श्रीलंकालाई विश्व बैंकले ७० करोड दिने

एजेन्सी

कोलम्बो — आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई विश्व बैंकले करिब ७० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकका श्रीलंका प्रबन्धक चियो कान्डाले श्रीलंकाका विदेशमन्त्री जीएल पेइरिससँग सोमबारको भेटवार्तामा सहयोगको प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

श्रीलंकालाई विश्व बैंकले ७० करोड दिने

भेटका क्रममा मन्त्री पेइरिसले अन्तर्राष्ट्रिय मुद्राकोषलगायत अन्य संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेका छन् ।

मन्त्री पेइरिसले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएको जनाइएको छ । विश्व बैंकले श्रीलंकाको अर्थतन्त्र सुधारका लागि एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघलगायतसँग काम गरिरहेको प्रबन्धक कान्डाको भनाइ छ ।

दक्षिण एसियाली मुलुक श्रीलंकाले हाल स्वतन्त्रतायताकै खराब आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्राको अभाव र मूल्यवृद्धिका कारण इन्धन, औषधिलगायत अत्यावश्यक वस्तुको अभाव चर्केको छ ।

विज्ञहरूका अनुसार कोरोना भाइरसको महामारीका कारण पर्यटन क्षेत्रमा परेको असर, इन्धन मूल्यवृद्धि, रुस–युक्रेन युद्ध र करसम्बन्धी सरकारको अदूरदर्शी नीतिका कारण श्रीलंकाको अर्थतन्त्र प्रभावित भएको हो । बढ्दो महँगी, खाद्यान्न अभाव र इन्धन संकटका कारण पछिल्ला दिनमा श्रीलंकामा सर्वसाधारणहरू आक्रोशित छन् । राष्ट्रपति गोटाभाय राजापाक्षको राजीनामा माग गर्दै दैनिकजसो राजधानी कोलम्बोलगायत प्रमुख सहरमा प्रदर्शन जारी छ ।

संकट गहिरिएसँगै भारतले श्रीलंकासँग सम्बन्ध सुधारका प्रयास गरिरहेको जनाइएको छ । यसअघि भारतले श्रीलंकालाई १ अर्ब ९० करोड डलर उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ । त्यस्तै, अत्यावश्यक वस्तु तथा सेवाका लागि थप १ अर्ब ५० करोड डलर दिन सकिने भारतको भनाइ छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?