कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र बिहारमा पनि संक्रमण तीव्र

काठमाडौँ — भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख  ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु

भारतमा अप्रिल ५ यता हरेक दिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको थियो । अप्रिल ५ मा भारतमा करिब १ लाख ३ हजारलाई संक्रमण पुष्टि भएकोमा बुधबार भने त्यसको दोब्बर संख्यालाई कोरोना देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ३८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २४ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजारभन्दा बढी रहेको छ ।

संक्रमणका हिसाबले भारत ब्राजिललाई उछिन्दै विश्वकै दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म १ करोड ३६ लाख ७३ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने ३ लाख ६१ हजार ८ सय ८४ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिकामा संक्रमितको संख्या करिब ३ करोड १४ लाख पुगको छ भने ५ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

संक्रमणको अवस्था भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार साँझसम्म ११ करोड ४४ लाख ९३ हजार २ सय ३८ जनाले खोप लगाइसकेका छन् । तीमध्ये ३३ लाख १३ हजार ८ सय ४८ जनाले बुधबार मात्रै खोप लगाएका अधिकारीहरूले जनाएका छन् ।

भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर, गुजरातमा संक्रमण तीव्र छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था निकै भयावह देखिएको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ५८ हजार ९ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै महाराष्ट्रमा थप २ सय ७८ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालसँग सीमा जोडिएका भारतीय राज्य उत्तर प्रदेश र बिहारमा बुधबार क्रमश: २० हजार ५ सय १० र ४ हजार ७ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

नेपालसँग सीमा जोडिएका बिहार र यूपीमा संक्रमण फेरि तीव्र

प्रकाशित : वैशाख २, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?