नेपालसँग सीमा जोडिएका बिहार र यूपीमा संक्रमण फेरि तीव्र

अस्पतालदेखि शवदाह गृहसम्म भिड
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरू बिहार र उत्तर प्रदेशमा कोरोना संक्रमण फेरि तीव्र बनेको छ । भारतका विभिन्न सहरमा काम गर्ने नेपालीहरू अधिकांश यूपी र बिहार हुँदै ओहोरदोहोर गर्ने भएकाले नेपालमा पनि संक्रमणको जोखिम बढेको छ ।

नेपालसँग सीमा जोडिएका बिहार र यूपीमा संक्रमण फेरि तीव्र

बुधबार युपीमा मात्रै २० हजार ५ सय १० जना संक्रमित थपिएका छन् जुन दैनिक संक्रमित संख्याका आधारमा त्यहाँको अहिलेसम्मकै उच्च हो । यससँगै यूपीमा कुल संक्रमित संख्या ७ लाख ४४ हजार २१ पुगेको छ । मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत संक्रमण भएको छ ।

राज्यको राजधानी लखनउ संक्रमणले बढी आक्रान्त छ । बुधबार मात्र त्यहाँ ५ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसै गरी कानपुर, गोरखपुर, वाराणसी र प्रयागराजमा पनि संक्रमण बढी देखिएको छ । प

छिल्लो २४ घण्टामा मृत्यु भएका ६७ जनासमेत जोड्दा यूपीमा मात्र हालसम्म कोरोना संक्रमणका कारण ९ हजार ३ सय ७६ जनाको ज्यान गइसकेको छ । तर, केही भारतीय सञ्चारमाध्यमले शवदाह गृहमा बढेको भिड र त्यहाँबाट प्राप्त विवरणका आधारमा मृत्युको तथ्यांक अझ धेरै हुन सक्ने दाबी गरेका छन् । संक्रमण एकाएक बढेपछि अस्पतालहरूमा बिरामीको चाप बढेको छ । अस्पतालमा बेड, भेन्टिलेटरलगायत अपुग हुन थालेका छन् ।

बिहारमा पनि बुधबार एकै दिन ४ हजार ७ सय ८६ संक्रमित थपिएका छन् । त्यहाँ पनि दैनिक संक्रमणका आधारमा यो अहिलेसम्मकै बढी संख्या हो । बिहारमा पछिल्लो एक सातामा २२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । साथै ७० भन्दा बढीको मृत्यु भएको छ । बिहारमा हालसम्म २ लाख ९५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । बिहारका पनि पटना, गया, भागलपुर, मुजफ्फरपुरलगायत जिल्लामा संक्रमण बढी फैलिएको बताइएको छ । संक्रमण महाराष्ट्र र गुजरातबाट फर्किएका प्रवासी मजदुरहरूबाट फैलिएको आशंका गरिएको छ । भारतीय अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसका अनुसार मंगलबार पटनाको पाटलीपुत्र रेल्वे स्टेसनमा यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा सय जनामा कोरोना भेटिएको थियो । उक्त स्टेसन विशेष गरी महाराष्ट्रबाट आउने रेलको अन्तिम गन्तव्य भएको समेत पत्रिकाले लेखेको छ ।

भारतीय राज्यहरूको तुलनामा स्वास्थ्य पूर्वाधारमा बिहार निकै पछि मानिन्छ । दश करोडभन्दा बढी जनसंख्या भए पनि बिहारभरि सत्र सय आईसीयू बेड मात्र छन् । पूरै राज्यमा ८ सयजति मात्र भेन्टिलेटर भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालहरू बिरामीले भरिभराउ भएका छन् । बेड अभावका कारण कतिपय बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ भने कतिपय बिरामी अस्पतालको गेटबाटै फर्किन बाध्य पारिएका छन् । मंगलबार पटनाकै नालन्दा मेडिकल कलेजमा ६० वर्षीय संक्रमितको अस्पतालको गेटमै ज्यान गएको थियो ।

संक्रमितका आफन्तले डेढ घण्टासम्म गुहार्दा पनि अस्पतालले भर्ना नलिएको र उनको एम्बुलेन्सभित्रै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । ती बिरामी एम्बुलेन्समा भएका बेला बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डे अस्पतालको निरीक्षण गरिरहेका थिए । समयमै उपचार नपाएर बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएपछि पाण्डेको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित : वैशाख २, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?