् ।

इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ सुरक्षित स्थानमा जानुहोस्

पछिल्लो संघर्ष सुरु भएयता गाजामा १३३ र इजरायलमा ८ जनाको मृत्यु भएको छ । प्यालेस्टाइनतर्फ मृत्यु हुनेमा ३२ बालबालिका र २१ महिला पनि रहेका छन् । त्यस्तै करिब एक हजारभन्दा बढी घाइते भएका छन् । संयुक्त राष्ट्र संघका अनुसार हिंसात्मक संघर्षका कारण अहिलेसम्म गाजाबाट १० हजारभन्दा बढी प्यालेस्टिनी नागरिक आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ हिँडिसकेका छन् ।

शनिबार बिहान पनि इजरायली सेनाले गाजामा ठूलो हवाई आक्रमण गरेको छ भने त्यसको जवाफमा हमासले इजरायलतर्फ रकेट हानिरहेको छ ।

गाजा र इजरायलमा सोमबारदेखि भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो । यसको सुरुवाती पूर्वी जेरुसेलममा गत शुक्रबार अल मक्सा मस्जिदनजिक भएको झडपबाट सुरु भएको हो । त्यसको तीन दिनपछि सोमबारदेखि भने दुवै पक्षबाट रकेट र मिसाइल हमला भइरहेको छ ।

शुक्रबार गाजा क्षेत्रमा इजरायली सेनाले हवाई आक्रमण गरेपछिको दृश्य तस्बिर : रोयटर्स

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको थियो । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।

प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका थिए । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।

हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ १, २०७८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्

आमाबाट सरेका बान्कीहरु 

म धन्य छु, आमाको विरासतस्वरूप आफूभित्र सलबलाइरहेका ती तमाम बान्कीहरूप्रति । 
उषा थपलिया

खेतीपाती, वस्तुभाउ, आधा दर्जन सन्तानको लोलोपोतो र अनगिन्ती घरधन्दाले साँझ ओर्लिएसँगै थकाइले आमाको मुहार क्लान्त भइसक्थ्यो । बेलुकाको खानापछि बुबा गाउँ टहलिन निस्कनुहुन्थ्यो । सन्तानहरू छिँडीकै सुकुल/गुन्द्रीमा यत्रतत्र पल्टिन्थे/निदाउँथे । भाँडा माझ्न बस्नुभएकी आमा अत्यधिक थकाइले हजार बार झप्को लगाउनुहुन्थ्यो । उँग्दै भाँडा माझ्दा पोखिएको पानीले भुइँ आहाल बन्थ्यो ।

अस्तव्यस्त निदाएका छोराछोरीलाई एकएक गरी चोटाको ओछ्यान पुर्‍याउनैपर्थ्यो । रात जत्ति छिप्पिए पनि मझेरी बढारेर सफाचट नबनाई र माझेर चम्किएका ढलौटका अम्खोराहरू पानीले भरिभराउ नपारी आमाको ज्यान ओछ्यान पुग्दैनथ्यो । राति बास बस्न आउने पितृ र भगवान् सुग्घर घरमा मात्रै पस्छन् र तिनका लागि सफा अम्खोरामा पानी भरेर राख्नुपर्छ भन्नुहुन्थ्यो आमा ।

‘अघिल्लो रातको जुठा–भाँडा माझेर बिहानी सुरु गर्दा दिन राम्रो हुँदैन’, आमा भन्नुहुन्थ्यो । संस्कारकै रूपमा ती बानी आफूमा उत्रिएको बताउँदा गर्व लाग्छ । व्यावहारिक जिम्मेवारी आफ्नै टाउकोमा परेपछि ती बानी ममा झन् अवलम्बन हुँदै आए । बिहेपछि त्यो झनै झांगियो ।

आमाले ‘स्त्रीधर्म’ को रूपमा आत्मसात् गर्नुभएका उबेलाका सबै कर्म खुसीसाथ मेरा हरेक व्यवहारमा न्यौछावर भइरहे । धर्मका लागि पूजा–आराधनामा घण्टौं लीन हुने आमाको बानी भने ममा सर्न सकेन । आमाका ‘कमजोरी’ भित्र औंलिने कतिपय स्वभाव भने ममा नसरेको आभास हुन्छ । आफूसँग जोरी खोज्ने हरकोहीलाई हायलकायल बनाएरै छाड्ने ओज आमासँग छ, जुन उमेरले ८ दशक कटिसक्दा पनि घटेको छैन ।

