९० प्रतिशत रुसी तेलमा प्रतिबन्ध लगाउने ईयूको सहमति

काठमाडौँ — रुसबाट आयात हुने ९० प्रतिशत तेल कटौती गर्न युरोपेली संघ (ईयू) सैद्धान्तिक रुपमा तयार भएको छ । युक्रेनको मद्दतका लागि बेल्जियमको राजधानी ब्रसेल्समा बसेको बैठकमा रुसबाट युरोप आयात हुने करिब ९० प्रतिशत तेल कटौती गर्न ईयू काउन्सिल तयार भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

काउन्सिल प्रमुख चार्ल्स मिसेलले ट्विटरमार्फत रुसी तेल आयातमा प्रतिबन्ध लगाउनेबारे सहमति भएको भन्दै रुसबाट आयात हुने दुईतिहाई तेलमाथि तुरुन्त प्रतिबन्ध लगाउने बताएका छन् । उनले यो सहमतिलाई युक्रेन-रुस युद्धको अन्त्य गर्नका लागि सबैभन्दा ठूलो दबाब हुने दाबी गरेका छन् ।
तीन महिनादेखि रुस-युक्रेन युद्ध चलिरहेको छ । यसका साथै रुसको सबैभन्दा ठूलो बैंक स्बर बैंकलाई समेत स्विफ्ट प्रणालीबाट हटाउने र रुसका तीन सरकारी प्रसारकलाई समेत युरोपमा प्रतिबन्ध लगाउने सहमति भएको काउन्सिल प्रमुख मिसेलले ट्विटरमा उल्लेख गरेका छन् ।
#Unity
— Charles Michel (@eucopresident) May 30, 2022
Agreement to ban export of Russian oil to the EU.
This immediately covers more than 2/3 of oil imports from Russia, cutting a huge source of financing for its war machine.
Maximum pressure on Russia to end the war.
#EUCO
युक्रेनमा भएको युद्ध अपराधमा समावेश भएका व्यक्तिहरूलाई समेत प्रतिबन्ध लगाइने उनले जनाए । यसका साथै अन्य धेरै कडा प्रतिबन्धहरू लगाउने सहमति गरिएको काउन्सिल प्रमुख मिसेलले बताएका छन् ।
प्रकाशित : जेष्ठ १७, २०७९ १२:१०