कोरोना संक्रमण बढेपछि दिल्लीमा सप्ताहान्तमा कर्फ्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमण बढेपछि दिल्लीमा सप्ताहान्तमा कर्फ्यु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी नयाँदिल्लीमा सप्ताहन्तमा कर्फ्यु आदेश जारी गरिएको छ । जसअनुसार दिल्लीमा आगामी शुक्रबार राति दश बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने छ ।

बिहीबार पत्रकार सम्मलेनमार्फत दिल्लीमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै मुख्यमन्त्री अरविन्द केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् त्यसको जानकारी गराएका हुन् ।

कर्फ्यु अवधिभित्र अत्यावश्यक सेवा र अन्तरराज्य सार्वजनिक यातायात भने चालू रहनेछ । तर, सबै किसिमका बजार, मलहरु बन्द रहनेछन् । तर, सिनेमा हल भने ३० प्रतिशत क्षमतामा चल्न दिइने भएको छ । निजी कार्यालयहरुलाई घरबाटै काम गराउन व्यवस्था मिलाउन निर्देशन दिइने पनि केजरीवालले भनेका छन् । मुख्यमन्त्री केजरीवाल र उच्च अधिकारीबीच बिहीबार बिहान भएको छलफल यस्तो निर्णय लिइएको हो ।

दिल्लीमा केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बुधबार मात्र १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै उच्च दर हो । मुख्यमन्त्री केजरीवालले संक्रमणको साङ्लो तोड्न कर्फ्यु लगाउने निर्णय गरिएको बताएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । बुधबार मात्र १०० जनाको मृत्यु भएको थियो ।

विगत केही दिनयता भारतमा कोरोना संक्रमणले रेकर्ड बनाइरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार २ लाख ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । संक्रमणबाट १ हजार ३८ जनाको ज्यान गएको थियो । त्यस्तै नेपालसँग सीमा जोडिएका राज्यहरू उत्तर प्रदेश, बिहार, उत्तराखण्ड र पश्चिम बंगालमा पनि पछिल्लो समय संक्रमण तीव्र भइरहेको छ ।

सम्बन्धित समाचार

भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु

नेपालसँग सीमा जोडिएका बिहार र यूपीमा संक्रमण फेरि तीव्र

प्रकाशित : वैशाख २, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्

नेपालसँग सीमा जोडिएका बिहार र यूपीमा संक्रमण फेरि तीव्र

अस्पतालदेखि शवदाह गृहसम्म भिड
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरू बिहार र उत्तर प्रदेशमा कोरोना संक्रमण फेरि तीव्र बनेको छ । भारतका विभिन्न सहरमा काम गर्ने नेपालीहरू अधिकांश यूपी र बिहार हुँदै ओहोरदोहोर गर्ने भएकाले नेपालमा पनि संक्रमणको जोखिम बढेको छ ।

बुधबार युपीमा मात्रै २० हजार ५ सय १० जना संक्रमित थपिएका छन् जुन दैनिक संक्रमित संख्याका आधारमा त्यहाँको अहिलेसम्मकै उच्च हो । यससँगै यूपीमा कुल संक्रमित संख्या ७ लाख ४४ हजार २१ पुगेको छ । मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत संक्रमण भएको छ ।

राज्यको राजधानी लखनउ संक्रमणले बढी आक्रान्त छ । बुधबार मात्र त्यहाँ ५ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसै गरी कानपुर, गोरखपुर, वाराणसी र प्रयागराजमा पनि संक्रमण बढी देखिएको छ । प

छिल्लो २४ घण्टामा मृत्यु भएका ६७ जनासमेत जोड्दा यूपीमा मात्र हालसम्म कोरोना संक्रमणका कारण ९ हजार ३ सय ७६ जनाको ज्यान गइसकेको छ । तर, केही भारतीय सञ्चारमाध्यमले शवदाह गृहमा बढेको भिड र त्यहाँबाट प्राप्त विवरणका आधारमा मृत्युको तथ्यांक अझ धेरै हुन सक्ने दाबी गरेका छन् । संक्रमण एकाएक बढेपछि अस्पतालहरूमा बिरामीको चाप बढेको छ । अस्पतालमा बेड, भेन्टिलेटरलगायत अपुग हुन थालेका छन् ।

बिहारमा पनि बुधबार एकै दिन ४ हजार ७ सय ८६ संक्रमित थपिएका छन् । त्यहाँ पनि दैनिक संक्रमणका आधारमा यो अहिलेसम्मकै बढी संख्या हो । बिहारमा पछिल्लो एक सातामा २२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । साथै ७० भन्दा बढीको मृत्यु भएको छ । बिहारमा हालसम्म २ लाख ९५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । बिहारका पनि पटना, गया, भागलपुर, मुजफ्फरपुरलगायत जिल्लामा संक्रमण बढी फैलिएको बताइएको छ । संक्रमण महाराष्ट्र र गुजरातबाट फर्किएका प्रवासी मजदुरहरूबाट फैलिएको आशंका गरिएको छ । भारतीय अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसका अनुसार मंगलबार पटनाको पाटलीपुत्र रेल्वे स्टेसनमा यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा सय जनामा कोरोना भेटिएको थियो । उक्त स्टेसन विशेष गरी महाराष्ट्रबाट आउने रेलको अन्तिम गन्तव्य भएको समेत पत्रिकाले लेखेको छ ।

भारतीय राज्यहरूको तुलनामा स्वास्थ्य पूर्वाधारमा बिहार निकै पछि मानिन्छ । दश करोडभन्दा बढी जनसंख्या भए पनि बिहारभरि सत्र सय आईसीयू बेड मात्र छन् । पूरै राज्यमा ८ सयजति मात्र भेन्टिलेटर भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालहरू बिरामीले भरिभराउ भएका छन् । बेड अभावका कारण कतिपय बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ भने कतिपय बिरामी अस्पतालको गेटबाटै फर्किन बाध्य पारिएका छन् । मंगलबार पटनाकै नालन्दा मेडिकल कलेजमा ६० वर्षीय संक्रमितको अस्पतालको गेटमै ज्यान गएको थियो ।

संक्रमितका आफन्तले डेढ घण्टासम्म गुहार्दा पनि अस्पतालले भर्ना नलिएको र उनको एम्बुलेन्सभित्रै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । ती बिरामी एम्बुलेन्समा भएका बेला बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डे अस्पतालको निरीक्षण गरिरहेका थिए । समयमै उपचार नपाएर बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएपछि पाण्डेको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित : वैशाख २, २०७८ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×