यदि आमाभित्र त्यो स्वभाव हुॅदैनथ्यो भने अवर्णनीय आरोह–अवरोह खेपेर पारिवारिक रथलाई अहिलेको शान्त, सुरम्य र समतल भूमिमा अड्याउन उहाँ सक्नुहुन्थेन । यसर्थ आमाको त्यो स्वभाव कमजोरी नभएर निर्भीक विशेषता हो भन्ने लाग्छ । तर, यता भने कुटिल चाल भएकाहरूको पीडादायी व्यवहारसमेत सक्दासम्म झेलिरहने मेरो स्वभाव छ ।

आमा कामबिना एकछिन बस्न नसक्ने, आठ दशकपछिको बुढ्यौलीमा पनि बानी उही छ । मेरो बानी पनि दुरुस्तै उहाँकै जस्तो छ । गाउँमा हुँदा गाई–गोठ, घाँस–भकारो, पानी–पँधेरो, खेतीबाली, उकाली–ओरालीदेखि अहिलेको राजधानी बसाइमा समेत अरूले नदेखेको काम यिनै आँखाले देखिहाल्छ ।

उच्च अध्ययनका लागि अरू छोराछोरीले घर छोड्दा बुबाआमालाई कुनै असर पर्दैनथ्यो, तर मैले घर छोडेको धेरै दिनसम्म उहाँहरूलाई बज्रपात परिदिन्थ्यो, यता मेरो हालत पनि उस्तै हुन्थ्यो । मैले एसएलसी पास गर्दा हर्षभन्दा बेचैनीले गलेको बुबाको अनुहार र केही दिनसम्म निःशब्द उहाँको व्यवहार मैले आजसम्मै भुलेकी छैन । सबैखाले काममा ज्यादा भरपर्दी छोरी आफूबाट टाढिने भई, यही चिन्ताले उहाँलाई त्यहाँसम्म पुर्‍याएको थियो ।

जुवा–तास खेलेको दृश्यले आमालाई भाउन्न छुटाउँथ्यो । बुबामा त्यो आदत बिलकुल थिएन, तर कहिलेकाहीँ उहाँका साथीहरू तास खेल्न हाम्रो घरको फलैंचा उपयोग गर्थे । नखेले पनि बुबा साथीहरूको खेला हेर्नुहुन्थ्यो । खेल हारेर घरजग्गा नै बन्धकीमा पारेजस्तो आमाको ‘बडी ल्याङ्ग्वेज’ बुबाले केही दिन नखेपी सुख हुन्थेन ।

अहिले राम्रो स्याहार र सुख–सयलका साथ ‘सहरिया’ बनाएर राख्ने मायालु छोराहरू तथा आआफ्ना व्यवहार सम्हालेर वसेका छोरीहरूप्रति एकदम गर्व छ आमालाई । तर, वर्षको एक दिन तिहारमा तिनै छोराछोरीले रमाइलोका लागि तास समाए भने फेरी आमाको भाउन्न छुट्छ । सानै उमेरमा टुहुरो भाइले गाउँलेका तिकडममा परी एक पटक जुवाकै कारण ठूलो हैरानी बेहोरेको कारण जुवातासले आमाको आक्रोश माथिल्लै तहमा पुर्‍याउँछ । त्यो समस्या आफूमा आइलागेन, तर जब आफ्नी छोरी ‘तारक मेहता का उल्टा चस्मा’ लगायत हिन्दी सिरियलमा एकचित्त हुन्छे, आमाको जुवातासकै भूत आफूमा सवार भैसकेको पत्तै हुँदैन ।

दृश्य सामग्रीमार्फत आफ्नो भाषा, संस्कृति र रहनसहनको पकड विश्वव्यापी बनाउन विशेषतः महिला–दर्शक लक्षित यस्ता टेलिसिरियल निर्माणमा दुई दशकभन्दा अघिदेखि भारतले ठूलै लगानी गरिरहेको छ । नेपाली महिलाको ठूलो हिस्सा ती सिरियलमा लठ्ठ छन् । यसले महिलाको क्रियाशील दिनचर्यामा मात्र होइन बोलीचाली, लवाइखुवाइ, आचरण व्यवहार, देखासिकीलगायत सबैतर्फ दुष्प्रभाव बढाइरहेको छ । हास्य नै सही, हिन्दी सिरियलमाथि छोरीको लगाव आमाको जुवातासभन्दा कम पीडादायी हुँदैन मेरा लागि ।

विद्यालयमा परीक्षा सुरु हुने पहिलो दिन सबै छोराछोरीलाई रातो टीका लगाइदिन आमा भुल्नुहुन्नथ्यो । मूलढोकाको दुवैतर्फ थापिएका तामाका कलशमा एक–एक सिक्का हाल्दै जलशेचन गरेर स्कुल जान्थ्यौं हामी । यसरी पठाएपछि कसैको परीक्षा नबिग्रने आमाको विश्वास, अनि त्यसैले ह्वात्तै बढाइदिने हाम्रो आत्मविश्वास ! दुवैबीच खुब तालमेल रहन्थ्यो । कमजोर रिजल्ट कसैले थाप्नु नपरेको सायद त्यही मनोविज्ञानको फल थियो कि ? बिदामा घर आएका छोराछोरी बिदा सकेर काठमाडौं सोझिँदा पनि आमा सोही विधान पूरा गर्नुहुन्थ्यो । बिनाअड्चन सन्तान गन्तव्य पुगून् भनेर आमाले साइतको तारतम्य गर्नासाथ आफ्नो भने छातीमा हिक्का छुटिसक्थ्यो ।

