कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पानी प्रयोगबारे भारत-पाक वार्ता

नयाँदिल्ली — दक्षिण एसियाका ‘स्थायी शत्रु’ भारत र पाकिस्तान पानीको विषयमा लामो समयदेखि जारी विवाद अन्त्यका लागि सोमबार वार्ता सुरु गरेका छन् । पानीका साझा स्रोतका विषयमा दुई देशका अधिकारीहरूबीच भारतीय राजधानी नयाँदिल्लीमा सुरु वार्ता दुई दिनसम्म चल्नेछ । 

पानी प्रयोगबारे भारत-पाक वार्ता

पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले भारत पठाएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले सिन्धु जल सम्झौताअन्तर्गत पानी प्रयोगका विषयमा भारतीय अधिकारीहरूसँग वार्ता सुरु गरेको हो ।

भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौताअनुसार एक हजार मेगावाटको पकाल दुल जलविद्युत् परियोजनाका विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै, भारतले बनाइरहेको ४८ मेगावाटको लोअर कालनाई र ६२४ मेगावाटको किरु जलविद्युत् परियोजनाका विषयमा पनि वार्ता मा कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई देशबीच साझा रहेको सिन्धु र त्यसका शाखा नदीहरूको पानी प्रयोगका विषयमा सन् १९६० मा सिन्धु जल सम्झौता भएको थियो । त्यसमा ६ नदीको पानी प्रयोगका विषयमा दुई देशले सहमति गरेका थिए । भारत र पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र अयुब खानले सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसयता त्यही सम्झौताअनुसार दुवै देशका अधिकारीहरूबीच पानीका विषयमा नियमित वार्ता हुने गर्छ । दिल्लीमा हुन लागेको वार्ता ११८ औं हो । यसअघि इस्लामाबादमा ११७ औं बैठक भएको थियो ।

सम्झौतामा सिन्धु नदीसँग जोडिएका ६ नदीको पानी प्रयोगका विषयमा सहमति भएको थियो । त्यसअनुसार ६ नदीलाई पूर्वी र पश्चिमी नदीमा बाँडिएको छ । त्यसमा व्यास, रावी र सतलजलाई पूर्वी मान्दै त्यसको पानी भारतले निर्बाध रूपमा प्रयोग गर्ने भनिएको छ । सिन्धु, चेनाब र झेलमलाई पश्चिमी नदी मान्दै त्यसको उपयोग पाकिस्तानले गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताअनुसार भारतले पूर्वी नदीको पानीको बिनारोकटोक उपयोग गर्न पाउँछ भने पश्चिमी नदीको प्रयोगका लागि सीमित अधिकार पाउँछ । भारतले पश्चिमी नदीको २० प्रतिशत पानी प्रयोग गर्न सक्छ । त्यसलाई जलविद्युत् वा सिँचाइ प्रयोजनका लागि प्रयोग गर्न पाउँछ ।

पाकिस्तानका लागि पश्चिमी नदी लाइफलाइन हो । पानीको आवश्यकता पूरा गर्न पाकिस्तान यी नदीहरूमा निर्भर छ । तर यी तीनवटै नदीको उद्गम स्थल भने पाकिस्तानमा पर्दैन । चेनाब र झेलमको उद्गम स्थल भारतमा पर्छ भने सिन्धु चीनबाट भारत हुँदै पाकिस्तान पुग्छ । सिन्धु नदीको पाकिस्तानमा ४७, भारतमा ३९, चीनमा ८ र अफगानिस्तानमा ६ प्रतिशत हिस्सा छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×