जलकलशमा खसाल्न आमाको हातबाट सिक्का लिनुअगावै घोप्टिएको अनुहार घर छेलिने घुम्ती पुगेपछि मात्र हो सीधा हुने । फर्केर घरतर्फ हेर्ने हिम्मत मरिगए नआउने, तर आफूबाट टाढा हुँदै गएका सन्तानको प्रत्येक पाइला नियाल्दै बलेसीमा उभिएका आमाबुबाको भावशून्य चेहरा नहेरेरै हृदयमा उत्रिहाल्थ्यो । प्रत्येक पाइला बोझिलो अनि विछोडको वेदनामा बरबरी उर्लेका आँसुले बाटो पहिल्याउन दिने सास्ती उस्तै । आमाबुबासँग विछोडिँदाको प्रत्येक पल यस्तै वेदनापूर्ण हुन्थे ।

छोरीलाई पहिलो पटक स्कुल पठाउँदा मैले पनि आमाकै सिको गरेर पठाएँ । तर, नर्सरी–केजीका खेलजन्य परीक्षाका लागि कलश, सिक्का, टीकाटालोसहित साइतको मेलोमेसो गर्ने जाँगर चलेन । कक्षा चढ्दै गएपछि सुरु परीक्षाका दिन त्यसरी नै पठाउने गरियो, तर जागिर र घरव्यवहारका सारा अभिभाराको एकलौटी थिचाइले दिनको १८ घण्टा घोटिनुपर्ने त्योबेला साइतका कुरा परीक्षाको अन्त्यतिर मात्रै सम्झने अवस्था बन्यो ।

आमाभन्दा आफ्नो चटारो चुलीमा पुर्‍याउने धृष्टता मेरो कदापि होइन, बरु उहाँको जति तेजिलो स्मरणशक्ति आफूमा नरहेको स्वीकारोक्तिचाहिँ पक्कै हो । ठूलो कक्षा उक्लिएपछि कतिपय बेला छोरी आफैं सम्झाउँछे टीका र साइतका लागि । उसलाई पनि खुब मन पर्छ हजुरआमाका ती बान्की । टीका र साइतले परीक्षा राम्रो हुन्छ भन्ने आमाको जस्तो विश्वास मसँग रत्तिभर छैन, तर छोरीको निधारमा रातो टीका लगाइदिँदा मात्र पनि आमालाई सम्झँदै मन आनन्दित बनिरहेको हुन्छ ।

आमाको झैं आफ्नो व्यवहारमा पनि भाँडाबर्तन टल्किएकै हुन्छन् । जुठाजन्य काम असरल्ल छोडेर न राति निद्रा लाग्छ, न दिउँसो बाहिरिने आँट आउँछ । घरको त के कुरा सडकमा फ्याँकिएका उल्टा चप्पलसमेत नसुल्ट्याई पाइला अघि सर्दैनन् । ढलेका भाँडा–बर्तन त अपशकुनकै चरम रूप लाग्छ । अन्न खेर फाल्न नहुने उहाँको शिक्षा मूलमन्त्रझैं अकाट्य छ । कर्मघर गएपछि हातभरिका चुरा बजाउँदै भान्साको काम गर्दा झन्झट लाग्नुको सट्टा आफैंमा आमाको प्रतिरूप उत्रिएको महसुस हुने गर्थ्यो ।

नसोचिएका परिस्थिति जीवनमा आइरहन्छन्, नखाएकै विषले पनि मर्माहत बनाइदिन्छ । तर, आफ्नो कर्तव्यबाट च्युत भइएको छैन भने हरेक कष्टपछि प्राप्त हुने आँट र दृढता नै हो । हरेक प्रतिकूलतालाई परीक्षा ठानेर सामना गर्न तत्पर भएपछि सफलता टाढाको मृगतृष्णा बनेर पक्कै रहन्न । आमाकै बान्कीहरू विरासत बनेर आफूमा अन्तरघुलन भएकाले हरेक अप्ठेरोमा निर्भीकतापूर्वक जुध्ने साहस मिलिरहेको छ । धन्य छु, आमाको विरासतस्वरूप आफूभित्र सलबलाइरहेका ती तमाम बान्कीहरूप्रति ।

प्रकाशित : जेष्ठ १, २०७८ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×